आज दसैँको सप्तमी अर्थात् फूलपाती। हरेक वर्ष जस्तै हर्ष उल्लासका साथ काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा ‘फूलपाती बढाइँ गरिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा सेनाको टोलीले शङ्खघोषसहित राइफलबाट लहरे र एकट्ठा तथा तोपबाट पनि बढाइँ गरेको थियो।
समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टर र ड्रोनबाट ‘फूलपाती बढाइँ समारोह–२०८२’ ब्यानर प्रदर्शन र पुष्पवृष्टि गरिएको थियो। सो अवसरमा दुर्गा बन्दना प्रस्तुत गरिएको थियो।
फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिने विशिष्ट मौलिक कार्यक्रम मानिन्छ। नेपाली सेनाले सैनिक मञ्चमा हर्षोल्लासपूर्वक फूलपाती बढाइँ गर्ने प्रचलन छ। गोरखाबाट ल्याइएको जमरा र फूलपाती हनुमानढोका दसैँघरमा साइत जुराएर भित्र्याएसँगै टुँडिखेलमा फूलपाती बढाइँ गर्ने परम्परा छ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिगणलगायत विशिष्ट व्यक्तित्व, कूटनीतिक नियोगको प्रमुख तथा प्रतिनिधि सहभागी थिए।
सैनिक मञ्चको बढाइँ हेर्न टुँडिखेल वरपर नागरिकहरूको बाक्लो उपस्थिति थियो।































































Shares

प्रतिक्रिया