टाउकोको कुनै भागमा महसुस गरिने दुखाइलाई सामान्यतया टाउको दुखेको भनिन्छ।
मस्तिष्कको आवरण, धमनी र मांसपेशीमा हुने पीडा नै टाउको दुख्नु हो, त्यसैले यो संवेदनशील हुन्छ।
टाउको दुख्नु साझा समस्याजस्तै भइसकेको छ। तर, यसका प्रकार फरक–फरक हुन्छन् । मेडिकल भाषामा टाउको दुखाइलाई प्राइमरी र सेकेन्डरी गरी दुई भागमा वर्गीकरण गरिएको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।
टेन्सन हेडेक
यो सामान्य खालको टाउको दुखाइ हो। टाउको दुख्ने व्यक्तिहरू करिब ६५ प्रतिशतमा तनावका कारण टाउको दुख्ने गर्छ।
जति तनाव बढ्दै जान्छ, त्यति मात्रामा टाउको कसिएजस्तो महसुस हुन्छ । टेन्सन हेडेक दुई–तीन दिनसम्म रहन सक्छ । रमाइलो माहोलमा जाँदा वा अलिकति शान्त स्थानमा जाने हो भने टेन्सेन हेडेक आफैँ ठीक भएर जान्छ ।
माइग्रेन
निकै कडा खालको दुखाइलाई माइग्रेन भनिन्छ । ३ घन्टादेखि ७२ घन्टासम्म यस्तो हुन सक्छ । माइग्रेन हुनुअघि औडाहा हुने गर्छ । टाउकाको कुनै एक भाग अत्यधिक दुख्ने गर्छ।
वाकवाकी लाग्ने, बान्ता हुने, रिंगटा लाग्ने, उज्यालोमा हेर्न असहज हुनेजस्ता समस्या देखिन्छन् । माइग्रेन पुरुषको तुलनामा महिलामा बढी देखिने गर्छ । सामान्यतया ६ जना महिलामध्ये एकजनामा माइग्रेनको समस्या हुन सक्छ भने २० जना पुरुषमध्ये एकजनामा यस्तो समस्या हुन्छ।
खासगरी अनिद्रा, घाममा हिँड्दा, भोक लाग्दा, प्रदूषण, महिलामा महिनावारी हुनुभन्दा अगाडिर पछाडि, भिडभाड आदि विभिन्न कारणले माइग्रेन हुने गर्छ।
कतिपयमा वंशाणुगत गुणमा कारणसमेत माइग्रेन हुने गर्छ । माइग्रेनलाई औषधिको सेवनबाट नियन्त्रण गर्न सकिन्छ । कतिपयमा लगातार छोटो समयमा नै धेरैपटक माइग्रेन हुने भएकाले निकै असर पर्ने गर्छ । तसर्थ सुरुवातीको चरणमै चिकित्सकको सल्लाहमा औषधि सेवन गर्नुपर्छ।
सेकेन्डरी हेडेक
दिमागमा कुनै खालको ट्युमर भएमा, संक्रमण भएमा, दाग र नसा फुटेर प्रेसर बढेमा सेकेन्डरी हेडेक हुने गर्छ । यो निकै कम व्यक्तिमा हुने समस्या हो । जुन निकै घातक पनि हुने भएकाले कारण पत्ता लगाएर सकेसम्म छिटो उपचार गर्नुआवश्यक हुन्छ।
के गर्ने?
अधिकांशमा टाउको दुख्ने समस्या सामान्य हो भन्ने भ्रम छ । टाउको दुखाइ अन्य रोगको लक्षण हुने भएकाले समयमै परीक्षण गर्नुपर्ने हुन्छ । सामान्य खालको टाउको दुखाइले पनि स्वास्थ्यमा अन्य गम्भीर समस्या ल्याउन सक्छ।
जथाभावी रूपमा पेनकिलरको प्रयोग भने गर्नुहुँदैन । जसले स्वास्थ्यमा अन्य असर पार्न सक्छ । त्यसैले चिकित्सकको सल्लाहमा मात्र औषधि प्रयोग गर्नुपर्छ।

प्रतिक्रिया