ad ad

विचार


संस्कृतिको जयजयकार कि अनुसन्धान

संस्कृतिको जयजयकार कि अनुसन्धान

नेत्र आचार्य
माघ ४, २०७६ शनिबार ३:४१,

लियो टोल्सटोयले बाटोको छेउमा बस्‍ने भिखारीका बारेमा एउटा प्रतीक कथा लेखेका थिए। त्यो भिखारी बूढो भएर मरेपछि उसले जम्मा गरेका कबाडी वस्तु हटाइयो। सरसफाई गरेर त्यस ठाउँको जमीन सम्याउने क्रममा मानिसहरूले सुन, चाँदी र हीरा भरिएको घैंटो फेला पारे। भिखारी थुम्कोमाथि बसेर माग्थ्यो, मुनि जमीनमा रत्‍नहरूको खजाना थियो जुन रहस्य भिखारीलाई आजीवन पत्तो भएन।

यो प्रतीक कथामा साहित्यकार लियो टोल्सटोयले मानिसले आफूभित्र छिपेका सम्पदाहरू ध्यानै नदिई कसरी बाहिर–बाहिर भौंतारिइरहन्छ भन्ने सुझाएका थिए। गत साता राजधानीमा भएको एक विद्वत् गोष्ठीमा वक्ताहरूले नेपाली संस्कार र संस्कृति कति धनी छ भन्ने लेखाजोखा गरे। नेपाली संस्कृतिको कुन पक्ष धनी छ र किन हामी लाभान्वित हुन चुकिरहेका छौं, खोजी गर्नु यो लेखको विषय हो।

संस्कृति सदियौंको अभ्यासका क्रममा निर्मित हुन्छन्। लामो समयको अन्तरालमा विकसित संस्कृति मानिसको व्यक्तिगत र सामाजिक जीवनको जीवन्तताका निम्ति प्राणवायु सरह हुन्छन्। नेपाली संस्कृतिमा चाडपर्व, संगीत, नृत्य, कला, साहित्य भरपूर छन्। संस्कृतिका बृहत्तर आयाममा अन्य धेरै पक्ष समेटिएका हुन्छन्।

नेपाली संस्कृतिमा योगाभ्यास, ध्यान–साधना, तपस्या, ग्रन्थ अध्ययन, तिनको अनुशीलन र अनुष्ठान आदि एकसाथ आउँछन्। नेपाल बुद्धको जन्मथलो हो, शिवको तपोभूमि र राजा जनकले आत्मज्ञानको अभ्यास गरेको मुलुक हो। युग नयाँ भए पनि उनीहरूले हासिल गरेको उदात्त चेतनाको तरङ्ग र आध्यात्मिक परम्पराको अनुगुञ्‍जन सबैतिर महसुस गर्न सकिन्छ।

कालक्रममा कतिपय संस्कृति अपभ्रंश हुँदै कुरीति र रुढी बन्न थाल्छन्। कुरीति बनेका संस्कृतिलाई परित्याग गर्न आवश्यक हुन्छ भने मक्किएका, खिया लागेका संस्कृतिलाई परिष्कार एवं समय–सान्दर्भिक बनाउनु जरुरी हुन्छ।

छाउपडी, बोक्सी झारफुक, छुवाछूत लगायत संस्कार परित्याग गर्न आवश्यक भइसके। तर योगाभ्यास र योगिक जीवनशैली अपनाउनु अत्यावश्यक र उपयोगी देखिएका छन्। सहरका मानिसको जीवनशैली अस्वस्थकर छ। दिनभरी टेबलमा बसिरहने हुँदा कम्मर दुखाइ, आँखा दुखाइ, कब्जियत जस्ता समस्या पैदा हुन्छन्, नकारात्मक चिन्तनका कारण मनोरोग पैदा हुन्छन्। स्वस्थ रहनका निम्ति योगाभ्यास र ध्यानको अभ्यास अपरिहार्य भएको छ।

एउटा समय थियो मानिसहरू जन्म–मरणको चक्रबाट छुटकारा पाउन वा मोक्ष प्राप्त गर्न योग, ज्ञान र ध्यानको अनुशीलन गर्थे। अचेल तनाव कम हुन्छ, स्मरण शक्ति बढ्छ वा सफलता पाउन सकिन्छ भन्ने आशाले मानिसहरू ती अभ्यासमा रूचि राख्छन्। मरेपछि पाइने मुक्तिभन्दा जीवित रहँदै अनुभूति गर्न सकिने शारीरिक र मानसिक स्वास्थ्य महत्त्वपूर्ण मानिन थालेको छ।

शरीर स्वस्थ र तन्दुरूस्त बनाउन, मनको चञ्‍चलता कम गर्न मानिस योग आसनहरूको अभ्यास गर्छ, आँखा चिम्लेर ध्यानमा पनि बस्छ, आध्यात्मिक सत्संगमा पनि पुग्छ। योग, ध्यान लगायत आध्यात्मिक अभ्यासलाई जीवित राख्‍नका निम्ति अब ती अभ्यासको वर्तमान समय–सान्दर्भिकता पहिल्याउन पर्ने देखिन्छ। नवीन सन्दर्भ र आवश्यकता अनुसार ती अभ्यासलाई पुनर्परिभाषित गर्नु तिनलाई नयाँ जीवन र अर्थ दिनु हो।

पाश्चात्य देशहरूमा मनोरोगको समस्या व्यापक भइसकेको सन्दर्भमा योग र ध्यानलाई विभिन्न प्रविधिसँग जोडेर उपचारात्मक विधिको रूपमा उपयोग गर्न थालिएको आधा शताब्दीभन्दा बढी भइसक्यो। सन् १९५० को दशकमा ‘बिहेभियरल थेरापी’ विकसित भयो जसले फरक–फरक प्रकारका एङ्जाइटी अर्थात् तनाव व्यवस्थापन गर्न मदत पुर्‍यायो।

दोस्रो चरण साठी र सत्तरीको दशकमा ‘कग्‍निटिव थेरापी’ विकसित भयो। व्यावहारिक अभ्यासका क्रममा ‘कग्निटिव र बिहेभियरल थेरापी’ एकसाथ प्रयोग हुन थाले।

तेस्रो चरणमा ‘अक्सेप्टेन्स एण्ड कमिटमेन्ट थेरापी’ विकसित भयो। यी सबै थेरापीहरू मुख्य रूपमा पूर्वीय संस्कृतिका केन्द्रीय पक्षहरू योगाभ्यास, ध्यान विधि र आध्यात्मिक जीवन दृष्टिलाई आधार मानेर एवं उपयोग गरेर विकसित भएका हुन्।

महर्षि महेश योगीले विकसित गरेको ‘भावातीत ध्यान’ पद्धतिमा अति उत्साह वा अति निराशा जस्ता भावभन्दा पर साक्षी चेतनामा रहन सिकाइन्छ। मानिसले आफूलाई ‘सुपेरियर’ ठान्दा पनि मन स्वस्थ रहँदैन, ‘इन्फेरियर’ ठान्दा पनि मन स्वस्थ रहँदैन। दुवै अतिबाट बच्न र स्वस्थ रहन भावातीत ध्यान उपयोगी भएको छ।

दीपक चोपडाले ‘एजलेस बडी एण्ड टाइमलेस माइण्ड’ नामको कृतिमा कसरी योगाभ्यासले शरीर हर्दम युवा अवस्थामा रहिरहन्छ र कसरी ध्यानको अभ्यासले मन समयातीत रहन्छ भन्ने तथ्य रोचक रूपमा प्रस्तुत गरेका छन्। समयको धारबाट मनलाई अलग गर्न सक्दाको क्षणको अनुभूति अद्भुत हुन्छ। परम शान्ति र आनन्द भनेका के हुन् यही बेला अनुभूति हुन्छन्।

बुद्धले विकसित गरेको विपश्यना ध्यान विधिका आधारमा सयौं उपचारात्मक विधिहरू बनेका छन्। ध्यान पद्धतिको कुन तत्त्वलाई उपयोग गरेर थेरापीहरू विकसित भए त भनी बुझ्नु यसको रोचक पक्ष हुनसक्छ।

बुद्धको शिक्षामा ध्यानको आधार वर्तमान समयमा सजग रहनु, होसमा रहनु हो। पालि भाषामा यसलाई सतिपठ्ठान र संस्कृत भाषामा स्मृतिप्रस्थान भनिन्छ। वर्तमान क्षणमा जागरुक रहँदा मनमा विचारहरूको प्रवाह शान्त हुन्छ र मन स्वस्थ एवं ऊर्जावान् हुन्छ। सारा मानसिक समस्याहरूको जड मनमा अनेक विचारहरू दौडिरहनु र मन एक छिन पनि शान्त रहन नसक्नु हो।

विचारहरू अक्सर अतीतका यादहरू हुन्छन् या भविष्यका कल्पना। वर्तमान समयमा जागरूक रहँदा स्वाभाविक रूपले विचार न्यून हुँदै जान्छन् र अन्ततः मन विचार शून्य हुन्छ। वर्तमान क्षण अत्यन्त क्षणिक हुने र पलभरमै बितेर गइहाल्ने हुनाले त्यो अल्प अवधिमा विचार खेल्ने अवकाश नै हुँदैन।

वर्तमान क्षणको फ्लिटिङ मुमेन्ट अर्थात् पलभरको अवधिमा कुनै पनि विचार पैदा हुनका लागि कुनै कारण विद्यमान हुँदैन। त्यस अल्प अवधिमा मनलाई टिकाइराख्‍न भने पर्याप्त अभ्यास आवश्यक हुन्छ। यसैकारणले विपश्यना ध्यान सिक्दा कम्तीमा दश दिनको नियमित र अटुट अभ्यास अनिवार्य गरिएको छ।

उपचारात्मक विधि अर्थात् थेरापीहरू विकसित गर्ने मनोवैज्ञानिकले विपश्यना ध्यानको दर्शन पक्ष र अभ्यास पक्ष दुवैलाई उपयोग गरेको पाइन्छ। विपश्यनाले व्यक्ति, वस्तु या घटनालाई जस्ताको तस्तै देख्‍न सुझाउँछ। यसलाई संस्कृतमा यथाभूतदर्शनम् भनिन्छ। परिस्थितिलाई यथाभूत बुझेर स्वीकार गर्दा मन हलुका हुन्छ, प्रतिरोधको भाव हुँदा मन बोझिलो हुन्छ। आफ्नो इच्छा अनुसार सबै कुरा भइदेओस्, सबैले मेरो अनुकूल व्यवहार गरून् भन्ने भावना नै मानिसको तनावको कारण हो। यो थेरापीले सही मूल्यमान्यतामा आधारित उद्देश्यमूलक र सचेत क्रियाकलापमा प्रतिबद्ध हुन पनि सुझाउँछ।

प्राध्यापक विशाल सिटौला कत्थक, भरतनाट्यम् आदि शास्त्रीय नृत्यका भावभंगिमाले मानिसको मनको अतल गहिराइमा स्पर्श गर्छ र इन्डोर्फिन लगायत हार्मोन निसृत हुन्छ भन्ने विदेशी वैज्ञानिकहरूले अध्ययन गरिरहेको बताउँछन्। नारोपा विश्वविद्यालयले बज्रयानी पञ्‍चबुद्धको अवधारणालाई थेरापीको रूपमा उपयोग गरिरहेको छ। मानिसको मनका राग, द्वेष, मोह, लोभ, ईर्ष्या जस्ता भावलाई पञ्‍चबुद्धमा रूपान्तरित गर्नका निम्ति पाँच बुद्धको स्वभाव अनुसारका संरचनाद्वारा निर्मित पाँच भवनमा ध्यानको अभ्यास गर्ने गरिन्छ। धर्म, दर्शन र संस्कृतिका सारभूत तत्त्वलाई आध्यात्मिक या थेराप्युटिक प्रविधिमा विकसित गरेर मात्र अबको युगमा संस्कृतिलाई जोगाउन र बिस्तार गर्न सकिन्छ।

भारतीय अनुसन्धाता राजीव मलहोत्राले पूर्वीय दर्शन र ध्यानलाई आधार मानेर पश्चिमा वैज्ञानिक एवं अनुसन्धाताले विकसित गरेका यावत् थेरापीहरूबारे विस्तृत खोज गरेका छन्। यी थेरापीको स्रोत योग, ध्यान, आयुर्वेद हो भन्ने खुलस्त रूपले उल्लेख गरी पूर्वीय दर्शन र संस्कृतिप्रति न्याय गर्न पाश्चात्य वैज्ञानिकहरूलाई उनको आग्रह छ।

एकातिर पाश्चात्य मनोवैज्ञानिकले पूर्वीय दर्शनका सारभूत तत्त्वहरूलाई स्रोतै नखुलाई फरक नाममा प्रकाशित र प्रचलित गरिरहेका छन्, अर्कोतिर क्रिश्चियन मिसनरीहरूले अनेक प्रलोभनमा पारी मानिसहरूको धर्म परिवर्तन गरिरहेका छन्। यी दुवै कारणले संस्कृति मेटिंदै छ, मासिंदै छ।

पुराण वाचकहरूका कारण भजन, भोजन र पूजन नै संस्कृति हो भन्ने भ्रम सृजना भएको छ। उनीहरूको कर्मकाण्डले गर्दा हिन्दू धर्म संस्कृति ‘देउताको जयजयकार’ भन्दा केही रहेनछ भन्ने आम जनमानसमा छाप परेको छ। यो पण्डा प्रवृत्तिले समाज तलदेखि माथिसम्मै भ्रमित भइरहेको छ। क्रिश्चियनहरूले ‘हेर तिमीहरूको संस्कृतिमा कर्मकाण्ड मात्रै छ’ भन्ने बाटो पाएका छन्।

प्राध्यापक पेशल निरौला क्रिश्चियनहरूले भन्दा भजन–भोजन–पूजन प्रेमी पुराण वाचकहरूले धर्म संस्कृतिको हुर्मत लिएको बताउँछन्। उनी भन्छन्– हाम्रो संस्कृतिका योग, आयुर्वेद, वास्तुशास्त्र, जैविक कृषि जस्ता स्वास्थ्यवर्द्धक, शान्तिदायक र उत्पादनमूलक विधाहरू उजागर गर्नु र तिनको समय–सान्दर्भिक उपयोग खोज्न अनुसन्धान गर्नु अत्यावश्यक भइसकेको छ।

आध्यात्मिक संस्कृति र दर्शनको अनुसन्धान गरेकै हुँदा दिवाकर आचार्य र स्थानेश्वर तिमल्सिना विश्वका प्रतिष्ठित विश्वविद्यालयमा प्राध्यापन गर्छन्, संस्कृतिको जयजयकार गर्नेहरू या त पदको छिनाझम्टी गर्दै छन् या यज्ञमा घिउ चढाउँदै छन्। संस्कृतिको जयजयकार गर्ने कि यसका सान्दर्भिक पक्षहरूलाई अनुसन्धान गरेर समाजोपयोगी बनाउने भन्ने अहिलेको टड्कारो आवश्यकता हो। आफ्नै संस्कृतिका सारतत्त्वहरूको अनुसन्धान गरेर लाभान्वित हुनेतर्फ सोच्दैनौं भने हाम्रो गति–मति लियो टोल्सटोयको भिखारीको जस्तै हुनेछ।

(नेत्र आचार्य धर्म-संस्कृति विषयका अध्येता हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .