ad ad

राजनीति


निर्मला पन्त प्रकरण ३ वर्ष पुग्यो, अब हाम्रो सरकारले न्याय दिनुपर्छ : शर्मा

निर्मला पन्त प्रकरण ३ वर्ष पुग्यो, अब हाम्रो सरकारले न्याय दिनुपर्छ : शर्मा

फाइल तस्बिर : नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा


नेपालखबर
साउन १०, २०७८ आइतबार ९:३०,

निर्मला पन्तको बलात्कार/हत्या भएको आज (साउन १०) ३ वर्ष पूरा भइसकेको छ, तर अझै हत्यारा पत्ता लाग्न सकेको छैन। 

यसै सन्दर्भमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यअघि प्रतिपक्ष रहेको आफ्नो पार्टीको नेतृत्वमा भर्खरै गठित सरकारलाई निर्मलाको न्यायमा ध्यान दिन आग्रह गरेका छन्। 

‘बालिका निर्मला पन्तको प्रकरण आज साउन १० गते ३ वर्ष पुग्यो। सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ आइतबार शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग। हामीसँग  सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ।’ 

सर्वाेच्च अदालतको फैसलापछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ताच्युत भएपछि कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धनको सरकार बनेको हो। जसमा गृहमन्त्री पनि कांग्रेसकै नेता बालकृष्ण खाँण छन्। 

आफ्नै पालामा भएको निर्मला पन्तको हत्या/बलात्कारका दोषी पत्ता नलगाउँदै ओली सरकार ढलेको हो।   

भर्खर बनेको सरकारले अब गहन दायित्व निर्वाह गर्न गम्भीर बन्ने अपेक्षा गरिएको कांग्रेस प्रवक्ता शर्माले उल्लेख गरेका छन्। 

‘बालिका र महिलाउपर हिंसा, बलात्कार र हत्याको अनेक घटना देशले जो बेहोर्दै आयो, त्यो नियन्त्रण गर्न राज्यको कठोरतासँगै राजनीतिक द्वन्द्व भन्दामाथि सामाजिक रूपान्तरणको साझा अठोट र अभियान जरुरी छ,’ शर्माले भनेका छन्, ‘निर्मलालाई न्यायसँगै, कसैले पनि यस्तो नियति भोग्न नपरोस्, विशेष तदारुकता बढाऔं।’

तीन वर्षअघि (२०७५)  आजकै दिन अथात् साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्त गृहकार्य गर्छु भनेर नजिकै रहेको साथीको घरमा गएकी थिइन् भने भोलिपल्ट स्थानीय उखुबारीमा मृत भेटिएकी थिइन्। बलात्कारपछि हत्या गरिएको अवस्थामा उनको शव फेला परेको थियो। 

यसबीच प्रहरीले धेरै जनालाई पक्राउ गर्ने र छाड्ने गर्यो, तर अहिलेसम्म दोषी पहिचान हुन सकेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .