फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सुरक्षाका लागि काठमाडौँ उपत्यकाबाट ठूलो संख्यामा विभिन्न जिल्लामा प्रहरी परिचालन गरिएको छ। प्रहरी प्रधान कार्यालयले मधेसका ८ वटै जिल्ला, कोसीका झापा, मोरङ र सुनसरी, सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहित बढी निर्वाचन क्षेत्र भएका जिल्लामा थप प्रहरी खटाएको हो।
काठमाडौँ उपत्यकाबाट करिब १३ हजार प्रहरीले १२ गतेभित्रमा कार्य क्षेत्रमा पुगिसक्ने छन्। हरेक मतदान केन्द्रमा जुनियर अधिकृत खटाउनु पर्ने भएपछि ठूलो संख्यामा यी जिल्लामा थप टोली खटाइएको हो।
प्रहरी जवानदेखि डीएसपीसम्मका अधिकारीलाई काठमाडौँ उपत्यकाका विभिन्न युनिटबाट ती क्षेत्रमा खटाइएको छ। हेडक्वार्टरसहितका कार्यालयबाट डेढसय डीएसपी र ५ सय बढि इन्सपेक्टर चुनावका लागि ती जिल्लामा खटिनेछन्।
मधेसका ८ जिल्लामा ६ हजार बढि प्रहरी थप गरिएको छ। थप गरिएको टोली धमाधम निर्वाचन क्षेत्रतर्फ प्रस्थान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। आइतबार पनि विभिन्न जिल्लाका लागि प्रहरी राष्ट्रिय प्रतिष्ठानबाट प्रहरी बोकेका बस छुटेका छन्।
निर्वाचनमा १० हजार ९६७ मतदान स्थल छन्। यी मध्ये ३ हजार ५ सय बढि मतदानस्थललाई अति संवेदनशील मानिएको छ। हरेक मतदानस्थलमा जुनियर अधिकृतको कमाण्डमा टोली हुनेछ।
निर्वाचन सुरक्षामा ७२ हजार प्रहरी, प्रहरीले भर्ना गरेका १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी र ३२ हजार सशस्त्र प्रहरीसँगै १५ हजार ११० जना निर्वाचन प्रहरी खछिनेछन्। करिव ८० हजार नेपाली सेना पनि चुनावका लागि परिचालन भइसकेको छ।
मतदानस्थलमा २ देखि ३ जना नेपाल प्रहरी र १० जनाकमा दरले निर्वाचन प्रहरी खटाइने छ। सशस्त्र प्रहरी र नेपाली सेनाले दोस्रो र तेस्रो घेरामा हुनेछन्। तर सुरक्षा अवस्था विग्रिए यी फौज पनि अगाडी बढ्नेछन् र सुरक्षा बिग्रन नदिन काम कारबाही गर्नेछन्।




































Shares

प्रतिक्रिया