विचार


यो बालेनको उग्रवाद होइन, मेरो पुस्ताको बाध्यकारी विद्रोह हो

नेपाल जाँदैछ कहाँ- जहाँ लाँदैछन् ३० वर्ष पिल्सिएका जनताले
यो बालेनको उग्रवाद होइन, मेरो पुस्ताको बाध्यकारी विद्रोह हो

दिलिप भट्टराई
फागुन ११, २०८२ सोमबार १९:३८, काठमाडौँ

नेपाल जाँदैछ कहाँ?

सन्जय घिमिरेले नेपालखबरमा आफ्नो नियमित स्तम्भमार्फत सम्भवतः २०६२/६३ पछि कम बहस गरिएको प्रश्न सोध्नुभयो। उहाँलाई उग्रवादको डर लागेछ अनि बालेन, रवि, हर्कहरू देख्दा लहड र चटक जस्तो लागेछ।

प्रश्न शत प्रतिशत ठीकै हो तर हेर्ने नजर चाहिँ हाम्रो र तपाईंको अलि मिलेन। २०४६ सालको पुस्ताको प्रतिनिधित्व गर्दै तपाईंले पुरानो चस्माले हेर्दा अहिलेको दुखाइ नदेखिएको पो हो कि?

तपाईं भन्नुहुन्छ, व्यक्तिगत उग्रवादले बीपीको प्रजातन्त्र सिध्याउँछ। हामी (मेरो पुस्ता) भन्छौँ ‘हैन हो, यसले डुब्न लागेको प्रजातन्त्र र गणतन्त्र बचाउँछ।’

तपाईंको पीर पनि नबुझेको होइन। तपाईंहरूको पुस्ता भाग्यमानी! पञ्चायत ढालेर, बहुदल ल्याएर हिरो हुनुभएको। त्यो जितको नशा अझै उत्रेको छैन। त्यसैले तपाईंको पुस्ताको ह्याङओभर के छ भने ठूला नेताले बनाएको घरमा अलिअलि रङरोगन गरे पुगिहाल्छ!

म पचासको दशकमा जन्मेको अभागी पुस्ता हुँ। तपाईंहरूको नियति विजेताको थियो भने हाम्रो नियति प्रयोगशालाका मुसाको जस्तो भयो।

म बामे सर्दै गर्दा २०५२ साल फागुन १ गते रोल्पाबाट बारुदको धुवाँ सुलुत्त उड्यो। हाम्रो पुस्ताको बाल्यकाल आमाको काखमा चन्दा मामाको कथा सुनेर सुत्नु पर्नेमा जनयुद्धको बीभत्स कोलाहल सुनेर बित्यो। हाम्रो पुस्ताले बोल्न सिक्दा बाबा, आमा भन्नुअघि बम, बारुद र बन्दको अर्थ बुझिसकेको थियो। २०६२/६३ को आन्दोलन हुँदा हाम्रो पुस्ता १२–१५ वर्षको भर्खर सामाजिक, राजनीतिक ज्ञान बुझ्दै गरेका युवावस्थामा प्रवेश गर्न लागेको थियो। ‘ज्ञाने चोर, देश छोड’ भन्दै हामी पनि जुलुसमा कुदेकै हो। हामीलाई राजनीति थाहा थिएन, तर नयाँ नेपाल बन्छ भन्ने धुन्धानको सपना चाहिँ तपाईंहरूले नै देखाइदिनुभएको थियो।

हाम्रो पुस्ताको करिअर बनाउने बेला यही गणतन्त्र हामीमाथि बज्रन आइपुग्यो। त्यसैले, तपाईंले जसलाई व्यक्तिगत उग्रवाद देख्नुहुन्छ, म त्यसलाई मेरो पुस्ताको बाध्यकारी विद्रोह देख्छु।

तपाईंका शब्द सापट लिँदा– चुनावका मुखमा नेपालमा अहिले लहर, लहड र चटकहरू चलेका छन्। मेरो प्रतिप्रश्न छ, यो लहर र चटक कसले सिर्जना गर्‍यो? के यो आकाशबाट फुत्त खसेको हो? कि बालेन, रवि, हर्क र गोपी हमालहरू कुनै प्रयोगशालामा अचानक बनेका भाइरस हुन्?

होइन।

३० वर्षदेखिको फोहोरी राजनीतिको खातमा उम्रिएको विषवृक्षरूपी फोहोरलाई सफा गर्न प्रकृतिले पठाएको आँधी हो।

२०६२/६३ को जनआन्दोलन र नायकहरू
तपाईं बीपीको कुरा गर्नुहुन्छ। बीपी एक आदर्श अनि विचारक थिए। बीपीलाई सम्मानपूर्वक थन्क्याएर बीपीका उत्तराधिकारी र आफूलाई धुन्धानका क्रान्तिकारी भन्नेहरूको कामको हिसाब गरौँ।

२०६२/६३ को जनआन्दोलन ताका भनियो–
अब नयाँ नेपाल बन्छ।
राजा गए।
गणतन्त्र आयो।

तर, परिवर्तनको ठेक्का लिएका यी पार्टीहरूले के गरे?

तिनले श्रीपेच मात्र हटाए, तर छोटे राजाहरूको नयाँ अवतार धारण गरे।

१७ हजार मानिसको बलिदानीको जगमा उभिएर पुष्पकमल दाहाल प्रचण्डले क्रमभंगको धुन्धान सपना बाँडे। म स्कुल पढ्दा सुन्थेँ, माओवादी आयो भने सामन्तको जग्गा गरिबलाई दिन्छ, देशमा समानता हुन्छ। तर सत्य के रहेछ? हिजो संसदीय व्यवस्था ‘खसीको टाउको राखेर कुकुरको मासु बेच्ने थलो हो’ भनेर सिकाउने सुप्रिम कमान्डर आज त्यही पसलको सबैभन्दा ठूलो, चलाख र बेइमान व्यापारी बनेका छन्। जनयुद्धको भर्‍याङबाट प्रचण्ड सुलुत्त उक्लिए तर भुइँमा भएकाहरूले लात मात्र खाए।

अझ २०७९ मा नयाँ पुस्ताले ‘नो नट अगेन’ भन्दाभन्दै पनि उहाँ गठबन्धनको बैसाखी टेकेर सिंहदरबार छिर्नुभयो। २०८२ सालको यो विन्दुमा आइपुग्दा उहाँको चिन्ता देश कसरी बनाउने भन्ने नभई कसको ढाडमा टेकेर सत्ता लम्ब्याउने भन्ने मात्र छ। नयाँ पुस्ताले डेलिभरी खोजिरहँदा उहाँ अझै ‘म्याजिक नम्बर’को जादु देखाउन खोज्दै हुनुहुन्छ। उहाँको क्रमभंग अब कमेडी भइसक्यो।

अब कुरा गरौँ खड्गप्रसाद ओलीको। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा कति सुनियो? उखान–टुक्का, घर–घरमा ग्यासका पाइप, र हावाबाट बिजुलीका धुन्धान सपनाहरूले जनतालाई केही समय लठ्यायो। उहाँको राष्ट्रवादको खोल नाकाबन्दीताका चम्कियो।

तर सत्तामा पुगेपछि?

ओम्नी र वाइडबडीका काण्डहरूमा त्यो खोल च्यातियो। ‘बा’ प्रवृत्तिले लोकतन्त्रलाई बन्धक बनायो। झन्डै दुई–तिहाइ नजिकको जनमत पाएको सरकारले दुई–दुई पटक संसद् विघटन गर्दा देखियो, यहाँ विधि होइन, व्यक्तिको सनक र अहंकार चल्दो रहेछ। तपाईं बालेनलाई व्यक्तिगत उग्रवाद भन्नुहुन्छ? एउटा निर्वाचित प्रधानमन्त्रीले आफ्नो सनकमा संसद् सिध्याउनु चाहिँ लोकतन्त्रको कुन मधुर धुन थियो? के त्यो दलीय तानाशाही थिएन? रेल र पानीजहाजको सपना देखाएर जनतालाई राहदानीको लाइनमा उभ्याउनु चाहिँ उग्रवाद होइन?

नयाँ पुस्ताको विद्रोह देख्दा उहाँ आत्तिनुभएको छ। कहिले ‘बा’ बनेर फकाउन खोज्नुहुन्छ, कहिले ‘तीनपाने’ भनेर गिज्याउनुहुन्छ। तर उहाँले बिर्सिनुभयो अहिलेको ‘मिसन ८२’ उहाँको नभई उहाँहरूलाई ससम्मान बिदा गर्न चाहने जेन–जीको मिसन हो।

पाँच पटक, छ पटक, सात पटक... गन्ती नै बिर्सिसकियो। शेरबहादुर देउवाको प्रधानमन्त्रीत्वकालमा देशले के नयाँ पायो? उही पुरानो सेटिङ, उही भागबन्डा। देउवाको नेतृत्वमा कांग्रेसले आफ्नो गौरवशाली इतिहासलाई सत्ताको बार्गेनिङ चिपमा परिणत गर्‍यो। देशको कार्यकारी प्रमुखले भिजनको सट्टा ज्योतिषको सल्लाहमा देश चलाउँछन्, तब युवाले बालेन खोज्नु उग्रवाद हो कि बाध्यता? बीपीले भनेको भुइँमान्छे आज कांग्रेसको घोषणापत्रमा मात्र भेटिन्छ, देउवाको दरबारमा भेटिँदैन। कांग्रेस आज बीपीको विचारमा होइन, भाउजू र दाइको आदेशमा चल्छ। यस्तो बेला बीपीको ‘जेल जर्नल’ पढेर मात्र के गर्नु?

अन्ततः गगन-विश्वको निरन्तरको दबाब र विशेष महाधिवेशनको आँधीले देउवालाई सभापतिको कुर्सीबाट ओरालेर बिदा त गर्‍यो। गगन सभापति बने। यो कांग्रेसका लागि धुन्धानको खुसीको कुरा होला। तर, यो सच्चिने प्रक्रिया धेरै ढिलो भयो। कांग्रेसले देउवाको ज्योतिषको भरबाट मुक्त भएर गगनको भिजनमा आउने आँट गर्ने बेलासम्म नयाँ पुस्ताको घण्टी र लौरोले जनमतको ढोका फोडिसकेका थिए। ज्योतिषले ७ पटक प्रधानमन्त्री हुने योग त देखे, तर देउवाले आफ्नै कार्यकर्ताले ‘किक आउट’ गर्ने योग देखेनन्। देउवा त इतिहास भए, तर उनले १० वर्षमा पार्टीलाई जसरी प्राइभेट लिमिटेड बनाए, त्यसको धङधङीबाट गगनले कांग्रेसलाई कहिले मुक्त गराऊलान्? कि गगन पनि त्यही पुरानो थोत्रो गाडीको नयाँ ड्राइभर मात्र बन्ने हुन्?

डा बाबुराम भट्टराईलाई हामी धुन्धानका विद्वान मान्थ्यौँ। एसएलसी बोर्ड टपर। मेरो पुस्ताले सोचेको थियो पढे–लेखेको मान्छे आयो भने त देश बन्छ। उहाँले संरचना त भत्काउनुभयो, तर नयाँ बनाउने बेला उहाँ आफैँ अलमलिनुभयो। कहिले माओवादी, कहिले नयाँ शक्ति, कहिले जसपा। उहाँको राजनीतिक यात्रा एउटा यस्तो प्रयोग भयो, जसको नतिजा सधैँ शून्य।

यी धुन्धानका पुराना दलहरूले राजनीतिलाई यस्तो फोहोर खेल बनाएका कारणले सिद्धान्तको कुरा गर्नु नै मूर्खता जस्तो भएको छ।

के यो धुन्धानको गद्दारी होइन?

के यसलाई चाहिँ व्यक्तिगत उग्रवाद भन्न मिल्दैन?

जनताको सपनालाई लात हानेर पारिवारिक साम्राज्य खडा गर्नु लोकतन्त्र हो?

हाम्रो पुस्ता
तपाईंको पुस्ताले पञ्चायत फाल्यो, प्रजातन्त्र ल्यायो। तपाईंहरू विजेता हुनुहुन्छ। तर हामी ५० को दशकमा जन्मेको पुस्ता पीडित हौँ। हामी बलिका बोका हौँ।

हामीले इतिहासका कालखण्डहरू यसरी भोग्यौँ: बाल्यकालमा त्रासको छाया, किशोरावस्थामा आन्दोलनको रोमान्स र भ्रम, र युवावस्थामा गणतन्त्रको कठोर प्रहार।

तपाईंहरूले ल्याएको गणतन्त्रमा मेरो पुस्ताले के पायो? के पायौँ हामीले? एक थान राहदानी र विदेशी भूमिमा आफ्नो जवानी र पसिना बेच्ने अनुमति पत्र! हामीले पायौँ अस्थिरता, भ्रष्टाचारको संस्थागत विकास र दण्डहीनता। हाम्रो पुस्ता २५–२६ वर्षको हुँदै गर्दा हामीलाई यो देशमा हाम्रो कुनै भविष्य छैन जस्तो लाग्न थाल्यो। तपाईंको पुस्ताले व्यवस्था परिवर्तन गर्‍यो, तर मेरो पुस्तालाई देश छोड्न बाध्य पार्‍यो। आज हाम्रो पुस्ताका ९० प्रतिशत साथीहरू अष्ट्रेलिया, अमेरिका, क्यानडा वा खाडीमा छन्।

त्रिभुवन विमानस्थलको प्रस्थान कक्षमा गएर हेर्दा त्यहाँ रोइरहेका आमाबुवाको आँसुमा बीपीको समाजवाद र मार्क्सको साम्यवादभन्दा बढी उकुसमुकुस हामीले भोगेका छौँ। हामीसँग डिग्री छ, तर देशमा इज्जत छैन। हामीसँग जोस छ, तर ठाउँ छैन। त्यसैले, बालेनले ‘काठमाडौँ बनाउँछु’ भन्छन्, वा रविले ‘भ्रष्टाचारीलाई जेल कोच्छु’ भन्छन् भने मेरो पुस्ताले त्यहाँ ‘उग्रवाद’ देख्दैन, त्यहाँ आफ्नो गुमेको भविष्य फिर्ता आउने आशा देख्छ।

बालेन, रवि, हर्क र कुलमान कारण कि परिणाम?
बालेन कसरी परिवर्तनका प्रतीक भए? म जवाफ दिन्छु।

बालेन परिवर्तनका प्रतीक यसकारण भए किनकि पुरानाहरू यथास्थितिका जड भए। फोहोरको डंगुरले सहर गन्हाउँथ्यो, तब क्रान्तिकारी पार्टीका मेयरहरू कमिसनको हिसाब गर्दै थिए। भ्यु टावर बनाउन अर्बौं खर्च गर्ने, तर फोहोर व्यवस्थापन गर्न नसक्ने। बालेन आए, डोजर चलाए, एक्सन लिए, फोहोर उठ्यो। जनतालाई लाग्यो, ए गर्न चाह्यो भने त सकिँदो रहेछ त! इच्छाशक्ति भयो भने त काठमाडौँ पनि हिँड्न लायक बन्दो रहेछ त! यही हो बालेनको म्याजिक। यो कुनै रकेट साइन्स होइन। यो इमानदार प्रयासको शक्ति हो।

तपाईं भन्नुहुन्छ बालेनले गाउँ बुझेका छैनन्। पुराना नेताले गाउँ बुझेर के गरे त? गाउँ बुझेका नेताले गाउँलाई रेमिट्यान्सले धान्ने वृद्धाश्रम बनाए। गाउँका युवालाई खाडी पठाए। यदि गाउँ बुझ्नुको अर्थ गाउँलाई रित्तो बनाउनु र युवा बेच्नु हो भने, नबुझेकै बेस! गाउँ बुझेर गाउँ लुट्नु भन्दा नबुझेरै भए पनि सहर सुधार्नु के नराम्रो हो र?

धरानमा हेर्नुस्। गिट्टी कुट्ने हर्क साम्पाङ। के उनीसँग कुनै धुन्धानको दर्शन छ? छैन। तर उनीसँग के छ? उनीसँग जनताको प्यास बुझाउने हुटहुटी छ। ठूला दलका नेताहरू सुकिला लुगा लगाएर, चिल्ला गाडीमा सरर्र गुड्दै भाषण गर्थे, हर्क साम्पाङ कोदालो बोकेर मुहानतिर लाग्थे। तपाईं यसलाई स्टन्ट भन्न सक्नुहुन्छ। तर काकाकुल जनताका लागि त्यो पानी अमृत हो। यदि पानी खुवाउनु र श्रममा रमाउनु व्यक्तिगत उग्रवाद हो भने जनतालाई यस्तै उग्रवाद चाहिएको छ।

रास्वपाको घण्टी बज्यो। किन? के रवि लामिछाने एक्लैले यो सबै गरे? होइन। पुराना दलका नेताहरूको कान बन्द थियो त्यसैले घण्टी बज्यो। रास्वपाको उदय कांग्रेस, एमाले र माओवादीप्रतिको चरम वितृष्णाको संगठित रूप हो। जनताले भोट हाल्ने विकल्प नपाएर ‘नो भोट’को अवस्थामा पुगेका थिए। रास्वपाले त्यो ‘नो भोट’ लाई ‘होप भोट’ मा बदल्यो।

काँध भिजेपछि मात्र कसलाई बोकेर हिँडिएछ भन्ने थाहा पाउनु बुद्धिमानी होइन। एकदम सही। लौ मानेँ। तर, ३० वर्षदेखि जसलाई बोकेर हिँड्यौँ, तिनले त काँध मात्र होइन, ढाड नै भाँचिदिए त! अब नयाँलाई नबोकी सुख छ? भारी त फेर्नै पर्‍यो नि। पुरानो भारी गन्हाइसक्यो। अब गन्हाएको भारी बोकेर गन्ध सहेर बस्नु कि नयाँ भारी बोकेर जोखिम मोल्नु? मेरो पुस्ताले जोखिम रोज्यो।

व्यक्तिगत उग्रवाद र सामूहिक विद्रोह
तपाईं व्यक्तिगत उग्रवादको डर देखाउनुहुन्छ। तर आजको मितिमा हेर्नुस् त, साँचो उग्रवाद कहाँ छ?

के भ्रष्टाचारको फाइल खोल्छु भनेर सत्तामा जाने अनि आफ्नै मान्छे मुछिएपछि रातारात फाइल बन्द गर्नु संस्थागत उग्रवाद होइन?

के भागबन्डा नमिल्दा संसद् चल्न नदिनु दलीय उग्रवाद होइन?

के सहकारीको अर्बौं रकम अपचलन हुँदा राज्य मौन बस्नु आर्थिक अपराध होइन?

के भुटानी शरणार्थी बनाएर आफ्नै नागरिक बेच्नु राष्ट्रघात होइन?

बालेनले कानुनको दायराभित्र (र कहिलेकाहीँ अलिकति पेलेरै) काम गर्दा तपाईंलाई डर लाग्यो। तर, देशका नदीनाला बेच्दा, भ्रष्टाचारका अनेका काण्ड घटाउँदा, ललिता निवास हडप्दा, भुटानी शरणार्थी बनाएर नेपाली बेच्दा कोही कसैको लोकतान्त्रिक चेत किन डराएन? त्यो बेला बीपीको समाजवाद, मार्क्सको मार्क्सवाद कहाँ लुकेको थियो? के त्यो बेला बीपीको आत्मा रोएको थिएन होला?

ऋषि धमला वा एलिजा गौतमहरू राजनीतिमा आउनु लहड हुन सक्छ। म मान्छु, यो विकृति हो। तर, ज्यान मुद्दा लागेका, गुण्डागर्दीको पृष्ठभूमि भएका, र तस्करलाई माननीय बनाउने टिकट कसले दियो? पुराना दलहरूले नै होइन? दलहरूले डनलाई नेता बनाउँछन्, ठेकेदारलाई मन्त्री बनाउँछन्, पत्रकार वा कलाकारले नेता बन्ने सपना देख्नु कुन ठूलो अनौठो कुरा भयो र?

जस्तो गुरु, उस्तै चेला।

राजनीतिलाई बजार बनाएपछि बजारका खेलाडी त आउने नै भए नि! बजारमा जे बिक्छ, त्यही आउँछ।

हिजो डन बिक्थ्यो, आज भाइरल बिक्छ।

यो व्यवस्था कसका लागि?
नेपालको राजनीतिबारे आज सबैभन्दा असहज प्रश्न सोध्नुपरेको छ– यो गणतन्त्र कसका लागि चलिरहेको छ?

नेताहरूको अनुहार फेरिएको छ, दलहरूको झण्डा फेरिएको छ, तर राज्यको चाल फेरिएको छैन। जनताले परिवर्तनको नाममा पटक–पटक भरोसा सुम्पिए, तर हरेक पटक त्यो भरोसा सत्ताको गल्छीमै हरायो। २०६२/६३ को आन्दोलनले सपना जन्माएको थियो नयाँ राजनीतिक संस्कार, नयाँ नेतृत्व, र उत्तरदायी गणतन्त्र। तर त्यसपछिका वर्षहरूले त्यो सपनालाई संस्थागत रूप नदिएर पुरानै प्रवृत्तिहरूलाई नयाँ नाम दिएर दोहोर्‍याए। आजको असन्तोष व्यक्तिप्रति नभई राजनीतिक यात्राप्रति जमेको थकान हो।

आजको गणतन्त्रलाई सबैभन्दा ठूलो खतरा कुनै पुरानो व्यवस्थाबाट आएको छैन। खतरा त्यही नेतृत्वबाट आएको छ, जसले गणतन्त्रलाई आफ्नो निजी सुरक्षा बनायो। पद जोगाउने, गुट जोगाउने र इतिहासको नाम जोगाउने खेलमा उनीहरूले गणतन्त्रको आत्मा नै खिइएको देखेनन्। उनीहरू कुर्सीमा बसेर गणतन्त्रको रक्षा गरिरहेको दाबी गरिरहे पनि त्यो कुर्सीमुनि देशको भरोसा बिस्तारै चुहिँदै गयो।

अब प्रश्न यति मात्र बाँकी छ– यो गणतन्त्र कसका लागि बनेको हो? यसको जवाफ न नेतासँग छ, न दलसँग, न राज्यसँग। त्यो जवाफ खोज्न जनता सडकमा नभई विमानस्थलमा पुग्छन्। र, जुन दिन देशका सबै आशा बोकेका युवा एकपछि अर्को उड्न थाले, त्यो दिन गणतन्त्र कागजमा त बाँकी रहला, तर देशभित्र त्यसको कुनै अर्थ रहनेछैन। विमानस्थलको प्रस्थान कक्षमा देखिएको त्यो भीड चटक हेर्न जम्मा भएको नभई गणतन्त्रले दिएको धोकाबाट भाग्दै गरेको भीड हो।

दुर्घटना कि रूपान्तरण
नेपाल जाँदैछ कहाँ?

म भन्छु- नेपाल बाध्यकारी रूपान्तरणको बाटोमा जाँदैछ। पुराना दलहरू सुध्रिएनन् भने अबको चुनावमा दुर्घटना पक्का छ। तर त्यो दुर्घटना देशको लागि होइन, पुराना दलहरूको अस्तित्वको लागि हुनेछ। लोकतान्त्रिक गणतन्त्र सकिँदैन, संविधान च्यातिँदैन। तर गणतन्त्रको नाममा लुटतन्त्र मच्चाउनेहरूको रजगज सकिँदैछ। जनताले अब मालिक होइन, सेवक खोजेका छन्।

तपाईंको चिन्ता छ- बालेन प्रधानमन्त्री, संसदमा आशिका तामाङ, ऋषि धमला....। यदि ३० वर्ष राजनीति गरेका पाका नेताहरूले देशलाई यो हालतमा पुर्‍याए भने, एकपटक काँचाहरूले चलाएर हेरून् न त! बिग्रिए के नै बाँकी छ र बिग्रनलाई? देशको अर्थतन्त्र डामाडोल छ, युवा पलायन उच्च छ। यस्तो अवस्थामा जनताले अनुभवलाई नभई ‘इन्टेन्ट’ (नियत) लाई भोट हाल्नेछन्। जनतालाई लागेको छ जानी–जानी देश बिगार्ने विद्वान भन्दा, अन्जानमै भए पनि देश बनाउन खोज्ने मूर्ख ठीक।

कमसेकम मूर्खले नयाँ गल्ती त गर्ला, विद्वानले त त्यही पुरानो लुटलाई नयाँ आवरणमा दोहोर्‍याउने मात्र हुन्।

अन्त्यमा एउटा कुरा। लोकतन्त्रमा जनताको आवाजलाई, उनीहरूको असन्तुष्टिलाई ‘हल्ला’ भन्नु सबैभन्दा ठूलो अहंकार हो। सिंहदरबारको अग्लो पर्खाल र वातानुकूलित कोठाभित्र बस्नेलाई बाहिरको सडकको चित्कार सधैँ हल्ला नै लाग्छ।

नेपाल कता जाँदैछ? नेपाल त्यतै जाँदैछ, जता ३० वर्षदेखि पिल्सिएका जनताले डोर्‍याउँदैछन्। सास र सिसाबीच लडाइँ पर्दा जस्तोसुकै बलियो सिसा पनि फुट्न बाध्य हुन्छ। अहिले नेपालमा त्यही सिसा फुट्दैछ। नआत्तिनुस्, सिस्टम क्र्यास भएको होइन, पुरानो र भाइरसले भरिएको सिस्टम अपडेट हुँदैछ।

धुन्धानका दर्शन, बीपीका विचार र मार्क्सका सिद्धान्तका कुरा पछि गरौँला, अहिलेलाई देश बन्ने सानो आशा जोगाऔँ। भलै त्यो आशाको दियो बालेनले बालून्, रविले बालून् वा हर्कले। अँध्यारोमा बस्नुभन्दा धिपधिपे दियो नै सही। घाम त लाग्ला, नलाग्ला, तर टुकी बाल्न त नछोडौँ।

नेपाल सही बाटोमा जाँदैछ ढिलोचाँडो।

तर त्यो बाटो पुराना नक्सामा भेटिने छैन।

किनकि पुराना नक्साहरू भीरतिर जाने बाटो देखाएरै च्यातिएका हुन्।

बाटो अप्ठ्यारो होला, तर कम्तीमा त्यो बाटो भीरतिर त जाँदैन!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad