देशमा लकडाउन छ। यतिबेला प्रायः सबै आफ्नो परिवारसँगै बसिरहेका छन्। तर, म धौलागिरि अञ्चल अस्पताल, बागलुङमा रहेका २ जना कोरोना संक्रमितको उपचारमा छु। हामी पाँच जनाको चिकित्सक टोली उपचारमा खटिएका छौं।
हुन त अहिले विश्वभर नै स्वास्थ्य सामग्रीको अभाव भएका खबर आइरहेका छन्। काठमाडौंमै पनि पर्याप्त सुविधा छैन होला। काठमाडौं र पोखराका अस्पतालजस्तो सुविधा पनि छैन, बाग्लुङ अस्पतालमा। साधन र स्रोतको अभाव त छ नै, त्यसमाथि कोरोना संक्रमित बिरामीको उपचार गर्नुपर्ने ठूलो चुनौती हामीले सामना गरिरहेका छौं। यद्यपि संक्रमितको उपचारमा हामीले कुनै कमी हुन दिएका छैनौँ।
चीनको वुहानमा कोरोना भाइरस फैलिएको समाचार सार्वजनिक भएपछि बाग्लुङ जिल्लामा पनि यसको जोखिम छ भन्ने अनुमान गरेर हामीले केही पूर्वतयारीबारे छलफल गरेका थियौं। किनभने बाग्लुङ जिल्लाबाट वैदेशिक रोजगार र उच्च शिक्षाका लागि विदेशमा जाने थुप्रै छन्।
चैत १० गते काठमाडौंमा नेपालको दोस्रो कोरोना संक्रमित भेटिइन्। त्यसपछि त बाग्लुङमा पनि कतैबाट आउन सक्ने अनुमान हामीले गरेका थियौं।
जुन विमानमा आएकी युवतीलाई कोरोना संक्रमण भएको काठमाडौंमा पुष्टि भयो, त्यसपछि हाम्रो ध्यान त्यही विमानबाट कोही बाग्लुङ आए कि आएनन् भन्नेमा गयो।
यसबारे जानकारी दिन सार्वजनिक अपिल पनि गर्यौं। यही अस्पताल नजिकैकी १९ वर्षीया संक्रमित पनि काठमाडौंमा भेटिएकी संक्रमित आएकै कतार एयरवेजको विमानबाट चैत ४ गते काठमाडौं आउनुभएको रहेछ।
त्यति जानकारी पाएपछि चैत १२ गते उहाँको नमुना संकलन गरेर काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइयो। त्यसको रिपोर्ट आउन तीन दिन लाग्यो।
१५ गते रिपोर्ट आयो र उहाँमा कोरोना पोजिटिभ देखियो। हामीले तत्कालै अस्पताल ल्याएर आइसोलेसन वार्डमा राख्यौं।
त्यसको २ दिनपछि फेरि एकजना महिला पनि ४ गते कतार एयरवेजकै विमानबाट आएको जानकारी आयो, अनि उहाँको पनि नमुना संकलन गरियो। २० गते रिपोर्ट आउँदा उहाँलाई पनि कोरोना रहेछ।
अहिले अस्पतालको आइसोलेसन वार्डमा १९ वर्षीया र ६५ वर्षीया दुवैको उपचार भइरहेको छ। दुईजनाकै अहिलेसम्मको अवस्था सामान्य छ।
१९ वर्षीयामा अन्य रोगको संक्रमण अहिलेसम्म देखिएको छैन। ६५ वर्षीया महिला नेपालमा फेला परेका कोरोना संक्रमितमध्ये सबैभन्दा बढी उमेरकी हुनुहुन्छ। उहाँलाई दम र प्रेसर पनि छ। एक त अली बढी उमेरकी संक्रमित, त्यसमाथि दम र प्रेसरको बिरामी। त्यसैले हामीले धेरै निगरानी गर्नुपर्ने हुन्छ। अस्पतालमा राखेको भोलिपल्टसम्म उहाँको प्रेसर एकदमै बढ्यो। दुई डोज औषधि खुवाउनुपर्यो। अलि आत्तिनु भएछ।
यो अस्पतालमा आईसीयू सुविधा छैन। भेन्टिलेटर पनि थिएन, अस्ति मात्र प्रदेश सरकारले दिएको छ। क्रिटिकल उपचार गर्नपर्यो भने हामीलाई स्रोत र साधनको अभाव छ। पीपीईलगायत सुरक्षा सामग्रीको पनि चर्को अभाव छ।
दुईजना बिरामीलाई पोखरा पठाउने योजना बनाएका पनि थियौं, तर गण्डकी अस्पतालले खासै मन गरेन। काठमाडौं पठाउन खोजियो। त्यहाँ पनि राम्रो रेस्पोन्स नपाएपछि यहीँ उपचार गर्न थालेका हौं।
अहिले भेन्टिलेटर जडान गरेपछि दमको रोगीको एक किसिमको उपचार त गर्न सक्छौं। तर, मुख्य कुरा आईसीयू हो, त्यो हाम्रोमा छैन।
आजसम्मको अवस्थामा बिरामीमा जटिलता देखिएको छैन, नहोस् भन्ने कामना गरिरहेका छौँ।
अहिलेसम्म बिरामीको अवस्था सामान्य भएकाले अब काठमाडौं लैजाने भन्दा पनि यहीँ सकभर राम्रो उपचार गरेर डिस्चार्ज गर्न पाए हुन्थ्यो भनेर हाम्रो टिम अहोरात्र खटिएको छ। तीन सिफ्टमा हामी कोरोना संक्रमितको उपचारमा खटिएका छौं।
आइसोलेसन वार्डमा जाँदा हामी पूर्ण रुपमा पीपीई सेट (एन९५ मास्क, गगल्स, बुट, ग्लोब्स) लगाएर जान्छौं। ६५ वर्षीय महिलाको प्रेसर नाप्नैपर्ने हुन्छ, त्यसैले हामीले बिरामी छुनैपर्ने अवस्था छ। संक्रमित युवतीलाई भेट्न धेरै जानुपर्दैन। फोन गर्छौं, हालखबर बुझ्छौं, अत्यावश्यक भए जान्छौं।
बाग्लुङमा र्यापिड डाइग्नोस्टिक टेस्ट आज बिहीबारबाट सुरु भएको छ। मासमा परीक्षण गर्दा लक्षण नदेखिएकाहरुमा पनि संक्रमण रहेछ भने पत्ता लाग्छ। हामीले स्क्रिनिङलाई तीव्रता दिनैपर्छ।
चीनपछि युरोपको इटली, स्पेन, फ्रान्सजस्ता देशमा महामारी फैलिएको र उपचारमा संलग्न डाक्टरको समेत मृत्यु भएको समाचार पढेपछि यस्तो ठाउँमा पनि संक्रमित भेटिए भने कसरी उपचार गर्ने भन्ने चिन्ता लाग्थ्यो।
मैले चैत ९ गते नै काठमाडौंबाट ‘रिक्वेस्ट’ गरेर पीपीई सेट मगाएको थिएँ र सजिलो भयो। नत्र यहाँ एकदमै गाह्रो पर्ने रहेछ। तत्कालै हामीले दुई वटा केस सम्हाल्नुपर्यो।
म यो अस्पतालमा काम गर्न थालेको डेढ वर्ष भयो। साउनदेखि अस्पतालको प्रमुख भएर काम गरिरहेको छु।
यो अस्पतालमा हामीले इमर्जेन्सी र प्रसुती सेवा पनि दिइरहेका छौं। त्यसकारण अन्य सेवामा पनि खटिनुपर्ने हुन्छ।
लकडाउनको कारणले पहिलाको जस्तो धेरै बिरामी आएका छैनन्, फेरि कोरोनाको उपचार भइरहेको जानकारी पाएर पनि होला सामान्य खालको बिरामी भएकाहरु अहिले अस्पताल नै आएका छैनन्।
बाग्लुङ नगरपालिकामा अस्पताल रहेकोले नगरपालिकाले पनि सहयोग गरिरहेको छ।
***
धौलागिरि अस्पतालमा कोरोनाको उपचारमा रहनुभएका स्वास्थ्यकर्मीहरुले उच्च मनोबलका साथ काम गरेका छन्। उपचारमा कन्सल्टेन्ट फिजिसियन डा प्रदीप श्रेष्ठ लगायतकाे हाम्राे टिम खटिएका छाैँ। अन्य डाक्टरहरु पनि राेटेसनमा आइसाेलेसन वार्डमा पुग्ने गरेका छाैँ। हाम्राे टिम वर्ककै कारणले काेरोना संक्रमितकाे उपचारमा सहज भएकाे छ।
कोरोना संक्रमित युवतीले आइसोलेसनमा राखेको तीन दिनसम्म अलि डराएझैँ गर्नुभयो। फोनमा पनि कुरा गर्न मन लाग्दैनथ्यो उहाँलाई। अनि मैले उहाँको कुरा बुझ्ने कोसिस गरेँ। कोरोना पनि अन्य रोगझैँ निको हुन्छ भनेर विश्वस्त तुल्याएँ।
हामीले पहिलो दिनदेखि नै उहाँलाई मनोपरामर्श दियौँ। उहाँको मनोबल गिर्न दिएनौं। अहिले त उहाँको कन्फिडेन्स लेवल बढेको छ। खाना पनि खानुहुन्छ। मलाई यो फलफूल खान मन लाग्यो भन्नुहुन्छ। अहिले फोनमा पनि कुरा गर्नुहुन्छ। अस्पतालमा परिवारकै सदस्य जस्तो हुनुभएको छ।
हामीले अस्पतालमा मनोचिकित्सक राखेका छौं। उहाँबाट मनोचिकित्सा सेवा दिइरहेका छौं। मानिसको मन शान्त र खुसी छ भने त्यसले उपचारमा ठूलो सहयोग पुर्याउँछ।
त्यही कुरा ६५ वर्षीया आमालाई पनि लागू गर्यौं। पहिला प्रेसरको औषधि खान मान्नुभएको रहेनछ, मनोवैज्ञानिक परामर्शपछि उहाँले औषधि खाने, कुराकानी गर्ने, हाँस्ने गर्न थाल्नुभएको छ। पहिला नै मलाई यहाँ ल्याएर राखिदिनुपर्छ नि भन्न थाल्नुभएको छ अहिले। तनाव भयो भने रोगप्रतिरोधात्मक शक्ति घट्न थाल्छ। त्यही भएर रोग प्रतिरोधी क्षमता बढाउन पनि मानसिक रुपमा स्वस्थ हुनुपर्छ।
अहिले मैले घरमा समय दिन पाइएको छैन। कोरोनाको उपचारमा खटिने डाक्टरहरुलाई समेत जोखिम छ भन्ने परिवारले बुझेको छ, त्यसैले चिन्ता गर्छन्। तर, हामी अहिले पहिलो पंक्तिमा छौं।
नागरिकको उपचार गर्नु हाम्रो दायित्व हो। तर, स्वास्थ्यकर्मी नै मार्ने रोग आएको हुनाले डरको बाबजूद जिम्मेवारी र कर्तव्य पूरा गर्न खटिएका छौँ।
प्रतिक्रिया