ad ad

विचार


आउँदैछ डलरपछिको संसार

अहिले बलियो अवस्थामा भए पनि सकिँदैछ डलरको एकलौटी
आउँदैछ डलरपछिको संसार

रुचिर शर्मा
भदौ १७, २०७९ शुक्रबार १०:५४, काठमाडौँ

यो महिना डलरको भाउ आकासियो। डलरको त्यस्तो वृद्धि २० वर्षअघि मात्र देखिएको थियो। त्यो देखेर विश्लेषकहरुले पुरानै तर्क दोहोर्याए– डलरको कुनै विकल्प छैन। यो सर्वशक्तिमान नोटको भाउ झन् बढ्ने उनीहरुको अनुमान थियो।

तर, दुई दशकअघि जे भयो, त्यसले डलर अझ बढ्दै जाने भन्दा पनि आफ्नो उत्कर्षको नजिक पुगेको संकेत गर्छ। ‘डटकम बस्ट’ भनेर चिनिने सन् २००० तिर इन्टरनेट कम्पनीहरु टाट पल्टेका बेला अमेरिकी सेयर बजार ओरालो लाग्यो। तैपनि डलर भने बढिरह्यो। २००२ बाट भने डलर ओरालो लाग्न थाल्यो। जुन क्रम ६ वर्षसम्म कायम रह्यो। त्यस्तै मोड सायद नजिक आउँदैछ। र, यसपटक अमेरिकी मुद्राको अधोगति अझ लामो समय कायम रहन सक्छ।

मुद्रास्फिति दर समायोजन गर्दा या नगर्दा पनि विश्वका अरु प्रमुख मुद्राहरुको तुलनामा डलरको भाउ आफ्नो दीर्घकालीन ढाँचाभन्दा २० प्रतिशतले माथि छ। यो २००१ मा उत्कर्षमा पुग्दाको बेलामा भन्दा पनि माथि छ। डलरको उतारचढावको चक्रलाई हेर्ने हो भने १९७० को दशकदेखि डलरको उकालो यात्रा करिब सात वर्षसम्म टिक्ने गरेको देखिन्छ। तर, डलरको वर्तमान उकालो यात्रा ११ वर्षदेखि कायम छ। त्यसभन्दा पनि महत्वपूर्ण कुरा, आधारभूत असन्तुलनहरुले डलरको भविष्य राम्रो नहुने संकेत गर्छन्।

जब कुनै मुलुकको चालु खाता घाटा (वस्तु तथा सेवाको निर्यातभन्दा आयात बढी हुने अवस्था) निरन्तर रुपमा जीडीपीको ५ प्रतिशतभन्दा बढी कायम रहिरहन्छ, त्यो वित्तीय संकट आउँदै छ है भन्ने विश्वसनीय संकेत हो। खासगरी विकसित देशमा यो ज्यादा सत्य साबित हुन्छ, जहाँ यस्ता दृश्य विरलै देखिन्छन्। त्यस्तै, स्पेन, पोर्चुगल र आयरल्यान्ड जस्ता संकटोन्मुख मुलुकहरुमा पनि यसको ज्यादा सम्भावना हुन्छ। अहिले अमेरिकाको चालु खाता घाटा पनि त्यो ५ प्रतिशत ‘थ्रेसहोल्ड’को नजिकै छ। अमेरिकाले त्यो थ्रेसहोल्ड १९६० यता एक पटक मात्र पार गरेको छ। त्यो पनि २००१ पछिको डलरको गिरावटको क्रममा।

मुलुकहरुले आफ्नो मुद्रा कमजोर भएको त्यतिबेला देख्छन्, जब ती मुलुकले आफ्नो ऋण तिर्न सक्छन् भन्ने विश्वास बाँकी विश्वले गर्दैन। हाल अमेरिकाले विश्वलाई खुद १८ ट्रिलियन डलर तिर्नुछ। जुन अमेरिकाको जीडीपीको ७३ प्रतिशत हो। विगतका मुद्रा संकटहरुका बेला यसको थ्रेसहोल्ड ५० प्रतिशत मान्ने गरिन्थ्यो। अहिले अमेरिका त्यसलाई पार गरेर धेरै पर पुगिसकेको छ।

जब अमेरिकी अर्थतन्त्र बाँकी विश्वको तुलनामा धीमा बन्छ, तब लगानीकर्ताहरु डलर छाड्न थाल्छन्। पछिल्ला वर्षहरुमा अमेरिकाको अर्थतन्त्र अन्य विकसित अर्थतन्त्रहरुको औसत गतिभन्दा तीव्र दरले वृद्धि भइरहेको थियो। तर, आउँदा वर्षहरुमा अमेरिका ती मुलुकहरुभन्दा धीमा गतिमा वृद्धि हुने देखिन्छ।

यदि डलर गिरावटको चरणमा प्रवेश गर्न लागेको हो भने एउटा महत्वपूर्ण प्रश्न उब्जिन्छ– विश्वको सबैभन्दा विश्वासिलो मुद्रा बनेको डलरको हैसियत भत्काउनेगरी त्यो गिरावट कायम रहला?

१५ औँ शताब्दीयता विश्वका पाँच वटा साम्राज्यहरुले विश्वको सञ्चित मुद्रा, अर्थात् सबैभन्दा बढी मुलुकले प्रयोग गर्ने मुद्रा, जारी गरेका छन्। ती मुद्राको त्यो हैसियत औसतमा ९४ वर्ष टिक्ने गरेको देखिन्छ। डलरले भने सञ्चित मुद्राको हैसियत एक सय वर्षभन्दा लामो समय कायम गरिसकेको छ। त्यसैले डलरको शासन ती अन्य मुद्राभन्दा लामो समय चलिसकेको छ।

आफ्ना प्रतिस्पर्धी मुद्राहरुको कमजोरीका कारण डलर बलियो भएको हो। युरो पटकपटकको वित्तीय संकटका कारण कमजोर भयो। अर्कोतिर रेन्मिन्बीलाई निरंकुश शासनले व्यवस्थापन गर्नेगर्छ। यी कुनै पनि विकल्पले डलरको ठाउँ लिन सकेको छैन।

अमेरिका, युरोप, जापान र बेलायतका मुद्रा ठूला चार मुद्रा हुन्। यीबाहेक ‘अन्य मुद्रा’ नामक एउटा वर्ग पनि छ, जसमा क्यानडा र अस्ट्रेलियाका डलर, स्विस फ्र्यांक र रेन्मिन्बी पर्छन्। यी अन्य मुद्राले विश्वको सञ्चित मुद्राको १० प्रतिशत हिस्सा ओगट्छन्। जुन २००१ को भन्दा २ प्रतिशत ज्यादा हो।

तिनको वृद्धि खासगरी महामारीले तीव्र बनाएको हो। र, तिनले मुख्यगरी डलरको ठाउँ लिएका हुन्। विदेशी विनिमय मुद्रा भण्डारमा डलरको हिस्सा अहिले ५९ प्रतिशत छ। यो १९९५ यताको सबैभन्दा कम हो। यतिबेला डिजिटल मुद्रा अत्यन्त कमजोर भएको देखिन्छ। तर, दीर्घकालमा ती पनि विकल्प बन्न सक्छन्।

यतिबेलै, रुसमाथि अमेरिकी नाकाबन्दीको प्रभावले डलर–सञ्चालित विश्वमा अमेरिकाको प्रभाव कति छ भन्ने कुरा राम्रोसँग देखाइरहेको छ। जसले थुप्रै मुलुकलाई डलरको विकल्प खोज्न प्रेरित गरिरहेको छ। अब डलरको विकल्पका रुपमा कुनै एक्लो सञ्चित मुद्राको खोजी गर्नुभन्दा सञ्चित मुद्राहरुको गुट बन्ने सम्भावना पनि छ। 

दक्षिणपूर्वी एसियाका सबैभन्दा ठूला अर्थतन्त्रहरुले डलर छलेर एकअर्कालाई आफ्नै मुद्रा भुक्तानी गर्ने क्रम बढेको छ। ती मुलुकहरुमा मलेसिया र सिंगापुर पनि छन्। जसले चीनसँग सोही खालको व्यवस्था गरेका छन्। चीनले पनि वित्तीय संकटमा रहेका मुलुकहरुलाई रेन्मिन्बीमै सहयोग उपलब्ध गराइरहेको छ। एसियादेखि मध्यपूर्वसम्मका मुलुकका केन्द्रीय बैंकहरुले द्विपक्षीय मुद्रा सटही गर्ने निकाय गठन गरिरहेका छन्। उनीहरुको उदेश्य डलरमाथिको निर्भरता घटाउनु पनि हो।

डटकम युगमा जस्तै आज पनि सुरक्षित रहेका कारण डलरले फाइदा उठाइरहेको देखिन्छ। जबकि विश्वका धेरैजसो बजारमा बिक्रीको क्रम बढेको छ। तर, लगानीकर्ताहरु अमेरिकी सम्पत्ति किन्ने धावामा छैनन्। उनीहरु जतासुकै जोखिम कम गरिरहेका छन्। जसका कारण जम्मा भएको नगद डलरमा थुपारेर बसेका छन्।

यो अमेरिकी अर्थतन्त्रप्रति विश्वासको मत होइन। यहाँनेर सम्झिनुपर्ने कुरा के छ भने ‘बुलिस’ विश्लेषकहरुले प्रविधिसम्बन्धी सेयरहरुको मूल्यांकन गर्दा सोही तर्क गरेका थिए– यसको विकल्पै छैन। जसको नतिजा खराब भयो। कुनै विकल्प छैन भनेर लगानी गर्नु कहिल्यै पनि गतिलो रणनीति होइन। खासगरी जब आधारभूत संकेतहरु खराब भइरहेका बेला त त्यो राम्रो रणनीति हुँदै होइन।

तसर्थ, बलियो डलरका कारण मूर्ख नबन्नुस्। डलरपछिको विश्व आउँदैछ।

(फाइनान्सियल टाइम्सबाट। रुचिर शर्मा रकफेलर इन्टरनेसनलका प्रमुख हुन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .