ad ad

राजनीति


सरकारमा जाने उपेन्द्र समूहको निर्णयपछि सात सांसदले छाडे महन्थ पक्षलाई

कार्यकारिणी समिति र दल दुवैतिर यादव समूहको बहुमत
सरकारमा जाने उपेन्द्र समूहको निर्णयपछि सात सांसदले छाडे महन्थ पक्षलाई

नेपालखबर
साउन ३, २०७८ आइतबार १५:३०,

जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय गरेसँगै सातजना सांसदले अर्का अध्यक्ष महन्थ ठाकुरको साथ छाडेका छन्। शनिबार बालकुमारीमा बसेको उपेन्द्र पक्षको संसदीय दल बैठकमा ठाकुर पक्षका चार सांसद उपस्थित भएका थिए।

यस्तै आजै अध्यक्ष यादवसँगको वार्तापछि यसअघि केपी ओली नेतृत्वको सरकारमा केही साता मन्त्री बनेका राजकिशोर यादव, रेनुका गुरुङ र चन्द्रकान्त चौधरीले पनि ठाकुर समूह छाडेका हुन्। राजकिशोर ओली सरकारमा मन्त्री थिए भने रेनुका राज्य मन्त्री भएकी थिइन्। 

आइतवार पनि बसिरहेको यादव पक्षको संसदीय दलको बैठकमा ठाकुर पक्षका सात सांसद उपस्थित भएपछि बहुमत पनि जुटेको छ। जसपा संसदीय दलमा १७ जना भए बहुमत पुग्छ। यस्तोमा यादवको पक्षमा कम्तीमा १९ जना सांसद उपस्थित भएपछि अब कार्यकारिणी समिति र दल दुवैमा बहुमतसहित बलियो भएका छन्। 

देउवालाई विश्वासको मत जुटाउने रस्साकस्सी चलिरहेका बेला जसपा पनि निर्णायक शक्ति बनिसकेको छ। यसअघि देउवाले बनाएको सानो मन्त्रिपरिषद्‍मा जसपाको यादव पक्ष सहभागी भएको थिएन। तर केही दिनअघि मात्रै सत्तामा जाने निर्णय गरेर जसपाले दलको बैठक बोलाएको थियो। यसअघि देउवाको पक्षमा यादव समूहका १२ सांसदले हस्ताक्षर गरेका थिए। 

जनता समाजवादी पार्टी (जसपा) कार्यालय बालकुमारीमा आज पनि बसिरहेको बैठकमा २० जना उपस्थित रहेको दाबी सांसद मोहम्मद इस्तियाक राईले गरेका छन्। तर उक्त बैठकमा पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरसहितका नेता उपस्थित छैनन्। 

शनिबार बसेको संसदीय दलको बैठकमा यसअघि ठाकुर समूहतर्फ लागेका सांसदहरु रुही नाज, अमृता अग्रहरि, प्रमोद साह र रानी मण्डल सहभागी भएका थिए। 

देउवाले विश्वासको मत लिँदै गर्दा जनता समाजवादी पनि कानुनी रुपमा विभाजित हुँदैछ। जसपा विवादलाई लिएर निर्वाचन आयोगले इजलास नै बनाएर सुनुवाइ गरिरहेको छ। निर्वाचन आयोगमा सुनुवाइ चलिरहेका बेला यादवले कार्यकारिणी समिति र दल दुवैमा बहुमत जुटाउन लागेका हुन्। 

यसअघि केपी ओली नेतृत्वको सरकारमा जाने क्रममा ठाकुर समूहले २० जना सांसद आफ्नो पक्षमा तानेको थियो। तर सर्वोच्चको आदेशबाट ठाकुर समूह ओली सरकारबाट बाहिरिएसँगै यादव पक्षले सांसदहरुलाई तानेको हो। पछिल्लो पटक देउवा सर्वोच्चको परमादेशबाट प्रधानमन्त्री बनेपछि यादव पक्षले सरकारमा जाने निर्णय लिइसकेको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .