विचार


अमेरिका महाशक्ति रहिरहे पनि रहने छैन उसले बनाएको संसार

नयाँ विश्व व्यवस्थाप्रति आशावादी हुनुपर्ने कारण
अमेरिका महाशक्ति रहिरहे पनि रहने छैन उसले बनाएको संसार

अमिताभ आचार्य
चैत २७, २०८१ बुधबार २०:२९,

दोस्रो विश्वयुद्धपछि कायम रहेको विश्व व्यवस्था लामो समयदेखि संकटमा थियो। अन्ततः त्यो व्यवस्था राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा भत्किन थालेको छ। 

ट्रम्पले सहयोगी र विरोधी दुवैमाथि उसैगरी निरन्तर हमला गरिरहेका छन्। गतसाता उनले व्यापक भन्सार महसुल घोषणा गरे। जसमा अमेरिकाका अत्यन्त निकट व्यापारिक साझेदारहरू समेत परेका छन्। यसले अन्तर्राष्ट्रिय व्यापारप्रतिको दशकौँ पुरानो अमेरिकी प्रतिबद्धता समाप्त गर्नुका साथै विश्व बजारमा हलचल ल्याएको छ। 

ट्रम्पले राष्ट्र संघ, नेटो र ईयूसहितका बहुपक्षीय संस्थाहरूप्रतिको आफ्नो अरुचि बारम्बार स्पष्ट रूपमा प्रकट गरेका छन्। अनि उनले अमेरिका र युरोपबीचको गठबन्धनको जग भत्काउने काम गरेका छन्। उनले यूएसएआईडी समाप्त पार्नुका साथै भ्वइस अफ अमेरिका पनि बन्द गराएका छन्।

भविष्यप्रति निराश हुनुपर्ने अनेकौँ कारण छन्। आउँदो व्यवस्थामा चीन, रुस र ट्रम्पको अमेरिकाले आआफ्नो प्रभाव क्षेत्र जन्माउने छन् र ती क्षेत्रमाथि भयका माध्यमबाट नियन्त्रण कायम राख्ने छन्। तर, अमेरिकी विश्व व्यवस्था अन्त्यपछि अराजकता नै आउँछ भन्ने छैन। अराजकताको डर दुई त्रुटिमा आधारित छ। तर, सत्य के हो भने पहिलो, गएको सात दशक पश्चिमलाई जति राम्रो थियो, बाँकी विश्वलाई त्यति राम्रो थिएन। र, दोस्रो, विश्व व्यवस्थाको सिद्धान्त पश्चिमाहरूको खोज होइन। 

आशावादी हुनुपर्ने कारण यो हो। अमेरिकी विश्व व्यवस्था नै एक मात्र सम्भव व्यवस्था होइन। अझै थुप्रै मुलुकका लागि त यो राम्रो र निष्पक्ष पनि छैन। यो कुरा बुझ्नु भनेको यसको अन्त्यले अझ समावेशी विश्व व्यवस्थाको बाटो खोल्न सक्छ भन्ने आशा गर्नु पनि हो।

वर्तमान व्यवस्थाका पक्षधरहरू तर्क गर्छन्– यसले ठूला युद्ध हुनबाट रोक्यो अनि उल्लेखनीय रूपले स्थिर र समृद्ध अन्तर्राष्ट्रिय व्यवस्था लामो समयसम्म कायम राख्यो। हो, केही रोज्जा देशहरूको क्लबका हकमा यो कुरा सही हो। बेलायती राजनीतिज्ञ तथा अन्तर्राष्ट्रिय सम्बन्धका विद्वान एभान लुवार्डको हिसाबमा १९४५ देखि १९८४ को बीचमा भएका १२० भन्दा बढी युद्धमध्ये दुईवटा मात्रै युरोपमा भएका थिए। तर, यसको अर्थ के हो भने शीतयुद्धको क्रममा भएका ९८ प्रतिशत युद्ध पश्चिमबाहेकका मुलुकमा भएका थिए।

यदि १९४५ पछिको विश्व व्यवस्थाको पहिलो र मुख्य वाचा शान्ति थियो भने थुप्रै मुलुकले सोध्न सक्छन्– कसका लागि शान्ति? यो अवधिमा पश्चिम आफ्ना सदस्यहरू (र अन्य केही)लाई अराजकता, अव्यवस्था र अन्यायबाट बचाउन सफल त भयो। तर, उसले अनेकौँ पटक अव्यवस्था ल्याउन योगदान पनि दियो। जसरी भियतनाम, इराक र अफगानिस्तानमा अमेरिकी हस्तक्षेप भयो।

त्यसैगरी, मुलुकहरूबीच सहकार्यको विचार पश्चिमको उदयभन्दा निकै पुरानो हो। हेनरी किसिन्जरको पुस्तक ‘वर्ल्ड अर्डर’ले १८१५ मा नेपोलियनको पराजयपछि युरोपमा जन्मिएको सहमतिलाई अन्तर्राष्ट्रिय स्थायित्वको नमुनाका रूपमा चित्रित गर्दछ। तर, महाशक्तिहरूबीचको कूटनीति र सहकार्यको उदाहरण त्यसभन्दा ३ हजार वर्षपहिले नै देख्न सकिन्छ। जतिबेला निकट पूर्वका महाशक्तिहरू इजिप्ट, हट्टी, मितानी, असिरिया र बेबिलोनियाले अमराना कूटनीति नामक एउटा व्यवस्था कायम गरेका थिए। जुन समानता र पारस्परिकताको सिद्धान्तमा आधारित थियो। युरोपको एकता पहिलो विश्वयुद्धसम्म अर्थात् एक शताब्दीभन्दा कम समय मात्रै टिक्यो। अमराना व्यवस्था त्यसको दोब्बर समय कायम रहेको थियो।

अनाक्रमण र अहस्तक्षेपको सबैभन्दा पुरानो लिखित सम्झौता इजिप्ट र हट्टीको बीचमा ईसापूर्व १२६९ तिर भएको थियो। युद्धका मानवीय नियमहरू २००० वर्षअघिको मनुस्मृतिमै पाउन सकिन्छ। जसमा नागरिकको सुरक्षा गर्ने र पराजित सैनिकहरूलाई मानवीय व्यवहार गर्ने कुरा उल्लेख छ।

जसमा लेखिएको छ, ‘जब कुनै योद्धा युद्धमा आफ्नो शत्रुसँग लड्छ, तब उसलाई प्रार्थनमा हात जोडेका, कपाल उडाउँदै भागेका, बसेका वा ‘म तिम्र्रै हुँ’ भनेर शरण परेका सैनिकमाथि आक्रमण गर्न नदिनू।’ कवच हराएका र निशस्त्र योद्धाका विषयमा थप नियम छन्। १९४९ को जेनेभा सम्मेलनले हतियार बिसाएका सैनिकमाथि दुर्व्यवहारलाई रोक्न आश्चर्यजनक रूपले उस्तै प्रतिबन्धहरू लगाएको छ।

यी अवधारणाहरूको जरा प्राचीनकालसम्म जोडिएको छ भनेर स्वीकार गर्दा एउटा फाइदा हुन्छ। त्यो हो– अमेरिकाको प्रभुत्व समाप्तिपछिको दुनियाँमा पनि यी अवधारणा कायम रहन सक्छन्। विश्व व्यवस्था सधैँ साझा प्रयास रहँदै आएको छ। ‘ग्लोबल साउथ’का थुप्रै मुलुक त्यस्तो संसारमा सहभागी हुन इच्छुक छन्, जहाँ दोहोरो मापदण्ड अलिक कम र निष्पक्षता अलिक ज्यादा हुन्छ। युद्धपछिको अवधिमा यीमध्ये थुप्रै मुलुकले स्वतन्त्रता प्राप्त गरे र अन्तर्राष्ट्रिय राजनीति अनि बहुपक्षीय संस्थाहरूमा सक्रिय रूपमा सहभागी भए। जसलाई अहिले अमेरिकाले कमजोर तुल्याउँदै छ।

कुनै गैरपश्चिमी शक्तिले पश्चिमा मुलुकबेगरको समूहका माध्यमबाट आफ्नो एजेन्डा अघि बढाउँदा उसले रिसाएरै त्यसो गरेको नहुन सक्छ। उदाहरणका लागि गतवर्ष ब्रिक्स समूहले आफ्नो सदस्यतामा ठूलो वृद्धि गर्‍यो। तर, यसका अधिकांश नयाँ र संस्थापक सदस्यमध्ये अमेरिका विरोधी होइनन्। उनीहरू विश्वव्यवस्था उल्ट्याउनभन्दा यो समूहमा सुधार र विस्तारमार्फत विश्वव्यापी सहकार्य बढाउन र अझ समतामूलक व्यवस्था कायम गर्न चाहन्छन्। 

पुरानो व्यवस्था अझै समाप्त भइसकेको छैन। अमेरिका संसारकै सबैभन्दा शक्तिशाली मुलुक कायम छ। उसको बेजोड सैन्य शक्ति, डलरको प्रभुत्व र दुर्जेय प्रविधि क्षमताका कारण। ऊ सम्भवतः विश्व महाशक्ति कायम रहने छ। तर, अमेरिकाले बनाएको विश्व भने यो शताब्दीमा लामो समय टिक्ने सम्भावना छैन।

केबल अमेरिका, चीन वा मुठ्ठीभर महाशक्तिले चाहेको त के, विश्वभरका मुलुकहरूको अनेक योगदानबाट निर्मित विश्व पनि स्वर्ग हुने छैन। स्वर्ग त पुरानो व्यवस्था पनि थिएन। तर, पहिलेभन्दा निष्पक्ष संसार सम्भव छ।

(द न्युयोर्क टाइम्सबाट। अमिताभ आचार्य अमेरिकन युनिभर्सिटीका अन्तर्राष्ट्रिय सम्बन्ध विषयका प्राध्यापक हुन्। उनको ‘दि वन्स एन्ड फ्युचर वर्ल्ड अर्डर : ह्वाइ ग्लोबल सिभिलाइजेसन विल सर्भाइभ द डिक्लाइन अफ दि वेस्ट’ पुस्तक प्रकाशित छ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad