चाडबाडको बेला छ। सकेसम्म उत्सवकै कुरा गरौँ भन्ने लागेको थियो। सकेसम्म रंगहरूको कुरा गरौँ भन्ने लागेको थियो।
कुरा अलि फरक पर्यो।
मलाई माफ गर्नुहोला– आज म रंगहरूको होइन, ‘ब्ल्याक एन्ड ह्वाइट’ कुरा गर्न खोज्दै छु।
अर्थात् सेतो र कालो कुरा।
रंगहरूको ‘लेपन’ हामीले धेरै देख्यौँ। धेरैतिर देख्यौँ। रातो टीका निधारमा जति टलक्क टल्काए पनि, त्यसले मन र दिमाग उत्तिकै रंगीन भएर टल्कने ग्यारेन्टी गर्दैन, गर्दो रहेनछ।
निधारको रङ, भित्ताको रङ र फूलको रङमा आकाश-जमिनको फरक छ।
फूलका रङ पखालिँदैनन्, जसरी निधारका रङ पखालिन्छन्, फूलका रङ खुइलिँदैनन्, जसरी भित्ताका रङ खुइलिन्छन्।
आज म रङ पखालिएको निधार र रङ खुइलिएको भित्ताबारे लेख्दै छु।
रङ पखालिएको निधार वा खुइलिएको भित्ता अर्थात् आजको गैरआवासीय नेपाली संघ (एनआरएनए)।
उपेन्द्र महतो वा जिवा लामिछानेहरूले लगाएको वा पोतेको रङ आज पखालिँदो वा खुइलिँदो छ।
रङको आयु अब सकिएको छ। खासमा तिनले फूल रोपेका थिएनन्, तिनले प्रवासी नेपाली भित्तामा रङ लगाएका थिए सायद- व्यक्तिगत स्वार्थ, शक्तिको अभ्यास, महत्त्वाकांक्षा र अर्थ व्यवस्थाको रङ।
रङ पखालिएको, खुइलिएको वा नांगिएको भन्नुस्।
यो गैरआवासीय नेपाली संघ म दिनप्रतिदिन पखालिँदै, खुइलिँदै वा नांगिँदै गएको देखिरहेको छु।
मैलै यसो भन्दै गर्दा रामकुमारी झाँक्रीले विदेशमा बस्ने नेपालीविरुद्ध गरेको पछिल्लो आक्रोशपूर्ण टिप्पणीपछि हड्डी गल्नेगरी हाँस्नेहरू धेरै उत्साहित नहुनहोला।
झाँक्रीले बोलेका वा भनेका कुराका विषयमा यही लेखमा अलि पछि उनकै भाषाशैलीमा लेखनको अलि सीमा नाघेर जवाफ दिँदै छु। त्यतिन्जेल धैर्य गर्नुहोला।
पहिले मलाई मेरै संघको सद्गत गर्न गर्न दिनुस्।
सद्गत गर्नुअघि म यो संघको मृत्यु चाहन्छु।
अर्थात् खारेजी।
विदेशमा बस्ने एउटा नेपाली म आज नेपाल सरकारसँग यो लेखमार्फत यो गैरआवासीय नेपाली संघ खारेजीका लागि आग्रह गर्छु।
यस्तो संघ, जो हरेक दुई वर्षमा काठमाडौँमा जान्छ र जसले बेइज्जतीको भारी आफू मात्र होइन, मलाई पनि बोकाएर आउँछ, यस्तो संघ म किन स्वीकार गरूँ?
यसमा कसको कति दोष छ? को कति ठीक वा बेठीक छन्? यो हिसाबकिताब म जान्दिनँ। जान्नु पनि छैन। जान्ने समय पनि अब घर्किसक्यो।
म यत्ति जान्दछु- संघको नेतृत्व लिन्छु भन्नेहरूको गाइजात्राका कारण म वा मजस्तै नेपाली हरेक दुई वर्षमा नेपालका आफ्नाहरूबाट गिज्याइएका छौँ।
म कति आफूलाइ गिज्याइरहन दिऊँ?
भो, पुग्यो।
मलाई अब सम्बन्धका बिचौलिया चाहिएन।
आमाहरू र ईश्वरसँगको सम्बन्धममा बिचौलिया चाहिँदैन पनि।
मैले विचारपूर्वक आमाका पछाडि ‘हरू’ जोडेको छु।
‘हरू’ यसकारण कि दुईवटी आमा त्यहाँ छन्। एउटी- जसभित्र म ९ महिना बसेँ, अर्की- जसभित्र म हुर्कें, खेलेँ, बढेँ, सिकेँ।
यस्तो संघ जसले मेरो र मेरी आमाहरूसँगको सम्बन्धलाई विवाद र लज्जाको विषय बनाइरहेको छ। यस्तो संघ किन स्वीकार गरूँ?
संघका ठेकेदारहरू अधिकार र लगानीका कुरा गर्छन्।
छोराछोरीका अधिकारका कुरामा आमाजत्तिको जान्ने अरू को होला? र, आमाहरू केमा खुसी हुन्छन् भन्ने कुरा छोराछोरीलाई जति अरू कसलाई थाहा होला र?
अनि बिचौलिया किन चाहियो?
किन चाहियो यो जात्रा र खेल?
नेपाल सरकार र त्यसका सञ्चालक स्वाँठ भएर मात्रै हो। नेपाल सररकार र त्यहाँका राजनीतीक दलले अलि उदार भइदिने हो भने संघ नामको बिचौलिया चाहिँदै चाहिँदैन। संघ वा संगठनबिना पनि धेरै कुरा हुन्छ।
अमेरिकामा बस्ने चिनियाँहरूले, अमेरिकामा बस्ने भारतीयहरूले, अमेरिकामा बस्ने दक्षिण कोरियालीहरूले बिनालफडा, बिनाबेइज्जत, बिनासंगठन, यताको समृद्धिमा पनि उताको समृद्धिमा पनि योगदान दिइरहेकै छन्।
लगानी र माया संगठित हुँदैन।
अनि हामीलाई किन चाहियो लगानीका लागि संगठन? किन चाहियो मायाका लागि संघ? भो चाहिएन।
यसैले म संघको खारेजी चाहन्छु।
राम्रै गरेको भए, कुनै उदाहरणीय काम गरेको भए, दुनियाँमा म भन्ने थिएँ- ओ हो! यो त चाहिने रहेछ।
तर यो त हरदिन मेरो बेइज्जत गर्न तल्लीन छ।
एउटा कुरा भनौँ- यो संघ हुनु अघिसम्म जहाँको नेपाली भए पनि नेपाल जाँदा नेपालीलाई नेपाली हो कि होइन भनेर सोधिँदैनथ्यो।
बर्माका नेपाली, थाइल्यान्डका नेपाली, जहाँ बसेका नेपाली भए पनि हामी हुरुक्क हुन्थ्यौँ।
दार्जिलिङ वा सिक्किमले हामीलाई नेपालमा बस्ने नेपालीभन्दा बढ्ता राष्ट्रियता सिकाउँथ्यो र हामी सहर्ष स्वीकार गर्थ्यौं। आज पनि गरिरहेका छौँ। भारतमा जन्मेका अम्बर गुरुङ, जो पछि नेपाली नागरिक भए, उनैले नेपाली राष्ट्रिय गानमा धुन भरे।
भारतमै जन्मेका गोपाल योन्जनले सिर्जना गरेको एउटा गीत, जसले हामीलाई आज पनि जुरुक्क उठाउँछ–
बनेको छ पहराले यो छाती मेरो
बगेको छहरा रगतमा मेरो
म झुक्दै नझुक्ने नेपालको छोरो
यति उदार समाज र भावलाई हामी दिनदिनै खत्तम गर्दै छौँ।
कुनै चिनियाँ वा भारतीयले नेपालको चिन्ता गर्दा ओ हो! हाम्रो गज्जबको सम्बन्ध भनेर नाक फुलाउने झाँक्रीजस्ता नेपाली, आज नेपालमै जन्मेका तर विदेशमा बसेका कुनै नेपालीले नेपालमा भएका राजनीतिका ताण्डवविरुद्ध गरेका टिप्पणी सहनै नसक्ने भएका छन्।
बडो विचित्र छ।
खासमा नेपालीको राष्ट्रियता केमा छ? म अलमलमा छु।
यत्तिको दोधार, ढोंगी र अस्पष्ट समाज मैले दुनियाँमा कहीँ देखेको छैन।
नेपाली समाजको चरित्र बडो विचित्रको छ। छिमेकका कुनै छोरा वा छोरी कतै विदेश गएका छैनन् भने हेपेर सबैका छोराछोरी विदेश गए, यो यतै हल्लिरहेको/हल्लिरहेकी छ भनेर कुरा काटिन्छ।
गए, किन गएको भन्छ। र, दुत्कार्छ यो समाज।
जो नेपाली अमेरिकी आइडलमा नेपाली नाम सुनेर अघिल्लो दिन छाती फुलाउँछ, त्यही नेपाली भोलिपल्ट काठमाडौँमा बसेर प्रवासी नेपालीविरुद्ध सामाजिक सञ्जालमा अन्टसन्ट लेख्छ।
स्विस नागरिक टोनी हेगनले बनाइदिएको नेपाली नक्सा बोकेर हरियाणातिरबाट आएर नेपाली पत्रकारितामा आफूबाहेक अरू कोही छैन भनेजस्तो गर्ने एउटा मान्छे गुगलको हेडक्वाटरमा बसेर नेपालको म्यापिङ गर्न सिकाइरहेको एउटा नेपालीलाई खिस्याउँछ।
खिस्याउने यो कुअवसर दिएको यो एनआरएनए भन्ने संस्थाले नै हो।
यस्तो संघ, भो अब पुग्यो। यसै पनि नेपालीहरूको जस्तो संघ/संगठन दुनियाँका अरू देशका सायदै होलान्।
जुन दिनदेखि एनआरएनएमा पार्टी राजनीति छिर्यो वा छिराइयो, त्यो दिनदेखि नै हो- नेपालीले नेपालीविरुद्ध नै प्रश्न गर्न थालेको।
विडम्बना! जसले एनआरएनएमा नेपाली राजनीतिको बीउ रोपे। जसले तिमी हाम्रो पार्टीको, तिमी अर्को पार्टीको भन्दै विदेशमा पार्टीअनुसारका संगठन खोल्न सिकाए, नेपाली राजनीति र नेपालप्रति चिन्ता गर्न सिकाए, आज तिनै चिप्रा मिच्दै नेपालको राजनीतिबारे टिप्पणी गर्ने भनेर प्रवासी नेपालीविरुद्ध हुँकार गरिरहेका छन्। तिनलाई आफूले के बीउ रोपेको थिएँ भन्नेसम्म हेक्का छैन।
चाहे नेपालमा होस्, चाहे बाहिर। राजनीति, संघ/संगठन चाहिने तर त्यसलाई उपचारको विधि होइन, रोगको घर बनाइरहने नेपाली चरित्र हो।
भो, अब मलाई यो चरित्र चाहिएन। यो रोगको घर चाहिएन।
पुग्यो।
विकल्प के त?
विकल्प, नेपाल सरकार र सरकारका संयन्त्र।
सरकार र सरकारका संयन्त्र अलि बढी उदार र सक्रिय हुने हो भने एनआरएनए नामको बिचौलियाको कुनै काम छैन। सरकारले यसमा कसरी काम गर्न सक्छ, पछि कुनै बेला खाकाका बारेमा लेखौँला।
अहिलेलाई अब अलिकति रामकुमारी झाँक्रीले सोल्टी होटलमा दिएको आक्रोशपूर्ण अभिव्यक्तिबारे कुरा गरौँ।
हुन त झाँक्री त्यति धेरै महत्त्व दिनुपर्ने पात्र होइनन्। राजनीतिक रूपले ती अहिले विक्षिप्त अवस्थामा छिन्। केही महिना मन्त्री भएको धङधङी, लोकतन्त्र आफैँले ल्याएको भनेजस्तो हुटिट्याउँले आकाश थामेजस्तो घमण्ड र राजनीतिक रूपले डिप्रेस्ड, झाँक्रीले के बोलिन्, यो त्यति ठूलो विषय होइन।
झाँक्रीको चेतना र भावको समस्या, उनकै समस्या हो।
उनले बोलेका प्रत्येक आक्रोशपूर्ण वाक्यहरूमा समस्या छ।
म ती प्रत्येक वाक्यहरूमा जान चाहन्नँ।
म यत्ति मात्र भन्न चाहन्छु- तीसँग आमामा हुने गुण रहेनछ।
आमाहरू कहिल्यै पनि आफ्ना छोराछोरीहरूप्रति त्यति कठोर र पूर्वाग्रही हुन सक्दैनन्। आमाहरूको एउटा विशेषता उदारता पनि हो।
म झाँक्रीलाई सोध्न चाहन्छु- तपाईंको पनि छोरो छ, छोरो कुनै दिन अमेरिका वा अरू कुनै देश आउला, यतै बस्ला, छोरोले भन्ला- आमा! म नेपालसँग जोडिरहन चाहन्छु, त्यो दिन पनि तपाईं सोल्टीमा हिजो कुर्लिएजस्तो कुर्लिनु होला कि नाइँ?
शास्त्रमा एउटा श्लोक छ- कुपुत्रो जायेत क्वचिदपि कुमाता न भवति।। अर्थात् कुपुत्र वा कुपुत्री हुनसक्छ, तर कुमाता हुन सक्दिनन्।
झाँक्रीको आक्रोशपूर्ण अभिव्यक्तिपछि मलाई लागिरहेको छ- यी आमाको चरित्र भएकी मान्छे होइनन्।
म झाँक्रीलाई भन्न चाहन्छु- उदारता र मायामा जुन ताकत छ, त्यो ताकत कट्टरता र घृणामा छैन झाँक्रीजी! आमा हुन सिक्नुस्। बस्।
यो भन्दा म के भनुँ?
एकछिन है त! भन्नुपर्ने एक/दुई कुरा बाँकी नै रहेछन्। झाँक्रीजी, तपाईं हामीलाई खुसीले देश छाडेर गएका, अनि देशको चिन्ता गर्ने गैरआवासीय नेपाली भनेर हकारपकार गर्नुहुन्छ।
तपाईंलाई त्यसरी नै गुल्मेलीले हकारपकार गरे भने?
तपाईं गैरआवासीय गुल्मेली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गैरआवासीय चितवने, शेरबहादुर देउवा गैरआवासीय डडेलधुरे, केपी शर्मा ओली गैरआवासीय झापाली, माधव नेपाल गैरआवासीय रौतहटे।
मैले नाम लिएका र उनीहरूजस्तै अरू गैरआवासीय, जो आफू जन्मे/हुर्केको थातथलो छाडेर काठमाडौँमा बसेर रजगज गरिरहेका छन्, ती सबै गैरआवासीय।
तिनलाई दर्शकदीर्घामा राखेर तत् ठाउँका मान्छेले झाँक्रीले झैँ सातो टिपेको हेर्न मन छ।
जति आदर्श र भावनाका कुरा गरे पनि आजको दुनियाँको यथार्थ के हो भने गाउँका मान्छे नजिकका सहर, सहरका मान्छे राजधानी र राजधानीका मान्छे ‘ग्लोबल हब’तर्फ तानिएका छन्। रैथाने र गाँउघरमा बचेखुचेका बूढाबूढीबाहेक आज कोही पनि मान्छे आफू जन्मेको ठाउँको आवासीय छैन।
दोस्रो कुरा- झाँक्रीको भाषणपछि एकथरी नेपालीहरू होमा हो मिलाएर आफूभित्रका कुण्ठा र तुष प्रकट गरिरहेका छन्, उनीहरूलाई म दुई कुरा भन्न चाहन्छु-
एक- घोडीको पछि घोडा दैडिएको देखेर घोडाको पछाडि दौडने गोरुजस्तो तपाईंहरू नहुनुहोला।
दुई- घरमा बसेर आमालाई दिनदिनै ‘अत्याचार’ गर्नुभन्दा टाढा बसेर आमालाई सूर्य नमस्कार गरेकै राम्रो।
Shares
प्रतिक्रिया