समय तीजको छ। अनि मौसम छ, रङ्गीचङ्गी। आशा छ, दिन पनि उस्तै घमाइलो बन्दै जानेछ। विवाहित हुन् कि अविवाहित, जागिरे हुन् कि व्यापार–व्यवसायमा लागेका। घर व्यवहार सम्हालिरहेका, घर र कार्यालय दुवै धानिरहेका, कामको प्रकृतिले, कार्यालयको नियमले कहिल्यै सारीचोलो नलाउनेहरू पनि रङ्गीन पहिरनमा सजिएका छन्। आफूलाई सिँगार्ने समय निकालेका छन्, चट्ट परेका छन्। साथीहरू भेट्ने, दुःखसुख बाँड्ने, दर खाने, खुवाउने चलिरहेको छ।
अनि, चार चौरास काम सकेर, व्यस्त जीन्दगीको धपेडीबाट अलिकति समय आफ्नो लागि निकालेर तीज मनाउन जम्मा भएको बेला दुईचार तस्बिर त खिच्नै पर्यो। सामाजिक सञ्जालमा पनि पोस्ट गर्नै पर्यो। जमाना अनुसार चल्नु पर्यो नि! फेसबुक, इन्स्टा, टिकटक नेपाली महिलाको तीज सेलिब्रेसनले ‘भाइब्रेन्ट’ देखिन्छ। हेर्दा पनि उस्तै रमाइलो।
तर कतिपयलाई महिलाहरूले यसरी तीज मनाएकोमा पीर परेको छ। छटपटी भएको छ। त्यो पीर यही सामाजिक सञ्जालतिर पोखिएको छ। महिलाहरूले महिना दिन अघिबाट तीज मनाए, लाए, खाए र रमाए भनेर व्यङ्ग्य प्रहार पनि देखिन्छ। कतिलाई फेरि तीजको नाममा विकृति भित्रियो भन्ने लागेको छ, कतिलाई तीज भड्किलो भएको भन्ने चिन्ता। कतिलाई महिलाहरू सिँगारिएकोमा चित्त बुझेको छैन। कोही फेरि महिलाहरू सारी लर्काउँदै हिँडेकोमा असन्तुष्ट छन्।
कोही चाहिँ छन्– हाम्रो पालमा त तीजको दिनमा आमा, दिदी, बहिनी जम्मा भएर आँगनीमा छमछम नाच्थे, त्यो पनि विरहको गीत गाएर, अहिलेका महिलालाई त पार्टी प्यालेसमा पो मनाउनु परेको छ भन्नेहरू। अरु त अरु प्रशासनसम्मले महिलाहरूलाई खुलेर तीज नमनाउनु है, असल र संस्कारी बन्नू भनेर उर्दी जारी गर्न भ्याइसक्यो। यो सबै देखेपछि भन्नैपर्ने एउटै कुरा छ– ‘हर चिज फेरियो तीज चाहिँ उस्तै रहिरहनु पर्ने हो?’
जमाना फेरियो। देशको व्यवस्था फेरिएको छ। अनि महिलाहरूको अवस्था पनि फेरिइसक्यो। आर्थिक, सामाजिक, सांस्कृतिक, पारिवारिक। हरेक हिसाबले महिलाहरूको स्थिति परिवर्तन भएको छ। धेरै पर नजाऊँ। ५० वर्षअघिको नेपाली समाज र महिलाको अवस्था अनि आजको तुलना गरौँ। महिलाको मात्रै होइन पुरुषको अवस्था पनि हेरौँ न। एकाधबाहेक महिला–पुरुष दुवै घरकै काममा सीमित हुन्थे। धेरै खटेर थोरै आम्दानी गर्थे। अन्नपात उब्जिए पनि पैसाको अभाव हुन्थ्यो। घरबाट गोठ, गोठबाट घर, घरबाट जंगल, जंगलबाट घर, घरबाट खेत र खेतबाट घर। लगभग सबैको पूरै जीवन यतिमै घुमिरहन्थ्यो। घाँस, दाउरा, मेलापात, खेतीकिसानी। मात्रै यति। एक सरो फरिया किन्न परे दिनै माया मारेर बजार पुग्नुपर्थ्यो। आर्थिक रूपमा पूर्णतया श्रीमानकै भर। श्रीमतीको लागि चुरा, टीका र सिन्दुर किन्न २ पैसा दिन परे श्रीमानले दाँतबाटै पसिना निकाल्थे। आफ्नो एक पैसा आम्दानी थिएन।
एकैछिन, एकैदिन, घर छोडेर निस्कन पाइने होइन। एक छाक मीठो मसिनो खान चाडबाड कुनुपर्थ्यो। माथिल्लो तलामा भकारीभरि धान भएर के गर्नु? आमाहरू आपसमा बसेर गफ गरेको कयौँपल्ट सुनेको छु– ‘दिनकै पेटभरि भात खाने कुरो सपनाजस्तै।’ तीज लागेपछि ठेट्ना मकै पोल्टाभरी हालेर गोठालो, मेलापात र घाँस निस्कने आमाहरू वनपातमै गीत गाउँथे, सानो समूहमा भेला भएर। तीज मनाउँथे। घरैबाट लगेको पोको खोलेर बाँडेर खान्थे। आफ्ना घरका दुःख फुकाउँथे। त्यो पनि लगभग सासले। ठूलो आवाजमा बोल्न, हाँस्न समेत वर्जित थियो। दबेकै आवाजमा दुःख पोखेर घर फर्कन्थे।
अनि तीजकै दिनको लागि भनेर हप्तादिन अघिबाट घाँस काट्ने क्रम सुरु हुन्थ्यो। भारीका भारी घाँस गोठमा जम्मा हुन्थे। घरनजिकैको डाले घाँस तीजकै दिनको लागि भनेर साँचिन्थ्यो। नजिकैको बारीमा जुन चाहिँ कान्लामा लहलहाएका बन्सो छ, त्यो पनि त्यही तीजकै लागि जोगाएर राखिन्थ्यो। वस्तुभाउलाई घाँसपानी, परिवारका सदस्यलाई मीठोमसिनो, सबै काम सकेर, घरको अर्थबर्थ मिलाएर आमाहरू माइत जान्थे, त्यो पनि एकै दिनको लागि। वर्षभरि घरको कामले थाकेर पुगेका महिलाहरू माइतीको आँगनमा बसेर पीर बिसाउँथे :
ठूलोघर, ठूलो गोठ, ठूलै घरान देखेर
दिनुभयो बाबाज्यूले बाटो छेकेर
आफ्नो छोरीको बिहे ठूलो कुल घरान र गोठ हेरेर छिन्ने चलन त्यति पुरानो भएकै छैन। बुबाले जसलाई दिए, खुरुक्क मानेर, लुरुलुरु पछि लागेर जानु महिलाहरूको नियति थियो। अनि वर्ष दिनमा एक दिनको छुट्टी घरबाट लिएर माइत पुगी बुबाआमासँग छोरीहरूको पीडामिश्रित गुनासो यतिसम्म हुन्थ्यो कि, गाउँदै जाँदा गीतहरू यस्ता पनि गाइन्थे :
छोरी हराई भनेर पीर नगर आमाले
एउटा बाटो देखाइदेलान् भगवानले
महिलाहरूको पीडामिश्रित यस्ताखाले तीज, तीजका गीत र तीज परम्परा आमा पुस्ताबाट कयौँपटक सुनेको छु। अलिअलि अनुभव समेत गरेको छु, हातमा एक दर्जन चुरा फेर्न आमाहरूले कति जोरजमात गर्नुपर्थ्यो। एउटा नयाँ धागोले कपाल बाट्न कति संघर्षपूर्ण पर्खाइ कटाउनुपर्थ्यो। मन लाग्दा दिदीबहिनी भेट्ने र धक फुकाएर गफ गर्न पाउने त उही तीजकै बेलामा त हो। हामी नभोग्नेलाई त सम्झँदा मात्र यति सकस लाग्छ त्यो समय। भोग्नेहरूले कसरी भोगे होला?
तर समय सधैँ कहाँ एकैनास रहिरहन्छ र! महिलाहरूले पढे। जागिर खान सक्ने भए। व्यापार, व्यवसाय सम्हाल्ने भए। आफ्नै बलबुतामा देशभित्रका बजार मात्रै होइन, विदेशका सहर घुम्न सक्ने हैसियत बनाए। महिलाहरू यतिको सक्षम बन्दै जानुमा अवश्य पनि राष्ट्रको नीति र लगानी त छँदैछ परिवारको साथ पनि उत्तिकै महत्वपूर्ण कुरा हो। हिजो पैदल हिँड्न समेत मुस्किल साँघुरा बाटोहरू आज मोटर गुड्ने भएका छन्। हिजोका गाउँहरू फेरिएर बजार बनेका छन्। लाउने, खाने, हिँड्ने, सोच्ने, बोल्ने, पढ्ने हरेक चिजमा बदलाव आएको छ।
पूरै विश्व ग्लोबल भिलेज भएको छ। स्वभावैले गाउँ पनि विश्वस्तरकै हाराहारीमा हिँड्ने कोसिस गरिरहेको छ। हरपरिवारका कोही न कोही विदेश पुगेका छन्, विदेशी विकासको मोडलबारे गाउँको वडामा, टोलमा, घरघरमा चर्चा हुन्छ। सबै कुरा फेरिँदै अघि बढेको समयमा तीज चाहिँ उही पुरानै जस्तो भइरहनुपर्ने त? तीज मनाउने शैली पनि पुरानै भइरहनुपर्ने? पुरानै गीत, पुरानै चलन, पुरानै ढङ्ग, पुरानै लवाइखवाइ? पुरानै तरिकाको बिलौना, पुरानै तरिकाको विरह? सबै चिज पुरानै? नयाँ व्यवस्थामा तीज चाहिँ पुरानै होस् भनेर चाहनु त पुरातनवादी सोच भएन?
उठेका केही सवालमा जवाफ दिनै पर्ने भएको छ। जहाँसम्म तीज महिना दिन अघिबाट किन मनाइएको भन्ने प्रश्न छ, पहिलो कुरो तीज महिना दिन अघिबाट मनाउन थालेको मलाई थाहा छैन। बजारमा तीज गीत चाहिँ आए होलान्, त्यसको छुट्टै व्यावसायिक प्रयोजन हुन सक्छ । तर, महिना दिन अघिबाटै तीज मनाउन थाल्ने गरी अहिलेका महिलालाई फुर्सद पनि छैन। फुर्सद त पहिलाका महिलालाई पनि थिएन, अहिले जिम्मेवारी फेरिएको छ। महिलाहरू आ–आफ्नो जिम्मेवारीमा बाँधिएका छन्।
हो, कृष्णजन्माष्टमी तिथिबाट भने तीज सुरु भएको महसुस गाउँमा छँदै पनि हुन्थ्यो। अष्टमी सुरु भएपछि पालैपालो गरेर साँझपख साथीसङ्गीको घरमा जम्मा भएर गीत गाउने नाच्ने चलन गाउँमै थियो। सहर बजारमा पनि अष्टमी आसपासबाट तीज कार्यक्रम सुरु गर्ने गरेको देखिन्छ। त्यो भनेको महिना दिन होइन जम्मा ११ दिन। फेरि तीज कोही एउटाको पेवा मात्रै पनि होइन। सबैले मनाउन पाइन्छ, सबैले तीजको कार्यक्रम आयोजना गर्न पाउँछन्। एकैदिन तीज कार्यक्रम राखेर कसलाइ बोलाउने? को जाने? बरु एक हप्ता अघिबाट आलोपालो निम्ता गर्दै निम्ता स्वीकार्दै गर्नुमा के छ खराबी?
अर्को कुरा, तीज कसरी भयो भड्किलो? ६ सयको सारी, ४ सयको ब्लाउज र जम्माजम्मी २÷४ सयको शृङ्गार सामग्री पहिरिएर एकदिन नाच्न हिँडेका महिलाका कारण अर्थतन्त्रमा कसरी पर्यो भार? तीज भड्किलो भयो भन्नेहरूले तीज मनाइरहेकाहरूलाई गहिरो तरिकाले हेरेर, देखेर, अध्ययन गरेर नै भन्नुभएको होला। महिलाहरू सामान्य तरिकाले हिँड्ने गरेका छन्। रातो सारी लाउँदैमा, रङ्गीचङ्गी पहिरिँदैमा भड्किलो हुने भए त केही भन्न सकिएन। होइन भने हीरा, मोती, सुन, जवाहरत पहिरिएर, हजारौँ खर्च गरेर कुनै पनि महिला कुनै पनि तीज दरमा हिँडेको मैले चाहिँ देखेको छैन। आत्मनिर्भर र सक्षम महिलाहरूले बढीमा एकदुई हजार खर्च गरेर एक दिन रमाउँदैमा भड्किलो हुन्छ? बरु यसले मन्दी लागेको बजार चलायमान बनाइदिएको छ। व्यवसायीलाई फाइदै भएको छ।
अनि, संस्कार बिग्रियो भन्नेहरूका लागि : संस्कार कसरी हो बचाइराख्ने? व्यस्त जीवनबाट थोरै समय निकालेर तीजको रीतिरिवाज धानिरहनु संस्कार बचाउनु हो कि बिगार्नु? संस्कार बचाउन भनेर उही ५० वर्ष पुरानो परम्परा अपनाउन त सकिँदैन नि। बरु समयसापेक्ष बन्दै तीजको संस्कार झन् फराकिलो हुँदैछ, चाहे लगाउनेमा होस्, चाहे दिदीबहिनी आफन्त जम्मा हुने र रमाउनेमा। नत्र त तीज मनाउने सामूहिक संस्कार झन् मर्दै जाला नि! कतिपयले दरमा बियर खाए भनेको देख्छु। घरेलु मदिरालाई नेपाली समाजको केही समुदायमा सगुनकै रूपमा प्रयोग गरिन्छ। होला, केहीले त्यही सगुनकै रूपमा चाखे कि! त्यसले उनीहरूको स्वास्थ्यमा असर गरेको छैन, तपाईंलाई किन टाउको दुख्यो?
घर व्यवहार छोडेर रातिराति दर खानुपर्ने के छ भन्नेहरूका लागि : पहिलो कुरा महिलाहरू मध्यरातसम्म दर खाएर रेस्टुरेन्टमा बसेका छैनन्। साँझको केही प्रहर कोही रेस्टुरेन्टमा गाउँदै रमाइरहेको छ भने हुन सक्छ, दिउँसो कामले नै फुर्सद नभएर साँझमा जम्मा भएका हुन्। त्यो पनि घर कार्यालय सबैतिर व्यवस्थापन गरेर, बालबच्चाको टुङ्गो लगाएर, आजको काम हिजै सकेर, अनेक गरेर मिलाए, उही आमाहरूले माइत जाँदा हरचिज मिलाएर हिँडे जस्तो।
अर्को विषय छ, गीतको। गीत भनेको समयको मानक हो। गीतले बोल्ने समय हो।
बाबाज्यूको आँगनीमा ठूलो रुख बडहर
धेरै छोरी छन् भनेर हेला नगर
अब यस्ता गीत गाएर रोएरै बस्ने? कि यो भन्दा पनि विरहकै भाका गाउने? त्यो त मिलेन नि! समय अनुसारका विरह गीत पनि नआएका होइनन्, नगाइएका होइनन्। बजारमा आएका छन्। समय अनुसारका गीत गाउने भनेको विकृत शब्द भनेको होइन। भद्दा र अपाच्य शब्द राखेर त गीतहरू गाउनै भएन। कसैले गाएको छ भने त्यसलाई अनुगमन गर्ने र प्रसारणमा रोक लगाउने काम राज्यको संयन्त्रको हो। महिलाहरूको होइन।
यो सबै भनिरहनुको एउटै कुरा के हो भने आत्मनिर्भर अहिलेका महिलाहरूले तीजको एक दिन, एक हप्तै सही, कतै बसेर स्वतन्त्र भएर खान, नाच्न, हाँस्न नपाउने? हरेक कुराको सीमितता हुन्छ, जसलाई पालना गर्नै पर्छ। तर समाजले कोरिदिएको साँघुरो लक्ष्मणरेखाभित्र बसेर मात्रै तीज मनाओ, होइन भने चालचलन र चाडबाडको संस्कृतिमा गम्भीर धक्का पुग्छ भन्नु त महिलाहरूलाई उही पुरानो युगमा फर्क भन्नु जस्तो हो। यो कसैगरी सम्भव छैन। अनावश्यक प्रश्न उठाउनेहरूले मात्रै होइन, राज्यले पनि हेक्का राखोस्।
Shares
प्रतिक्रिया