राजनीति


एनआएनएको अध्यक्षमा कुमार पन्त विजयी

एनआएनएको अध्यक्षमा कुमार पन्त विजयी

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार ३:५१,

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्त विजयी भएका छन्।

एनआरएनएको नवौं अन्तर्राष्ट्रिय महाधिवेशनअन्तर्गत काठमाडौंमा बिहिबार भएको निर्वाचनको मतगणना अनुसार प्रतिद्वन्द्वी कुल आचार्यलाई पराजित गर्दै कुमार पन्त अध्यक्षमा विजयी भएका हुन्।

पन्त यसअघि दुई पटक एनआरएनएको उपाध्यक्ष भैसकेका छन्।

त्यस्तै उपाध्यक्ष बद्री केसी, सोनाम लामा, अर्जुनकुमार श्रेष्ठ निर्वाचित भएका छन्। बाँकी दुई उपाध्यक्षहरूको भने मतपरिणाम आइसकेको छैन।

त्यस्तै महासचिवमा हेमराज शर्मा र कोषाध्यक्षमा महेशकुमार श्रेष्ठ विजयी भएका छन्।

बिहीबार बिहान १० बजेदेखि साँझ ६ बजेसम्म मतदान चलेको थियो। राति अबेरदेखि मात्रै मतगणना शुरु भएको थियो। निर्वाचनमा करिब दुई हजार ५०० मतदाता रहेकामा नयाँ नेतृत्वका लागि दुई हजार ३४४ मत खसेको थियो।

गोर्खा फुजेलका स्थायी बासिन्दा पन्त अध्ययनका क्रममा करिब दुई दशकअघि जर्मनी गए र उतै व्यवसायमा रम्न थाले। जर्मनी र यूरोपका अन्य देशहरूमा करिब दर्जन होटलमा उनको लगानी रहेको छ।  

सन् १९९९ मा जर्मनी पुगेका पन्तले आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर होटल तथा रेस्टुँरा व्यवसाय सञ्चालन गरिरहेका छन्।

एनआरएनए अभियानमा इमान्दार र स्वच्छ छवि बनाएका पन्त यसअघि भवन भट्टसँग सम्झौता गरि अध्यक्षका उम्मेदवार बनेका थिएनन्। एनआरएनएका अग्रज जीवा लामिछाने र उपेन्द्र महतोको पहलमा अघिल्लो पटक पन्तलाई उपाध्यक्षमै राखेर भट्टलाई अध्यक्ष बन्ने बाटो खोलिएको थियो।

पहिले भन्दा यसपाली बढी पार्टी राजनीतिकरण भएको एनआरएनए चुनावमा अर्का उपाध्यक्ष बेलायत निवासी कुल आचार्य अध्यक्षका उम्मेदवार बनेपछि माहोल तात्तिएको थियो।

आचार्यले खुलेरै नेपाली कांग्रेसको साथमा आफू अध्यक्षको उम्मेदवार बनेको बताउने गरेका थिए भने पन्तलाई नेकपाको समर्थन थियो। काठमाडौंमा भएको निर्वाचनका क्रममा कंग्रेसका नेताहरूले फिल्डमै उत्रेर आचार्यका लागि भोट मागेका थिए भने नेकपाका नेताहरूले पन्तलाई भित्रभित्रै साथ दिएका थिए।

तर एनआरएनएका संस्थापक अभियन्ता महतो र लामिछाने पार्टी राजनीति बढी हाबी हुँदा असन्तुष्ट थिए। पन्तको विजयमा उनीहरूकै भूमिका मुख्य रहेको मानिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad