गत वर्षको फेब्रुअरीताका।
म बसेको ठाउँ अमेरिकाको टेक्ससको डलासमा असाध्यै हिउँ परेको थियो।
खासमा डलास हिउँ पर्ने ठाउँ होइन। नेपालको तराईजस्तै हो- अमेरिकाको डलास।
‘ग्लोबल वार्मिङ’को प्रभाव होला- केही वर्ष यता डलासमा पनि हिउँ पर्न थालेको छ।
हिउँ परेका कारण सब बन्दाबन्दी थियो। मेरो घरनजिकैका मित्र विकासराज न्यौपानेले फोन गरे, भनेँ- ‘मिनेन्द्र रिजाल दाइ आउनुभएको छ, आउनूस् न एकछिन।’
रिजाल नेपाली कांग्रेसका एकजना टाठा नेता। अमेरिकाबाट पढेर गएका। नेपालमा रक्षा र सञ्चारजस्ता मन्त्रालय सम्हालिसकेका।
हिउँले निस्कन सक्ने अवस्था थिएन।
तैपनि रिजालसँग गफको लोभ लाग्यो।
म अलि गफको लोभी छु, त्यस्ता मान्छेसँग जो गफको विषय, गहिराइ, समय र सन्दर्भकाबीच तालमेल मिलाउन जान्दछन्, खासगरी समाज, मनोविज्ञान, अध्यात्म र दर्शनका विषयमा समेत।
राजनीति, पद, पेसा वा पैसा त सिर्फ पात हुन्। जीवन र समाजको रुख र हाँगा भनेको दर्शन हो। जराहरू हुन– अध्यात्म। यत्ती कुराको अली अली पनि भेऊ पाउने मान्छेसँग मलाई गफ गर्न लोभ लाग्छ।
रिजाल, यत्ति भेउ पाएकै मान्छे हुन् भन्ने लागेर म उनलाई भेटन गएँ।
रिजाल चिसोले स्याँकस्याँक, सुँकसुँक गर्दै बसिरहेका थिए। चिसोले उनलाई समातेको थियो। उनले केही पिइरहेका थिए- तातो पानी होला सायद!
आजकल पानीको रङले पनि मान्छे झुक्याउँछ, यसैले मैले ‘सायद’ भनेँ।
उनी नेपाली राजनीतिको तातो भुंग्रोबाट भर्खर भर्खर बाहिर निस्किएका थिए।
यसैले पनि उनलाई चिसोले चाँडो समातेको होला।
सांसदको टिकट नपाएका, कांग्रेस महामन्त्रीमा पनि हारेका।
नेपाली राजनीतिमा चिसिनका निम्ति यीभन्दा बढ्ता अरू के हुनुपर्छ र!
सामान्य अवस्था भए, सायद रिजालसँग मसँग गफिने समय हुँदैनथ्यो।
असामन्य अवस्था अर्थात् हिउँ परेकाले मलाई गफको ‘चिठ्ठा’ पर्यो।
चिठ्ठा मैले यसकारण भनिरहेको छु कि नेपाली नेताहरूसँग हतपती मजस्ता मान्छेका कुरा सुन्ने समय हुँदैन।
उनीहरू अक्सर अरूका आँखाट आफू देखिन चाहँदैनन्, आफ्ना आँखाबाट अरूलाई हेर्ने एकोहोरो बानीबाट ती यति ग्रस्त छन् कि दृष्टिदोष के हो, ती फिटिक्कै जान्दैनन्।
हर मान्छेमा दृष्टिदोष हुन्छ। के नेता, के जनता।
नेपाली समाज, नेपाली नेता वा अन्य नेपालीजनमा दृष्टिदोषको असाध्यै ठूलो समस्या छ।
दृष्टिदोष- यसको संयोग र वियोगबारे अरू कुनै बेला लेखौँला।
अहिले उनै रिजालसँग त्यो दिन भएको गफतर्फ लागाैँ।
रिजालसँग जीवन दर्शनदेखि नेपालको राजनीतिसम्म अनेक कुरा भए।
राजनीतिको गफ हुँदै गर्दा मैले उनलाई भनेको एउटा कुरा सम्झन्छु- ‘रवि लामिछानेहरूपछि नेपाली राजनीतिको एउटा चक्र दुर्गा प्रसाईंहरूमा गएर पूरा हुन्छ। त्यसपछि के हुन्छ थाह छैन।’
प्रसाईंसँगै मैले अर्को एउटा पात्रको पनि नाम लिएको थिएँ, जो नेपाली पत्रकारितामा आज हावी छन्, जसलाई आफू के गरिरहेको छु थाहा छ, कस्तो र किन गरिरहेको छु, थाहा छैन।
मेरो कुरा सुनेर रिजालले के प्रतिक्रिया दिएका थिए, मैले बिर्सें।
करिब एक वर्षअघि रिजाललाई भनेको कुरा आज मिल्न लागेको देखेर म आफैँ चकित छु।
यो कुरा मैले त्यतिबेला दुर्गा प्रसाईंको विशेषता हेरेर होइन, नेपाली मनोविज्ञान बुझेर भनेको थिएँ।
नेपाली मनोविज्ञान, बडो विचित्रको छ- जो आफू ‘ऐना’ हेर्दैन, तर अरूलाई ‘ऐना’ देखाउन मन पराउँछ।
यस्तो लाग्छ- आज हर नेपाली आफनो ‘दिमागी झोला’मा एउटा ऐना बोकेर हिँडेको छ- अरूलाई देखाउन, आफैँ भने कहिल्यै त्यो ऐना हेर्दैन।
आफूले ऐना नहेरेपछि आफ्ना अनुहारका दाग देखिँदैनन्, सक्किगो!
समस्या यहीँनेर छ।
ऐना बोक्ने तर अरूका लागि।
कस्तो समस्या!
कांग्रेस ऐना!
एमाले ऐना!
माओवादी ऐना!
राप्रपा ऐना!
राजावादी ऐना!
मधेसी ऐना!
पहाडी ऐना!
जातीय ऐना!
रास्वपा ऐना!
दलपिच्छे, व्यक्तिपिच्छे आआफ्नै ऐना, जो आफ्नो अनुहार हेर्न होइन, अर्कालाई देखाउन लिएर हिँडिएको छ।
हो, समस्या यहीँनेर छ- आजको नेपाली समाज र राजनीतिमा।
हिजोआज दुर्गा प्रसाईं, अमरेश सिंह, सुनील शर्माका ऐनाले बजार भाउ पाइरहेका छन्।
मलाई थाहा छैन- ती स्वयंचाहिँ ऐनाका अगाडि कति उभिएका छन् वा छैनन्?
रवि र स्वर्णिमहरू पनि ऐना बोकेर बजारमा निस्किएका छन्- पुराना राजनीतिक दलहरूलाई देखाउन।
टाढाबाट नेपाल हेर्दा यस्तो लाग्छ- आज हर कोही, अर्कालाई खुइल्याउन, नांगो देखाउन, आफ्नो दिमागी झोलामा एउटा ऐना बोकेर हिँडिरहेका छन्।
अरूलाई ऐना देखाउने चक्करमा आफ्ना र देशका अनुहारमा पनि दाग लागिरहेको न रवि, न स्वर्णिम, न दुर्गा प्रसाईं, न अमरेश सिंह, न सुनील शर्माहरूले पत्तो पाएका छन्।
देउवा, ओली, प्रचण्ड, नेपाल आदि/इत्यादिले त आफ्नो अनुहार अरूका ऐनामा नहेरेको त सायद २०/३० वर्ष नै भइसक्यो। यिनका पनि झोलामा ऐना छन्। आफ्ना अनुहार हेर्न होइन, अरूलाई देखाउन।
नेपाली राजनीति यस्तै अरूलाई ऐना देखाउने होड र हाहाहुहुमा चलिरहेको छ।
औसत मान्छेले गर्ने हाहाहुहु आफ्नो ठाउँमा छ, जसको त्यति ठूलो महत्त्व र अर्थ छैन।
तर जब नेता भनिएकाहरू नै हाहाहुहुमा लाग्छन्, तब देशमा लागेका दाग कसले देख्छ? म टाढाबाट यही सोचिरहेको छु।
नेता त हाहाहुहुमा लागे लागे, विज्ञ भनिएका जान्ने सुन्नेहरूको हाल पनि त्यस्तै छ।
तिनलाई पनि ऐना हेर्न रुचि छैन।
केही महिनाअगाडि स्वर्णिम वाग्ले अमेरिकाको टेक्सस आएका थिए। मैलै उनीसँग केही गम्भीर कुरा गर्न चाहेको थिएँ- उनको राजनीतिक यात्रा र यसको क्षतिबारे।
जसले टेक्ससमा स्वर्णिमको एउटा कार्यक्रमको संयोजन गरेका थिए- मेरा मित्र, उनलाई भनेँ- ‘म स्वर्णिमजीलाई केही कुरा भन्न चाहन्छु, समय मिल्छ भने।’
उनले जवाफ दिए- ‘सर, स्वर्णिमले नबुझेको कुरा के छ र?’
स्वर्णिमलाई हामीले बाल्यकालमा कल्पना गर्ने एउटा राजा, जो सर्वज्ञ हुन्छ, जस्तै ठान्ने ती मित्रको जवाफ सुनेर एकछिन त म अवाक् भएँ। ती मित्रलाई भन्दिऊँ भन्दिऊँ लागेको थियो- आफ्नो अनुहार राम्रो, नराम्रो देखाउने भित्ताको ऐनाले हो, आफ्ना आँखाले होइन। तर भनिनँ।
वाग्ले आए। आफ्नो ऐना हामीलाई देखाएर गए। भेट्ने अवसर मिले पनि एक/एक कुरा गर्ने अवसर मिलेन।
उनी घेरिए।
उनले ‘घेरा’ छाड्न चाहेनन्, मैले ‘घेरा क्रस’ गर्न चाहिनँ।
उनले ऐना हेर्न चाहेनन्, मैले ऐना निकालिनँ।
बरु, राष्ट्रिय स्वतन्त्र पार्टीकै अर्का नेता विराजभक्त श्रेष्ठ वाग्लेभन्दा अरूका ऐनामा आफ्नो अनुहार हेर्न रुचाउने मान्छे रहेछन्।
वाग्ले आएको केही महिनापछि विराज आए। उनीसँग गफ गर्ने मौका मिल्यो। वाग्लेलाई सुनाउन नपाएको कुरा मैले श्रेष्ठलाई सुनाएँ। नेपाल बन्नु वा नबन्नुमा मलाई लागेका कारण बताएँ। भनेँ, ‘चार ‘स’ अर्थात् संस्कार, सोच, संयन्त्र र साउथ- नेपालका मुख्य समस्या हुन्। यी चार ‘स’सँग तपाईंहरू एक्लै लड्न कठिन छ।’
केही उदाहरण दिएँ।
उनी प्रभावित भए। होझैँ गरे। उनले जसरी मेरा कुरामा प्रतिक्रिया जनाए, म पनि प्रभावित भएँ। उनी बरु मलाई ‘अर्गानिक’ लागे।
किनकिन मलाई हिजोआज विराजभक्त श्रेष्ठ, बालेन शाहहरू बढी सक्कली लाग्छन्।
यस विषयमा मेरा खास तर्क छन्, कुनै बेला लेखौँला।
यत्ति भनिहालौँ- शक्तिको लोभ र स्वार्थवश, गल्तीमा पनि तर्क गर्ने मान्छेप्रति मलाई ठूलो घृणा लाग्छ।
यो पनि भन्न मन छ- जसरी, ऊ बेला डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, डा. नारायण खड्काजस्ता एकसे एक, शेरबहादुर देउवाका हर गल्तीलाई पनि ढाकछोप गर्न लागे, आज ठीक त्यस्तै रुपमा डा. वाग्ले र अनिल शाहलाई देखेर म ‘सक’मा छु।
रवि लामीछानेले गरेका हर गल्तीको कभरअप कमसेकम डा. वाग्ले र शाहजस्ता बचेखुचेका प्रोफेसनलहरूले नगरिदिएको भए हुन्थ्यो भन्ने मलाई लाग्छ।
रविले गरेका गल्तीका कभरअप गर्ने जिम्मा अहिलेलाई मनीष झा टाइपकाहरूलाई नै छाडिदिएको भए हुन्थ्यो।
डा. वाग्ले र अनिल शाहले कभरअप गर्नुपर्ने गरेर कहाँ अहिले समय नै आएको छ र!
जब रवि साँच्चिकै निर्णायक तहमा पुग्छन्, ठूलठूला निर्णय गर्न थाल्छन् र ती निर्णयमा विवाद हुन थाल्छन्, तब न वाग्ले र शाहको काम आउँछ।
तर वाग्ले र शाहहरू त अहिले नै रविलाई देउवा बनाउँदै छन्।
मलाई लाग्छ- देउवा नेपाली राजनीतिका दुर्घटना हुन्। रिजाल, महत वा खड्काहरूले चाहेका भए नेपाली राजनीतिलाई देउवा दुर्घटनाबाट जोगाउन सक्थे। तर उनीहरूले त्यसो गरेनन्।
आज ठीक त्यस्तै गल्ती डा. वाग्ले र अनिल शाहहरूले गरिरहेका छन्।
सहकारीको पैसा हिनामिना प्रकरणमा रविले गरेको पछिल्लो पत्रकार सम्मेलनमा दायाँबायाँ बसेका वाग्ले र शाह मलाई ऊबेलाका देउवाका दायाँबायाँ बस्ने डा. रिजाल र डा. महतजस्तै लागिरहेका छन्।
डा. रिजाल मलाई माफ गर्नुहोला- अहिले तपाईं तत्त्वबोधको चरणमा हुनुहुन्छ। मैले त ऊबेलाको कुरा गरेको।
तपाईंको जस्तै तत्त्वबोध डा. वाग्लेलाई कहिले हुन्छ, म पर्खिरहेको छु।
स्वार्थवश गरिने तर्क दीर्घकालीन हुँदैनन्।
एउटा यथार्थपरक प्रश्न सोधाैँ- रविको नाम नजोडिएको भए स्वर्णिमले चुनाव जित्थे? असम्भव।
आफ्नो जितको ऋण तिर्न खोज्दा स्वर्णिमले रविलाई नेपाली राजनीतिको शेरबहादुर बनाउँछन कि भन्ने मलाई टाढाबाट डर छ।
यसो नभइदिए हुन्थ्यो।
तर नेपाली समाज र चेत बडो विचित्रको छ, जो शक्ति र पैसालाई इज्जत गर्छ, माला लगाउँछ र डोला चढाउँछ, सहर घुमाउँछ। नेपाली समाज जो महायज्ञ गर्छ, सबैभन्दा बढी पैसा दिने तथाकथित दानीको अबिर जात्रा गर्छ, तर दान दिनेको दानको स्रोत के हो, खोज्दैन। मन्दिरमा त यस्तो भइरहेको छ, राजनीतिको के कुरा!
यसैले, नेपाली राजनीति र समाज दुर्घटना उन्मुख छ।
Shares
प्रतिक्रिया