नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट माधवकुमार नेपाल पक्षलाई पार्टीमा फर्किन फेरि आग्रह गरेका छन्। अखिल नेपाल महिला संघको कार्यक्रमलाई भर्चुअल सम्बोधन गर्दै ओलीले अझै क्षमा दिन सकिने भएकाले गल्ती नगरी पार्टीमा फर्किन भनेका हुन्।
ओलीले वरिष्ठ नेता नेपाललाई लक्षित गर्दै केही व्यक्तिहरु आफ्नो स्वार्थका कारण प्रतिक्रियावादीहरुको अंगक बनेको बताएका छन्। 'केही व्यक्तिहरु आफ्नो स्वार्थका कारण प्रतिक्रियावादीहरुको अंग बनेका छन्। प्रतिक्रियावादीहरुसँग मिलेर आफ्नो सरकार ढालेको देखिरहेका छौँ', उनले भने, 'आफ्ना सांसदहरुलाई झुक्याएर, प्रलोभनमा पारेर संसद बाहिर लगिरहेको देखिरहेका छौँ। उनीहरु एमालेको सरकार ढाल्न विरोधीको पछि पछि लागेर हिँडिरहेका छन्। त्यस्ता तत्वकापछि लागेर आफ्नो पार्टी फुटाएर सजिलो बनाएको देखिरहेका छौँ।'
उनले पार्टी विरोधी गतिविधि रोक्न नेपाल पक्षलाई आग्रह गरे। 'म अहिले पनि भन्छु पार्टीले क्षमा गर्छ, साथीहरु गल्ती नगर्नुस् पार्टीमा फर्किनुस्। पार्टी विरोधी गतिविधिहरुलाई रोक्नुस्', उनले अगाडि भने, 'पार्टी फुटाउन सफल भए, आफ्नै सरकार ढाल्न सफल भए। प्रतिगमन गराउन सफल भए। देश धेरै अफ्ठ्यारो स्थितिमा गइसकेको छ। यो प्रतिगमन सच्चिन निकै गाह्रो छ। देश गम्भीर प्रतिगमनमा गइसकेको छ। पार्टीको पक्षमा उभिनुस्। पार्टी विरोधी षड्यन्त्रको चक्रव्यूहबाट बाहिर निस्किनुस्।'
Shares

प्रतिक्रिया