ad ad

छापा खबर


सभामुख चयनका विषयमा प्रचण्डलाई ओलीको यस्तो व्यंग्य

सभामुख चयनका विषयमा प्रचण्डलाई ओलीको यस्तो व्यंग्य

नेपालखबर
माघ ४, २०७६ शनिबार ३:५४,

नयाँ सभामुख चयनका विषयमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकारात्मक रूपमा अघि बढेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार र शुक्रबार गरी करिब साढे ४ घण्टा दाहालसँग छलफल गरेपछि ओलीले ‘केही भ्रम चिरिएको’ बताएका छन्।

बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको माघ ६ को बैठक नसर्ने गरी सहमति हुने दाबी गरेका छन्। सभामुख कसलाई बनाउने भन्नेबारे भने दुई अध्यक्षबीच अझै कुरा मिलिनसकेको स्रोतको भनाइ छ।

‘पात्रबारे अडान यथावत् छ,’ स्रोतले भन्यो, ‘अरू कुरा मिलेर पात्रका विषयमा मात्रै छलफल हुन्थ्यो भने दुई अढाई घण्टासम्म बसेर सघन छलफल गर्नै पर्दैनथ्यो।’

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि अध्यक्षद्वयबीच पछिल्लो समयमा भएको छलफल सकारात्मक रूपमा अघि बढेको जानकारी दिए। ‘यसअघि पनि छलफलबाटै धेरै विषयको टुंगो लगाएझैं अध्यक्षद्वयले छलफल गरेरै सहमति गर्नुहुन्छ,’ थापाले भने, ‘पछिल्ला दुई दिनको छलफलले छिट्टै निकास निकाल्नेमा उहाँहरू प्रतिबद्ध देखिएको संकेत गर्छ।’

उनले दुई अध्यक्षबीच दरार सिर्जना गरेर स्वार्थसिद्ध गर्ने उद्देश्यले विभिन्न पक्षहरू खेले पनि त्यो सफल नहुने दाबी गरे भनेर आजको कान्तिपुरमा बिनु सुवेदीले खरब लेखेकी छन्।

ओली र दाहालबीचको सहमतिकै आधारमा सरकारले पुस ४ गतेका लागि संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। त्यतिखेर संविधानसभा अध्यक्ष सुवास नेम्वाङलाई नै सभामुखको उम्मेदवार बनाउने विषयमा दुई अध्यक्षबीच भद्र सहमति भएको प्रधानमन्त्री निकट स्रोतको भनाइ छ।

त्यही सहमतिका आधारमा अध्यक्षद्वयले नेम्वाङलाई सभामुख चयनबारे सार्वजनिक रूपमा धारणा नराख्न सुझाव पनि दिएका थिए तर पछि पूर्वमाओवादी पक्षको दबाबका कारण अध्यक्ष दाहालले कुरा फेरेको आरोप ओली पक्षधर नेताहरूको छ।

पछिल्लोपटक नेता वामदेव गौतमको निवासमा भएको भेलामा उपसभामुखको राजीनामा मागेर मात्रै सभामुखको उम्मेदवार चयन गर्ने विषयमा अध्यक्ष दाहालसहितका नेताले सहमति जुटाएपछि ओली रुष्ट बनेका थिए । उनले बाहिर भेला र बैठक गर्नेले नै सभामुख तय गर्नुपर्ने अभिव्यक्ति दिँदै आएका थिए । शुक्रबार पनि अध्यक्ष दाहालसँगको भेटमा उनले ‘तपाईंले पार्टीमा सर्वसम्मत उम्मेदवार तय गर्न सक्नुभएन, मैले नै संसदीय दलबाट चुनूँ कि कसो ?’ व्यंग्य गरेका थिए।

प्रधानमन्त्रीको यो कटाक्ष भैंसेपाटी भेलाप्रति केन्द्रित रहेको स्रोतको दाबी छ। दाहालले अहिले पार्टीको जिम्मेवारी लिइरहेका छन् भने ओली संसदीय दलका नेता हुन्।

दाहाल पक्षधर नेताहरू भने प्रधानमन्त्री ओलीसँग दाहालले सभामुख चयनका विषयमा पहिले कुनै सहमति नगरेको दाबी गर्छन् तर सभामुख चयन गर्नुपर्छ भनेरै सरकारले यसअघि भन्दा करिब साता दिनअघि संसद् अधिवेशन डाकेको ब्रिफिङ दाहालले नेकपा संसदीय दलको बैठकमा पनि गरेका थिए। उनले उक्त बैठकमा सभामुखमा सबैलाई मान्य हुने व्यक्ति चयन गरिने पनि बताएका थिए।

पछि दुई अध्यक्षले आफ्नै पक्षको सभामुख चयन गर्ने कुरालाई प्रतिष्ठाको विषय बनाएपछि उनीहरूबीच केही दिन संवादहीनतासमेत भयो । यसअघि गत असारमा पनि पार्टी एकताका विषयमा दुई अध्यक्षबीच कुरा नहुँदा उनीहरूबीच झन्डै साता दिनसम्म छलफल भएको थिएन। बिहीबार र शुक्रबार भएको छलफल भने सहमतिको निकै नजिक पुगेको अध्यक्षहरूले आफूनिकट नेताहरूलाई बताएका छन्।

नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले पनि दुई अध्यक्षको छलफल सकारात्मक भएको जानकारी आएको बताए । ‘प्रधानमन्त्रीज्यू पूर्वमाओवादीलाई नै सभामुख दिन तयार हुनुहुन्छ भन्ने जानकारी आयो तर पात्रका विषयमा उहाँहरूबीच अझै कुरा मिलिसकेको रहेनछ,’ उनले भने।

गजुरेल उनै हुन्, जसलाई पछिल्लो समय अध्यक्ष दाहालले सभामुखको दाबेदारका रूपमा प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिरहेका छन् । ‘सुरुमा अग्नि सापकोटाको नाम आएको थियो तर उहाँका विरुद्ध मुद्दा छ भन्ने भएपछि अर्को व्यक्ति खोजौं भन्ने कुरा भयो,’ प्रधानमन्त्री निकट एक मन्त्रीले भने, ‘त्यसपछि दाहालले गजुरेलको नाम अघि सार्नुभएको छ तर प्रधानमन्त्रीले जवाफ दिनुभएको छैन।’ ती मन्त्रीका अनुसार प्रधानमन्त्री अहिले पनि सुवास नेम्वाङकै नाममा अडिग छन्।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले पनि सभामुखको दाबेदारी प्रस्तुत गरिरहेकी छन् तर उनको नाममा अध्यक्ष दाहालले रुचि नदेखाएपछि तुम्बाहाङ्फेको सम्भावना क्षीण भइसकेको स्रोतहरू बताउँछन्।

तुम्बाहाङ्फेले पनि सभामुखको उम्मेदवार तय हुनेबित्तिकै आफूले उपसभामुखबाट राजीनामा दिने बताइसकेकी छन् । यसअघि उनले आफैंलाई सभामुखको उम्मेदवार नबनाए उपसभामुखबाट पनि राजीनामा नदिने बताउँदै आएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .