राजनीति


नयाँ मन्त्री चयन कसरतः आज पनि नेकपा सचिवालय बैठक

नयाँ मन्त्री चयन कसरतः  आज पनि नेकपा सचिवालय बैठक

सागर न्यौपाने
असोज २८, २०७६ मंगलबार १५:५८,

पार्टी एकताको अन्तिम टुंगो लगाउन र नयाँ मन्त्रीहरूबारे छलफल गर्न आज (बुधबार) बिहान नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ।

मंगलबार बसेको बैठकले अन्तिम निर्णय गर्न नसकेपछि बुधबार बिहान बैठक बोलाइएको हो।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार बिहान ८ बजे सचिवालयको बैठक डाकिएको र त्यो बैठकमा पार्टी एकताको अन्तिम टुंगो लगाउने बताए। २०७५ जेठ ३ गते एमाले र माओवादी केन्द्रबीच पार्टी एकता घोषणा भएर नेकपा बनेपनि एकता प्रक्रिय अझै टुंगिएको छैन।

चीनका राष्ट्रपति सी चिनफिङको भ्रमण लगत्तै सोमबार बालुवाटारमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको थियो। त्यसपछि मंगलबार साँझ सचिवालयको बैठक बसेको हो।

झण्डै दुई घण्टा बसेको मंगलबारको बैठकले बुधबारको बैठकका एजेण्डा तय गर्नुका साथै चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने नेपाल भ्रमणको समीक्षा पनि गरेको थियो।

नेकपाका कतिपय नेताहरूले पार्टी एकता प्रक्रियाको अन्तिम टुंगो लगाउने सँगसँगै नयाँ मन्त्रीहरूबारे पनि छलफल भइरहेको बताएका छन्। प्रधानमन्त्री ओली ६–८ जना मन्त्री हटाएर नयाँ ल्याउने अन्तिम तयारीमा छन्।

‘पार्टी एकताको टुंगो लगाउने गरी बुधबार सचिवालयको बैठक बस्नेछ’, नयाँ मन्त्री छनोटबारे छलफल भइरहेको संकेत गर्दै नेकपाका वरिष्ठ नेता झलनाथ खनालले भने, ‘अन्य विषयमा पनि छलफल हुन सक्नेछ।’

कतिपय मन्त्रीहरुको कार्यप्रगती राम्रो नभएपछि प्रधानमन्त्री ओली आफैं मन्त्रीमण्डल फेरबदल गर्ने तयारीमा छन्। यस विषयमा ओली र प्रचण्डबीच सोमबार पनि बालुवाटारमा लामै छलफल भएको थियो।

मन्त्रीमण्डल फेरबदलसँगै सभामुख चयन बारेमा पनि छलफल हुने नेकपाका एक नेताले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad