विचार


पृथ्वीनारायण शाहको त्यो कूटनीतिक दाउपेच जसले नेपाल स्वतन्त्र हैसियतमा अस्तित्वमा आयो

पृथ्वीनारायण शाहको त्यो कूटनीतिक दाउपेच जसले नेपाल स्वतन्त्र हैसियतमा अस्तित्वमा आयो

भरत बस्नेत
पुस २७, २०७७ सोमबार ९:९,

पश्चिमी पहाडमा खुम्चिएको गोरखाजस्तो सानो राज्यलाई विस्तार गरेर विशाल राज्यको कल्पना गर्नु चानचुने कुरा थिएन। तर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले गोरखालाई विस्तार गरेर नेपालजस्तो सबल राष्ट्र बनाउने सपना देखे। विभिन्न टुक्रामा विभाजित राज्यहरुलाई एकीकरण गर्ने कार्यमा पृथ्वीनारायण शाहको सैन्य नीतिले जति भूमिका खेल्यो, त्यति नै भूमिका खेलेको थियो उनको सबल कूटनीतिले। बाईसे, चौबीसे र काठमाडौं उपत्यकाका तीन मल्ल राज्यहरुलाई समेटेर सबल नेपाल राज्यको निर्माणका लागि उनले आन्तरिक, सैन्य, आर्थिक गरी तीन प्रकारको कूटनीतिको सफल प्रयोग गरे।

त्यो बेला गोरखाजत्तिकै शक्तिशाली राज्य यसको पश्चिममा रहेको लमजुङ थियो। लमजुङले दुःख दिएको खण्डमा उनको नेपाल एकीकरण कार्य सफल हुन सक्दैनथ्यो। त्यसैले उनले लमजुङका राजा रिपुमर्दन शाहसँग राम्रो मित्रवत् सम्बन्ध कायम गरे। यसले गर्दा एकीकरण कार्यको सुरुमै आउनसक्ने अवरोध तत्कालका लागि समाप्त भयो। यो उनको सफल कूटनीतिक अभ्यास थियो। पृथ्वीनारायण शाहको समग्र जीवन र नेपाल एकीकरणको क्रममा उनले अपनाएका नीति, उनको दिव्योपदेशलाई हेर्दा कूटनीतिको एउटा लामो सिलसिला नै देखिन्छ। यस्तो कूटनीतिक दक्षता उनले नअपनाएको भए सायद नेपाल एकीकरण कार्य सफल हुन सक्दैनथ्यो।

विदेशनीतिका प्रारम्भकर्ता
नेपाल एसियामा प्रभावशाली राष्ट्र थियो। तर, उत्तरतर्फको चीन झन् शक्तिशाली राष्ट्रका रुपमा अवस्थित थियो। दक्षिणतर्फका विभिन्न राज्यलाई आफ्नो पोल्टामा पार्दै अंग्रेजले पनि भारतलाई शक्तिशाली राज्यका रुपमा विकसित गर्दै थिए। पृथ्वीनारायण शाहको प्रयासबाट यी दुई ठूला राष्ट्रबीचको नेपाल पनि स्वतन्त्र हैसियतमा अस्तित्वमा आयो।

तर, नेपालको सार्वभौमिकता चुनौतीरहित थिएन। सही विदेशनीति तय नगर्ने हो भने नेपालको स्वतन्त्र अस्तित्व कुनै पनि बेला धरापमा पर्न सक्थ्यो। यस्तो स्थितिमा पृथ्वीनारायण शाहले यस राष्ट्रले अवलम्बन गर्नुपर्ने परराष्ट्र नीति तर्जुमा गरे। उनले तर्जुमा गरेको त्यही विदेशनीतिले नेपाललाई स्वतन्त्र र झन् शक्तिशाली राष्ट्रका रुपमा उभ्यायो।

पृथ्वीनारायण शाहले भनेका छन्, ‘नेपाल भनेको दुई ढुंगाको तरुल रहेछ।’ उनको यो भनाइले नेपालले सदैव असंलग्न विदेशनीति अपनाउनुपर्ने तथा सीमा जोडिएका दुवै शक्तिशाली छिमेकी राष्ट्रसँग समदूरीको सम्बन्ध कायम गर्नुपर्ने निकै गहिरो शिक्षा दिएको छ।

विदेशनीतिकै सन्दर्भमा पृथ्वीनारायण शाहले थप भनेका छन्, ‘दक्षिणको समुद्रका बादशाहसित घाह (सम्बन्ध) त राषुन् तर त्यो महाचतुर छ, हिन्दुस्थाना दबाइरहेको छ, सरजिमिनमा परिरहेछ। हिन्दुस्थाना जम्यो भन्दा कठिन पर्ला भनि किल्ला पजन आउन्याछ, सन्धि सर्पन हेरि गडि तुल्याई राषुन् र रस्ता रस्तामा भाजा हारि राषुन् र एक दिन त्यो बल आउन्याछ जाई कटक नगर्नु, झिकी कटक गर्नु।’

यसरी राष्ट्रको एकीकरण अभियान सम्पन्न नहुँदै एकीकरणका नायक पृथ्वीनारायण शाहले अंग्रेज भारतले आफू बलियो भएपछि छलकपट गरेर पुनः आक्रमण गर्न सक्छ भनी भाइभारदारछेउ बताएका थिए। दक्षिणको बादशाह निकै चतुर भएकोले त्यो जमेर लाग्यो भने राष्ट्रिय एकता र अखण्डतामा अप्ठ्यारो पर्ने बताउँदै उनले चीनका बादशाहसँग बलियो सम्बन्ध राख्न सुझाव दिएका थिए। जसले दक्षिणबाट हुनसक्ने आक्रमणबाट नेपालको राष्ट्रिय एकता र अखण्डता जोगाउन सहयोग पुग्ने उनको भनाइ थियो।

नभन्दै अंग्रेजले झुक्याएर नेपालमा आक्रमण ग¥यो। नेपाली भाइभारदारलाई प्रलोभनमा फसाएर किल्ला किल्लामा अंग्रेजसँग लडाइँ गरिरहेका योद्धाहरुको मनोबल कमजोर पार्ने काम अंग्रेजबाट भयो। नेपाली परिवारका मानिसलाई भारतमा जग्गा जमिन दिएर सुगौलीजस्तो अपमानजनक सन्धि गर्न बाध्य पारियो। सुगौली सन्धिबाट नेपालले निकै ठूलो भूभाग गुमाउनुप¥यो। चीनसँग नेपालले दरिलो सम्बन्ध राख्न नसक्दा चीनको सहयोग पनि नेपालले पाउन सकेन। नेपालीहरु आफैँले विचार नपु¥याउने हो र सबल कूटनीति नअपनाउने हो भने यस्तो स्थिति आउनसक्नेतर्फ पृथ्वीनारायण शाहले आफ्नो जीवनकालमै सचेत गराएका थिए। यसबाट पुष्टि हुन्छ, हाम्रा एकीकरणका नायक कति दूरदर्शी थिए।

पृथ्वीनारायण शाहले सन्तुलित कूटनीति अपनाउन उपदेश दिएको पनि अढाई सय वर्ष बितिसकेको छ। तर, उनले दिएको उपदेशको सान्दर्भिकता उत्तिकै छ।

आन्तरिक कूटनीति
आन्तरिक कूटनीति सफल पार्न सबैभन्दा पहिले आफ्नै वरिपरिको परिवेशबारे सही सूचना हुनु जरुरी छ, ता कि सोहीअनुसार योजना बनाउन सकियोस्। पृथ्वीनारायण शाह कूटनीतिको यो मान्यताप्रति निकै सजग देखिन्छन्। नेपाल एकीकरणको प्रारम्भिक कालमा उनले गोरखामा कस्ता कस्ता मानिसको बसोबास छ, उनीहरुलाई कसरी राज्य पुनः एकीकरणमा सहभागी गराउन सकिन्छ भन्नेमा ध्यान दिएका छन्। पृथ्वीनारायण शाहले नेपाल एकीकरणको आप्नो योजनालाई सफल पार्न यस्तो गरेका थिए।

तत्कालीन गोरखामा बढी संख्यामा बसोबास गर्ने जातमा बाहुन, खस, मगर, ठकुरी रहेछन्। त्यसैले पृथ्वीनारायण शाह ‘कुन जातको सवार चलाए चाँडो पुनः एकीकरणको काम सम्पन्न हाेला’ भन्ने विषयमा चिन्तामग्न हुन पुग्छन्। उनी निष्कर्ष निकाल्छन्, ‘सैन्य प्रयोजनका लागि खसहरु उत्तम छन्। जस्तो कि, दिव्योपदेशमा उनी भन्छन्, ‘बाहुन भन्याको वहेल हो, पातक लाग्छ। यसबाट काम सम्पन्न हुन्न। त्यस्तै ठकुरीको सवार भन्याको सिंह हो, पछाडि दाह्रा हुन्छ भनेको पछि गएर धोका हुन्छ। मगरको सवार दागन घोडा हो ढिलो हुन्छ, षसको सवार भन्याको ताजितुर्कि घोडा हो, षसको सवार ग¥या चाँडो होला।’

मकवानपुर ससुरालीमा बसेकी बडामहारानीलाई ल्याउने गरी काठमाडौंका तीन राज्यको भ्रमण गर्न आउँदा आफ्नै जेठान दिग्बन्धन सेनबाट उनीमाथि चुनौती खडा गरियो। त्यसपछि उनले सबैभन्दा पहिले मकवानपुरमाथि विजय हासिल गर्ने इच्छा जाहेर गरे। मकवानपुर राज्य हात पनि लाग्यो। आफ्नै ससुरालीको राज्यमा आक्रमण गरी नेपाल राष्ट्रको पुनः एकीकरण अभियानलाई उनले अघि बढाए। कतै मितेरी साइनो गाँस्दै त, कतिलाई राष्ट्र पुनः एकीकरण अभियानमा सहमत गरेर त्यसमा अवरोध सिर्जना गर्न आवश्यक ‘मिनी टक’ को सिद्धान्तअनुसार राज्य पुनः एकीकरणको अभियानलाई उनले निरन्तरता दिए।

अंग्रेजले दक्षिण भारतवर्षका ठूला राज्यलाई एकपछि अर्कोलाई आफ्नो कब्जामा लिँदै थियो। एकातर्फ व्यापारिक सन्धि, अर्कोतर्फ बाइबलमार्फत आर्थिक लोभमा धर्म परिवर्तन समेत गराएर आफ्नो साम्राज्य विस्तार गर्दै थियो। ठूलो संख्याका हिन्दूलगायत धर्मावलम्बीलाई ख्रिष्टियन धर्ममा परिवर्तन गराइएको थियो। यदि, उनीहरुले नेपालजस्तो पहाडी अधिराज्यमा प्रवेश गर्ने मौका पाएको भए यो पवित्र भूभाग पनि अंग्रेजको आधिपत्यमा जानेछ भन्ने पृथ्वीनारायण शाहले सोचे। त्यसैले छिटो छिटो विभिन्न टुक्रामा टुक्रिएको पहाडी राज्यलाई पृथ्वीनारायण शाहले एकढिक्का बनाए। यही कारण हामी नेपाली कसैको पनि गुलाम बन्नुपरेन। अनि, नेपाल एसियाको जेठो राष्ट्र बन्न पुग्यो। असल कूटनीतिज्ञको गुण भनेको ठीक समयमा सही निर्णय गर्न सक्नु पनि हो। यो गुण र क्षमता पृथ्वीनारायण शाहले प्रदर्शन गरे।

पृथ्वीनारायण शाहले राष्ट्रको एकीकरणमा भाइभारदारमा बस्नेत र पाण्डेको ठूलो योगदान रहेको बताएका छन्। ‘देशमा घात नहोस्, बलिया–बलियामा अस्वस्थ प्रतिस्पर्धा नहोस्’ भन्नेमा उनी पूरै सचेत देखिन्छन्। भाइभारदारबीच एकआपसमा फुट आए अथवा उनीहरुबीच मनमुटाव भए राज्य आन्तरिक द्वन्द्वमा फस्थ्यो। तर, पृथ्वीनारायण शाहले यस्तो आन्तरिक कूटनीति अपनाए, जसकारण उनको शासनकालभरि एकीकरणमा योगदान दिएका भाइभारदारबीच फुट विभाजन आएन।

उनले भनेका छन्, ‘अब पाण्डे बस्न्यात जुग बाधिदिन्छु, तेरी छोरी शिव राम बस्न्यातको छोरो केहे सिंह बस्न्यातलाई देऊ भनी मागी बिहे पनि गरिदिञाँ र पाण्डे बस्नेतको जुग बाँधी पाण्डेको दल बस्न्यातको तरवार गरी नेपालमा चढाई गर्याको हो।’

पृथ्वीनारायण शाहको यही नीतिका कारण उनको पालासम्म भाइभारदारबीच कुनै झैझगडा हुन पाएन। यही ‘पारिवारिक कूटनीति’ का कारण नेपाल एकीकरण कार्य सहज र निर्विवाद ढंगले अघि बढ्नसकेको थियो।

अंग्रेजहरु भारतलाई निल्दै उत्तरतर्फ अघि बढ्नुको उद्देश्य व्यापार मात्र थिएन। त्यसमा धर्मप्रचारको इरादा पनि थियो। काठमाडौं उपत्यकाका मल्ल राजाहरु अंग्रेजको यो उद्देश्यमा सहयोगी बने। उनीहरुले ख्रिष्टियन पादरीलाई यहाँ बस्न दिए। उनीहरुले अंग्रेजहरुलाई यहाँका सूचना दिने गर्थे– ‘गोरखाका राजा पृथ्वीनारायण शाहले तिमीहरुको राज्यमा आक्रमण गर्न सक्छ, अतः तिमीहरु सचेत हुनुपर्छ।’ भारतबाट अंग्रेज फौज मगाएर पृथ्वीनारायण शाहका फौजलाई पराजय गराउने उद्देश्य राखेर जयप्रकाश मल्लले अंग्रेजलाई निम्त्याएका थिए। गोरखा फौजसँग सिन्धुलीगढीमा भीषण लडाइँ भयो। अंग्रेजहरु पराजित भए।

तर, गोरखा फौजले नेपाल मण्डल उपत्यका विजय गर्नेबित्तिकै यहाँ बसोबास गर्ने पादरीहरुको ज्यान लिने कार्य गरिएन। यस्तो कार्य गरिएको भए यसले अंग्रेजहरुलाई उत्तेजित बनाउन सक्थ्यो। त्यसको परिणाम हुन्थ्यो, नेपालमाथि अंग्रेजहरुको आक्रमण। पृथ्वीनारायण शाहले धर्मप्रचारको प्रयोजनले आएका पादरीहरुलाई देश निकाला मात्र गरे। एकातिर अंग्रेजहरुलाई नेपालविरुद्ध उत्तेजित नपार्ने, अर्कोतिर धर्मप्रचार गरी राज्यलाई विघटन गराएर भारतसँग विलय गराउने अंग्रेजको योजनालाई पृथ्वीनारायण शाहले कूटनीतिक चातुर्यद्वारा असफल पारे।

आफ्नो देशको इतिहासको ज्ञान भएको व्यक्ति मात्र असल कूटनीतिज्ञ हुनसक्छ। पृथ्वीनारायण शाह इतिहासका अब्बल दर्जाका विद्यार्थी पनि रहेछन्। उनलाई आफूभन्दा अघिको नेपाल र हिमाली ससाना राज्यको इतिहासको ज्ञान रहेछ। इतिहासमा गोरखा ठूलो राज्य भएर ससाना राज्यमा टुक्रा भएको रहेछ। यसै अनुभवका आधारमा उनले नेपाल एकीकरण अभियानलाई गोरखा राज्यको विस्तारमा सीमित गरेनन्। उनले गोरखालाई नेपाल राज्यमा विलय गराए। काठमाडौं खाल्डो नियन्त्रणमा आएपछि यसलाई सिंगो राष्ट्रका रुपमा स्थापित गरी ऐतिहासिक राजधानीका रुपमा स्थापित गरेबाट यो कुरा पुष्टि हुन्छ। साथै, उनले नेपाल मण्डलको रीतिरिवाज र परम्परालाई आत्मसाथ गरे, कुमारीको हातको टीका लगाए। यस कार्यद्वारा उनले आफूलाई यहाँका आदिवासी नेवारहरुको राजाका रुपमा पनि परिचय दिए। यो राष्ट्रमा विग्रह आउन नदिने उनको ‘सांस्कृतिक कूटनीति’ को उदाहरण हो।

आर्थिक कूटनीति
पृथ्वीनारायण शाहले नेपाल एकीकरण कार्यको सुरुवातमै बिसे नगर्चीसँग आर्थिक विषयमा लिएको सल्लाहले उनी आर्थिक कूटनीतिमा पनि पारंगत थिए भन्ने देखाउँछ। एकीकरण कार्य मात्र होइन, एकीकरणपछिको नेपाललाई आर्थिक रुपले सबल बनाउन उनले आर्थिक विषयमा दिएको सल्लाह हाम्रा लागि स्मरणीय छ।

पृथ्वीनारायण शाहले भनेका छन्, ‘उप्रान्त देशका महाजनलाई गोडा प्रसाददेषि उभो आउन नदिनु, देशका महाजनहरु हाम्रो मुलुकमा आया भन्या दुनियाँ कगाल गरी छाड्छन्। ‘स्वदेश पुँजीको निर्माण, त्यसको सम्वद्र्धन र संरक्षणमार्फत देशलाई दिगो अर्थतन्त्रमार्फत स्वावलम्बन बनाउन उनले जोड दिएका छन्।

त्यसताका काठमाडौं उपत्यकाका तीनवटै सहरका नेवार व्यापारीहरुको व्यापार उत्तरमा भोटसम्म र दक्षिण समुद्रका बादशाहहरुको राज्यसम्म फैलिएको थियो। नेवार समुदायको व्यावसायिक सीपलाई पुनः एकीकरण गरिएको राष्ट्रभरि फैलाउन उनले कुनै कसर बाँकी राखेनन्। उनलाई सदरमुकाममा सुरक्षा प्रदान गरी बजार विस्तार गर्न सहयोग गरेका थिए। आफ्नो राज्यका जनतामध्ये जुन समुदायसँग जस्तो सीप छ, त्यही समुदायका मानिसमा त्यस्तो सीप विस्तार गराउन पनि उनले प्रयास गरे।

राष्ट्र सबल बन्न सुदृढ अर्थतन्त्रको आवश्यकता पर्छ। स्वदेशी सीप–पुँजीको प्रवद्र्धन र संरक्षणमार्फत सबल राष्ट्र निर्माण गर्ने परिकल्पना गरी राष्ट्रिय आर्थिक कूटनीतिको थालनी पृथ्वीनारायण शाहकै पालादेखि भयो। राष्ट्रका साहु–महाजनको संरक्षणका लागि विदेशी साहु–महाजन, विदेशी पुँजीलाई निषेध गर्ने आर्थिक कूटनीतिको प्रारम्भ पनि पृथ्वीनारायण शाहले नै गरे। आर्थिक कारोबारका अगुवाका रुपमा रहेका नेवार समुदाय उनको यो नीतिबाट लाभान्वित हुनपुगे।

स्वावलम्बी आर्थिक कूटनीतिको सुरुकर्ता पनि एकीकरणकर्ता पृथ्वीनारायण शाह नै थिए। उनले भनेका छन्, ‘हामले च्यागपगालाई तिन सहर नेपाल र नौलाष कितायत र हिन्दुपतिको राजा आज्र्योऔ। देश भन्नाले विदेशका कपडा लगाउनलाई मनाही गरिदिनु, आफ्ना देशका कपडा बन्न जान्यालाई नमुना देखाई सधाउनु र कपडा बन्न लाउनु यस्व भया नगत विदेश जाँदैन भन्नाले नगत विदेश जाँदैन। त्यस्तै आफ्नो देशको जिनीस जरिवुटी विदेश लैजानु र नत षैचनु, नगद पैचिराखुन र प्रजा मोटा भया दरवार बलियो रहन्छ।’

तर, पृथ्वीनारायण शाहले अपनाएको यस्तो स्वावलम्बी आर्थिक कूटनीतिलाई आजका शासकहरुले पछ्याएको पाइन्न। बरु, महात्मा गान्धीले पृथ्वीनारायणको आर्थिक कूटनीतिलाई राम्रोसँग मनन गरेको देखिन्छ। गान्धीको चर्खा अभियान यसको ज्वलन्त उदाहरण हो। उत्तरी छिमेकी मुलुक चीनका महानायक माओ त्सेतुङले पनि स्वावलम्बी आर्थिक नीतिलाई अवलम्बन गरे। यसै कारण हाम्रा दुवै छिमेकी मुलुक आर्थिक रुपले समृद्ध पनि बन्दै छन्। तर, नेपालमा आफूलाई गान्धी र माओका अनुयायी भन्नेहरुचाहिँ पृथ्वीनारायण शाहको आर्थिक कूटनीतिबाट विमुख देखिन्छन्।

(कूटनीतिः वर्ष १, अंक १, वैशाख–जेठ २०६९ बाट। भरत बस्नेत राष्ट्रियताप्रति चासो राख्ने पर्यटन व्यवसायी हुन्।)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad