अहिले आकस्मिक रुपमा फैलिएको कोरोनाभाइरसलाई दुई परस्परविरोधी कुराले परिभाषित गर्छन्ः एउटा पर्यटन, जसले विश्वलाई जोड्छ र, अर्को भनेको अन्य देशलाई मन नपराउने सोचको राजनीति।
यसै पनि श्वासप्रश्वासबाट हुने संक्रमणको कुनै सीमा हुँदैन। विश्वभर गम्भीर प्रयासका बाबजुद कोरोनाभाइरसको संक्रमण फैलिएको छ। यसलाई रोक्ने हेतुले उडान रद्द गरिएका छन्, सीमा बन्द गरिएका छन् भने यात्रा नगर्ने चेतावनी जारी गरिएका छन्। जुन युद्धसंकट गहिरिँदा गर्ने गरिन्छ। जहिले पनि पश्चिमाहरुले आफ्नो सांस्कृतिक अनुकूलता र तथाकथित ‘सुरक्षा’ को दृष्टिकोणबाट भ्रमण गन्तव्य निर्माण गर्छन्।
जब हामी यात्राका लागि योचाहिँ असुरक्षित स्थान छ, जानुहुँदैन भन्ने निर्णय गर्छौँ, यो निर्णयमा वस्तुनिष्ठ कारणसँगै मिडिया, विदेशी सरकारी कार्यालयहरु र पर्यटन उद्योगले गर्ने कुरा पनि सँगसँगै जोडिएर आउँछन्। पर्यटकहरुले महसुस गर्छन् या गर्दैनन् तर यसमा यही शक्ति संरचनाले काम गरिरहेको हुन्छ। जसले विश्वलाई अन्याय गरिरहेको छ।
चिनियाँ पर्यटकलाई रोक्नु वा चीनलाई रोक्नु सार्वजनिक स्वास्थ्य चासोका कारण मान्य तर्कहरु हुन सक्लान् तर विश्व स्वास्थ्य संगठनले गत हप्ता अन्तर्राष्ट्रिय ध्यान तानेको भन्दै सार्वजनिक स्वास्थ्य संकट घोषणा गरे पनि स्पष्ट रुपमा व्यापार र यात्रामा कडाइ गर्ने सुझाव दिएको छैन। अहिलेसम्म पनि व्यापार वा यात्रामा बन्देज लगाउन उसले भनेको छैन। बरु चीनमा घरेलु क्षेत्र र अन्तर्राष्ट्रिय विमानस्थलमा ‘एक्जिट स्क्रिनिङ’ को लागि आह्वान गरेको छ।
अमेरिकाको स्टेट डिपार्टमेन्टले चीन गएका विदेशीलाई समेत प्रवेशमा रोक लगाएको छ। उसले चीनबाट आएका अमेरिकी नागरिकलाई समेत १४ दिनसम्म परीक्षण गरिरहेको छ। उसले आफ्ना नागरिकलाई चीन भ्रमणमा नजान भनेको छ। मुख्य विमान सेवाप्रदायक कम्पनीहरु ब्रिटिश एयरवेज, लुफ्थान्सा र तीनवटा सबै मुख्य अमेरिकी विमान सेवा कम्पनीहरुले चीन उडान रोकेका छन्। त्यस्तै विगत १५ दिनयता क्रुजलाइनतर्फ रोयल क्यारेबियनले चीन वा हङकङ जान वा त्यहाँबाट आउनखोज्ने जो कोहीलाई रोकेको छ। यी ट्राभल कम्पनीहरुले कर्मचारीको दबाब वा घट्दो यात्रुका कारण उडानमा चासो राख्न छोडेका छन्। यसै पनि खाली विमान चीन जानु वा त्यहाँबाट आउनु लाभदायक हुँदैन।
तर सरकारहरुले देखाएको प्रतिक्रिया केबाट प्रभावित छ त? यसमा कुनै प्रामाणिक कुरा भेटिँदैन। जर्जटाउन युनिभर्सिटीमा संक्रमणकारी रोगहरुको अध्यापन गर्ने अनुसन्धानका सहायक प्राध्यापक एरिन सोरेल भन्छिन्, ‘विमानस्थलमा यात्रुको स्क्रिनिङ गर्नु, क्रुजशिप वा उडानहरुमा संक्रमण परीक्षण गर्नु र संक्रमितलाई छुट्टै राख्नु प्रभावकारी हुनसक्छ।’ उनी र उनीजस्तै अरु विज्ञहरु सीमा नै बन्द गरेर सरुवा रोग नियन्त्रण गर्न खोज्नुलाई उपलब्ध प्रमाणको आधारमा अर्थपूर्ण नरहेको बताउँछन्। यसको साटो उपलब्ध स्रोतको प्रयोग, बिरामीको उपचार र खोपको विकासलगायतका अन्य प्रयास गर्नुपर्नेमा एरिनको जोड छ।

दुःखको कुरा, उक्त निर्णयहरु निःसन्देह जातिवादी छन् भन्ने कुराको कसैले प्रमाण देखाएर पुष्टि गरिरहनुपर्दैन। अहिलेजस्तै बेलाबखत देखिने संवेदनशील क्षणहरुमा यसको आफ्नै लामो इतिहास छ। प्राकृतिक विपद् वा संकटकालजस्तै कोरोनाभाइरस पनि उस्तै देखिन्छ, जसले स्थानीय पर्यटन उद्योगहरुलाई असर गर्छन्।
यसको विनाशक शक्ति वास्तवमा भन्ने हो भने साँच्चैको जोखिममा बस्दैन। यो त बुझाइमा बस्छ। धेरै विज्ञहरुले भनिसकेकै छन्, कोरोनाभाइरससँग संक्रमित हुने धेरै मानिसहरु त्यस्तो संक्रमणमा परेका छन्, जो पछि निको हुनसक्छन्। तर उडान बन्द गर्ने, सीमा ठप्प पार्ने र लेभल ४ अनुसारको यात्रा चेतावनी जारी गर्नेजस्तो काम अतिवादी हो र यसले झन् नराम्रो शिवाय अरु केही गर्दैन।
हो, यहाँभित्रै अन्याय बसेको छ। जब यात्राको कुरा आउँछ, जोखिमको उक्त बुझाइ विरलै उद्देश्यपूर्ण भेटिन्छ। अस्ट्रेलियामा डढेलोले विध्वंस मच्चाइरहँदा अमेरिकाको स्टेट डिपार्टमेन्टले जारी गरेको लेभल २ यात्रा चेतावनीलाई विचार गरौँ न। अमेरिकाले यात्रामा निस्किनेलाई यात्राको मिति नै सार्न सुझाव दियो। यसको कारणस्वरुप उसले महिनौँ लामो डढेलोले हावा अति नै न्यून गुणस्तरको भएको र कतिपय स्थानमा स्थानान्तरण नै गर्नुपर्ने देखिएको भनेको थियो। त्यसको केही दिनमै यात्रा चेतावनी लेभल १ मा झारियो। खासमा अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले ट्रम्प प्रशासनलाई प्रत्यक्ष आग्रह गरेपछि यसो गरिएको थियो। त्यस्तै, सन् २०१७/०१८ को फ्लु सिजनमा जब अमेरिकामा श्वासप्रश्वाससम्बन्धी भाइरसको महामारी फैलियो, अनुमानित रुपमा ६१ हजार जनाको मृत्यु र ४ करोड ५० लाखमा त्यसको लक्षण देखियो। त्यतिबेला कुनै यात्रा चेतावनी जारी भएन।
पर्यटनलाई असर गर्ने अरु कुराभन्दा कोरोनाभाइरस तात्विक रुपमा फरक छ। यसले पर्यटन आम्दानी र कुल गार्हस्थ्य उत्पादनलाई पार्ने सम्भावित असर केवल चीनलाई मात्रै पर्दैन, अन्य देशलाई पनि पर्नेछ। सार्स संकटको झण्डै डेढ दशकपछि चिनियाँ पर्यटकहरु विश्वमा शक्तिशाली बजार स्रोत बनेका थिए। सन् २०१२ मा चीनले सबै देशलाई उछिनेको थियो। सन् २०१७ मा चिनियाँहरुले १४ करोड ३० लाख यात्रा गरेका थिए। स्किफ्टको एउटा अनुसन्धानले गरेको अनुमानमा सन् २०२९ मा त्यो संख्या २८ करोड ६० लाख पुग्ने देखिएको छ। विश्वमा लक्जरी रिटेलरहरु अधिकांश चिनियाँ पर्यटकमा निर्भर छन्। चिनियाँलाई आकर्षित गर्ने उपायहरु सोचिरहेका छन्।
विश्वमा पर्यटन र यात्रालाई फरक उद्योगको एकीकृत अवस्थाका रुपमा लिने गरिन्छः खासगरी छुट्टाछुट्टै रुपमा एकअर्कोलाई सँगै लगेजसरी। तर वास्तविकता के हो भने यो त आर्थिक रुपमा अन्तर्सम्बन्धित कुराहरुको सञ्जाल हो। तब मात्र यो राजनीतिक वातावरणतिर सञ्चालित हुन्छ, अनि राजनीतिक मूल्यसँगै उभिन्छ, जब अन्तर्राष्ट्रिय संस्थाहरुले सुझाएको उत्तम अभ्यासविरुद्ध नीति अघि बढ्छ।
कोरोनाभाइरससँग जोडिएर आएका यी बुझाइहरुसँगसँगै विगत १५ वर्षमा चिनियाँ यात्रा बजारको आश्चर्यजनक वृद्धिले पनि चिनियाँ पर्यटकलाई ‘अरु’ मान्ने यस्ता प्रवृत्तिलाई थोरै मात्र चिर्न सकेको छ। जब अन्तर्राष्ट्रिय संस्थाले क्रुजशिप रोक्ने, उडान रद्द गर्ने र सीमा बन्द गर्ने सल्लाह नै दिएका छैनन्, तब ती कामहरु गर्नु आर्थिक रुपमा आफैँलाई हानि गर्नु मात्र नभई विगतका गल्तीहरु सच्याउने र त्यसबाट पाठ सिक्ने अवसर समेत गुमाउनु हो।
(लण्डन निवासी रोजी स्पिङ्क ग्लोबल पर्यटन रिपोर्टर हुन्। उनको यो आलेख न्यूयोर्क टाइम्सबाट अनुवाद गरिएको हो)
Shares

प्रतिक्रिया