नयाँ वर्षको सुरुवातसँगै विश्वको भूराजनीतिक परिदृश्यमा एउटा ठूलो परिवर्तन देखियो। ब्रिक्स विस्तार भयो। इरान, साउदी अरब, संयुक्त अरब एमिरेट्स, इजिप्ट र इथियोपिया थपिए। यो घटनाले विश्व व्यवस्थाको पुनर्संरचना, बहुध्रुवीयताको स्थापना र मझौला शक्तिहरुको बढ्दो प्रभाव र भूमिकाका विषयमा थप ध्यान आकर्षित भएको छ।
महाशक्तिको तुलनामा मझौला शक्तिहरुको क्षमता सीमित हुन्छ। तथापि, विश्वमा भइरहेको शक्तिको पुनर्वितरणलाई रणनीतिक रुपमा उपयोग गरेर यी मझौला शक्तिहरुले आफ्ना लागि अवसर सुरक्षित गर्ने गर्छन्।
महाशक्तिहरु विश्व्यापी प्रभावका लागि आफूमा निर्भर भएको स्वीकार गर्दै मझौला शक्तिहरु शक्तिको खेलमा सहभागी हुन्छन्। र, आफ्नो हितलाई अघि बढाउन कहिले सहकार्य गर्छन्, कहिले विरोध। सामान्यतः महाशक्तिहरुबीच निरन्तर भइरहने सघन प्रतिस्पर्धा र कहिलेकाहीँ हुने सहकार्यले मझौला शक्तिहरुका लागि आफ्नो प्रभाव विस्तार गर्ने अनुकूल आधार तयार गर्छ। यसले अन्तर्राष्ट्रिय सम्बन्धमा हुर्किंदो गतिशीलताको आलोचनात्मक जाँच र विश्व तीव्र गतिमा बहुध्रुवीय बन्दै जाँदा आवश्यक पर्ने सुझबुझपूर्ण दृष्टिकोणका लागि प्रेरित गर्छ।
दोस्रो विश्वयुद्धपछि संसार शक्तिको दुई ध्रुवमा विभाजित भएको थियो। यो विभाजनले मझौला शक्तिहरुलाई कि अमेरिका, नभए सोभियत संघसँग जोडिन बाध्य बनाएको थियो। मझौला शक्तिहरुका लागि वास्तविक स्वतन्त्र विदेश नीति लगभग अस्तित्वमै थिएन।
सोभियत संघको पतनले अलि सजिलो विकल्प दियो– कि अमेरिका नेतृत्वको विश्व व्यवस्थामा समावेश होऊ, नभए स्वतन्त्र बाटो रोज। तर, विश्वको एक्लो महाशक्तिविरुद्धको बाटो रोज्दा उसले दिने सुरक्षा ग्यारेन्टी र आर्थिक लाभ दुवै गुम्ने खतरा थियो। फलस्वरुप थुप्रै मझौला शक्तिहरुले आफूलाई अमेरिका नेतृत्वको विश्व व्यवस्थामा समाहित गरे र अन्तर्राष्ट्रिय संस्थाहरुमा सक्रिय रुपमा सहभागी हुन थाले।
अमेरिकाको सापेक्षिक विश्वव्यापी प्रभाव घट्दै जाँदा एक ध्रुवीयता विस्तारै कम हुँदै गयो। चीनको आर्थिक शक्तिको उदय र सहयोगी आकर्षित गर्ने उसको क्षमता, २००८ को विश्वव्यापी वित्तीय संकट, इराक र अफगानिस्तान युद्धको विशाल खर्च अनि मझौला शक्तिहरुको समग्र सशक्तीकरणजस्ता कारणहरुले यो परिवर्तनमा योगदान दियो।
अमेरिकी प्रभावको क्षयीकरणले अमेरिका र उसका सहयोगीहरुलाई तिनको सामूहिक स्वार्थ विश्वभर अघि बढाउन चुनौती खडा भएको छ। यसले कयौँ मझौला शक्तिहरुमा साहसिक कदम चाल्ने इच्छा बढाइदिएको छ।
विश्वमा अहिले पनि दुई ध्रुवीयताका तत्वहरु देखिन्छन्। केही निश्चित पक्षमा अमेरिकाले चुनौतीविहीन तरिकाले महाशक्तिको हैसियत कायम राखेको छ भने अर्कोतिर चीनको उदय भएको छ। तर, यसले एक विशिष्ट स्वरुप लिन सुरु गरेको छ। मझौला शक्तिहरुको बढ्दो आत्मविश्वास र तिनको बढ्दो प्रासंगिकताले बहुध्रुवीयतातर्फको परिवर्तनको संकेत गर्छ। चीन नेतृत्वको उदाउँदो गुटले मझौला शक्तिहरुलाई विकल्प दिन्छ। यसले अमेरिकामाथिको तिनको निर्भरतालाई घटाइदिएको छ।
बहुध्रुवीय विश्वमा मझौला शक्तिहरुले अझ धेरै विकल्प, स्वतन्त्रता र लाभ पाउँछन्। परिणामस्वरुप यसले तिनलाई अझ मुखर तुल्याउँछ। त्यसपछि उनीहरु बिनाप्रश्न आज्ञाकारी रहँदैनन्। बहुध्रुवीय विश्वले यस्ता साहसिक र मुखर गतिविधिलाई प्रोत्साहन गर्छ भन्ने धारणाका उदाहरण बनेका छन् कयौँ मझौला शक्तिहरु। विश्वका विभिन्न क्षेत्रमा शक्तिशाली मझौला शक्तिहरुले क्षेत्रीय प्रभुत्व स्थापनामा रुचि देखाएका छन्।
यसको उदाहरणका लागि मध्यपूर्व, दक्षिण ककेसस, मध्य एसिया र अफ्रिका तथा युक्रेन र इजरायल–प्यालेस्टाइन द्वन्द्वमा टर्कीको सक्रिय भूमिकालाई लिन सकिन्छ। त्यसैगरी, ल्याटिन अमेरिका र ग्लोबल साउथको आवाज बन्ने ब्राजिलको महत्वाकांक्षा र भारतको विस्तार हुँदै गएको विश्वव्यापी र क्षेत्रीय महत्वाकांक्षाले पनि यो प्रवृत्तिको उदाहरण पेस गर्छन्।
टर्कीले रणनीतिक ‘यू–टर्न’ लिएको छ। ऊ अब मध्यपूर्वको स्वतन्त्र र मुखर शक्ति बनेको छ। यो बहुध्रुवीयताले मझौला शक्तिको व्यवहारमा कस्तो परिवर्तन ल्याउँछ भन्ने कुराको पनि गतिलो उदाहरण हो। सिद्धान्ततः प्रभुत्वको सापेक्षिक पतनले राष्ट्रवाद, क्षेत्रीय संकटलाई बढाउन तथा विश्वव्यापी संस्थाहरु कमजोर पार्न र पहिलेभन्दा स्वतन्त्र विदेश नीति अख्तियार गर्न मझौला शक्तिहरुलाई प्रेरित गर्न योगदान दिन्छ।
बदलिँदो विश्व व्यवस्थालाई सम्बोधन गर्न अमेरिका र उसका सहयोगीहरुले यसको गतिशीलतालाई वास्तविक हिसाबले बुझ्न जरुरी छ। मझौला शक्तिहरुले आफ्नो साझेदार चुन्ने मामिलामा लाभ प्राप्त गरिरहेका छन्। यसले अमेरिकाका लागि नयाँ चुनौती थप्न सक्छ। यी शक्तिहरु आफ्ना माग र महत्वाकांक्षामा पनि अझ आक्रामक बन्ने सम्भावना ज्यादा छ। अमेरिकाले सजिलै अरुबाट आज्ञाकारिता र समर्थन प्राप्त गर्ने युग समाप्त हुँदैछ। राष्ट्रसंघमा भएका हालैका मतदानहरुले पनि त्यसको पुष्टि गर्छ। यो बदलिँदो परिदृश्यमा अघि बढ्न अमेरिकालाई थप सुझबुझपूर्ण रणनीति आवश्यक छ।
क्षेत्रीय साझेदार छान्दा अति रोजीछाडी गर्नुभन्दा अमेरिकाले विशिष्ट मुद्दाहरुमा सहकार्य गर्न इच्छुक क्षेत्रीय शक्ति पहिचान गर्नमा ध्यान केन्द्रित गर्नुपर्छ। सबैखाले क्षेत्रीय प्रभुत्वको महत्वाकांक्षालाई खतराको रुपमा हेर्दा मझौला शक्तिहरुसँग दुरी बढ्छ र समग्र क्षेत्र नै पश्चिमविरुद्ध खडा हुनसक्ने जोखिम रहन्छ। हरेक क्षेत्रमा कम्तीमा एउटा महत्वाकांक्षी मझौला शक्तिसँग साझेदारी कायम गर्नुपर्छ। यो अस्थिर अवधिमा क्षेत्रीय रुपमा महत्वाकांक्षी शक्तिहरुसँग सावधानीपूर्वक मित्रता विस्तार गर्नु सोझै टक्कर लिनुभन्दा राम्रो रणनीति हो।
विकसित हुँदै गएको बहुध्रुवीय विश्वमा मझौला शक्तिहरुको बढ्दो भूमिकाले विश्व–खेलाडीहरुका सामु भने चुनौती र अवसर दुवै उत्पन्न गरेको छ। गतिशीलता जति बदलिँदै छ, मझौला शक्तिसँग जोडिन रणनीति पनि बदल्न जरुरी छ। संसार परिवर्तन हुँदैछ। र, यो जटिल परिदृश्यमा अघि बढ्न अन्तर्राष्ट्रिय सम्बन्धमा पनि लचिलो र समावेशी दृष्टिकोण अपनाउन आवश्यक छ।
(नेसनल इन्ट्रेस्टबाट)
Shares
प्रतिक्रिया