ad ad

राजनीति


नागरिकको चिन्ताः ओली प्रवृत्ति देउवातिर पो सर्ने हो कि?

नागरिकको चिन्ताः ओली प्रवृत्ति देउवातिर पो सर्ने हो कि?

समर्पण श्री
असार २८, २०७८ सोमबार २२:१०,

प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक विघटन गरेको प्रतिनिधि सभा ब्युँताएर सर्वोच्च अदालतले संविधानको अस्तित्व बचाएको विश्लेषकहरुले बताएका छन्। तर, कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि पनि ओली प्रवृत्ति कायम रहन सक्ने चिन्ता उनीहरुले प्रकट गरेका छन्। 

ओली प्रवृत्तिको विरोधमा सडकमा ओर्लिएका नागरिकहरु देउवाप्रति उस्तो आशावादी देखिएनन्। तर, ओलीले बिगारेको बाटो सम्याउने अवसर भने देउवालाई भएको उनीहरुको मत छ।

ओलीले दोस्रो पटक जेठ ८ मा गरेको विघटनलाई सोमबार सर्वोच्चले बदर गरिदिएको थियो। राजनीतिक विश्लेषक कृष्ण खनालले ठूलो संवैधानिक विचलनलाई सर्वोच्चको फैसलाले लयमा ल्याइदिएको बताए।

‘संवैधानिक प्रणालीमा नै ठूलो विचलनको अवस्था आइरहेको थियो। यो फैसलाले त्यसलाई राम्रोसँग ट्र्याकमा राखिदिएको छ,’ उनको टिप्पणी छ। 

लेखक खगेन्द्र संग्रौला पनि अदालतको यो निर्णयलाई विधिसम्मत र साहसपूर्ण मान्छन्। 

‘सर्वोच्चमाथि नै धेरै प्रश्न थिए र प्रधानन्यायाधीश सेटिङमा हुनुहुन्छ, उहाँका स्वार्थ छन्, त्यसैले फैसला के हो भन्ने ठूलो सन्देह थियो,’ संग्रौलाले भने, ‘त्यो सन्देहबाट हामी मुक्त भएका छौँ।’

सर्वोच्चले मंगलबार साँझसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न र एक साताभित्र प्रतिनिधि सभाको बैठक डाक्न पनि परमादेश जारी गरेको छ। 

ओलीले आफ्नो कार्यकालमा अनेकौँ अवैध र विवादास्पद निर्णयहरु गरे। जनमतको अपमान गर्दै अध्यादेशमार्फत असंवैधानिक नियुक्ति, ओम्नीदेखि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्मका भ्रष्टाचार काण्डले ओली सरकार बदनाम भयो। देउवा प्रधानमन्त्री बनेपछि यस्ता गलत कदम रोकिएला कि उनी पनि ओलीपथमै हिँड्लान्? आम नागरिकमा अहिले यही चिन्ता देखिन्छ।

लेखक तथा नागरिक आन्दोलनका अगुवा सञ्जीव उप्रेती अब बन्ने सरकारले कस्तो कदम चाल्छ, त्यसलाई हेरेर मात्र ओली प्रवृत्ति पराजित भयो कि भएन भनेर निर्क्यौल गर्न सकिने बताउँछन्। 

‘ओली प्रवृत्ति पराजित भयो कि भएन भन्ने कुरा अबको सरकारमा निर्भर रहन्छ। हामी सबैले पहिला पनि देखेकै नेता हुन्। ओलीभन्दा फरक गएर उनीहरूले के गर्छन्, त्यसको कुनै योजना देखिएको छैन,’ उनी भन्छन्, ‘दलित, जनजाति, सीमान्तकृतलगायतका मुद्दामा नयाँ सरकारले के गर्छ, स्वास्थ्य र शिक्षाको व्यापारीकरणप्रति कस्तो कदम चाल्छ, त्यसबाट थाहा हुन्छ।’

उप्रेतीलाई ओलीप्रवृत्ति अन्त्य हुनेमा सन्देह छ। 

‘ओलीसँग हिजो जुन समूह थियो, त्यही समूह अबको सरकारवरिपरि रहन सक्छ,’ उनी भन्छन्, ‘०६२÷०६३ भन्दा अघिदेखि नै एउटा समूह थियो, जो पहाडे राष्ट्रवादलाई प्रश्रय दिने, महिला, दलितको बारेमा असंवेदनशील हुने खालको थियो। ओली गए पनि त्यो समूह छँदैछ। उनीहरू अब पावरमा भएको मान्छेको वरिपरि जम्मा हुन्छन्। राजनीति पुरानै धारमा चलिरहने सम्भावना पनि उत्तिकै छ।’

राजनीतिक विश्लेषक राजेन्द्र महर्जन विभिन्न दल तथा संगठनमा ओली प्रवृत्ति हाबी भइरहेको बताउँछन्। उनको बुझाइमा पछिल्लो स्थितिलाई आकलन गर्दा पनि ओली प्रवृत्ति जीवित रहन सक्ने खतरा छ।

‘अब बन्ने सरकार ओलीभन्दा के के कुरामा भिन्न हुन्छ भनेर प्रष्ट छैन। फेरि त्यही प्रवृत्ति दोहोरिने हो कि भन्ने आशंका छ,’ महर्जनले भने, ‘जनस्वास्थ्य र शिक्षालाई निजीकरण गर्न र बजारीकरण गर्न जसरी केपी ओली लागे, अर्को पार्टीमा पनि फरक मत अहिलेसम्म देखिएको छैन।’

‘देउवासँग अवसर छ, आशा छैन’
खरो राजनीतिक टिप्पणी गर्ने मात्र होइन, सरकारको गलत कदमविरुद्ध सडकमै ओर्लिरहने लेखक संग्रौला प्रवृत्तिगत रुपमा देउवालाई पनि खराब मान्छन्।

‘देउवा चार पटक प्रधानमन्त्री भए। तर उनका कार्यकालमा भ्रष्टाचार व्याप्त थियो। अनियमितता, बेथिति, पक्षपात थियो,’ उनले भने, ‘उनै देउवाले तत्कालीन राजाको पाउमा लगेर सत्ता बुझाउने कामसमेत गरेका थिए। उनी कसरी असल होलान्?’

तर, दुई वटा खराबमध्ये एउटा खराबलाई रोज्नुपर्ने स्थिति अहिले रहेको उनको ठम्याइ छ। 

ओलीको छुद्रता, अराजकता, नीचता र धुर्ततालाई जनताले सहन नसकेको उनी बताउँछन्। देउवाको नेतृत्वमा निर्माण हुने सरकार पार्टीहरूको गठबन्धनबाट हुने हुँदा आशावादी हुने ठाउँ भएको संग्रौला बताउँछन्। 

मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी ओली प्रवृत्ति सच्याउने अवसर देउवालाई भएको तर्क गर्छिन्। 

देउवाले केही मुद्दाहरूमा काम गर्ने हो भने धेरै कुरा सच्चिने अन्सारीको भनाइ छ।

‘भ्रष्टाचार अन्त्य कसरी गर्ने, देउवाले यो कुरा देख्नुपर्यो। तमाम विधेयक संसदमा अलपत्र परिरहेका छन्। त्यसको जिम्मा देउवाले लिने कि नलिने? संस्थागत संरचना कमजोर भएका छन्। ओलीले जथाभावी नियुक्त गरिदिए, त्यसले संस्थागत संरचना कमजोर भएको छ। देउवाले नियुक्ति फिर्ता गराउँछन् त? यदि गराए भने उनलाई ओली प्रवृत्ति सच्याउने अवसर प्राप्त हुनेछ,’ अन्सारीले भनिन्।

विश्लेषक महर्जन चिकित्सा शिक्षाको निजीकरणबारे नागरिक अभियन्तासँगको बैठकमा देउवाले सकारात्मक जवाफ नदिएकोमा चिन्तित छन्। 

‘हामीले यसबारे सोध्दा देउवाले संरचना बनिसकेको छ, त्यसैलाई काम गर्न दिऊँ न भन्ने खालको जवाफ दिनुभयो,’ महर्जनले भने, ‘जबकि संरचना भनेको राज्यले बहन गर्ने कुरा हो। यसमा उनको भूमिकाले उनको प्रवृत्तिलाई निर्धारण गर्छ।’

लेखक उप्रेती देउवाकै पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास भइरहेको देख्दैनन्। 

‘यदि भइरहेको भए धेरै युवापुस्ताका नेता माथि आइसक्नुपर्ने। चुनावमा पारदर्शिता छैन। चुनावमा खर्च भएको करोडौँ पैसा सत्तामा पुगेपछि शिक्षा स्वास्थ्यबाट उठाउने प्रवृत्ति छ। यो प्रवृत्ति नहोस्, यसमा हाम्रो खबरदारी छ,’ उनी भन्छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .