ad ad

विचार


बोल्सोनारोको पागलपनबाट हामीले मुक्ति पाएको दिन

बोल्सोनारोको पागलपनबाट हामीले मुक्ति पाएको दिन

राष्ट्रपतिमा निर्वाचित लुइस इनासिया लुला दा सिल्भा


भेनेसा बारबरा
कात्तिक १४, २०७९ सोमबार १९:५, साओ पाओलो

चार वर्षको पागलपन करिबकरिब समाप्त भएको छ। दोस्रो चरणको तनावपूर्ण चुनावमा लुइस इनासिया लुला दा सिल्भा राष्ट्रपति जायर बोल्सोनारोमाथि विजयी भएका छन्। लुलाले ५०.९ प्रतिशत मत पाएका छन्। कुनै नाटकीय परिवर्तन वा महिनौँदेखि ब्राजिलमा चर्चा भइरहेकोजस्तो  कू नभए लुला जनवरी १ का राष्ट्रपति बन्नेछन्।

यो काम सजिलो थिएन। गएको महिना बोल्सोनारो युगको सबैभन्दा भयंकर पक्ष अभिव्यक्त भएको थियो। त्यो अवधिमा व्यापक कुप्रचार भयो। कतिसम्म भने लुलाले शैतानसँगसँग सम्झौता गरेको र शैतानसँग बात मारेको हल्ला सामाजिक सञ्जालमा फैलिएपछि उनको टोलीले त्यसलाई अस्वीकार गर्दै स्पष्टीकरण दिनुपरेको थियो। उता, बोल्सोनारोले आदिवासीहरुलाई आफूले खाने दाबी गरेको पुरानो भिडिओ फेरि चर्चित बनेपछि नरभक्षणमाथि पनि पर्याप्त बहस भयो। त्यसमाथि सधैँ राजनीतिक हिंसाको खतरा रहिरह्यो।

हाम्रो सामूहिक मानसिक स्वास्थ्यका खातिर हामी भन्न सक्छौँ, अन्ततः बोल्सोनारो पराजित भएका छन्। लुलाको जितको अर्थ सिंगो देश उनको पक्षमा उभिएको छ वा वर्कर्स पार्टीको मध्य–वामपन्थी राजनीतिको पक्षमा छ भन्ने होइन। जसको १३ वर्षे शासन २०१६ मा अन्त्य भएको थियो। तर, बोल्सोनारोको सत्तामा गएको चार वर्षमा हामीले एउटा राष्ट्र कति तलसम्म गिर्न सक्छ भन्ने देख्यौँ। र, हामी त्यो राजनीतिक निराशाको दलदलबाट माथि उत्रिन छटपटाइरहेका थियौँ। 

बोल्सोनारोको प्रशासनका थुप्रै कुरा म बिर्सिन चाहन्छु– ज्यानमारा उपेक्षा, व्यापक भ्रष्टाचार र अतिवाद। सबैभन्दा ठूलो राहतमध्ये एउटा हो– आइन्दा ती उन्मादी बहसहरुमा सहभागी बन्नुपर्ने छैन। अन्ततः ब्राजिल सद्दे अवस्थामा फर्किन सक्छ। 

गएका केही वर्षमा सार्वजनिक बहसका विषय कहाँबाट कहाँ पुगे भन्ने कुरा विश्वास गर्न मुस्किल छ। नौ वर्षअघि ब्राजिली जनता सार्वजनिक यातायात निशुल्क हुनुपर्ने माग राख्दै सडकमा निस्केका थिए। त्यो सभ्य–नागरिक सोचबाट आज हामी कति दुर छौँ, भनिसाध्य छैन। आज हामी हाम्रो अधिकांश समय विषाणुविज्ञान (भाइरोलोजी) को अस्तित्व छ र जलवायु परिवर्तन हावादारी कुरा होइन भनेर पुष्टि गर्नमा खर्च गर्छौँ।

हामी सडकमा निस्केर प्रदर्शन गर्न डराउँछौँ। ताकि सरकारलाई कूको प्रयास गर्ने अर्को मौका प्राप्त नहोस्। हाम्रो छेउबाट कारमा पार हुने जुनसुकै व्यक्तिसँग बन्दुक होला भन्ने हामी सोच्छौँ। रातो लुगा लगाउनु भनेको राजनीतिक अभिव्यक्ति हो भन्ने हामीलाई पर्छ। हालै परम्परागत रातो लुगा लगाएका एक क्याथोलिक पुजारीलाई समातेर सोधपुछ गरियो। छिमेकीहरुसँग समाचारबारे छलफल गर्ने हिम्मत हामी जुटाउन सक्दैनौँ। उनीहरुले के भन्लान् भन्ने डरले हामीलाई सताउँछ। यसअघि एलिभेटरहरु यति शान्त कहिल्यै हुँदैनथे।

सत्य के हो भने ब्राजिलको समाजमा जहिल्यै अनुदारवादी शक्तिको वर्चस्व रहँदै आएको छ। गएको दुई दशकमा भएका कुनै पनि प्रगति सजिलै प्राप्त भएका होइनन्। उदाहरणका लागि बोल्सा फ्यामिलिया नामक समाज कल्याण कार्यक्रम, सार्वजनिक क्षेत्र र विश्वविद्यालयमा भएका सकारात्मक पहल वा समलिंगी विवाहलाई लिन सकिन्छ। ती सबैको चर्को विरोध भएको थियो। तर, ती लडाइँ मध्यपन्थबाट देब्रु ढल्कुवा र दाहिने ढल्कुवाबीच भएको लडाइँ थियो। त्यतिबेला यी दुवै शक्ति लोकतान्त्रिक बहसमा सहभागी हुनसक्नेगरी तर्कसंगत थिए। तर, जब राष्ट्रिय राजनीतिको परिदृश्यमा बोल्सोनारो आइपुगे, तब त्यो अवस्था बदलियो। दबेर बसेको चरम दक्षिणपन्थी अतिवाद पहिले अलिअलि गर्दै र पछि एक्कासि विस्फोट भयो।

निराश बोल्सोनारो समर्थक

त्यसपछि दिनदिनै सार्वजनिक बहसको स्वच्छतालाई षड्यन्त्रका दाबीहरुले निल्न थाले। जसलाई सामाजिक सञ्जालले बढावा दियो। त्यस्ता दाबीलाई बोल्सोनारोले उत्प्रेरित गरे। खोपमा नानोबट हुन्छ भन्ने हल्ला वा अमेजनको जंगलमा डढेलो लाग्दैन भन्ने हल्लालाई चिर्नमा हामी आफ्नो समय खर्चिन बाध्य भयौँ। यो सारा उर्जा राम्रो स्वास्थ्य सेवा वा जलवायु परिवर्तन रोक्ने बलियो पहलको माग गर्नमा खर्चिन सकिन्थ्यो। 

तर, बोल्सोनारोले हामीलाई सुख दिएनन्, चुनावसम्मै। निस्सन्देह उनको उदेश्य निरंकुशता लाद्नु थियो। त्यसका लागि सत्तामा टिक्ने जुनसुकै मौका छोप्न उनी तयार थिए। उनको पराजय अत्यन्तै आवश्यक भइसकेको थियो। त्यसैकारण लुलाको उम्मेदवारीलाई यति व्यापक समर्थन थियो। जसमा उनका विगतका प्रतिपस्पर्धी पनि सामेल थिए। बोल्सोनारोको पक्ष कि विपक्ष? यो चुनावी प्रतिस्पर्धा यतिमै सीमित भएको थियो।

तर, अब सजिलो छैन। किनभने एक त, सामाजिक सञ्जालहरुले मानिसहरुलाई यसरी अतिवादमा पुर्याएका छन् र ध्रुवीकरण गहिर्याएका छन्, त्यसको कुनै ठोस समाधान छैन। दोस्रो, बोल्सोनारोले अनुमोदन गरेका र अघि बढाएका राजनीतिकर्मीहरु राजनीतिक परिदृश्यमा स्थापित भइसकेका छन्। देशभरका २७ गभर्नरमध्ये बोल्सोनारोलाई समर्थन गर्नेहरु दर्जनभन्दा बढी निर्वाचित भएका थिए। र, २७ मध्ये ८ सिट जितेर सिनेटमा बोल्सोनारोको पार्टी सबैभन्दा ठूलो बनेको छ। जो आगामी ८ वर्षसम्म शक्तिमा रहनेछन्। 

संसदको तल्लो सदनमा पनि चरम दक्षिणपन्थीहरुले आफ्नो प्रभाव बढाएका छन्। ५१३ सिटमध्ये बोल्सोनारोको पार्टीले ९९ सिट जितेको छ। बोल्सोनारो पदबाट हट्लान् तर बोल्सोनारोवाद समाप्त हुने छैन।

त्यसले आउँदो प्रशासनलाई गम्भीर चुनौती खडा गर्नेछ। थप शक्तिशाली बनेका चरम दक्षिणपन्थीहरु लुलाको बाटोका काँडा मात्र बन्ने छैनन्, तिनले उनलाई मध्यपन्थी पार्टीहरुमा निर्भर हुन पनि बाध्य तुल्याउनेछन्। जसले उनीहरुबीच सहयोग आदानप्रदान (प्रायः भ्रष्ट) गर्ने बाटो पनि खोलिदिनेछ। र, ब्राजिलको लोकतन्त्रलाई सुरुवातदेखि भ्रष्टाचारले गाँजेको छ।

यति हुँदाहुँदै पनि नयाँ राजनीतिक दिशा पक्रिने यो अवसरलाई कम आँक्नु कसैगरी हुँदैन। राष्ट्रपति पदमा आसीन हुन पुगेको दक्षिणपन्थलाई किनारामा ठेल्न सकिन्छ। कम्तीमा पनि हामीले आफ्नो मोटरसाइकल र्यालीमा सहभागीहरुको संख्याभन्दा बढ्दो असमानता र भोकप्रति ज्यादा चासो राख्ने सरकार पाउनेछौँ। यति मात्रैले पनि ठूलो राहत पुग्नेछ।

अझ महत्वपूर्ण कुरा, ब्राजिलीहरु मुलुकको हाउजिङ समस्या, सार्वजनिक शिक्षा, प्रहरी र नश्लवादजस्ता अत्यावश्यक विषयको बहसमा फर्किन सक्छन्। सायद हामी आफूलाई चासो भएका विषय (कछुवा, खगोलशास्त्र!) मा कुराकानी गर्न सक्षम हुनेछौँ। आखिर, हामी पनि यो पागलपनबाट मुक्त भएर केही आनन्द बटुल्नलायक छौँ।

(द न्युयोर्क टाइम्सबाट) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .