आज (आइतबार) नेकपा एमालेको स्थायी कमिटीको बैठक बस्दै छ।
बैठक यसअघि निर्धारित समयमै अर्थात् बिहान ११ बजे ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए।
शनिबार साँझ बालकोटमै पुगेर विघटित कार्यदलका सदस्यहरूले आजको बैठक सार्न आग्रह गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले नमानेका हुन्।
‘अनुरोध त धेरै अगाडिदेखि भइरहेकै हो, सार्दै सार्दै सार्दै आएको हो, अब जे हुन्छ, औपचारिक रूपमा बैठकमै छलफल हुन्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै कार्यालय सचिव तामाङले आइतबार बिहान नेपालखबरसँग भने, ‘बैठकमा सहभागी हुनपर्यो, आफ्ना सबै कुरा राख्नुपर्यो। किनभने कार्यदलले तयार पारेको १० बुँदे सहमति पार्टीले ग्रहण गरिसकेको छ। त्यसलाई कार्यान्वयन गर्नुपर्छ।’
ओली सत्ताच्युत भएपछि दोस्रोपटक एमाले स्थायी कमिटीको बैठक बस्न लागेको हो। यसअघि शुक्रबार बसेको पहिलो बैठकले पार्टी एकताका लागि कार्यदलले जुटाएको १० बुँदे सहमति अनुमोदन गर्दै कार्यदल विघटन गरेको थियो। तर पनि यसका सदस्यहरूले दुई पक्ष (ओली–माधव नेपाल) बीच एकताका लागि पहल र वार्ता जारी राखेका छन्।
यो पनिः बालकोट पुगेका विघटित कार्यदलका सदस्यहरूसँग ओलीको प्रश्नः बैठक कहिलेसम्म रोकौं?
आजको स्थायी कमिटी बैठक मूलतः पार्टीको संगठानात्मक विषयमै केन्द्रित हुने कार्यालय सचिव तामाङले जानकारी दिए।
उनले भने, ‘अहिले पार्टीको सदस्यता अद्यावधिक गर्ने देशव्यापी अभियान चलेको छ, यही साउन २५–२७ मा विधान महाधिवेशन हुँदै छ, त्यसको तयारीका लागि दस्तावेज लेखन, विधानकै संशोधन प्रस्ताव, राजनीतिक प्रस्तावका विषयमा छलफल हुन्छ।’
उनका अनुसार पार्टीको सैद्धान्तिक, वैचारिक विषय विधान महाधिवेशनमै छलफल हुन्छ। ‘अर्काे महाधिवशेनमा त नेतृत्व चयनको कुरा मात्रै हुन्छ,’ उनले भने।
Shares

प्रतिक्रिया