विचार


बालबालिकालाई यसरी जोगाऔँ कोरोना संक्रमणबाट

बालबालिकालाई यसरी जोगाऔँ कोरोना संक्रमणबाट

डा. कृष्ण पौडेल
भदौ १५, २०७७ सोमबार १५:३९,

नेपालमा सक्रिय उमेर समूहका मानिस कोरोनाबाट सबैभन्दा बढी संक्रमित छन्। त्यो भनेको काम गर्न सक्ने, बच्चा पाउने उमेर भएकाहरुमा बढी संक्रमण छ।

धेरै काम गर्नपर्ने, घरबाहिर जानुपर्ने बालबच्चा हुर्काउनुपर्ने भएकोले उनीहरु बढी प्रभावित भएका हुनसक्छन्।

त्यस्तै नेपालमा कुल कोरोना संक्रमितमध्ये १५ प्रतिशत १८ वर्षमुनिका छन्।

१५ वर्ष भन्दामुनिका संक्रमित ७ प्रतिशत छन्। १५ देखि १८ वर्ष उमेर समूहका ८ प्रतिशत संक्रमणमा परेका छन्। यसले के देखायो भने घरबाहिर निस्किने, पढ्न जाने, घुम्न जाने, र एक्स्पोज हुने उमेर समूह बढी प्रभावित बनेको छ।

प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा त्यो संख्या अझ बढी देखिन्छ। यी दुवै प्रदेशमा कम उमेरका बालबालिकालाई काम लगाउने चलन छ। त्यसमा पनि बलिकाभन्दा बालकको संख्या अझै बढी देखिएको छ।

कुनै महिला गर्भवती छिन् र अस्पतालमा सुत्केरी गराउँदैछिन् भने त्यहाँ पनि संक्रमणको जोखिम छ। शिशुहरुमा संक्रमण हुन नदिन स्तनपान नरोक्ने तर, सुरक्षाको विधि अपनाउने भन्ने अहिलेको गाइडलाइन छ। यति हुँदाहुँदै पनि बच्चाहरु संक्रमित भएका छन्। केहीको त मृत्यु पनि भएको छ।

अब बच्चालाई संक्रमणबाट जोगाउने पहिलो उपाय भनेको बाहिरबाट आएपछि सकभर नुहाएर मात्र बच्चाको नजिक जानुपर्छ। त्यसो गर्न नसके बाहिर गएर आएपछि लगाएको कपडा सबै फेरेर सुरक्षित र खुल्ला ठाउँमा राखेर, हात, मुख साबुन पानीले धोएर, मास्क लगाएर मात्र बच्चाको सम्पर्कमा जानुपर्छ। र, सकिन्छ भने बाहिर काम गरेर फर्केपछि सकभर बच्चालाई छुँदै नछुँदा बच्चालाई संक्रमणबाट जोगाउन सकिन्छ।

यो मुख्य समस्या किन हो भने, डाक्टर, नर्स, सेना, प्रहरी लगायत दैनिक काम गर्नेहरु छन्। उनीहरुले दैनिक कार्यक्षेत्रमा ड्युटी गर्नुपर्छ, कसैको २४ घण्टासम्म पनि काम गर्नुपर्ने हुनसक्छ। उनीहरुबाटै बालबालिका मुख्य जोखिममा छन्।

बालबच्चा जोगाउने अर्को उपाय भनेको सकभर उनीहरुलाई छुट्टै ठाउँमा राख्नुपर्छ। त्यो भनेको दैनिक काम गरेर फर्केपछि बच्चाको पहुँचमा आफू नपुगेपनि हुने वातावरण भए राम्रो हुन्छ।

तर, त्यो चुनौतीपूर्ण छ र सबैका लागि सम्भव छैन। दुईजना मात्र भएको परिवारमा त्यसलाई व्यवस्थापन गर्न सकिँदैन। संयुक्त परिवार भएको घरमा त्यो सम्भव छ। बुबा आमाको साथमा बच्चालाई छाडिदिने, आफू अलग्गै बस्ने। फोन, भिडियो कलमार्फत बच्चालाई आमाबुबाको नियास्रो महसुस हुन नदिन सकिन्छ। तर, यो सबैको हकमा लागू गर्न सकिँदैन।

काठमाडौंमा त कोठा भाडामा लिएर एउटा मात्र कोठामा बस्ने पनि हुनुहुन्छ। त्यो बेला झन् समस्या हुन्छ। फ्ल्याट नै छ भने अलिकति व्यवस्थापन होला, एउटा कोठामा बसेर कसरी गर्ने? फेरि पानीको अभाव उस्तै छ। हामीले जति हात धुनु भनेपनि कति घरमा पिउने पानी नै अभाव छ।

२० देखि ३० वर्षको समूहमा संक्रमण देखिनु भनेको सीधै बच्चालाई असर गर्ने आधार हो। किनभने प्रायः बच्चा यही समूहका अभिभावकबाट जन्मन्छन्। त्यसकारण बच्चाहरुलाई हुने जोखिम अझै बढ्नसक्छ।

अमेरिकामा कुल संक्रमितको ९ प्रतिशत बालबच्चा संक्रमित भएको तथ्यांक छ। तर, हाम्रोमा त्योभन्दा बढी अर्थात १५ प्रतिशत बालबालिका संक्रमित हुनाले हाम्रा बालबालिका उच्च जोखिममा छन्।

बालबालिकालाई संक्रमणबाट बचाउन अभिभावक, हेरचाह गर्ने व्यक्ति सचेत हुनुपर्छ। यसमा ध्यान दिनुपर्ने कुरा भनेको सम्पर्कमा जाँदै नजाने, गएपनि दूरी राख्नसके केही हदसम्म रोक्न सकिन्छ। सरसफाइ, मास्क लगाउने, धुने छँदैछ।

विश्व स्वास्थ्य संगठनले ६ वर्षमुनिका बालबालिकालाई मास्क नलगाउने, ६ देखि ११ वर्षकालाई अवस्था हेरेर लगाउन सकिने र ११ देखि माथिकालाई वयस्कलाई जस्तै अनिवार्य मास्क लगाउनुपर्ने नयाँ नियम ल्याएको छ।

अर्काे व्यवहारिक समस्या पनि छ। बुबालाई संक्रमण छ तर, बच्चा बुबाबिना बस्नै सक्दैन। ६ वर्षभन्दा कम उमेरको बच्चाले यो कुरा बुझ्दैन। आमालाई संक्रमण छ, बच्चाले आमालाई एकछिन छाड्न मान्दैन। २ वर्षको दूध खाने बच्चा छ, आमासँगै नसुताई हुँदैन। घरको एकजना मात्र संक्रमित हुँदा बच्चालाई कसरी जोगाउने भन्ने अहिलेको मुख्य चुनौती हो। यस्तो बेलामा संक्रमित आमाले मास्क लगाउने, सँगै सुताएपनि धेरै लामो समय नराख्ने, आफूले नाक, कान, मुख, आँखा जस्ता अति संवेदनशील अंग छोएपछि साबुन पानीले हात धोएर मात्र बच्चालाई छुनुपर्छ। कोठाको वातावरण खुल्ला राख्नुपर्छ।

अर्काे भनेको संक्रमण देखिएपछि बच्चालाई जहाँ राखेपनि एक्लै राख्न मिल्दैन, उसको अधिकारको पनि कुरा छ। ६ वर्षमुनिको बच्चालाई माया, ममता, स्नेह वात्सल्य जे दिनुपर्ने हो, दिनैपर्छ त्यो हिसाबले चुनौती छ। होसियारी अपनाउन नसकिने भन्ने होइन तर सतप्रतिशत सकिँदैन।

एउटै कोठामा सुत्ने हो भने पनि झ्याल ढोका खोलेर हावा आवतजावत हुन दिनुप¥यो। बन्द कोठामा १० मिटरसम्म पनि संक्रमण सर्ने खतरा रहेको हुँदा दूरी कायम गर्नुपर्छ। अभिभावकले मास्क लगाइराख्नुपर्छ।

सामान्य अवस्थामा बच्चालाई झाडा पखाला, रुघाखोकी लागिरहन्छ। अहिलेको यो संकटको बेला त्यस्ता संक्रमण हुनै दिनुभएन। त्यही भएर खानेकुरा खुवाउँदा, बाहिर बच्चा हिँडडुल गर्दा पनि उसको स्वास्थ्य अवस्था ख्याल गर्नुपर्छ। कोभिडले झाडापखाला गराउने पनि हुनसक्छ।

कतिपय अवस्थामा सबै भनेको जस्तो गर्न सकिदैँन। साना बालबालिका भएको परिवारले यस्ता कुरा कडाइका साथ पालना गर्नुपर्छ। अर्को कुरा, बालबालिकालाई अन्य संक्रमितको नजिक जान दिनुभएन। विभिन्न जिल्लामा बनाएका क्वारेन्टिनमा संक्रमित रहेकै ठाउँमा बालबच्चा र अभिभावक पनि बस्नुपर्दा संक्रमण फैलिन सहयोग पुग्यो। त्यस्ता ठाउँमा बस्नै परे सामाजिक दूरी कायम गर्नुपर्छ।

आइसोलेसन वा क्वारेन्टिनमा बस्नैपर्ने बालबालिकालाई सिर्जनात्मक क्रियाकलाप गर्न लगाउँदा राम्रो हुन्छ। कसैले चित्र बनाउन सक्छन्। कुनै बच्चाले आफूले पढेको आधारमा कथा लेख्न सक्छन्। बच्चा सानै छ भनेपनि उसको इच्छा अनुसारको खेल खेलाउने, कथा, कविता वा गीत सुनाउने गर्नुपर्छ। त्यस्तो बेलामा आफूले जसरी सकारात्मक सोच्नुपर्छ, प्रेरणाप्रद विचार अनुसरण गर्नुपर्छ सोही सिकाउने गर्नुपर्छ। अझ त्यो अवधि भनेको राम्रोसँग आफू पनि अनुशासनमा बस्ने र उनीहरुलाई सिकाउने हो।

सकेसम्म बच्चालाई संक्रमितसँग नराखी व्यवस्थापन हुन्छ भने सोही अनुसार गर्नुपर्छ। अभिभावकमध्ये एकजना संक्रमित छ भने संक्रमण नभएकोसँग राख्नुपर्छ।

यदि बच्चा पनि संक्रमित छ र आमा बुबामध्ये एकजना संक्रमित छन् भने जो संक्रमित छ उसैसँग राख्नुपर्छ। बच्चाले मान्दै नमान्ने अवस्थामा सुरक्षाका उपाय अपनाउनुपर्छ।

(कान्ति बाल अस्पतालका निर्देशक वरिष्ठ बालरोग विशेषज्ञ डा. पौडेलसँग सागर न्यौपानेले गरेको कुराकानीमा आधारित)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad