अन्ठाउन्न वर्षअघि चिनियाँ सेनाले भारतमाथि आक्रमण गरेको थियो। एसियाका दुई विशाल मुलुकबीच पहिलो पटक र एकदमै अनपेक्षित रुपमा किन युद्ध भयो भनेर व्याख्या गर्न इतिहासकार र अन्तर्राष्ट्रिय सम्बन्धका जानकारहरुले ५० वर्ष खर्चिसकेका छन्। त्यसबेला माओ त्सेतुङले जवाहरलाल नेहरुलाई भन्न चाहेको एउटै कुरा के थियो भने चीनले भारतलाई आफू समान मान्दैन। ५८ वर्षपछि सी चिनफिङले नरेन्द्र मोदीलाई त्यही कुरा भन्न चाहिरहेका छन्। तर, त्यसबेला र अहिलेको परिस्थितिबीच एउटा आधारभूत फरक छ।
नेहरु भारतलाई चीनबराबर र आफूलाई माओबराबर ठान्थे। १९५० को दशकमा वास्तविक परिस्थिति र भौतिक यथार्थका हिसाबले उनले यस्तो कल्पना गर्नु स्वभाविक थियो। तर, सन् २०२० मा मोदीले यदि त्यस्तै भ्रम पालेका छन् भने निश्चय नै उनी कल्पनाको दुनियाँमा बाँचिरहेका छन्। मोदीले यो सन्देश बुझून् भन्ने सी चाहन्छन्।
सन् १९५० को दशकमा, अझ २० औँ शताब्दीको अन्त्यसम्म पनि भारतले चीनलाई आफूसँग बराबर ठान्नुपर्ने पर्याप्त कारण थिए। चिनियाँ र भारतीय सभ्याताको विरासत र सांस्कृतिक पक्षबाहेक दुई मुलुकको अर्थतन्त्रको गति पनि उस्तै थियो। जसका कारण भारत र चीन बराबरी हुन् भन्ने सोच्न सकिन्थ्यो। दुवै मुलुक स्वतन्त्र हुनुअघि ब्रेटन वुड्स सम्मेलन (जहाँ अन्तर्राष्ट्रिय मुद्रा कोष र इन्टरनेसनल ब्यांक फर रिकन्स्ट्रक्सन एन्ड डेभलपमेन्ट, जसलाई अहिले विश्व बैंक भनिन्छ, स्थापना भएको थियो) मा भारतीय प्रतिनिधिहरुले चीनजति नै हिस्सा पाउनुपर्ने अडान लिएका थिए। तर, अमेरिकाले भारतभन्दा चीनले बढी मत पाउने पक्षमा मतदान ग¥यो।
स्वतन्त्र भएपछि पनि भारतले आफ्नो हैसियत चीनसँग बराबर हुनुपर्नेमा जोड दिइरह्यो। हालै प्रकाशित दुई पुस्तकले पनि त्यसबेला नेहरुको सोच के थियो भन्ने स्पष्ट पार्छ। सन् १९६२ को सीमा युद्ध हुनुमा चीनको कपटजति नै भारतको घमण्ड पनि जिम्मेवार थियो। फ्रान्सिन फ्र्यांकलको ‘ह्वेन नेहरु लुक्ड इस्टः ओरिजिन्स अफ इन्डिया–यूएस सस्पिसन एन्ड इन्डिया–चाइना राइभलरी’ र तानवी मदनको ‘फेटफुल ट्रायंगलः हाउ चाइना सेप्ड यूएस–इन्डिया रिलेसन्स ड्युरिङ द कोल्ड वार’ नामक पुस्तकले यसका लागि पर्याप्त प्रमाण दिन्छन्।
सन् १९६२ को युद्धपछिका दुई दशकमा आंशिक रुपमा भारत बलियो बनेर उदायो। किनभने चीनको सांस्कृतिक क्रान्तिले अर्थतन्त्र ध्वस्त बनाएको थियो भने भारतमा हरित क्रान्तिले अर्थतन्त्रलाई टेवा पु¥याएको थियो। २० औँ शताब्दीको अन्तिम २५ वर्षमा चीनले विश्वमा आफ्नो हैसियत बढाउन थाल्यो। त्यसका लागि पहिले उसले अमेरिकासँग बलियो गठबन्धन बनायो र आन्तरिक रुपमा आमूल सुधार ग¥यो। जसले चिनियाँ विद्वानहरुले भन्ने गरेको चीनको बृहत् राष्ट्रिय शक्तिलाई ह्वात्तै बढायो।
भारत पनि अघि बढ्न थाल्यो। प्रधानमन्त्रीहरु पीभी नरसिंह राव, अटल बिहारी बाजपेयी र मनमोहन सिंहको योगदानका कारण भारतीय अर्थतन्त्रले लय पक्रिन थाल्यो।
भारतको यो गतिलाई आर्थिक वृद्धिदरले परिभाषित गर्छ। सन् १९५० देखि १९८० सम्म भारतको अर्थतन्त्र वार्षिक औसत ३.५ प्रतिशतका दरले वृद्धि भयो। त्यो अवधिमा चीनको अर्थतन्त्र ४ प्रतिशतका दरले बढेको थियो। भारतीय अर्थतन्त्र १९८०–२००० सम्म ५.५ र २०००–२०१५ सम्म ७.५ प्रतिशतका दरले बढेको थियो।
चीनका महान् नेता देङ स्यायो पिङले सन् १९८८ मा प्रधानमन्त्री राजीव गान्धीलाई भनेका थिए, ‘जब चीन र भारत विकसित हुन्छन्, तब मात्रै साँचो अर्थमा एसियाको शताब्दी सुरु हुन्छ।’ यही भनाइको आधारमा सिंगापुरका संस्थापक नेता ली क्वान युले एसियालाई दुई इन्जिन (चीन र भारत) को भरमा उड्ने जेट विमान भनेका थिए। यस्तो भाष्यले चिनियाँहरु मक्ख परेका थिए। किनभने १९८० पछि चीनको वृद्धिदर भारतको भन्दा निकै उच्च थियो। सन् २०१५ सम्म उनीहरु चीन–भारत मैत्रीको यो दृष्टिकोणलाई सहन्थे।
यही जगमा मित्रताको विकास गर्ने आशा प्रधानमन्त्री मोदीले साँचेका थिए। तर, सन् २००८ को आर्थिक संकटपछि द्विपक्षीय सम्बन्धका लागि आवश्यक अन्तर्राष्ट्रिय वातावरण परिवर्तन भइसकेको थियो। चीनको अर्थतन्त्र अर्थशास्त्री वाल्ट रोस्तोले भन्ने गरेको चौथो चरण अर्थात् परिपक्वतातर्फ अघि बढेको थियो। १९९० देखि २००८ सम्म चिनियाँ अर्थतन्त्रले ‘उडानको पूर्वसर्त’ अर्थात् तेस्रो चरणलाई सफलतापूर्वक पार गरेको थियो। अर्कोतिर, भारत भने सन् २०१२ पछि लडखडाउन थालेको थियो।
छोटकरीमा भन्नुपर्दा १९५० को दशकमा नेहरुसँग घमण्ड गर्नुपर्ने केही ऐतिहासिक र भौतिक आधार तथा कारण थिए। तथापि, त्यसलाई सैन्य क्षमता वा कूटनीतिक प्रयासले समर्थन गरेको थिएन। अहिले मोदीको नेतृत्वमा भारत सैन्य र कूटनीतिक हिसाबले बलियो स्थानमा छ। निश्चय नै १९६२ को तुलनामा अहिले भारतको कूटनीति निकै उच्च स्तरको छ। रक्षामन्त्री कृष्णा मेननको सल्लाह मान्दा नेहरुले ठूलो मूल्य तिर्नुप¥यो। मोदी भने एस जयशंकरको परिपक्व सल्लाह र राजनाथ सिंहको शान्त नेतृत्वको फाइदा लिइरहेका छन्। क्वाड मुलुकसँगको सम्बन्धले पनि भारतको कूटनीतिक शक्ति वृद्धि गरेको छ।
तथापि चीन र भारतबीच आर्थिक र प्राविधिक शक्तिमा निकै ठूलो अन्तर छ। सन् १९६० मा चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) १२८ अर्ब डलर (सन् २०१० को डलरको मूल्य अनुसार) रहेको अनुमान गरिन्छ। त्यसबेला भारतको जीडीपी १४८.८ अर्ब डलर थियो। सन् १९७८ मा समेत भारत र चीनको जीडीपी बराबर अर्थात् २९३ अर्ब डलरको हाराहारी थियो।
आज चीनको अर्थतन्त्र भारतको भन्दा पाँच गुणा ठूलो छ। क्रयशक्ति समताको आधारमा भारतको भन्दा चीनको जीडीपी अढाई गुणा ठूलो छ। अझ विज्ञान, प्रविधि, मानवीय पुँजीसम्बन्धी शक्ति अर्थात बृहत् राष्ट्रिय शक्तिको कुरा गर्ने हो भने चीन भारतभन्दा कयौँ गुणाले अगाडि छ।
सीको आत्मविश्वासको आधार चीनको त्यही शक्ति हो। जसले गर्दा मोदीले निकै होसियारी अपनाउनुपर्ने अवस्था सिर्जना भएको छ। घरेलु राजनीतिमा जतिसुकै बहादुरी देखाएपनि कूटनीतिमा मोदीले निकै सतर्कता अपनाएका छन्। नेहरुको जस्तो ढोङ प्रदर्शन गर्नसक्ने अवस्थामा मोदी छैनन् किनभने उनले नेहरुले जस्तै चर्को मूल्य तिर्नुपर्ने हुनसक्छ।
विश्वव्यापी हैसियत निर्माण गर्न भारतले आफ्नो घरेलु राजनीतिक क्षमता र मानवीय पुँजीमा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ। महाशक्ति बन्ने कुनै छोटो बाटो छैन।
भलै सी अहमदावादमा मोदीसँग एउटै झुलामा बसे र महाबलिपुरुममा भारतको गौरवशाली इतिहासको वर्णन सुने, तर मोदी र उनका सल्लाहकारलाई राम्ररी थाहा छ, सी खेल मात्र खेलिरहेका थिए। जुन खेल माओले नेहरुसँग खेलेका थिए।
भनिन्छ, छिमेकीसँग राम्रो सम्बन्धका लागि बलियो बार लगाउनुपर्छ। त्यो बार भनेको सुदृढ बृहत् राष्ट्रिय शक्ति, अरु छिमेकी मुलुक र शक्तिराष्ट्रसँगको राम्रो सम्बन्ध नै हो।
(इन्डियन एक्सप्रेसबाट। सञ्जय बारु इन्स्टिच्युट अफ डिफेन्स स्टडिज एन्ड एनालाइसिसका अध्येता हुन्)
Shares

प्रतिक्रिया