राजनीति


कांग्रेस सांसद रायमाझीले राष्ट्रिय सभा बैठकमा कालो क्याप देखाएर गरे सरकारको विरोध

कांग्रेस सांसद रायमाझीले राष्ट्रिय सभा बैठकमा कालो क्याप देखाएर गरे सरकारको विरोध

नेपालखबर
असार २१, २०७८ सोमबार १६:२४,

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य रमेश जंग रायमाझीले प्रतिगमनविरुद्ध राष्ट्रियसभाको बैठकमा कालो टोपी उचालेर विरोध जनाएका छन्।

राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य रायमाझीले सडकमा कालो झण्डा लिएर उत्रने अवस्था नरहेको भन्दै राष्ट्रियसभाको बैठकमा नै कालो क्याप उचालेर प्रतिकात्मक रुपमा विरोध जनाएको बताए।

शिरदेखि पाउसम्म कालो पोशाकमा बैठकमा सहभागी भएका रायमाझीले मुलुकले थाहा पाओस् भन्दै सरकारको र प्रतिनिधिसभाको विघटनको विरोधमा आफूले कालो झण्डाको रुपमा क्याप प्रस्तुत गरेको बताए।

उनले टाउकोमा लगाएको कालो क्याप उठाएर घुमाउँदै सभामा उपस्थिति सबैलाई देखाउँदै भने, ‘मैले सिम्बोलिक रुपमा यो सरकारको विरुद्धमा र प्रतिनिधिसभा विघटनको विरुद्धमा यो आवाज उठाईरहेको छु ।’

प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरिसकेपछि लाखौ जनता सडकमा कालो झण्डा बोकेर निस्कनुपर्नेमा कोरोनाका जोखिम बढेकाले निस्कन नसकेको अवस्थामा अलग पोशाकमा उपस्थिति भएर सभामा नै प्रतिगमनको विरोध गरेको बताए।

राष्ट्रियसभा सदस्य रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकता गुमाइसकेको आरोप लगाए। प्रधानमन्त्री ओली राजनीतिक, नैतिक लगायत सबै दृष्टिकोणबाट असफल भइसकेकाले असफल प्रधानमन्त्रीको रुपमा सावित भएको दाबी गरे।

उनले आफैले पत्रकार सम्मेलन गरेर मैले सरकार चलाउन सकिनँ भन्ने प्रधानमन्त्री ओली अन्य दुई पार्टीको निर्णय भन्दै प्रधानमन्त्रीका लागि दाबी गर्न राष्ट्रपतिकोमा पुगेको दाबी गरे।

उनले भने, ‘मध्यराति राष्ट्रपति सुतेको बेलामा उठाएर, ढोका ढक ढक गरेर उठाएर विघटन(प्रतिनिधिसभा) गर्नु कतिसम्मको नैतिकताको कुरा हाे?’

उनले सरकारकै स्वास्थ्यमन्त्रीले भ्याक्सिनको ४ डलर पर्छ भनेको तर अहिले चीनबाट ल्याउन लागेको भ्याक्सिनको प्रति भ्याक्सिन १४ डलर भनिएको भन्दै त्यसबारे सरकारको जवाफ माग गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .