लामो समय सत्तामा रहेकी शेख हसिनाको ठाउँमा नोबेल पुरस्कार विजेता मुहम्मद युनुस आएका छन्। यो निरंकुश हुँदै गएको बंगलादेशका लागि सुखद अन्त्यजस्तो लाग्न सक्छ। आखिर, हसिनाको शासनमा यति सन्कीपन हाबी भइसकेको थियो– बंगलादेश र त्यसबाहिर पनि ग्रामीण विकासमा सराहनीय भूमिका खेलेका युनुसलाई सताउन हसिनाले आफ्नो सारा राजनीतिक पुँजी समेत खर्च गरिन्। हसिनाको पतन जरुरी थियो। तर, अब जे हुन्छ, त्यो झन् खराब हुनसक्छ।
बंगलादेशमा जे भयो, त्यसलाई हामीले ढाकामा विद्यार्थीहरूले सुरु गरेको हप्तौँ लामो, लोकप्रिय विरोध प्रदर्शनको जित मात्र ठान्नु हुँदैन। अरब क्रान्तिको अन्त्यतिर इजिप्टमा निर्वाचित राष्ट्रपतिविरुद्ध लोकतन्त्र पक्षधरहरूले आन्दोलन गरे। जसले मुलुकलाई सैन्य शासनमा पुर्यायो। त्यो प्रकरणमा मुख्य चालक शक्ति सेना थियो, जो आफ्ना विशेषाधिकार रक्षा गर्न हत्ते हालिरहेको थियो। नतिजा, अहिले कायरो एक दशक अघिभन्दा कम स्वतन्त्र र कम समृद्ध छ।
के ढाकाको गति यसभन्दा गतिलो होला? सेनाले पक्ष बदल्नेबित्तिकै हसिनाको कुर्सी ढल्यो। १५ वर्ष सत्तामा बसेकी उनलाई सहरबाट भाग्न मात्र ४५ मिनेटको समय दिइएको बताइएको छ।
युनुस लोकप्रिय त छन् तर उनीसँग त्यस्तो कुनै राजनीतिक आधार छैन, जसको बलमा उनले बर्दीधारी शक्तिलाई चुनौती दिन सकून्। एक मात्र संगठित विपक्षी भनेको बीएनपी हो, जुन इजिप्टकै झल्को आउनेगरी अझ इस्लामिस्ट छ। हसिना बिदा भइसकेकी छन्। उनको पार्टी र आन्दोलनको बदनामी भइसकेको छ। यस्तोमा सत्ताको खेल खेल्ने शक्ति भनेको सेना र विपक्षी दल नै हुन्।
आन्दोलनकारी विद्यार्थी नेताहरू यो सम्भावनालाई नकार्छन्। तर, २०१३ को कायरो र १९७९ को तेहरानमा झैँ आन्दोलनकारीहरूलाई थाहा नहुन सक्छ, उनीहरूले कस्ता शक्तिसँग गठबन्धन गरेका छन् र त्यसले कस्तो परिणाम ल्याउँछ। हसिना भागेपछि मानिसहरूको घर, व्यवसाय र हिन्दु अल्पसंख्यकहरूको मन्दिरमा आक्रमण गरेर खुसी मनाइयो।
हसिनाको प्रतिद्वन्द्वी पार्टी बीएनपीले २००० को दशकमा शासन गर्दा यो मुलुक सीमापार आतंकवादको स्रोत बनेको थियो। २००९ मा सत्तामा आएपछि हसिनाले उग्रवादमा अंकुश लगाइन्। फलस्वरूप उनको कार्यकालमा बंगलादेशले आर्थिक वृद्धि, प्रगति र गरिबी उन्मूलनमा राम्रो काम गर्यो। पाकिस्तानी नेताहरूले समेत अर्थतन्त्रलाई पंगु बनाउनेगरी आफ्नो देशमा जारी अनुदार अराजकता र बंगलादेशबीचको फरक उल्लेख गर्ने गर्थे।
हसिनाले बंगलादेशलाई पाकिस्तानको जस्तो कट्टरपन्थको भुमरीमा गिर्न दिँदैनथिइन्। यसमा उनलाई भरोसा गर्न सकिन्थ्यो किनकि उनी इस्लामिक कट्टरपन्थीलाई व्यक्तिगत दुस्मन मान्थिन्। जसले उनको बुवाको हत्या गर्न पाकिस्तानसँग मिलेमतो गरेका थिए।
बंगलादेशका प्रथम प्रधानमन्त्री शेख मुजिबुर रहमानको छवि छोरी हसिनाको शासनकालमा सर्वव्यापी थियो। १९७१ अघि पाकिस्तानविरुद्धको बंगाली संघर्षको नेतृत्व गरेका मुजिब सम्मानित नेता थिए। सत्तामा हसिनाको दमनकारी पकडको सबैभन्दा खतरनाक पक्ष के हो भने उनले आफ्नो विरासत त धुलिसात् पारिन् नै, सायद सँगसँगै पिताको छवि पनि सुधार गर्न नसकिनेगरी कलंकित पारिन्।
यो मृत इतिहाससम्बन्धी झगडा होइन, बरु जिउँदो विचारधाराबारेको बहस हो। मुजिब र उनको आन्दोलन बंगाली भाषा र राष्ट्रवादसँग सम्बन्धित छ। उनका विरोधीहरू, जसले १९७० को दशकमा कू गरेर उनको र उनको परिवारको हत्या गरे (हसिना र उनकी बहिनी रेहानाबाहेक, जोसँग उनी सँगै भारत भागिन्), इस्लामिस्ट विचारधारासँग नजिक छन्।
यी कुनै पनि कुराले हसिनाको दोष मेटाउँदैनन्। जसले एकपछि अर्को चुनावमा धाँधली गरिन्। बंगलादेशलाई ध्यान दिएर हेरिरहेका कसैका लागि पनि उनको पदच्युत आश्चर्यजनक नहोला। समस्या के भने कसैले पनि ध्यान दिएका थिएनन्। यो पनि परिवर्तन गर्ने समय आएको छ।
यस मामिलामा भारत र पश्चिम आफ्नो जिम्मेवारीबाट पन्छिन मिल्दैन। भारतले आफूलाई हसिनासँग यति निकट रूपमा जोडेको थियो कि जनताले उसलाई लोकतान्त्रिक मान्यताको समर्थक होइन, तानाशाहको मुख्य आडका रुपमा हेर्न थालेका थिए।
अर्कोतिर, पश्चिमले हसिनालाई लोकतन्त्रका फाइदाबारे आश्वस्त तुल्याउन केही गरेन। जबसम्म श्रम अधिकारमा प्रगति देखिरह्यो, तबसम्म पश्चिमले बंगलादेशको बाँकी नीतिबारे कुनै वास्ता गरेन। ती नीति निर्धारण राजनीतिक रूपले प्रभावशाली बंगलादेशी डायस्पोराले गरिरहेको थियो। तर, अहिले डायस्पोरा हसिना र उनको पिताको विरोधी खेमाको पकडमा छ।
मुजिबको सालिक बंगलादेशमा तोडियो, तर त्यसले पश्चिममा भएका गतिविधिलाई सम्झायो। हसिनाको पतनलगत्तै प्रवासीहरूको एउटा उपद्रयाहा भिडले न्युयोर्कस्थित बंगलादेशी वाणिज्य दूतावासमा प्रवेश गरेर मुजिबको तस्बिर हटायो।
यो गल्तीको मूल्य हामी सबैले चुकाउनेछौँ। बंगलादेश यति लामो समय सामान्य देखिएको थियो। जसका कारण यदि यो मुलुक अराजक बन्यो भने कति खतरनाक हुन्छ, हामीले बिर्सिसकेका थियौँ। संसारको तेस्रो ठूलो मुस्लिमबहुल राष्ट्र साम्प्रदायिकताबाट धेरै हदसम्म टाढा छ। आंशिक रूपमा यसको कारण बंगाली सांस्कृतिक राष्ट्रवाद हो। तर, बंगलादेश पाकिस्तानको विरोधमा जन्मिएको मुलुक भएकाले पनि यसो भएको हो। ५० वर्षअघि पाकिस्तानबाट स्वतन्त्र भएपछि यो मुलुकले यस्तो ठूलो भोकमरीको सामना गर्नुपर्यो– द बिटल्सका जर्ज ह्यारिसनले च्यारिटी कन्सर्ट गर्ने निर्णय लिए। आज गरिबी दर २० प्रतिशतमुनि छ र त्यो अझ घट्दैछ।
यी दुवै उपलब्धिको जस हसिनाको पार्टी र सरकारले लियो। सत्तामा बलियो पकडलाई सही साबित गर्न तिनले बंगलादेशीहरूलाई सायद विश्वास दिलाए– यी उपलब्धि कायम राखिराख्न लायक छैनन्। यो बंगलादेशका लागि त्रासदी हुनेछ। र, भारत, पश्चिम र संसारकै लागि खतरनाक पनि हुनेछ।
(ब्लुमबर्गबाट)
Shares
प्रतिक्रिया