ad ad

राजनीति


माधव नेपालका लागि अब एमालेमा कुनै ठाउँ छैन : केपी ओली

आन्दोलन विरोधी र देशद्रोही भएको आरोप
माधव नेपालका लागि अब एमालेमा कुनै ठाउँ छैन : केपी ओली

नेपालखबर
साउन १६, २०७८ शनिबार १४:२९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपालका लागि पार्टीमा कुनै ठाउँ नरहेको बताएका छन्। 

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बैठकलाई शनिबार राजधानीमा सम्बोधनका क्रममा ओलीले अखिल फोर्सको राष्ट्रिय भेलामा नेता नेपाल सहभागी हुँदै गर्दा यस्तो बताएका हुन्। ओलीले नेता नेपाललाई कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रोहीको संज्ञा दिए। 

'माधव नेपाल कम्युनिष्ट आन्दोलन विरोधी र देशद्रो हुन्। उनका लागि अब एमालेमा कुनै किसिमको ठाउँ छैन', ओलीले सम्बोधनका क्रममा भने, 'आफ्नै सरकार ढाल्नेले अध्यक्षले माग्दा समेत विश्वासको मत दिएनन्। तर दक्षिणपन्थी सरकारलाई विश्वास छ भन्दै दलको ह्विप उलंघन गरेर फ्लोर नै क्रस गरेर हिँडे।'

उनले आगामी चुनावमा एमालेले दुईतिहाइ ल्याउने डरले आफूलाई प्रधानमन्त्रीबाट हटाइएको पनि बताए। 'आउँदो चुनावमा एमालेले दुईतिहाइ ल्याएर देखाउँछ। त्यही डरका कारण मलाई प्रधानमन्त्रीबाट हटाएका हुन्', उनले भने, 'अहिले जता पनि एमाले छ, ठाउँ ठाउँमा छ एमाले छ। त्यसैले हामी निराश हुनुपर्ने कुनै कारण छैन।'

अध्यक्ष ओलीले १५ वर्ष पार्टी प्रमुख भएर छाडेपछि माधव नेपाललाई छटपटी भएको बताए। '१५ वर्ष पार्टी प्रमुख भएर चलाएका माधव नेपाल प्रमुख हुन नपाएदेखि समस्या झिकेको झिक्यै गरे', उनले भने, 'अब उनका लागि एमालेमा ठाउँ छैन। अब उनीबाट एमालेलाई उन्मुक्ति दिनु आवश्यक भइसकेको छ।' 

उनले आफ्नो बलबुताले पार्टीलाई दुईतिहाइ नजिक पुर्‍याए पनि माधव नेपालले दक्षिणपन्थीहरुसँग साँठगाठँ गरेर यो अवस्थामा ल्याएको पनि आरोप लगाए। 'हाम्रो मिहिनेतले पार्टीलाई दुईतिहाइ नजिक पुर्‍याएका थियौँ। तर माधव नेपालहरुले दक्षिणपन्थीसँग मिलेर आफ्नै सरकार ढालिदिए। आफ्नै दलको सरकार ढालेपछि दक्षिणपन्थीसँग मिलेर सरकार बनाएका छन्। अनि संविधानको रक्षा गर्यौँ भन्दैछन्।'

ओलीले एमाले फेरि एक पटक उठ्ने बताउँदै कार्यकर्ताहरुलाई निराश नभइ अभियानमा होमिन पनि आग्रह गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .