ad ad

राजनीति


आत्मसमर्पण गरेका २२ अफगान कमान्डोमाथि तालिबानले गोली हानेको भिडिओ सार्वजनिक

आत्मसमर्पण गरेका २२ अफगान कमान्डोमाथि तालिबानले गोली हानेको भिडिओ सार्वजनिक

(फाइल तस्बिर)


नेपालखबर
असार २९, २०७८ मंगलबार १४:०,

२० वर्षको युद्ध अन्त्य गर्ने उद्देश्यका साथ गत वर्षको फेब्रुअरी २९ मा अमेरिका र अफगानी विद्रोही समूह तालिबानबीच अफगानिस्तानमा ‘शान्ति र स्थायित्व’ बहाल गर्ने सम्झौता भएको थियो। 

आगामी सेप्टेम्बर ११ भित्र अफगानिस्तानबाट विदेशी सेना फर्किसक्नु पर्ने तालिबानको माग छ। यदी अमेरिकीसहित ती सेनाहरु अझै अफगानिस्तानमा रहे आफूले ती सेनालाई देश कब्जा गर्न बसेका लडाकु सम्झिने तालिबानले बताएको छ।

अमेरिकाले ३१ अगस्ट भित्र आफ्ना सबै सेनालाई अमेरिका फर्कन आदेश दिइसकेको छ। नेटोमा आवद्ध बेलायत लगायतका राष्ट्रले अमेरिकाले तोकेको समय अगावै आफ्ना सबै सेना फर्काइसकेका छन्।

सहमति अनुसार विदेशी सेनाहरु अफगानिस्तानबाट फर्कँदै गर्दा तालिबानले भने शान्ति स्थापना गर्ने भन्दा आक्रमणको घटनालाई बढावा दिन थालेको देखिएको छ।

अफगानिस्तानमा शान्ति बहाल हुनेभन्दा त्यहाँको गृहयुद्धले अग्र रुप लिएको देखिएको छ। यतिबेला तालिबानले सरकारी सेनाविरुद्ध आक्रमण गर्दै कयौं स्थान नियन्त्रणमा लिएका छन्। त्यहाँ दैनिक युद्ध भइरहेको छ। 

यसबीचमा तालिबानले आत्मसमर्पण गरिसकेका २२ अफगान कमान्डोलाई गोली हानी मारेको भिडिओ सार्वजनिक भएको छ।

सीएनएन सार्वजनिक गरेको भिडिओमा तालिबानले अफगान सेनलाई आत्मसमर्पण गर्न भनेको देखिन्छ। तर जब उनीहरु हात उठाउँदै हतियार बिना बाहिर निस्कन्छन् सोहीबेला गोलीको वार्षा गरिन्छ। एकैछिनमा सेनाहरु मृत देखिन्छन्।

यी मृत सेनाहरु कमान्डो भएको बताइएको छ। यो भिडिओ गत जुन १६ को फर्याब प्रान्तको दलत अबादको भएको बताइएको छ।

त्यहाँका स्थानीय मानिसहरुले उनीहरुलाई गोली नहान्न आग्रह गरेको समेत सुन्न सकिने सीएनएनले जनाएको छ। यद्यपी उनीहरु मारिन्छन्।

यो भिडिओले तालिबानले अमेरिकासँग गरेको शान्ति स्थापनाको सम्झौतालाई उल्लंघन गरेको देखाउँछ। 

सन् २००१ सेप्टेम्बर ११ मा अलकायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा अमेरिकाको वर्ड ट्रेड सेन्टरमा आक्रमण भएको थियो। चार विमान हाइज्याक हुँदा दुई विमान वर्ड ट्रेड सेन्टरमा ठोक्काइएको थियो। एउटा विमान अमेरिकी रक्षा मन्त्रालय पेन्टागनमा खसेको थियो भने एउटा पेन्सेल्भेनियाको चौरमा खसेको थियो। यो घटनामा ३ हजार जनाको ज्यान गएको थियो।

त्यसबेला तालिबानले अफगानिस्तानमा सरकार चलाइरहेका थिए। ओसामा बिन लादे त्यहीँ भूमिगत भएर बसेका थिए। अमेरिकाले उनलाई सुम्पन भनेको थियो तर तालिबानले अस्वीकार गरेपछि अमेरिकाले तालिबानमाथि आक्रमण थालेको थियो।

सोही वर्षको अक्टोबर ७ बाट अमेरिकी आक्रमण सुरुवात भएको थियो। नोभेम्बर १३ सम्ममा तालिबान विस्थापित भइसकेका थिए। त्यसयता अमेरिका र नेटोका सेना अफगानिस्तानमा रहँदै आएका थिए।

अमेरिकामा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि उनले अफगानिस्तानबाट सेना फर्काउने वाचा गरेका थिए। सन् २०२० फेब्रुअरीमा उनकै पहलमा तालिबानसँग वार्ता भएको थियो।

सहमति अनुसार अमेरिकी सेना फर्कँदै गर्दा तालिबानले भने शान्ति स्थापना गर्ने भन्दा आक्रमणको घटनालाई बढावा दिएको देखिएको छ। (सीएनएन र बीबीसीको सहयोगमा)

यो पनिः अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि चीनले त्यहाँ प्रभाव बढाउन खोज्दै

- अफगानिस्तानबाट अमेरिकी सेना फर्किँदै, नेटोका शीर्ष कमान्डरले जिम्मेवारी सुम्पिए
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .