लुम्बिनी प्रदेश सभाकी सांसद विमला खत्री वली आफूसँगै रहेको जानकारी गराउन नेकपा माओवादी केन्द्रले आज दिउँसो पत्रकार सम्मेलन गर्ने भएको छ।
यसअघि आफू नेकपा एमालेको नेता भएको भनेर विज्ञप्ति जारी गरेकी उनले अहिले फेरि माओवादी केन्द्रमै रहेको बताएकी हुन्।
माओवादी केन्द्रका नेताका अनुसार आज त्यही कुरा पत्रकार सम्मेलन गरी घोषणा गर्ने तयारी गरिएको हो।
वली तत्कालीन नेकपाबाट निर्वाचित प्रदेश सांसद हुन्। तर गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा भंग र यसमा मिसिएका एमाले र माओवादी केन्द्र अलग भएको फैसला सुनाएपछि उनको पार्टीको ठेगान नभएको हो। यसबीच उनी कहिले एमाले त कहिले माओवादी भइरहेकी छन्।
यही साउन १५ गते माओवादी केन्द्रले उनी सम्पर्कविहीन भनेको थियो। तर प्रहरीले फोन गर्दा सांसद वलीले आफू उपचारका लागि नेपालगन्जमा रहेको जानकारी गराएकी थिइन्।
यसबीच साउन १९ गते मा विमलाको नामबाट उनी एमालेमै फर्किएको विज्ञप्ति जारी गरिएको थियो। तर साउन १५ यता उनी सार्वजनिक कार्यक्रममा देखिएकी छैनन्।
आज दिउँसो १ बजेतिर गरिने पत्रकार सम्मेलनमा भने उनी उपस्थित हुने माओवादी केन्द्रका नेताहरूले दाबी गरेका छन्।
Shares

प्रतिक्रिया