मगर समूदायले काठमाडौँको टुँडिखेलमा भूम्या पर्व (भूमे पूजा) मनाएका छन्।
मौलिक भेषभुषामा सजिएका मगर समूदायले विविध कार्यक्रम गरी भूमे पूजा मनाएका हुन्।
भूम्या पर्वमा भूमि अर्थात् जमिनलाई देवताका रुपमा पूजाआजा गर्दै बालीनाली सप्रियोस्, खेतीपातीका लागि पानी परोस्, बाढी पहिरोले कसैको अकालमा ज्यान नजाओस् भनि प्रार्थना गर्ने गर्दछन्।
असार १ भूम्या अर्थात् भूमि पुजाको अति उत्तम साइत मानिन्छ। यो पर्व तीन दिनसम्म मनाउने प्रचलन छ।
असार १ को पहिलो दिन गाउँले जम्मा भई पूजाका लागि टाढाटाढा लेकमा गइ बुकी फूल टिपेर ल्याउने गर्दछन्। ब्रत बसी पूजा गर्ने, चामलको सेतो टिकासँगै बुकी फूल लगाउने तथा शुभकामना आदानप्रदान, आगामी वर्षका लागि साडो भाकल गर्ने र भूमे नाच नाच्ने चलन छ।
अठार मगरात क्षेत्रमा बसोबास गर्ने खाम भाषीका मगर समुदाय यो पर्व निकै हर्षोल्लासका साथ मनाउने गर्दछन्। भूमे नाच जेठदेखि नाच्ने गरे पनि असार १ देखि ३ गतेसम्म पूजाआजासहित गाउँले एकै ठाउँ जम्मा भएर मनाउने गर्दछन्।
भूम्या पूजा गरी वस्तुभाउको चरिचरण क्षेत्र खुल्ला र बन्द गर्ने, गाउँको मुखिया, पुजारी, कटुवाले चुन्ने काम, आफ्नो गाउँको नयाँ विकास योजना गाउँलेहरुको सहभागितमा निर्माण गर्ने काम पनि भूम्या वर्षकै बेला गर्ने चलन छ।



















Shares

प्रतिक्रिया