राजनीति


सभामुख पदमा मेरो दाबी छैनः ओनसरी घर्ती

सभामुख पदमा मेरो दाबी छैनः ओनसरी घर्ती

सागर न्यौपाने
असोज २९, २०७६ बुधबार १३:३२,

पूर्व सभामुख ओनसरी घर्तीले रिक्त रहेको सभामुख पदमा आफ्नो दाबी नरहेको स्पष्ट पारेकी छिन्।

यसअघि सफल सभामुखका रुपमा चर्चा पाएकी ओनसरी घर्ती अहिले नेकपाको ५ नम्बर प्रदेशको अध्यक्ष छिन्। नयाँ सभामुखमा स्वाभाविक रुपमा उनको नाम चर्चामा आएपनि उनी आफैंले चाहिँ ‘सभामुख पदका लागि इच्छुक नरहेको’ र पार्टीमा फरक भूमिकामै बस्न चाहेको बताइन्।

‘पूर्व सभामुख भएका आधारमा मेरो नाममा चर्चा हुनु स्वभाविक नै हो तर, मेरो आफ्नै इच्छा भने सभामुखमा जाने छैन’, घर्तीले बुधबार नेपालखबरसँग भनिन्, ‘मैले दुईवर्ष सभामुख भएर जिम्मेवारी बहन गरिसकेको छु, अहिले म सांसद र पार्टीको जुन जिम्मेवारीमा छु त्यसमा नै सन्तुष्ट छु।’

बलात्कारको आरोप लागेर कृष्णबहादुर महराले पदत्याद गरेपछि खाली भएको सभामुख पदमा आफ्नै पार्टीबाट चयन गर्ने तयारी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरेसँगै अहिले संभावित उम्मेदवारहरूबारे चर्चा भइरहेको छ।

घर्ती अहिले नेकपाको प्रदेश ५ को अध्यक्ष छिन्, जो ७ वटा प्रदेशमध्ये महिलाको नेतृत्व रहेको एउटा मात्र प्रदेश हो। दुई वर्ष सफल रुपमा सभामुखको जिम्मेवारी सम्हालेकी घर्तीले त्यसबेला पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो विश्वास गरेर सभामुखको जिम्मेवारीमा पठाएको स्मरण गरिन्।

‘मलाई अहिले पनि मेरो क्षमताअनुसारको जिम्मेवारी दिइएको छ र म यो जिम्मेवारी पूरा गर्ने प्रयासमा छु’, घर्तीले भनिन्, ‘सभामुखमा स्वाभाविक रुपमा मेरो नाम चर्चामा आएपनि अहिले त्यो पदमा मेरो इच्छा छैन।’ 

नेकपाले सभामुख पद आफैं राख्ने गरि योजना बनाएसँगै पार्टीमा शक्ति सन्तुलनका हिसावले पूर्व माओवादीले नै यो पद पाउनु पर्ने दाबीहरू आएका छन्। अर्कोतिर दुई पार्टी एक भइसकेको अवस्थामा अब पूर्व समूहका आधारमा भन्दा पनि योग्य व्यक्तिलाई जिम्मेवारी दिइनु पर्ने तर्कहरू आएका छन्।

पार्टी नेतृत्वबाट जिम्मेवारी लिनुस् भनेर प्रस्ताव आयो भने के गर्नु हुन्छ?
‘यसमा पार्टी नेतृत्वले सोच्ला तर, अहिले मेरो आफ्नो इच्छा भने सभामुख हुने पटक्कै छैन’, नेपालखबरको प्रश्नमा घर्तीले भनिन्, ‘किनभने एक पटक मैले त्यो जिम्मेवारी पूरा गरिसकेको छु। पहिलो पटक पाउने जिम्मेवारीमा रहर हुन्छ तर एक व्यक्तिका लागि दोस्रो पटक त्यही जिम्मेवारी प्रथमिकतामा नहुन पनि सक्छ।’

घर्तीले पार्टीमा सभामुखका लागि योग्य नेताहरू प्रशस्तै रहेकाले ‘बाध्यताले जिम्मेवारी लिनु पर्ने अवस्था नरहेको’ बताइन्।

‘अहिले म कुनै नयाँ जिम्मेवारीको अपेक्षा गरिरहेको छैन’, मन्त्रीमण्डल फेरबदलका सन्दर्भमा घर्तीले भनिन्, ‘मलाई पार्टीले अहिले प्रदेश ५ को अध्यक्षको जिम्मेवारी दिएको छ र ७ वटा प्रदेशमध्ये एउटामा मात्रै महिला अध्यक्ष भएकाले महिलाहरूले पनि मसँग ठूलो अपेक्षा लिनुभएको छ।’

अधिकांश समय प्रदेश ५ मै रहने गरेको उल्लेख गर्दै घर्तीले पार्टी संगठनको काममा आफु रमाइरहेको बताइन्।

‘प्रदेश अध्यक्षको जिम्मेवारी पाउने एक जना मात्रै महिला हुनुहुन्छ, केही न केही गरेर छोड्नुस्’, पार्टीका महिलाहरूको अपेक्षा सुनाउँदै घर्तीले भनिन्।

घर्तीले नेपालखबरसँगको संक्षिप्त वार्तामा सभामुख पदमा आफु नगए पनि पूर्व माओवादीबाटै चयन हुनु स्वाभाविक हुने बताइन्।

सभामुख चयन त गर्नु नै छ, अब पूर्व माओवादीबाट हुन्छ कि पूर्व एमालेबाट?
हाम्रो पार्टी एउटै भइसकेको छ। एउटै पार्टीले निर्णय गर्ने हो। तर भर्खरै मात्रै पार्टी एकता भएकाले विभिन्न मनोविज्ञान छ। त्यो मनोविज्ञान स्वभाविक रुपमा केही समय रहन्छ। लामो सहकार्यपछि सबै कुरा मिलेर एउटै मनोविज्ञान बन्ने हो। त्यसैले अहिले आशंका गर्ने खालको वातावरण नहोस् भन्नका लागि पार्टीमा रहेका सबै खालका मनोविज्ञानलाई ठाउँ ठाउँमा प्रतिनिधित्व गराउँदा सहज हुन्छ। त्यसैले स्वाभाविक रुपमा पूर्व माओवादीबाटै सभामुख हुनु राम्रो हुन्छ।

पूर्व समूहभन्दा पनि योग्य व्यक्तिले जिम्मेवारी पाउनु पर्छ भन्ने छ नि?
राष्ट्रिय सभाको अध्यक्ष पूर्व एमाले, उपाध्यक्ष पूर्व माओवादीबाट चयन गरियो। त्यस्तै प्रतिनिधि सभाको सभामुख पूर्व माओवादी र उपसभामुख पूर्व एमालेबाट मिलाएर गरियो। त्यो एकदमै राम्रो निर्णय थियो। अब पनि पार्टी नेतृत्वले विवेक लगाउँछ भन्ने मलाई एकदमै विश्वास छ। किनभने पार्टी एकताको सुरु सुरुमै भएकाले एक प्रकारको एकता र स्वाभाविक प्रकारको प्रतिनिधित्व देखा पर्नुपर्छ। योग्यताका हिसावले हामीसँग एकसे एक नेताहरु हुनुहुन्छ। राम्रो क्षमता भएका हुनुहुन्छ। तर परिस्थितिले के माग गर्छ त्यो अनुसार हुन्छ। त्यसैले सबै हिसावले पार्टीलाई फाइदा हुने गरि नेतृत्वले सोच्छ भन्ने मलाई लाग्छ।

सभामुख पदमा रहेका बेला कृष्णबहादुर महरा जुन घटनामा मुछिए, त्यो घटना भए लगत्तै रोशनी शाहीले जानकारी दिएका व्यक्तिमध्ये तपाईं पनि एक जना हुनुहुन्थ्यो भन्ने आएको छ। वास्तविकता के हो?
रोशनी शाहीले मलाई पहिले नै जानकारी गराएको भन्ने कुरा गलत हो। किनभने उहाँले अपरिचित नम्बरबाट फोन गरेको भए नउठ्नपनि सक्छ, त्यो स्वभाविक हो। तर, उहाँले गरेको एसएमएस त हुनुपर्ने हो नि। त्यो त बसिरहनु पर्ने हो। मलाई कुनै एसएमएस वा फोन आएको छैन। सबै कुरा मिडियामा आएपछि मात्रै मैले पनि थाहा पाएकी हुँ।

एउटै पार्टीमा भएकाले तपाईंले महरालाई राम्रैसँग चिन्नुहुन्छ, यस्तो घटना कसरी भयो होला जस्तो लाग्छ?
उहाँ हाम्रो राजनीतिक गुरु हो, शैक्षिक गुरु पनि हो। त्यसैले हामी महरा सर नै भन्छौं। यो कसैले कल्पना नगरेको घटना भयो। अहिले सम्मानित अदालतमा मुद्दा गएकाले फैसला कुरेर बस्ने बाहेक अरु केही भन्न सकिन्न। कानुनले चलेको देशमा कानुनमाथि नै तपाईं हाम्रो विश्वास हुनुपर्छ। मेरो विश्वास पनि त्यही हो। सम्मानित अदालतले जे फैसला गर्छ, त्यो नै हामी सबैका लागि मान्य हुन्छ भन्ने मलाई लाग्छ।

रोशनी शाही तत्कालिन माओवादीको स्वास्थ्यकर्मी संगठनमा आवद्ध हुनुहुन्थ्यो। उहाँको श्रीमान त स्वास्थ्यकर्मी संगठनको अध्यक्ष नै हो। उहाँहरूलाई हामी पहिलेदेखि नै चिन्छौं। महरा सरसँग उहाँहरु एउटै परिवारजस्तो भएर बसेको हो। ०४७/०४८ देखि आफ्ना बाबुआमासहित रोशनी शाही महरा सरको घरमा डेरा लिएर बसेजस्तो लाग्छ। पछि उहाँको श्रीमानले रोल्पामा जागिर खाँदा पनि श्रीमान श्रीमती महरा सरकोमै बस्थे भनेपछि एउटै परिवारजस्तो थियो। एउटा परिवारजस्तो भएपछि आवतजावत हुनु त स्वाभाविक हो। तर रोशनी शाहीले पछिल्लो घटनाका बारेमा जे आरोप लगाइराख्नु भएको छ, त्यो त उहाँहरु दुई जनाबाहेक अरुलाई थाहा हुने कुरै भएन। अब सत्य तथ्य के हो अदालतबाट आउला।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad