हिन्दु नारीहरूले आज महादेवको पूजा आराधना गरी हरितालिका तीज पर्व मनाइरहेका छन्।
आज काठमाडौंको पशुपतिनाथ मन्दिर लगायतका देशभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लागेको छ।
भगवान शिवको पूजा, आराधना गर्दै हर्षोल्लास पूर्वक मनाइने तीज पर्वमा आज पशुपति नाथमा रातो सारी र गरगहनाले सजिएका महिलाहरु पशुपतिनाथको दर्शनका लागि लाइनमा बसेका छन्।
मन्दिर आसपासमा महिलाहरु नाचगान गर्दै रमाईलो गरिरहेको देख्न सकिन्छ। अन्य वर्षहरूको भन्दा यस पटक पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन राम्रो गरेको व्रतालु महिलाहरु बताउँछन्।
अन्य समय दर्शनका लागि घण्टौँ कुर्नुपर्ने समस्या भएको तर यस पटक भने १५/२० मिनेटमा नै दर्शन गर्न सकिएको भन्दै खुसी ब्यक्त गरे।
पशुपति क्षेत्र विकास कोषको संस्कृति महाशाखाका निमित्त प्रमुख गौरीशंकर पराजुलीले सम्बन्धित सरोकारवालाहरुसँग छलफल गरेर सबै सुरक्षाको व्यवस्थापन गरेकोले व्यवस्थापन कार्यमा कठिनाइ नभएको बताए।
उनले क्षेत्र विकास कोषले आज दिनभरको लागि नै सबै ढोका दर्शनार्थीहरूका लागि खोलेको र जुन ढोकाबाट दर्शन गरेको हो सोही ढोकाबाट बाहिर निस्किने व्यवस्था मिलाएकोले व्यवस्थापनमा कठिनाइ नभएको बताए।
तस्बिरमा हेर्नुहोस् पशुपति क्षेत्रमा देखिएको तीजको रौनकः




























Shares

प्रतिक्रिया