गत वर्ष सरदरभन्दा धेरै वर्षा भएको थियो। यसपटक पनि मनसुनमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना धेरै रहेको छ।
गत असोजमा आएको कीर्तिमानी वर्षाले काठमाडौँ दक्षिणी भेगमा बाढी नै आयो। धेरै क्षेत्र डुबानमा पर्यो। त्यो बाढी राम्रोसँग पानी निष्कासन हुन नपाएर ब्याक-फ्लोका रूपमा भएको थियो।
यसरी धेरै क्षेत्र नै डुबानमा पार्ने गरी बाढी आउनुको कारण जलवायु परिवर्तनका अलावा अरू के हुन सक्छ त?
प्रकृतिले हामीलाई बारम्बार बाढी, डुबान र पहिरोको चेतावनी दिइरहेको छ। तर, हामीले त्यसलाई बेवास्ता गरिरहेका छौँ।
हाम्रा अनियोजित क्रियाकलाप र आफ्नै विभिन्न कार्यले गर्दा थोरै वर्षामा पनि बाढी आउने गर्छ। प्रिमनसुनमा भएका सानातिना वर्षामा पनि बाढीका कारण क्षति भइरहेको छ भने यो वर्ष त यसै पनि सरदरभन्दा बढी वर्षा हुने सम्भावना धेरै छ। यसले धेरै विनाश निम्त्याउने सम्भावना पनि छ।
आजकाल यति सानो वर्षामा पनि किन बाढी आउँदै छ त?
हाल एकातिर नदी र खोलाहरूको प्राकृतिक वहावक्षेत्र अतिक्रमण गरेर सरकारी, सार्वजनिक तथा निजी संरचनाहरू निर्माण गरिएका छन्।त्यसमाथि घर तथा व्यावसायिक उद्देश्यका साथै कुनै पनि पूर्वाधार निर्माण गर्दा मापदण्डअनुरूप केही ठाउँ खाली छोड्ने त गरिएको छ तर सो स्थानलाई पनि ढलान गरिएको हुन्छ।
त्यही स्थानमा माटो हुन्थ्यो भने पानीलाई ढलमा मिसिन बढी समय लाग्न सक्थ्यो। केही पानी जमिनले पनि सोस्थ्यो। तर, अहिले सबै पानी छिटै ढलमा पुग्छ। यसरी पूर्वाधार निर्माण र विकासको क्रममा उपत्यकामा गरिएका विभिन्न क्रियाकलापका कारण हाल माटो भएको खाली जमिन सकिँदै गएको छ। भएको खाली जमिन पनि बाढी नियन्त्रणका लागि उपयोगी हुने गरी व्यवस्थित बनाउन सकिएको छैन।
यसका साथै खोलाको पिँधमा फोहोर थुप्रिएर उचालिएको छ र पानीको सतह चाँडै किनारामा आइपुग्छ, जसले गर्दा खोला बढेको छ। गत वर्ष आएको बाढीका कारण विभिन्न स्थानमा ठूलाठूला ढिस्काहरू बनेर बसेका छन्, जसले भारी वर्षाका कारण आउने बाढीमा अवरोधको काम गर्छ। ठूलो बाढी आउँदा एक सेकेन्डमा नै हजार लिटर पानी बग्छ। यसरी आएको पानी एक मिनेट पनि रोकिँदा धेरै ठाउँ डुबानमा पर्न जान्छ।
यसका साथै काठमाडौँका खोलाहरूको पानी निष्कासन हुने स्थान साँघुरो भएकोले भारी वर्षा भएर बाढी आउँदा धेरै स्थान डुबानमा पर्ने सम्भावना हुन्छ। यस्तो पानी आउने मात्रा उच्च र निकास हुने क्षमता कम भएको समयमा हुन पुग्छ। यदि सो साँघुरो स्थानमा एउटा ढुंगा मात्र झरेर पानी निष्कासन हुने ठाउँलाई बन्द गरिदियो भने पनि विभिन्न स्थानमा डुबान हुन सक्छ। जुन गएको वर्ष असोजमा आएको बाढीजस्तै हुन सक्छ।
गत वर्ष असोजमा आएको बाढीले धेरै लेदो तथा ठोस वस्तु बगाएर ल्याएको थियो, जुन अझै पनि जस्ताको त्यस्तै छ। जिम्मेवार निकायले नदीलाई च्यानलिङ गर्नको निम्ति आफ्ना कदम चाल्नुपर्नेछ।
यस्ता विभिन्न कारणले गर्दा पहिले खोलामा जहाँसम्म पानीको सतह हुन्थ्यो, हाल त्यहाँसम्म सो फोहोर अवरोधको रूपमा बसेको स्थिति छ। अहिले उपत्यकाका सबै खोलाको बेड बढ्दै गएको छ। जसले गर्दा पहिले खोलाको वहाव क्षमता घट्दै गएको छ। पहिले बाढीलाई होल्ड गर्ने क्षमता जति थियो, त्यो कम हुँदै गएको छ। नदी किनारामा पूर्वाधार विकास हुँदै जानु भनेको बाढी रोक्ने क्षेत्र घट्दै जानु हो।
बाढीले बगाएर ल्याएको फोहोर तथा सामानहरू पानीको वहावको गतिअनुसार कहाँसम्म पुग्छ भन्ने हुन्छ। धेरै स्पिडमा बगाएर ल्याएको चिजलाई बाढीले लग्छ तर बाढीको गति कम हुनेबित्तिकै त्यो कतै अड्किन वा रोकिन पुग्छ। त्यसरी रोकिएको ठोस फोहोरले पछि खोला बग्ने क्रममा अवरोधकको काम गर्छ।
विगत ९ महिनाअगाडि बगाएर ल्याएको फोहोरलाई हालसम्म पनि नहटाइएकोले यदि उक्त खोलाको सो समयमा सय लिटर पानी बगाउने क्षमता थियो भने अब त्यो क्षमता पनि घटेको छ।
हाल काठमाडौँको उत्तरी भागमा ६०-७० मिलिमिटर वर्षा हुँदा पानीको सतह २ मिटरसम्म बढ्छ, जुन नदीको किनार तथा पिँधमा रहेका फोहोरका ठूला ढिस्काले नदीको वहावमा अवरोधको काम गर्छ र नदी ब्याक फ्लो भएर बाढीमा बस्तीमा पस्छ। यो क्रम विगत वर्षहरुभन्दा निकै नै बढेको छ।
गत साल बाढीले बगाएर ल्याएको फोहोर नख्खु खोलाको माथिल्लो टटीय स्थान (पुलको माथिल्लो भाग), जसको प्रयोग सबैले गर्नुपर्ने हुन्छ, त्यहाँ सो स्थानको च्यानलिङ भएर पानी बग्ने बाटो पनि बनाइसकिएको छ। तर तल्लो तटीय स्थानलाई सफा गर्नुपर्ने हुन्छ। सो स्थानलाई सरकारले हालसम्म पनि वास्ता गररहेको छैन। अरू कसैको चासोको विषय पनि बनिरहेको छैन।

यस्ता हरेक वर्ष हुने या मनसुनमा हुने प्राकृतिक विपद्लाई न्यूनीकरण गर्नको निम्ति खोलामा भएका फोहोर तथा रोकावटका वस्तुलाई हटाउन छोडेर सरकार भने बाढी आउने समयको लागि यो स्थानमा यति सेना-प्रहरी खटाउने भन्दै योजना बनाउँदै छ।
विपद्को समयमा उद्धारको लागि सेना-प्रहरीको आवश्यकता त हुन्छ तर विपद् पर्नुभन्दा पहिले त्यसलाई हुन नदिन के गर्न सकिन्छ भनेर सोच्न र खोलाहरूमा भएका फोहोर, ठूला ढुंगा आदि चिजलाई हटाउने कामहरू भने हालसम्म पनि भइरहेको छैन।
ठूलो पानी परेर बाढी आएको समयमा खोलामा केही मिनेट पनि रोकावट गर्ने फोहोर तथा ढुंगाको कारण बस्ती डुबानमा पर्न सक्छ।
त्यसैले सरकारले योजना बनाउँदा दीर्घकालीन, मध्यमकालीन र अल्पकालीन योजना गरेर तीनै किसिमका योजना बनाउनुपर्ने हुन्छ। किनकि, दीर्घकालीन योजनामा काम गर्न लामो समय लाग्ने हुन्छ। त्यसैले अगाडि आउने विपद्लाई न्यूनीकरण गर्नको निम्ति अल्पकालीन तथा मध्यमकालीन योजनामा पनि काम गर्न जरुरी हुन्छ।
यसैगरी खोलाको जलाधार क्षेत्र (पानी आउने मुख्य ठाउँ) को पनि समय-समयमा अनुसन्धान गरेर काम गर्नुपर्ने हुन्छ। तर, विपद् न्यूनीकरणको लागि काम गर्दा राजनीतिमा जोडिएर यो पार्टीले गरेको भनेर कामबाट पन्छिनुचाहिँ उचित हुँदैन।
यस्ता विपद् न्यूनीकरणका लागि काम गर्दा सरकारले प्रदेश र स्थानीय स्तरबाट यसअघि भएका विपद्हरूको तथ्यांक लिएर के कसरी काम गर्न मिल्छ भनेर नीति निर्माण गर्न आवश्यक हुन्छ। सरकारले बाढीको विपद् पर्ने समयभन्दा पहिलेदेखि नै प्रदेश सरकार र स्थानीय तहलाई न्यूनीकरणका लागि जिम्मेवारी दिनुपर्छ। विभिन्न तहका सरोकारवालालाई एकीकृत दृष्टिकोण र अनुसन्धानात्मक दृष्टिकोणका साथ काम गर्नुपर्ने हुन्छ। यसो नगर्दा भोलि काम गर्ने क्रममा सामाजिक विवाद पनि उत्पन्न हुन सक्छ, जुन समस्या अहिले नदी किनाराको मापदण्ड विस्तारमा देखिइरहेको छ। समाजले आफ्नो इतिहास र पहिचान रक्षाका निम्ति चासो देखाउनु स्वाभाविक पनि हो।
सरकारले राम्रा-राम्रा नीतिहरू त बनाउने तर त्यसमा कडाइ र निरन्तरता नदिने हुनाले कुनै पनि काम राम्रोसँग हुन सकेको पाइँदैन। यसको लागि नीति नियम कार्यान्वयन भइरहेको छ-छैन भनेर पनि हेर्नुपर्छ। भएको छैन भने त्यसको लागि सजायको पनि व्यवस्था गर्नुपर्छ।
नीतिपत्रहरू स्वयंले वास्तविक समस्याको समाधान गर्दैनन्। यो धरातलीय यथार्थमा आधारित हुनुपर्छ र स्थानीय मुद्दाहरूलाई सम्बोधन गर्नुपर्छ।
आफ्नो देशमा भएजस्तै बाढीका घटना अन्यत्र कहाँ भएका छन् र उनीहरूले त्यसको कसरी न्यूनीकरण गरेका छन् भन्ने बुझेर आफूले काम गर्न थालेको स्थानलाई अनुकूलन हुने तरिकाले त्यस्ता योजनाहरू ल्याएर कार्य गर्न सकिन्छ। यसका साथै दिगो रूपमा हुने खालका काम गर्यो भने चाहिँ केही हदसम्म विनाशलाई रोक्न सकिने चौधरी बताउँछन्।
काठमाडौँ वरिपरिका खोलाको पानी निष्कासन हुने स्थानको चौडाइ एक त साँघुरो छ। यसका साथै गएको वर्ष आएको बाढीको कारण धेरै ठूलाठूला ढुंगाहरू सो स्थानमा झरेका छन्। यसको कारण गत वर्ष गएको बाढीले भिरालो ठाउँको माटोलाई गलाएको थियो र सोही कारण पहिरो पनि गयो। अब गत वर्ष गएको पहिरोले यो वर्ष पानी निष्कासन हुने स्थानमा रोकावट पैदा गर्न सक्छ। यही कारण त्यहाँबाट पहिरो र ठुला ढुंगाहरू हटाउन जरुरी छ।
ठूलो बाढी र डुबानबाट बच्नको निम्ति वर्षाको समयमा आउने भल र भेल व्यवस्थापनका निम्ति योजनाबद्ध र व्यवस्थित तरिकाले गरिनुपर्छ। त्यसो भएमा वर्षाको पानीलाई खोलासम्म पुग्न समय लाग्छ।
ठूला क्षेत्रफलले ढाकिएका संरचनाहरू जस्तै व्यावसायिक मल, कलेज, ठूला कर्पोरेट घरहरूले १२ घण्टासम्म पानी अटाउने वा जमिनमुनि पानी पुनःभरण गर्ने प्रणाली जडान गर्नुपर्छ। यसले गर्दा केही हदसम्म परिस्थिति सम्हाल्न सकिन्छ।
अहिलेको सबै समस्याको मुख्य कारण अनियोजित सहरी प्रणाली र सुस्त कार्यशैली पनि हो। अब यसमा कुनै पनि काम गर्दा जलवायु परिवर्तनको दृष्टिकोणबाट हेरेर मात्र गर्नुपर्ने हुन्छ।
समग्रमा भन्नुपर्दा, पाँच वटा स्केलमा काम हुन जरुरी छ- प्राविधिक रूपमा, नीति निर्माणको स्तरमा, संस्थागत क्षमता, सरोकारवाला निकायको संलग्नता, फोकस एरियालाई प्राथमिकता।
यसलाई पनि दीर्घकालीन, मध्यमकालीन र अल्पकालीन गरी तीन स्तरमा राखेर काम गर्नुपर्ने हुन्छ।

सुरुङ बनाउने कुरा कति ठिक?
उपत्यकाभरिको पानी चोभार गल्छीबाट मात्र निकास हुँदा बाढी आएको समयमा त्यसले मात्र धान्न सक्दैन भन्दै दीर्घकालीन समाधानको लागि चोभारमा सुरुङ खन्ने कुरा आइरहेको छ। तर, यस स्थानको लागि सुरुङ नै उचित हो कि होइन, पर्याप्त छलफल र अध्ययनपछि मात्र निर्णयमा पुग्नु उचित हुन्छ।
सुरुङको प्रकार र डिजाइनले बाढी व्यवस्थापनमा त्यसको भरोसा र दिगोपना निर्धारण गर्दछ। किनकि, ठूलो बाढी आउँदा धेरै फोहोरका ढिस्का, रुख आदि चिज बगाएर ल्याउँछ, जुन सुरुङमा अड्कन सक्छ र पानी रोकिने सम्भावना हुन्छ। यसले त झनै ठूलो विपद् निम्त्याउन सक्छ।
अहिलेको प्रमुख प्रश्न यो हो कि हामी नदीबाट ठोस फोहोर तथा लेदो हटाउन र नदीनाला व्यवस्थापन गर्न सक्षम छैनौं भने सुरुङको प्रभावकारी उपयोग कसरी गर्न सक्छौं? यसको लागि फेरि पनि सम्बन्धित निकायले सोच विश्वस्तरकै राखे पनि कामचाहिँ स्थानीय आवश्यकता, प्राथमिकता र धरातलीय यथार्थ हेरेर गर्नुपर्ने हुन्छ।
यदि बाढीलाई आफ्नो गतिमा बग्न दिने हो भनेचाहिँ त्यसको लागि खुला च्यानल नै आवश्यक हुन्छ। सुरुङ ठोस फोहोर वा लेदो नभएको पानीको लागि मात्र ठिक हुन्छ। हरेकको घरबाट आएको र रोक्ने किसिमका चिजहरू नमिसिएको पानीलाई ढलको माध्यमबाट सुरुङमार्ग हुँदै लगियो भने ठिक हुन सक्छ। तर, यसको लागि तीन-चार वर्षमा पनि काम सम्पन्न हुन सम्भव छैन।
चोभार गल्छी फराकिलो पार्नु सजिलो काम छैन। किनभने, यसको आफ्नै इतिहास, सांस्कृतिक पहिचान, भौगोलिक चुनौतीहरू र रैथाने बासिन्दाको भावना छ। त्यसैले समाज र सांस्कृतिक पक्षलाई संलग्न गराएर निर्णय लिनुपर्छ।
मुख्यतः बिर्सन नहुने कुरा के हो भने हामीले कुनै पनि काम गर्दा प्रकृतिमा आधारित समाधान खोज्नुपर्छ।
(जलस्रोत व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका चौधरी यसै क्षेत्रको अनुसन्धानमा सक्रिय छन्। अन्तर्राष्ट्रिय जर्नलहरूमा उनको लेख प्रकाशित छ)
लेखकबाट थप:
Shares

प्रतिक्रिया