वैशाख शुक्ल पूर्णिमाका दिन शुक्रबार किरात राई समुदायले उभौली पर्व मनाउँदैछन्।
पूर्वी नेपालसहित काठमाडौं उपत्यका र देशका अन्य भागमा पनि भूमिपूजा गरेर उँभौली मनाइँदैछ।
यसक्रममा काठमाडौंसहितका स्थानमा नाचगानसहित यो पर्वमा किरात समुदाय रमाउँछन्।
बाली लगाउनुअघि भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा छ।
गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली भएको हो।
तर यस पटक किराती समुदायले कोशी प्रदेश नाम पहिचानविरोधी भन्दै आन्दोलनसहित उँभौली मनाएका छन्।
उनीहरुले बानेश्वरमा कोशीविरुद्धको कालो ब्यानर नै राखेर उँभौली मनाउँदै नाचगान गरेका हुन्।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीसहित जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ।
नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्ने विश्वास छ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन्।
यसबेला किरात समुदायका पनि विभिन्न सम्प्रदायबीच साकेला नाच नाचिन्छ।
नयाँबानेश्वर विरोधसहित उभौलीको नाचगान भएको छ। उता ललितपुरको हात्तीवनमा भूमेपूजासहित किरात राई यायोक्खाले यो पर्व मनाइरहेको छ।
Shares
प्रतिक्रिया