बरबादै हुन त पाएन तैपनि स्थिति एकदमै नाजुक बनेको थियो।
डोनाल्ड ट्रम्प र भ्लादिमिर पुटिनबीचको अलास्का समिटभन्दा अगाडि युक्रेनलाई सबैभन्दा ठूलो डर थियो– अमेरिका र रुसका राष्ट्रपति बैठकस्थलबाट ‘शान्ति सम्झौता’ भएको घोषणा गर्दै निस्किने पो हुन् कि!
समिटअघि भूमि साटासाट गर्ने ट्रम्पको भनाइले रुससँग व्यापारको सट्टामा युक्रेनी भूमि स्थायी रूपमा मस्कोलाई बुझाउन अमेरिका तयार हुने संकेत दिएको थियो। तर, त्यसो भएन। त्यसैले ट्रम्पले गरेको सहमतिलाई अस्वीकार गर्नुपर्ने एकदमै खतरनाक स्थितिमा युक्रेन परेन।
तर, समिटको तस्बिर युक्रेनका लागि दुर्भाग्यपूर्ण भने छ। अमेरिकी सैनिकहरूले पुटिनका लागि रातो कार्पेट बिछ्याए। जसले आफ्नो सार्वभौम छिमेकीमाथि आक्रमण गरेका छन्। एक्लिएका पुटिन विश्वमञ्चमा पुन निम्त्याइए।
अलास्का समिटको समापनको प्रेस साक्षात्कारका क्रममा पुटिन निकै खुसी देखिए। खुसी नहुन् पनि किन! अहिलेका लागि ट्रम्पले आर्थिक प्रतिबन्ध वृद्धि गर्ने कुरा गर्न छाडिदिएका छन्। र, ट्रम्पले यो वार्तापछि युद्धविरामको सट्टा सोझै बृहत् शान्ति सम्झौता गर्नुपर्ने पुटिनको सुझावलाई समर्थन पनि गरेका छन्। तर, युक्रेन र युरोपेली मुलुकहरूले पहिले युद्धविराम हुनुपर्ने प्रस्ताव अघि सारेका थिए।
तर एक हिसाबले हेर्ने हो भने अलास्का समिट पुटिनका लागि गुमेको मौका हो। समिटको नतिजा जे आयो, त्यो एकदम अस्पष्ट छ। कुनै पनि सर्तमा सहमति भएको छैन। यसले समिटपछि ट्रम्पको सोचलाई बदल्ने एउटा अवसर युरोप र युक्रेनलाई दिन्छ।
यो सम्भावनाप्रति पुटिन सचेत थिए। त्यसैले नै उनले युरोपेली र युक्रेनीहरूलाई शान्ति प्रक्रियामा बाधा नपुर्याउन चेतावनी दिएका थिए। यथार्थ के हो भने ट्रम्पसँग सौदा गर्ने सवालमा रुस, युरोप र युक्रेन (युरोपको संरक्षण)समेतले एउटै सूत्र अपनाइरहेका छन्। यो सूत्र के हो भने पहिले ट्रम्पको चापलुसी गर्ने, उनको रुचिको सौक पूरा गर्ने र उनको रायसँग आफ्नो राय कहिल्यै नबझाउने।
एक पटक यति जग तयार गरिसकेकापछि ट्रम्पसँग वार्ता गर्नेहरूले उनलाई आफूले चाहेको दिशामा लैजाने कोसिस गर्छन्। आफ्ना लागि सहयोगी हुनसक्ने ट्रम्पले बोलेका कुराहरूलाई थपक्क टिप्ने र त्यही भन्ने। र, तिनको बीचमा सूक्ष्म तरिकाले आफ्नो विचार पनि घुसाइदिने। ट्रम्पका ठुल्ठूला अभिव्यक्तिलाई लिएर तिनको बीचमा आफूले चाहेको विवरण भरिदिने।
अलस्कामा पुटिनले यही रणनीति पछ्याएको देख्न सकिन्छ। पत्रकार सम्मेलनमा पुटिनले आफ्नो तरिका बदलेर ट्रम्पको एउटा प्रिय विषयमा समर्थन गरिदिए। त्यो विषय थियो– जो बाइडेनको सट्टा ट्रम्प राष्ट्रपति भएको भए २०२२ को युक्रेन युद्ध हुने नै थिएन। ट्रम्पले पछि टेलिभिजनमा बताएअनुसार पुटिनले उनलाई २०२० को राष्ट्रपतीय चुनावमा धाँधली भएको समेत बताएका थिए।
ट्रम्पको चापलुसी गरेर उनको सनक पनि पूरा गरिसकेपछि पुटिन आफ्नो विचार त्यसमा घुसाउन पनि सफल भए। पत्रकार सम्मेलनमा ट्रम्प जब सहजतापूर्वक मुस्कुराइरहेका थिए, तब पुटिनले यो द्वन्द्वको असली कारणलाई सम्बोधन गर्नसक्ने बृहत् शान्ति सम्झौता आवश्यक रहेको बताए।
पुटिनका लागि यो लडाइँको मूल कारण भनेको रुसको प्रभुत्वबाट उम्केको युक्रेनको सार्वभौमिकताको आकांक्षा हो। पुटिनले युरोपमा ‘सुरक्षाको उचित सन्तुलन’ कायम गर्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरे। उनको संकेत बाल्टिक राज्यहरू र पोल्यान्डबाट नेटो फौज हटाउनुपर्ने २०२१ को रुसी मागतर्फ हुनसक्छ।
तर, ट्रम्पसँग चापलुसीको खेल कसरी खेल्ने, युरोप र युक्रेनले पनि सिकिसकेका छन्। त्यही खेलको योजना ट्रम्पसँग कुरा गरेपछि भ्लादिमिर जेलेन्स्कीले गरेको ट्विटमा पनि देख्न सकिन्छ।
जेलेन्स्कीले पहिले ट्रम्प, पुटिन र आफूबीच प्रस्तावित त्रिपक्षीय समिटमा सहभागी हुने इच्छाका लागि अमेरिकी राष्ट्रपतिप्रति कृतज्ञता ज्ञापन गरेका छन्। जसमा सम्भवतः पुटिन सहमत हुने छैनन्। ट्विटको अन्तिम अनुच्छेदमा जेलेन्स्कीले आफ्नो मुख्य कुरा घुसाएका छन्– ‘युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिनमा अमेरिका सहभागी हुने सम्बन्धमा प्राप्त सकारात्मक संकेतका विषयमा पनि हामीले छलफल गर्यौँ।’
ट्रम्पले अलास्कामा युक्रेनलाई सुरक्षा ग्यारेन्टी दिनमा अमेरिका पनि सहभागी हुनसक्छ भनेर बोलेका थिए। तर, त्यो गम्भीर नभई हल्काफुल्का टिप्पणी थियो। युरोप र युक्रेन चाहिँ यसैलाई अलास्का समिटको मुख्य निष्कर्ष बनाउन चाहन्छन्।
युरोपका नेतामध्ये ट्रम्पलाई सम्भवतः सबैभन्दा बढी प्रभाव पार्न सक्ने फिनल्यान्डका राष्ट्रपति अलेक्जेन्डर स्टबले पनि सोही उपाय लगाए। सबभन्दा पहिले अमेरिकी राष्ट्रपतिलाई धन्यवाद। त्यसपछि मात्र मुख्य कुरा– ‘दिगो शान्तिका लागि युक्रेनलाई बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टी अत्यन्त आवश्यक छ।’
आगामी दिन र हप्तामा युक्रेनीहरू र युरोपेलीहरूको लक्ष्य यो झण्डै बर्बादीमा पुगेको यो स्थितिलाई सफलतामा बदल्नु हुनेछ। उनीहरूलाई आशा छ– पुटिनसँग भेटेपछि ट्रम्पको अनुहारमा देखिएको चहकिलो आभा विस्तारै मेटिनेछ।
रुसले युक्रेनमा आक्रमण तेज बनाउँदै लगेको, थप गैरसैनिक हताहती भएको स्पष्ट हुँदै जाँदा ट्रम्पको पुटिनप्रतिको मोहभंग हुन सक्छ। त्यो विन्दुमा पुगेपछि अमेरिकाको ध्यान रुसविरुद्ध प्रतिबन्ध लगाउन अनि युक्रेनलाई दिइँदै आएको सहयोग बढाउनमा केन्द्रित गराउन सम्भव हुनेछ।
यसबीचमा युद्ध जारी रहनेछ।
(फाइनान्सियल टाइम्सबाट)
Shares

प्रतिक्रिया