हालै भारतीय सेना प्रमुख एमएम नरवणेले काठमाडौँले अर्कै मुलुकको निर्देशनमा सीमाबारे भारतको विरोध गरेको आक्षेप लगाए। उनको यो अभिव्यक्ति असंवेदनशील र अनावश्यक त थियो नै, यसले उनी महारथी रहेको भारत र नेपाल दुवै सेनामा ठूलो क्षति पुर्याएको छ। गैरसैनिक क्षेत्रको विषयमा बोलेर नेपाली सेनाको मानार्थ महारथी समेत रहेका नरवणेले आफ्नै पदको अपमान गरेका छन् र दुई देशका सेनाबीच रहेको विशेष सम्बन्धमा अनावश्यक तनाव निम्त्याएका छन्। किनभने भारतीय सेनाको सात गोर्खा रेजिमेन्टका करिब ४० बटालियनका सबैजसो सैनिक नेपालबाट भर्ती हुने गर्छन्।
केही समययता भारतीय सेनापतिले सरकारी प्रवक्ताको जिम्मेवारी पनि आफैँले लिन थालेका छन्। यस्तो प्रवृत्तिलाई प्रोत्साहित गरिएको छ। अनावश्यक रुपमा बोलेर जनरल नरवणेले पनि यही दुर्भाग्यपूर्ण उदाहरणलाई पछ्याएका छन्।
भारत र नेपाल दुई सार्वभौम मुलुकबीच सबैभन्दा सुमधुर सामाजिक सम्बन्ध मात्र छैन, सम्भव हुनसक्ने जति गहिरो सैन्य सम्बन्ध पनि छ। भारत र नेपालका सेनाबीच जस्तो अन्तरसम्बन्ध छ, त्यस्तो अन्य कुनै दुई सेनाबीच छैन। समयको परीक्षा पार गर्दै यहाँसम्म आइपुगेको यस्तो अनुपम सम्बन्धमा यो असैनिक अभिव्यक्तिले दरार उत्पन्न गरेको छ।
मनोहर पार्रिकर इन्स्टिच्युट फर डिफेन्स स्टडिज एनालाइससिले आयोजना गरेको अनलाइन सेमिनारमा बोल्दै जनरल नरवणेले १५ मे २०२० मा भनेका थिए, ‘उनीहरुले विरोध किन गरेका हुन्, मलाई थाहा छैन। विगतमा यो क्षेत्रमा कहिल्यै पनि समस्या उत्पन्न भएको थिएन। उनीहरुले यो समस्या अरु कसैको निर्देशनमा उठाएका हुनसक्छन्। यस्तो विश्वास गर्नुपर्ने कारण छ र यो धेरै हदसम्म सम्भव छ।’
करिअप्पाको मार्ग भूल्दा
भारत र नेपाल दुवैले एकअर्काका सेनाप्रमुखलाई मानार्थ महारथीको पदवी दिने प्रचलन फिल्ड मार्सल (त्यस बेलाका जनरल) केएम करिअप्पाको पालामा सुरु भएको थियो। उनले सन् १९५० मा चिफ अफ आर्मी स्टाफको पदवी सम्हालेका थिए। त्यहीबेला उनलाई तत्कालीन शाही नेपाली सेनाले मानार्थ महारथीको पदवीले सम्मानित गर्यो। त्यसयता यो परम्परालाई एकअर्काप्रतिको सम्मानका रुपमा निरन्तरता दिइएको छ। र, यस्तो आपसी सम्बन्ध दुई बेग्लाबेग्लै मुलुकको सेनाबीच विरलै देख्न पाइन्छ।
सेनापतिका रुपमा फिल्ड मार्सल करिअप्पाले भद्र सैनिक अधिकृतसँग कस्तो शिष्टाचार हुनुपर्छ भनेर लेखेका थिए। अहिले सेनाले उनको त्यो मार्गनिर्देशनलाई बिर्सिएको महसुस हुन्छ। किनभने सम्भवतः पहिलो पटक एक सेनापतिले नेपालको राजनीतिक तथा कुटनीतिक काममाथि सन्देह प्रकट गरेका छन्।
यसले अद्वितीय र प्रसिद्ध फिल्ड मार्सल साम मानेकसावको बारम्बार दोहोर्याइने भनाइ स्मरण गराउँछ। भारत विभाजनपछि मानेकसावको बटालियन पाकिस्तानको सेनामा परेपछि उनी गोर्खा राइफल्समा गएका थिए। मानिसहरुले प्रेमपूर्वक उनलाई साम बहादुर भनेर चिन्छन्। उनले राष्ट्र र सेनाबारे अनकौँ प्रसिद्ध भनाइ छाडेर गएका छन्। एक गोर्खा सैनिकका रुपमा अहिलेको विवाद देखेर उनी पक्कै पनि निरास हुने थिए। त्यतिबेलै उनले भनेका थिए– ‘भारतमा समस्या के छ भने हामीमध्ये कोही शक्तिशाली पदमा पुग्नेबित्तिकै ऊ सारा ज्ञानमाथि आफ्नो एकाधिकार छ भन्ने सम्झिन थाल्छ।’
नेपाली नागरिकहरु तालिम लिन्छन् अनि भारतको राष्ट्रिय हितको रक्षा गर्ने शपथ खान्छन्। दशकौँदेखि उनीहरुले त्यो शपथ पूरा गर्दै आएका छन्। कतिपय अवस्थामा उनीहरुले ज्यान समेत बलिदान गरेका छन्। भारतीय सेनाको सात वटा गोर्खा रेजिमेन्टले त्यो आत्मविश्वास र निकटतालाई दर्शाउँछ। नेपालमा भारतीय सेनाको पेन्सन लिनेहरुको संख्या १ लाख ३० हजार पुग्न लागेको छ। अन्य कुनै पनि कुटनीतिक नियोगमा भन्दा नेपालको दूतावासमा खटिएका सैनिक अधिकृत धेरै छन्। जसमा सैन्य चिकित्सक समेत सामेल छन्। नेपाली गोर्खा सैनिक र तिनको परिवारलाई भारतले कति महत्व दिएको छ, यसबाट समेत स्पष्ट हुन्छ।
सेनापतिका कारण उत्पन्न आक्रोश
जनरल नरवणेले नेपालको विश्वसनीयताको अपमान गरेका छन्। जबकि नेपालले भारतलाई सैनिक, सेवा र बलिदान समेत दिएको छ। नेपालमा गहिरो पारिवारिक नातासम्बन्ध भएका भारतीयहरुले दुई देशबीच अर्को अनावश्यक विवाद खडा गरिएको महसुस गरेका छन्। मधेस आन्दोलनका कारण उत्पन्न रोष काठमाडौँमा अझै कायम छ। नेपालमा भारतको हस्तक्षेपकारी रवैया एक पटक फेरि त्यहाँ चर्को बहसको विषय बनेको छ।
यसपटक भने पहिलो चोटी त्यस्तो आक्रोश एक सैनिक अधिकारीका कारण उत्पन्न भएको छ। नरेन्द्र मोदी सरकारभित्रका कसैले नउक्साई जनरल नरवणेले यस्तो विवेकहीन टिप्पणी गरे होलान् भनेर भारत वा नेपालका कुनै पनि सैनिकले विश्वास गर्दैनन्।
यस्तो हल्ला चल्नु निकै अप्रिय विषय हो। जसले फिल्ड मार्सल साम बहादुरको अर्को भनाइ सम्झना गराउँछ। एक पटक प्रधानमन्त्री इन्दिरा गान्धीले साम बहादुरलाई सैन्य कु को हल्लाबारे प्रश्न सोधिन्। त्यसबेला आपसी सम्मान स्तर बेग्लै थियो। त्यसैले साम बहादुरले प्रधानमन्त्री गान्धीलाई व्यंग कसे– ‘तपाईं आफ्नो काम समाल्नुस्, म आफ्नो समाल्ने छु। तपाईं आफ्नो प्रियतमलाई चुम्नुहोस्, म आफ्नोलाई चुम्नेछु। म तबसम्म राजनीतिक हस्तक्षेप गर्दिनँ, जबसम्म कसैले सेनामा मेरो काममाथि हस्तक्षेप गर्दैन।’
निश्चय नै साम बहादुरले अहिलेको घटनामा बिल्कुल फरक तरिकाले प्रतिक्रिया दिने थिए।
(द प्रिन्टबाट। मनवेन्द्र सिङ भारतको विपक्षी दल कंग्रेसका नेता तथा ‘डिफेन्स एन्ड सेक्युरिटी एलर्ट’ का प्रधान सम्पादक हुन्)

प्रतिक्रिया