विचार


हाँसको शासनमा हर्क, रेणु र सुमनाजस्ता रजत रेखा

लोभी नागरिकको भाग्यमा असल नेता कहाँ हुन्छ र!
हाँसको शासनमा हर्क, रेणु र सुमनाजस्ता रजत रेखा

धरानका मेयर हर्क साङपाङ, भारतपुरकी मेयर रेणु दाहाल र प्रतिनिधिसभा सदस्य सुमना श्रेष्ठ


सनत न्यौपाने
जेठ १५, २०८२ बिहिबार १३:३७, काठमाडौँ

'यदि त्यो हाँसजस्तो देखिन्छ, हाँसजस्तै छोटा-छोटा पाइला चाली ढलपल गरी हिँड्छ, र हाँसजस्तै क्वाक-क्वाक गर्छ भने त्यो सम्भवतः हाँस नै हो।'

१८ औँ शताब्दीको यो उखानलाई 'हाँस परीक्षण' पनि भनिन्छ, जसले अवलोकनयोग्य बानीव्यहोरामा आधारित भई कुनै चिजको बारेमा शंका हटाउन मद्दत गर्दछ। हाम्रा महान् ७० वर्ष कटेका सेलेब्रिटी राजनीतिज्ञहरूले पनि दशकौँदेखि हाँसजस्तै देखिँदै, हाँसजस्तै ढलपल हिँड्दै र क्वाक-क्वाक गर्दै आइरहेका छन्। हाँस परीक्षणमा उनीहरुले पूर्णाङ्क ल्याई रहँदा समेत हामी उनीहरु हाँस हुन् कि होइनन् भन्ने शंकामै छौँ!

हाम्रो पहिचान, सामाजिक पुँजी, संस्कृति र सम्पदा, समता, आर्थिक नर्सरी, न्यायिक प्रणाली, विधायी अनुशासन, कूटनीतिक सामंजस्य, र भविष्यको खाका खुला रूपमा ठुंगी-ठुंगी नष्ट गरिरहँदा पनि हामी निरीह उनीहरुलाई नै शंकाको लाभ दिइरहेका छौँ। मार्क्स, लेनिन, माओ, बीपीको वादको क्वाक-क्वाक गर्दै, कहिले वामपन्थपट्टि ढल्किँदै, कहिले दक्षिणपन्थपट्टि ढल्किँदै, अनि लोकतन्त्र, समाजवाद र उदारवादका हिलो निल्दै-ओकल्दै यी हाँसहरूले प्रत्येक नेपालीको भविष्यलाई विकासको आयातित पिंजडामा धितो राखेका छन्। हामी ताली बजाएको बजाएकै छौँ, मालाखादा लगाइदिएको लगादिएकै छौँ।

अझ डरलाग्दो त के छ भने यी ७ दशक पुराना राजनीतिक नेताहरू (जसलाई यसपछिका हरफहरुमा हाँस भनेर सम्बोधन गरिन्छ), भटाभट आफैजस्ता हाँसहरूको थप ब्रिगेडहरू पुन: सिर्जना गरिरहेका छन्, जसभित्र उनीहरूसँग ठ्याक्कै मिल्दोजुल्दो ५५ उमेर काटेका 'तथाकथित युवा' हाँस जर्नेलहरू तयार गराइराखेका छन्। जर्नेल हाँस र कार्यकर्ता हाँसहरूले दृष्टिहीनता, साहसहीनता, चरित्रहीनता, नैतिकताहीनता, र कन्डिसनिङ-सिजनिङको विरासतलाई दृढतापूर्वक पछ्याइरहेका छन्। नेता हाँस, जर्नेल हाँस र कार्यकर्ता हाँसहरू अझ बढी आत्मविश्वासका साथ, हामीलाई उही भाषणहरू बारम्बार दोहोर्‍याइरहेका छन्। र हामी ताली बजाइरहेका छौँ। कठै, हाँसको राजका रैती हामी।

प्राकृतिक समृद्धि, ईश्वरीय उपस्थिति, आध्यात्मिक आशीर्वाद, व्यक्तिवादी प्रशस्तता र मानव मुक्तिको खजानाको यो पवित्र चित्र नेपाल यी हाँसहरूको सुलीले नराम्ररी फोहोर भएको छ। यी हार्डवेयर उन्मुख हाँसहरूले विदेशी मालवेयर ल्याएर नेपाली मौलिक सफ्टवेयरलाई पूर्ण रूपमा ह्याक र भाइरसग्रस्त पारेका छन्। भाग्यवश, यी हाँसहरूले आगामी समयमा यो देश वा यो पृथ्वी छोड्ने नै छन् तर दुर्भाग्यवश, तिनीहरूका उत्तराधिकारी हाँसहरू हाम्रो राष्ट्रको जिम्मेवारी लिनको लागि उही 'हाँस शासन सूत्र' लिएर तम्तयार छन्।

नेपाल बुझ्न सकेको खोइ?
नेपाललाई बुझ्नको लागि सर्वप्रथम प्राकृतिक सम्पदा र यसको सामाजिक-आर्थिक महत्वलाई विस्तृत रूपमा बुझ्नुपर्छ। कसरी नेपालीहरूले जीवित र निर्जीव, दृश्य र अदृश्य, अस्तित्व र अस्तित्वहीनलाई महत्व दिन्छन् भन्ने बुझ्नुपर्छ। केवल जीडीपी, रोजगारी, मुद्रास्फीति, र उपभोक्ता खर्चले नेपालको बुझाइ अपर्याप्त हुन्छ। नेपाली जग, मूल विश्वास र संस्कृति बुझ्नु एउटा प्रमुख कुरा हो। नेपाल एक जटिल कोड हो, त्यसैले यसलाई संसारले माया गर्छन्, सामीप्य दिन्छन्। गुरुत्वाकर्षण, उचाइ, पानी, माटो, जलवायु, वन्यजन्तु, विविधता, सद्भाव, आत्म, कृषि, गौरव, पूर्ण स्वतन्त्रता, र आत्मनिर्भर गुठीहरुको अन्तर्सम्बन्ध आत्मसात नगरेसम्म नेपाललाई डिकोड गर्न सकिँदैन। नेपाल बुझ्न नेपालले रूझेरै अनुभव गर्नुपर्छ। सबै देशहरू जस्तै, नेपाल एक विशिष्ट विश्वअंश हो, यसलाई सामान्यीकृत गर्नु मूर्खता हो।

यी हाँसहरूलाई नेपालको बारेमा वास्तवमा कुनै जानकारी र वास्ता पनि छैन। यिनीहरु हिँडिरहेका छन्, क्वाक-क्वाक गरिरहेका छन्, जथाभावी सुली छरेका छन्, थप हाँसहरू सिर्जना गरिरहेका छन् र नेपाल अतिक्रमण गरेका छन्। हामीबाट हाम्रा परिवारहरू, देवताहरू, मन्दिरहरू, पोखरीहरु, वनहरु, छिमेकहरू, र जीवन-मृत्युका प्रामाणिक तरिका समेत खोस्दै छन्।

विकास र आधुनिकता भन्दै उनीहरुले आयातीत 'जंक'हरु बाँडिराखेका छन्। विष र कीटनाशकहरूले भरिएको खानाको जंक, खुसीतर्फ नलैजाने सडकहरूका कंक्रिट जंक, हामीलाई आफैँबाट टाढा लग्दै गरेको पश्चिमा देखासिकीको जंक, दोहोरो झंझटिलो र प्रभावहीन डिजिटल जंक, र आत्म-शंका, चिन्ता र निराशाले भरिएको मानसिक जंक- उनीहरुले लगातार हामीलाई जंक पस्किरहेका छन्। अनि हामी उनीहरु हाँस होइनन् होला भन्दै अज्ञानतावश, त्यै जंक लगातार प्रसादै मानी उपभोग गरिरहेका छौँ, झनझन जंकी बनिरहेका छौँ।

नेपालमा के गलत भइरहेको छ?

नेपाल विकासको मोडेल नै गलत छ। दोषपूर्ण 'कन्टेक्स्ट म्यापिङ'मा गरिएका कुनै पनि गतिविधिहरूले प्रभावकारी परिणाम दिन सक्दैनन्। राष्ट्रिय धन र स्रोतसाधनको चरम दुरूपयोग र बर्बादी नेपालको हालको सबैभन्दा ठूलो शत्रु हो। यी हाँसहरुले यो नेपाली बगैँचामा जथाभावी बितण्डा नै गरिरहेका छन्।

तुरुन्तै उठान गर्नु पर्ने नेपाली मुद्दाहरू
१. अप्रासंगिक शिक्षा प्रणाली: हामी नेपाललाई नचाहिने कुरा सिकाइरहेका छौँ। फेरि सिकाइरहेका पनि उनीहरुले छन्, जसले आफैँ पनि नेपाललाई नचाहिने कुरा नै सिकेका थिए। यो दुष्चक्रले नेपालको सीप, कौशल, र मनोवृत्ति सबै खोक्रो पार्दैछ। हाम्रा प्रामाणिक विभिन्न शिक्षा संस्था, पद्धति, सीप र मूल्याङ्कन केन्द्रहरू हाँस दर्शनद्वारा नष्ट गरिसकिएका छन्। शिक्षकहरू सबैभन्दा तटस्थ उदाहरण हुनुपर्थ्यो, तर प्राय: शिक्षकहरू हाँसक्रान्तिमा होमिएका छन्। स्कुल र विश्वविद्यालयहरू लगभग शून्य विश्वव्यापी आविष्कारहरू वा शून्य विश्वव्यापी पुरस्कार विजेता राजनीतिक क्लब बनेका छन्। यो खेती गरिएको अराजकताले शिक्षालाई नष्ट गरेको छ। के हामी शिक्षा दिइरहेका छौँ? के तपाईंले हालसालै शिक्षित कसैलाई भेट्नुभएको छ? पढ्दैमा-पढाउँदैमा शिक्षित हुने हो र? हाम्रा शैक्षिक संस्थाहरूले सामूहिक क्लोनिङ गरिरहेका छन्, त्यो पनि ढलपल हिँड्ने र क्वाक-क्वाक गर्ने हाँसहरू। क्लोनिङले प्रामाणिकता, भावनात्मकता, सहानुभूति र नैतिकतालाई बाँझै पार्ने गरी मारिरहेको छ। यदि एउटा ७ कक्षाको विद्यार्थीले खाना पकाउन, ओछ्यान मिलाउन, केही बाली उब्जाउन सक्दैन, वा यदि उसले गणित र ध्वन्यात्मकताको व्यवहारिक प्रयोग बुझ्दैन भने त्यो शिक्ष्यार्थी शिक्षित हुँदैन, बरु स्कुलबाट अशिक्षित भने हुन्छ। यी हाँसहरुले उल्टै अलि शिक्षितहरुलाई शिक्षालयमा लग्दै अशिक्षित चाहिँ बनाउदै छन् कि?

२. पूर्वाधारको जंक: हामी धेरै पूर्वाधार त्यस्ता निर्माण गर्दैछौँ, जुन हामीलाई आवश्यक नै छैन वा हामीलाई आवश्यक पर्ने तरिकाले बनिराखेका छैनन्। एक लज्जास्पद उदाहरण हो - भ्युटावर सञ्जाल। थप उदाहरण- सिमेन्टका तरकारी स्मारकहरू, सिमेन्टका बाघहरू र अब सिमेन्टका बुद्धहरू पनि! ओहो कस्तो हीनता। के यो सिमेन्ट आतंक हामीजस्तो डबली, मन्दिर र विश्व प्रसिद्ध सम्पदास्थलहरूको लागि परिचित देशको लागि ठूलो अवसाद होइन? हामी धेरै सडकहरू त्यस्ता निर्माण गर्दैछौँ जसले उत्पादकता बढाउन मद्दत गर्दैन, बरु मानिसहरूलाई अल्छी बनाउँछ।

अर्को उदाहरण- एउटा सडक थियो जसले एक व्यक्तिलाई बिन्दु कबाट बिन्दु खमा २ घण्टामा पुर्‍याउने थियो जबकि त्यसको वैकल्पिक पैदल दूरी जम्मा १ घण्टा थियो! हास्यास्पद! अनि हामी कम शय्या क्षमता भएका भव्य-ठूला केन्द्रिकृत अस्पतालहरू निर्माण गर्दैछौँ। हामी यो कस्तो निर्माण गर्दैछौँ? हामी वास्तवमा निर्माण गर्दैछौँ कि केबल ठेक्कामा कन्स्ट्रक्सन गर्दैछौँ?

३. अतिराजनीतिकरण: राजनीतिक आशीर्वादबिना अब नेपालमा बाँच्न असम्भवप्राय: छ। यो घाँटी न्याकिरहेको राजनीतिक संक्रमण नेपालको लागि पूर्णग्रहण बनेको छ। यहाँ आफै हाँस नबने वा एउटा गतिलो हाँस नपछ्याए हाँसपोखरीको पासोमा परिने पक्का छ। कर्मचारी, न्यायपालिका, कारखाना, शिक्षालय, संवैधानिक निकाय, सुरक्षा बल, जताततै राजनीतिज्ञहरूको छाया भूतको रूपमा अनवरत उपस्थित छ।

४. राज्यकोष दोहन र फजुल खर्च: अर्थमन्त्री राज्यकोषको पक्षपातपूर्ण वितरणको त्यो हदको दबाबमा होलान् कि, लौजा भनेर उनले सम्पूर्ण राष्ट्रिय आयलाई प्रतिव्यक्ति समान रूपमा वितरण गर्ने र प्रत्येक नागरिकले राज्यले लिने जिम्मेवारीहरू आफै व्यवस्थापन गर्नुपर्ने भनेर बजेट भाषण गरे भने अचम्म नमाने हुन्छ। हाम्रा राज्य प्रणालीहरु सुस्त, अति वितरणमुखी र 'नाइँ' भन्नसक्ने आँटको अभावमा अति-बनावटी भएका छन्। यो हाँसतन्त्रमा यहाँ सबैले राष्ट्रिय तलब वा कुनै प्रकारको भत्ता अपेक्षा गरिरहेका छन्। देशको खर्चमा भोटको धन्दा चलाउनुले देश दुब्लाउँदै र हाँसहरु मोटाउँदैछन्। यहाँ इच्छा हुने हो भने केवल अनुगमन र फजुलखर्च कटौतीबाट सरदर २०-२५ प्रतिशत र उत्पादकत्व नवप्रवर्तनबाट सरदर १५ प्रतिशत खर्च जोकोहीले सजिलै घटाउन सक्ने देखिन्छ। हाम्रो प्रशासन यति मोटो बन्दैछ कि यसले बाँच्नको लागि बढी खाँदैछ र दिनहुँ झन् मोटो र कम उत्पादक (अल्छी) बन्दैछ, जबरजस्ती खुवाइने 'फोइ ग्रास' फ्याटी-लिभर हाँसहरू जस्तै।

५. उपेक्षित उद्यमीहरू: यहाँ साँचा उद्यमीहरूलाई उपेक्षा गरिन्छ, राष्ट्रिय प्राधिकरणहरुको प्रतिस्पर्धीको रूपमा हेरिन्छ र लगातार अव्यावहारिक करको कोर्राले दण्डित पनि गरिन्छ। यी हाँसहरूसँग हातेमालो गर्ने बाहेकका उद्यमीहरू वास्तवमा सरकारको लागि अस्तित्वमै हुँदैनन्। उद्यमीहरूलाई 'तिमी पैसा कमाउनेहरु' भन्ने तरिकाले हेरिन्छ जबकि वास्तविक पैसा बनाउनेहरू त ती हाँसहरू हुन् जसले उद्यमशीलताको कुनै स्वरुपबिनै पैसा कमाइराखेका छन्।

यद्यपि व्यापार समाज र संघहरूले सरकारलाई केही जगाउने प्रयास गर्छन्, तर त्यो अति फितलो छ। लाग्छ त्यो प्रयास उद्यमीहरुको आफ्नै खुसीको लागि मात्र हो। उद्यमीहरू सम्मान, सहभागिता, मान्यता, राष्ट्रिय निर्णय प्रक्रियामा र संस्थाहरूमा समावेशीकरणबाट व्यापक वञ्चित छन्। आफ्नो उद्यमसँग सम्बन्धित कानुन र नीतिहरू सम्बन्धि घरीघरी पाइने 'सरप्राइज' बाट थकित र त्रसित छन्।

६. मिसइन्फर्मेसन: लगभग सबै मिडिया सरकार र राजनीतिक दलहरूबाट विभिन्न लाभ लिने हेतु निश्चित बफादार वा आलोचनात्मक अवसरवादबाट ग्रस्त बनेका देखिन्छन्। सत्यतथ्य समाचार, गहन अनुसन्धान र खोजमूलक फोरम-कोलमहरु अपेक्षा गरिने मिडियाको वास्तविक भूमिका धेरै हदसम्म घटना रिपोर्टिङ, हाँसहरुको क्वाक-क्वाक्को उद्धरण, र व्यक्तित्व प्रक्षेपित अन्तर्वार्ताहरुमा सीमित छ। यहाँ मिडिया र राजनीतिक दलहरू पालैपालो कहिले आयोजकको, कहिले खेलाडीको भूमिका वहन गर्दै रोचक 'म्युजिकल चेयर' खेल्छन्। मूलधार मिडियाको विश्वसनीयता ह्रास हुँदै जानु र नयाँ मिडियामा जवाफदेहिताको अभाव हुनुले नेपाललाई गलत सूचनाले व्यापक संक्रमित गरिरहेको छ। मिडिया ट्रायल, प्रोपोगान्डा, प्रायोजित धारणा आदिले नेपालका कैयन् घटनाहरू र व्यक्तिहरूप्रति धेरै अन्याय भएको छ भने नाङ्गिनुपर्नेहरु सुरक्षित वा अझ प्रसंशित पो छन्।

७. न्यायपालिका: धेरै कम बोल्न मिल्ने तर सबैभन्दा बढी बोलिनुपर्ने विषय अहिले न्यायालय बनेको छ। भ्रष्टाचार, व्यापक ढिला-सुस्ती, दक्षताको अभाव र नवीनताको कमीले न्यायपालिकालाई एउटा कर्मकाण्डी संस्था बनाउँदै गएको छ। आजकल नेपालीहरुले उचित न्यायको अपेक्षा गर्न छोडेका मात्र होइन, समयमा न्याय पाइन्छ भन्ने पत्याउनै छोडिसकेका छन्। न्यायमा धन र शक्ति दुवै हुनेको पहिलो अधिकार, धन वा शक्तिमध्ये एक हुनेको दोस्रो अधिकार र केही नहुनेको चाहिँ विपक्षमा धन र शक्ति हुने नपरिदिए भाग्यमानी भई तेस्रो अधिकार जस्तो अनुक्रम देखिन्छ। अति राजनीतिकरणको अति संक्रमणमा पर्दै गएको यो सम्मानित संस्थालाई हाँसहरुको अभियानको रंगशाला वा रक्षा कवच बन्नबाट रोक्नु ठूलो चुनौती बनेको छ।

८. दूरदर्शिता : नेपाल के हो? आगामी ३० वर्षमा दीर्घकालीन स्रोतहरू लामो समयसम्म सुरक्षित राख्दै हामी कसरी राष्ट्रिय आय बढाउने लक्ष्य राख्छौं? हाम्रो निरन्तर पुनःपूर्ति हुने स्रोत-संयन्त्र के हो? हामीले कहिले भटमास र प्याज आयात गर्न बन्द गर्ने र पाम तेल निर्यात गर्न बन्द गर्ने? क्लोनिङका महारथी यी हाँसहरू सम्मृद्ध र समुन्नत नेपालको परिकल्पना गर्न पूर्ण अयोग्य छन् किनभने उनीहरूले सपना नै नेपाललाई अर्को देश बनाउने बेच्छन्। उनीहरूको क्षमता नै क्लोनिङ हो र त्यो पनि फगत शब्दमा।

नेपालमा संसार देखेको तर नेपाललाई गहिरो रूपमा अनुभव गरेको एक दूरदर्शी नेताले बनाएको ठोस राष्ट्रिय दृष्टिकोणको ‘मास्टरप्लान’को अभाव छ। एउटा स्वदेशमै उब्जेको, विश्वव्यापी प्रतिभा र आत्मविश्वास भएको, देश दोहन होइन निर्माण गर्ने अभिप्राय बोकेको, लिन होइन, दिन चाहने सन्तानको 'भिजन' र नेतृत्व खट्केको छ अहिले। के हामीसँग त्यस्तो प्रतिभा छ? अवश्य छ, नेपालभरि यत्रतत्र सर्वत्र छ। यी हाँसहरू बाहेक हामीसँग धेरै प्रतिभाहरू छन्। तर त्यस्ता प्रतिभाहरू यी हाँसहरुको र्‍यालीमा अवश्यै सम्मिलित हुँदैनन्। उनीहरूलाई त राष्ट्रको सिन्दूर लिएर आमन्त्रित गर्नुपर्छ।

के यी हाँसहरुलाई केही मतलब छ?

हाँसलाई हिलोको पो मतलब, नेपालको के मतलब? हाँसको लागि फोहोर र फूल उस्तै हो- तिनीहरूलाई वास्ता छ त केवल आफूले खानुको। नियुक्ति, मनोनयन, टिकट, इजाजतपत्र, सन्धि, सम्झौता र टेन्डर आवेदनको नाममा यी हाँसरूपी नेताहरुले दशकौंदेखि आफैलाई खुवाइरहेका छन्। राष्ट्रिय गौरव, पवित्रता, समृद्धि, दीर्घकालीन अभिमुखीकरण उनीहरूको लागि एउटा बहाना मात्र हो। उनीहरू भ्रष्टाचार, नातावाद, पक्षपात र विभाजनको चुच्चो मार्फत सधैँ आफूलाई खुवाइ नै रहेका छन्। धत् यी स्वार्थी फोहोरी हाँसहरू!

जिम्मेवार को? दोष कसलाई?
म र मेरो साथी काठमाडौँबाट वीरगन्ज जाँदै थियौँ। बाटोभरि वनमा डढेलो लागेको थियो। यस्तो लाग्थ्यो कि पूरै देश आगोमा जलिरहेको छ। दक्षिणकालीदेखि वीरगन्जसम्म राष्ट्रिय संरक्षण क्षेत्रहरू सहित, जताततै डढेलो लागेको थियो। यो दुःखद क्षणमा हामी करिब निसास्सिने स्तरमै पुग्यौं। तर अचम्म लाग्दो कुरो, धेरै ठाउँमा त्यो डढेलो लागेको थिएन, जानाजानी लगाइएको थियो। कस्तो मूर्खता। कसैले चाँडै नयाँ घर बनाओस् भनेर के म कसैको घरमा आगो लगाउन सक्छु? हदैको मूर्खता, रिस उठ्दो स्पष्टीकरण।

या त हामीले सबै राम्रो भइरहेको छ भनी चित्त बुझाएर बसौं, या हामी पनि जिम्मेवारी लिऊँ। के यी नेताहरूको स्रोत हामी नै हैनौं र? यी हाँसहरुले क्वाक-क्वाक गरिरहँदा पनि, ढलपल हिँडिरहँदा पनि यिनीहरुलाई नेता बनाएको मात्र होइन, सधैँ बनाइराखिदिएको नै हामीले होइन र? नेता भन्दा बढी, हामी जनता, मतदाताहरू, दोषी छौँ। आफ्नो घर जोडिदिने बाटोको लोभमा, स्वार्थी आश्वासनहरुको खाममा, नियुक्ति वा केही सानोतिनो लालचमा वा कसैको इच्छा र चाहनामा सम्मोहित भएर, हामीले सधैँ हाँसहरूलाई ससम्मान निमन्त्रणा दिएरै हाम्रो कर र भविष्यमा परजीवी बनाएका छौँ।

दोष अरू कसलाई दिने? के हामीले नै दर्जनौं वर्षदेखि यी हाँसहरूलाई जिताएको होइन र? लोकतन्त्रमा, नागरिकहरुले दोष र जस दुवै लिनुपर्छ। मुख्यतया हामी नागरिक नै दोषी छौँ। तर हामी सुध्रिएका छैनौँ। घोक्रो सुक्ने गरी गाली गर्ने हामी चुनावमा फेरि सुटुक्क थपक्क तिनै हाँसहरुमध्ये एकलाई स्वस्तिक चिन्ह लुटाएर आउछौँ। हामी अझै पनि झन् बढी र सधैँभरि दोषी हुन योग्य छौँ किनकि हामी अझै पनि तिनीहरू हाँस होइनन् कि भन्ने आशा गर्छौं। हामी अझै पनि यी ७५ वर्ष वृद्ध हाँसहरूबाट एक नायक निस्किने र कम्तीमा अब चाहिँ राष्ट्रलाई रूपान्तरण गर्ने सपनामा छौँ। कस्तो दयनीय अपेक्षा! ३-४ दशकसम्म नगरेको वा गर्न नसकेको व्यक्तिले अब गर्नेछ भन्ने आशा छ हामीमा। त्यसैले त ती ५५ माथिका युवा हाँसहरु समेत हामीलाई आशा जस्तै देखिने शंकाहरू बेच्न थालेका छन् र हामी किनिरहेका छौँ! निर्दोष, मूर्ख, वा लोभी हामी निश्चित रूपमा दोषी छौँ।

फेरि वन डढेलोतिर लागौं- समग्रमा जनताको दोष भए पनि, त्यो विशाल डढेलोको जिम्मेवार को थियो? नागरिकलाई साँच्चै नै निसास्सियाएकोमा कसलाई बढी दोष दिने? आगो जुन मूर्खले लगाएको भए पनि सचेतना र रोकथामको लागि राज्यको उपस्थिति त्यति फितलो कि राजधानी र विभिन्न गाउँ-सहर धूवाँमग्न भएर घर बाहिर निस्किनै नसक्ने स्थितिमा समेत डढेलोलाई प्राथमिकतामा राख्ने बुद्धि र चेत नभएका यो वृद्ध हाँसहरुलाई दोष मात्र कि अब त सजाय पनि?

न त प्रधानमन्त्री, न त लाइन मन्त्री, न वातावरणको नाममा राष्ट्रिय कोषले पालिएका धर्म-कर्मचारी, न पार्टीको बिल्ला बोकेर भत्ता सुइँक्याउने विशेषज्ञ र प्रोफेसर हाँसहरू, कोही कतै सक्रिय र मैदानमा त अपेक्षा नै नगरौँ, थोरै चिन्तितसम्म पनि भेटिएनन्। झर्को लाग्ने दिवस र हाँसहरुलाई लागेको चेतनाको बिगुल फुक्ने नेपाल टेलिकमको सीआरबीटी समेत डढेलोमा मौन देखियो। यो देश ह्वार-ह्वार नै बलोस्, तर घरबाट बाहिरसम्म निस्किदैनन् यी मसीहा बनिटोपल्ने हाँसहरू। केही 'मिटिङ' गरेको देखाए, एक झर पानी पर्‍यो, नागरिक निसास्सिएको कुरा अर्को वर्ष ननिसास्सिउन्जेल सम्मलाई स्थगित भयो। र यी बेकारहरुमध्ये कसैले डढेलो नियन्त्रणमा रास्ट्रपतिबाट सम्मान पाए, जुन हाँसराजमा नहोला भन्न सकिन्न, वास्तवमै बिनातलब आगो निभाउन गएका ती समुदायका अगुवाहरु र साहसी नागरिकहरूको कति अपमान होला?

राज्यविहीनताको अनुभव गर्ने यसरी नै हो, सास फेर्न गाह्रो हुने अवस्थामा, क्यान्सर अस्पतालहरूमा, प्रहरी हिरासतमा, विमानस्थलहरूमा, भन्सारमा, आन्तरिक राजस्व विभागहरूमा, यातायात विभागमा, र अदालतहरूमा पनि। तर यी हाँसहरूलाई दण्ड-सजाय हुनुपर्छ किनभने उनीहरूलाई काम गर्न वा समाधान गर्न नसकेमा कम्तीमा उपस्थित हुनको लागि हामी नागरिकहरुले स्थान र स्रोतहरू दिएका छौँ। विपद्, अन्याय, घाउ जे होस्, यी हाँसहरू हामीलाई सबैभन्दा बढी आवश्यक परेको बेला सधैँ अनुपस्थित छन्। हामी हरेक वर्ष बाढी, मलको अभाव, डढेलो, अति-मूल्यवृद्धिको बेला राज्यविहीनताले ठुङ्गिइरहेका छौँ।

संसारभर नै असल काम गर्न सजिलो हुन्न। अयोग्यहरूका लागि त्यो झनै गाह्रो हुन्छ। अझ अयोग्य र भ्रष्टहरूका लागि राम्रो काम असम्भव छ किनभने अयोग्यको हात कमजोर हुन्छ, भ्रष्टको आँखा! हाम्रा माननीय अयोग्य र भ्रष्टहरू यो कठिन अप्राप्य नेतृत्व पदहरू ओगटी बसेकोमा दोषी त छँदैछन्, नयाँ प्रतिभा उम्रिनै नदिने प्रवृत्तिको लागि उत्तिकै पापी पनि छन्।

तर दोष-गाली पनि उपयुक्त र प्रभावकारी हुनुपर्छ। अयोग्यलाई त दोष-गाली पुरस्कार हुनसक्छ। हामीले सबै कुराको लागि हाँसहरुलाई दोष दिन थाल्यौँ भने, उनीहरु दोषप्रुफ हुन थाल्छन्। सामाजिक सञ्जालमा यी हाँसहरुमाथि फोहोर फ्याँकेको-फ्याँकेकै गर्‍यौँ, अब उनीहरु त्यसलाई बेवास्ता गर्न थाले र पूरै अभ्यस्त मात्र होइन, करिब शत प्रतिशत नै कमेन्टप्रुफ नै भैसके। परजीवीहरुको समायोजन वा अनुकूली क्षमता ज्यादै उच्च हुन्छ, होसियार! त्यसैले हामी संयम र स्मार्ट हुनु जरुरी छ। प्रभावकारिताको लागि प्रशंसा, मौन र आलोचना तिनैलाई उचित रूपमा मिसाउनु बुद्धिमानी हुनेछ।

दोष-गाली के-केमा दिने?
१. श्रेय लिन उद्घाटन कार्यक्रमहरूमा उपस्थित भए : एक सक्षम नेताले गर्ने अन्तिम काम भनेको उद्घाटन समारोहहरूमा आफूलाई व्यस्त राख्नु हो। यो हरुवा मनोवृत्ति हो। औपचारिक कार्यक्रमहरूमा हेड टेबल, सेन्टर कुर्सी र माला मन पराउने नेताले स्व-प्रभुत्व मार्फत भ्रष्टाचार अवश्य गर्छ। यो भ्रष्टचारीको स्पष्ट संकेत हो। तर उनीहरुलाई त्यो मञ्च तय गर्ने हामी नै त हौं!

२. साहसविहीन लाछी बनी गम्भीर परिस्थितिमा गलत हुँदै गर्दा पनि चुप रहेर झुटको साक्षी बने: नेताहरु सामान्यतया सरकारमा हुँदा मौन बस्छन् र विपक्षमा हुँदा उही मुद्दाको लागि ठूलो स्वरमा कराउँछन्। त्यो अवसरवादी र स्याल प्रवृत्ति हो। त्यस्तो लाछीपनालाई धिक्कार्नु पर्छ।

३. पदमा हुँदा समेत कर्मचारी वा ऐन र नीतिहरूलाई बहाना बनाएर असहाय व्यवहार गरे: शक्तिमा हुँदा पनि गर्न नसक्नेले अरु बेला केही गर्छ र? बहाना बनाएर लुटेर बसिराखेका छद्मभेषी धेरै छन्।

४. आफ्ना शब्द र वाचाहरूको वजन राखेनन्: नेताहरुले जे पनि बोल्दिन्छन् पछि हल्का बहानामा फुत्किन खोज्छन्। आफ्नो प्रतिबद्धता हल्का लिनेले केही कसैलाई पनि गम्भीरतापूर्वक लिएको हुँदैन। त्यस्ताको कुनै भर हुँदैन। भर नहुने नेता केवल एक हाँस हो।

५. परिवारका सदस्यहरू वा बिचौलियाहरूले घेरिए: यदि कुनै नेताले पार्टी कार्यकर्ताहरूलाई कामको वा गोपनीयताको लागि विश्वास गर्न सक्दैन भने कि त उसले गैर-कानुनी धन्दा चलाएको छ, कि त उसमा अनुयायी बनाउन सक्ने क्षमता नै छैन। काबिल अनुयायी नै बनाउन नसक्ने केको नेता? परिवारका सदस्यहरूलाई पद वा पार्टीको नियुक्ति दिने नेता होइन एक धृतराष्ट्र हो।

६. अरुको बारेमा बोले, अरुलाई गाली गरे: नेताले आफ्नो भाषणमा प्राय: अरुको मात्र कुरा गर्छन्। जसको कुरा हो, त्यो उसैले गरिहल्छ! नेताले अरुलाई गाली गर्दा ताली बजाउने, हाँस्ने होइन, उसको हैसियत आकलन गर्ने हो। अरुलाई फोहोर फ्याँक्ने व्यक्ति आफै महाफोहोरी हो। कुरा काट्ने, गुनासो गर्ने, रुञ्चे बन्ने नेता सबभन्दा काँतर पानीमरुवा हो। असफल कमजोरले अरूको व्यवहारको आलोचना गर्छ, सफल सबलले आफ्नो कार्यसम्पादनको दाबी गर्छ।

७. टार्गेट नभएका सपना बेचे: नेताको भाषणरुपी वमन हामीले पशुले खोले खाएसरी खाएकोखायै छौँ। वमनपान गर्ने, ताली ठोक्ने हाम्रो नवसंस्कृति बनेको छ, हाम्रो विवेक अब पूरै ह्रास हुँदैछ। कि ताली ठोकिहाल्ने कि गाली ठोकिहाल्ने ठूलो हतारमा छौँ हामी, हाम्रो विश्लेषण गर्ने क्षमता शून्य हुँदै छ। त्यसैले कसैले केही सपना बेचिहाले मिति, तिथि, विवरण सोधेर मात्र किनौँ।

दोष-गाली के-केमा नदिने?
१. कसैले गल्ती गरे: गल्ती नगर्नेले काम गरेको हुँदैन। कसैले व्यक्तिगत जीवनमा जाँड-रक्सी खाओस्, उसको डिभोर्स होस्, उसको नेतागिरीसँग त्यसको खासै धेरै सम्बन्ध हुँदैन। काम गरेको छ कि छैन, आफ्नो लगन, परिश्रम दिएको छ कि छैन, मेहनत र उपाय लगाउँदा पनि परिणाम आएको छ कि छैन, त्यो बढी महत्वपूर्ण हुन्छ। धेरैजसो, आधारभूत र दिगो भविष्यको लागि गरिएको कामको तुरुन्त परिणाम आउँदैन। परिणामहरू बाह्य कारकहरूमा पनि निर्भर हुन्छन्। हेर्नुपर्ने नियत र प्रगति हो। हाँसहरुसँग हरदम सावधान रहनु पर्छ, तर सबैमा हाँस देख्नु हुन्न।

२. राम्रो भाषण नगरे : भाषण नै आजको नेताको मूल्यांकन बनेको छ, जबकि भाषण एक नेताको सामान्य वक्तृत्वकला मात्र हो। नागरिकले त भाषण नगर्ने नेता छानेको राम्रो, भुक्ने कुकुरले विरलै टोक्छ। जसको भाषण कम हुन्छ, प्राय: उसको काम राम्रो हुन्छ।

३. मिडिया 'म्यानेज' गर्न नसके : कसैले मिडिया अति म्यनेज गरेको वा गर्न जानेको छैन भने ऊ अझै पवित्र हुनसक्छ। मिडिया आजकल प्रायोजित पनि हुन सक्ने हुनाले हाँसहरुले आफू लोकप्रिय हुन मिडियाको सहायता लिन खोज्छन्। मिडियाले चाहेको जस्तो फरक व्यक्तित्व सिर्जना गरिदिन पनि सक्छ। त्यसैले मिडियाको कथ्यलाई आलोचनात्मक नाप-जाँच गरेर मात्र सेवन गर्नु पर्छ।

४. बजेट ल्याउन नसके: निर्वाचनमा जित्नेजतिले टोलमा बजेट ल्याउनु पर्छ भन्ने भूत नहटुन्जेल नागरिक तहको भ्रष्टाचार निर्मुल हुन सक्दैन। यहाँ सबैलाई बजेट, त्यसमाथि पनि भत्ता चाहिएको छ। लोभी, भ्रष्टाचारी नागरिकको भाग्यमा कहाँ असल नेता हुन सक्छ? सबै नेताहरूको आ-आफ्नो भूमिका हुन्छ। सांसदको काम नेपाल निर्माण गर्नु, कानुन र नीतिहरू ल्याउनु हो, तपाईंको घर जाने बाटो बनाइदिनु होइन। हामी कहिलेकाहीँ हाम्रा अवैध वा अनुचित अपेक्षाहरूका माध्यमबाट देशलाई सताइराखेका हुन्छौं।

५. मन पर्दैन भने: संसारको ८ अर्ब जनसंख्यामा सबै मन पर्नु पर्छ भन्ने छैन, हामी महात्मा नबनुन्जेल त्यो सम्भव पनि छैन। स्वीकार्नु ठूलो कुरा हो। यदि हामी पनि हाँस नबन्ने हो भने हामीमा विकेक उपस्थित हुनु जरुरी छ- आफूलाई मन नपरे पनि आलोचनात्मक विश्लेषण गर्नु र त्यसलाई छोडीदिनु महानता हुन्छ, मन नपर्दैमा त्यो नराम्रो हुँदैन। कसैलाई मन नपराउनु ठिक छ तर कसैलाई व्यक्तिगत रूपमा मन नपराएको कारणले दोषी मान्नु बिल्कुल बेठिक हो। आफ्नो पूर्वाग्रहको सिकार अरु किन?

मतदाताको रूपमा ताली बजाउनु वा गुनासो गर्नु नागरिकको सबैभन्दा ठूलो हतियार हो। यसलाई महत्त्वपूर्ण र महँगो हतियारको रूपमा प्रयोग गर्नुपर्छ। सित्तैमा लिएको विषले पनि कोही मर्दैन, अमृतले पनि कोही बाँच्दैन। सित्तैमा वा त्यत्तिकै ताली बजाउनु र टिप्पणी गर्नु हुँदैन- ठोस अवसर र व्याख्या खोजी हुनु पर्छ। ताली बजाउनु वा टिप्पणी गर्नुअघि, प्रशंसा गर्नु वा गुनासो गर्नुअघि, बधाई दिनु वा आलोचना गर्नुअघि, कृपया आफ्नो विवेकलाई बोलाउनु जरुरी छ। राक्षसलाई फूल र देवतालाई ढुङ्गा फ्याँके अनर्थ बाहेक केही हुँदैन।

चाँदीका घेरा
बिचरा वा मूर्ख तर दुईमध्ये पक्कै एक हामी यी नेताहरूबाट घोर थकित भईकन पनि, केहीले यिनै हाँसहरुलाई नेतापूजा गरिरहेछौँ, केही चाहिँ राजा आऊ देश बचाऊ गुहारिरहेछौँ। कठै! मै राजा बन्छु मै देश बचाउने होइन बनाउने छु भन्ने साहसीको रिक्तता छ नेपालमा। कस्तो कायरता, कस्तो श्रोतहीनता! हामीले त्यस राजहाँस पनि धेरै नजिकैबाट देखिसकेका छौँ र अति तीतो अनुभव गरिसकेका छौँ। त्यो पनि देशभरि सुली छर्ने हाँस हो, चान्स नपाएर मयूर बनेर झुक्याइराखेको छ, त्यसको असलियत हामीले खेपिसकेका छौँ, अब खेप्न नपरोस्। त्यो मयूररुपी हाँससँगको आश आगोबाट भुङ्ग्रोसम्मको हुनेछ। अझ यो राजहाँस भानिनेको त क्वाक-क्वाकलाई हुकुम भनिदिनु पर्ने, ढल-पललाई सवारी भनिदिनु पर्ने, अनि शोषणलाई राज भनिदिनु पर्ने। धैत्! नेपालमा जो हामी छौँ, सम्भावनै सम्भावनाको देशमा, नयाँ विकल्पहरू टन्नै छन् नि, खोइ हामीले देख्न, चिन्न, उकास्न सकेको?

के तपाईं हालसालै भक्तपुर जानुभएको छ? भक्तपुरमा तपाईंले बलियो सरकारको उपस्थितिले गाँसिएको सांस्कृतिक समृद्धि, सरसफाइ, एकता, सामुदायिक सद्भाव कत्तिको अनुभव गर्न पाउनु भयो? म सधैँ भक्तपुर स्थानीय सरकारको विकासप्रतिको धारणा, मनोवृत्ति देख्छु, उनीहरूको निरन्तर विकासको मोडेल देख्छु, महसुस गर्छु, अनुभव गर्छु र प्रशंसा गर्छु। कुनै बलियो भाषण छैन, कुनै बनावटी प्रचार छैन, कुनै एक व्यक्ति हाबी भएको उपस्थिति छैन। भक्तपुर, संस्कृति, संगीत, खाना, कला, पोखरी, शिक्षा, र सामंजस्यपूर्ण सामुदायिक शक्तिको अनवरत विकासशील सहरको रूपमा चरित्र र आचरणको एक विश्वव्यापी उत्कृष्ट अभ्यास हो। भक्तपुरियन मोडेलमा भक्तपुरमा पशु समेतलाई समृद्धि महसुस पक्कै हुन्छ।

रेणु दाहाल अर्को आशा हुन्। नदीको दृढ संकल्प, हिमालको उच्चताबीचको नम्रता, पहाडको निष्ठा र बादलको गतिशीलताका साथ रेणु नेपाली राजनीतिमा उम्रिरहेको अर्की सूर्यमुखी हुन्। उनी कुनै पनि पार्टीभन्दा बढी छिन्। सुमना श्रेष्ठ पनि त्यस्तै छिन्- सरल तर तीक्ष्ण, शान्त तर साहसी, विश्वस्त तर विद्रोही। सुमना एक अनुभवी र नेपाललाई चाहिएकी नेता हुन्।

यो बादल लागेको नेपाल क्यानभासमा हर्क अर्को रजत रेखा हुन्। हर्क साँच्चै एक क्रान्ति हुन्। उनले नेपालको राजनीतिक प्रवृत्तिलाई तोडेका छन्। हर्क, यद्यपि सबैभन्दा आदर्श राजनीतिक नमुना नहुन सक्छन्, तर उनमा सत् छ, हिम्मत छ। एक सामान्य नेपाली मानिसजस्तै उनमा पनि केही कमजोरीहरू होलान्, तर ती कुराहरूले उनलाई झन् बढी जैविक र प्रमाणिक बनाउँछ। उनी कुनै पूर्णताको छद्म आवरणपछाडि लुकेका छैनन्। सबैलाई थाहा छ उनी के हुन्, के-के गर्छन्। उनको जीवन सार्वजनिक रूपमै पारदर्शी छ, लगभग सबै कुरा। उनीसँग लक्ष्य राख्ने र जीत-हार स्वीकार गर्नसक्ने साहस छ। हर्क एक ठाँटी नेपाली रेसिपी हुन्। हर्क ‘होममेड-होमग्रोन’ नेपाली राजनीतिक नेता हुन्।

उनको क्रान्तिकारी गीत 'ओइ अल्छी', मलाई रामेशको 'हातमा कलम हुनेहरु' पछिको उत्कृष्ट जागरूकतामय गीत लाग्छ। बिचरा हाँसहरु जिल्ल छन्। आणविक हतियारजत्तिकै लोकशक्ति भएको हर्कलाई भ्रष्टाचारले मक्किएको भरुवा बन्दुक तेर्स्याउँदै हाँसहरु धम्काउन खोज्दै छन्, तर पूरै धरान उर्लेला भनेर थर्थर्ती डराएका छन्, केटोले गरी देखाउँदैछ भन्ने ठूलै छटपटी छ। हाँसको छोइलाको पकवान सूत्र हर्कले भने पत्ता लगाएका छन्।

हर्क किन एक अवसर?
हो, हर्कले आफ्नो अति-प्रतिक्रियाशील, आवेगपूर्ण, र कहिलेकाहीँ अत्यधिक दबाब दिने मनोवृत्तिमा सुधार गर्नुपर्छ, तर हर्कमा स्पष्टता छ, ऊर्जा छ, सुनपानीले यो समाज चोख्याउने साहस छ र मेहेनत, खटाइ छ। सबभन्दा अद्वितीय चरित्र- उनीमा नेपालीपन छ। हर्कमा देखिएका ९ विशेषता:

१. सबै कुरामा नेपालीपन (सोच-विचार, लगाइ-खुवाइ, बोली-चाली, चाल-चलन, बानी-व्यवहार)

२. पूर्णतया स्पष्ट र कार्यमुखी (सिधा, साधारण, झर्रो, रुखो, डिमान्डिङ)

३. उच्च नैतिक साहस भएको अग्रपंक्तिको योद्धा (सामना गर्ने, बेहोर्ने, समस्याहरू नपर्खने, समस्याहरूमाझ जाने आँटी)

४. गहिरो जरा गाडेको र जमिनमै उम्रेको (कर्मले फोहोर हात, प्रायः हातमा एउटा औजार, दिमागमा योजना, कहिल्यै नथाकेको अनुहार)

५. सदा ऊर्जावान र सदा परिश्रमी (ऊर्जावान बनाऊने, र अल्छीलाई घृणा गर्ने)

६. हर्क ब्रान्डको समस्या समाधान प्रविधि: स्थानीय समस्या- स्थानीय समाधान- स्थानीय स्रोत। (समाधान गर्न सकिने समस्याहरूमा सम्भावना देख्ने, स्थानीय मुद्दाहरू बोक्ने, स्थानीय अवसरहरू रोज्ने, लोकल र किफायती स्रोतहरु खोज्ने, सम्भव काम आँट्ने-गरेरै देखाउने)

७. निर्विवाद र दृढ आत्म-प्रेरणा, स्व:प्रेरित हर्क (जित्नको लागि जिद्दी)

८. खुसी र उत्सवले भरिएको विश्वस्तरीय सरोकारवाला संलग्नता कार्यक्रमको बीजारोपण (जस आफूले नखोज्ने, जनतामा स्वामित्व दिने, स्नोबल प्रभाव, कम लागतको स्केल-अप विधि)

९. आफू पनि मौलिक, विकास मोडेल पनि मौलिक (धरानको लागि साँच्चै धराने कान्छा, धराने मोडेल)।

हर्क एउटा प्रतीक हुन्, केवल एउटा संकेत। उनी सर्वोत्कृष्ट नमुना नहुन सक्छन् तर उनी प्रत्येक नेपाली आकांक्षी राजनेताले अध्ययन गर्नुपर्ने एक उत्तम अभ्यास निश्चित हुन्। उनी एक पूर्ण कथा हुन-नहुन सक्छन्, तर एक महत्त्वपूर्ण पाठ निश्चित हुन्। उनी पूर्ण सार नहुन सक्छन्, तर नेपाललाई आवश्यक पर्ने सूत्र निश्चित हुन्। हर्कले यो घृणित नेपाली राजनीतिलाई एकपटक सरसफाइ गरी सुनपानी छर्केर चोख्याउने हैसियत पक्कै राख्छन्।

हर्क अन्त्य होइनन्, नेपाललाई समृद्ध बनाउन कार्यान्वयन गर्न सकिने एक महान योजनाको सुरुवात निश्चय हुन्।

धेरै हर्कहरु, रेणुहरु र सुमनाहरू निर्माणमा छन्। यी हाँसहरूले दिएको यो निराशाले आशा र कार्यकुशलताका नयाँ रूखहरूलाई उमार्ने र हुर्कने उर्वर माटो सिर्जना गरिरहेको छ। हाम्रो राष्ट्रको आत्म-उपचार, आत्म-सुधार शक्ति र हर्क, रेणु र सुमनाजस्ता आशालाग्दा सम्भावनाहरूको साथमा नेपाल कति उज्यालो छ। हामीले एक दशक अझै कष्ट भोग्नुपर्ने हुन सक्छ, संघर्ष गर्नु पर्ने हुन सक्छ, विदेशिनुपर्ने हुनसक्छ, तर त्यो भन्दा बढी होइन।

हाम्रो अविनाशकारी नेपाल
नेपाल आफैमा एउटा जटिल प्रणाली हो। यसलाई फोहोर बनाउन सकिन्छ, दाग लगाउन सकिन्छ, च्यात्न सकिन्छ, तर यसलाई ध्वस्त पार्न असम्भव प्राय: देखिन्छ। देवभूमि नेपाललाई यी हाँसहरुले यसो गिजोल्न मात्र सक्छन्, पूर्ण रूपमा ध्वस्त पार्न कदापि सक्दैनन्। नेपालको शक्ति यही हो। नेपालको प्रतिरक्षा प्रणाली र स्वतः पुनर्प्राप्ति क्षमता अत्यन्त उच्च छ। नेपालले पाउनुपर्ने प्रगति ढिलो हुन सक्छ, तर कहिल्यै अस्वीकार हुन सक्दैन। नेपाल र नेपालीलाई प्राप्त आशीर्वाद नै यही हो।

नेपालमा भएको ‘क्वान्टम इक्विटी’को मूल्याङ्कन केवल महात्माहरूले मात्र गर्न सक्छन्। नेपालको विशिष्टता नै यो छ कि जबसम्म कोही आफै रत्न बन्दैन, तबसम्म उसले कहिल्यै नेपालको खजाना देख्न त के, अनुमानसम्म पनि लगाउन सक्दैन। नेपाल भगवान श्रीकृष्णको त्यो विराट स्वरूप हो, जसलाई देख्न कर्ण, कृपाचार्य बनेर समेत पुग्दैन, भीष्म, द्रोण, विदुर वा पाण्डव नै बन्नु पर्छ।

हामीले बुझ्नुपर्छ, जो नेपालमा छ, ऊ स्वत: उचाइमा छ। तर उचाइमा बस्नेले उँचो व्यवहार गर्न जान्नुपर्छ वा सिक्नुपर्छ। हाँसको पछि लागेर वा हंसचालमा ताली पड्काएर कदापि उँचो हुन सकिन्न। नेपालको ‘कन्टेक्स्ट म्यापिङ’ नै सबैभन्दा ठूलो समस्या हो। यो जंगली घोडालाई कहाँ हाँसहरुले चलाउन सक्छन्, एक कुख्यात घोडचडी चाहिन्छ। उचाइ, गुरुत्वाकर्षण र प्रामाणिकतालाई आत्मसात गर्न नसक्नेले र शीर्षमा हुँदा कसरी व्यवहार गर्ने भनेर नजान्नेले नेपाललाई कहिल्यै ‘क्यानभासिङ’ गर्न सक्दैन, पूर्णविराम।

एउटा लोककथा: पुलमुनिको खजाना
एउटा गरिब मानिसले टाढाको सहरमा एउटा विशेष पुलमुनि एउटा ठूलो खजाना गाडिएको सपना बारम्बार देख्छ। अन्ततः उसले आफ्नो सपना साकार पार्ने निर्णय गर्छ र खजाना खोज्न निस्कन्छ। पुलमा पुगेर खन्न खोज्दा, पुलको गार्डले उसलाई रोक्छ। गरिब मानिसले आफ्नो सपनाको व्याख्या गर्छ। गार्ड हाँस्छ र भन्छ, 'पत्याऊ, नपत्याऊ, मैले पनि सपना देखेको थिएँ कि तिमी जस्तै मान्छेको घरमुनि ठूलो खजाना लुकेको छ!'

त्यो गरिब मानिस छक्क पर्छ। ऊ हतार हतार आश्चर्यचकित हुँदै घर फर्कन्छ र आफ्नै घरमुनि खन्न थाल्छ। अन्ततः उसले त्यहीँ गाडिएको विशाल सम्पत्ति भेट्टाउँछ- जुन कुरा उसले पहिले कहिल्यै याद गरेको हुँदैन। यो कथाले हामीलाई कहिलेकाहीँ, हामी भाग्य र अवसरहरूको लागि टाढा-टाढासम्म खोज्छौँ, जबकि सबैभन्दा ठूलो धन पहिले नै हाम्रो अगाडि हुन सक्छ भन्ने सिकाउँछ।

हाम्रो खजाना नेपालमै भरिपूर्ण छ। नेपालमा पानी, गुरुत्वाकर्षण, उचाइ, चट्टान, देवता र क्वान्टम सम्पत्ति जस्ता धेरै खजानाहरू छन्। हामीले विदेसी पुलमुनि होइन, आफ्नो घर मुनि खन्नुछ।

नेपाल निर्माण गर्न तुलनात्मक रुपमा कम गाह्रो छ किनभने अन्य ठाउँहरूमा, खराब थोरै, औसत धेरै, राम्रा केही र असाधारण रूपमा राम्रा एकदम थोरै छन् जबकि नेपालमा, औसत केही, राम्रा धेरै र असाधारण रूपमा खराब केही मात्र छन्। त्यसैले हामीले धेरै निर्माण गर्नु पर्दैन, केवल केही असाधारण रूपमा खराबहरू, ती दशकौँदेखि हाँस जस्तै देखिँदै, हाँसजस्तै ढलपल हिँड्दै र क्वाक-क्वाक गर्दै आइरहेका हाँसहरुलाई उखेलेर फ्याँके पुग्छ।

(सनत न्यौपाने उद्यमी, क्राइसिस कन्सल्ट्यान्ट तथा नवप्रवर्तक हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad