विचार


घुँडा टेकेर नागरिक भेट्ने सम्राट, ‘देउता’ बनेका नेता

घुँडा टेकेर नागरिक भेट्ने सम्राट, ‘देउता’ बनेका नेता

थिरलाल भुसाल
कात्तिक २४, २०७६ आइतबार ७:३८,

संसारका कैयौं राजसंस्था, राजारानी, सम्राट–सम्राज्ञी र राजपरिवारका सदस्य सर्वसाधारणबीच लोकप्रिय बन्न उनीहरुले सदियौँदेखि उपभोग गर्दैै आएका विशेषाधिकार स्वयं कटौती गर्दैछन्। सामान्य जीवनयापनमा अभ्यस्त हुन खोज्दैछन्। राजसंस्था र आफैँलाई आधुनिक समाज र बदलिँदो समय सुहाउँदो र सान्दर्भिक बनाउने प्रयास गरिरहेका छन्।

यता लामो संघर्षपछि राजसंस्थाको बिदाइ गरेर गणतन्त्र स्थापना गरेको नेपालमा भने सर्वहारा तथा प्रजातान्त्रिक भनिएका नेताहरु जानीनजानी दरबारिया शैली र राजकीय ठाँट नक्कल गर्दैछन्। त्यसले लोकतन्त्रलाई जनतामाझ अलोकप्रिय बनाउँदैछ र गणतन्त्रप्रति वितृष्णा बढाइरहेछ।
***
हालै सम्पन्न जापानी सम्राट नारुहितोको गद्दीआरोहण विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भन्डारी पनि सहभागी भइन्।

३० वर्षदेखि गद्दीमा रहेका जापानी सम्राट अकिहितोले सन् २०१६ मा आफैँ गद्दीत्याग गर्न चाहेको घोषणा गरे। त्यसपछि उनका ५९ वर्षीय छोरा नारुहितो १२६औँ सम्राट बन्ने बाटो खुल्यो। अकिहितोको गद्दी त्याग गर्ने इच्छा पूरा गर्न सरकारले सन् २०१७ मै कानुन संशोधन गरेको थियो।

गद्दीत्याग गरेका अकिहितोको सामान्य जीवनशैलीप्रति रुची, सर्वसाधारणप्रति उनको स्नेहजस्ता मानवीय पक्षलाई संसारभर प्रशंसा गरिन्छ। ईश्वरको अवतार मानिने जापानी राजसंस्थालाई आमूल परिवर्तन गर्दै जनताको निकट ल्याउने श्रेय उनलाई दिइन्छ। उनले राजसंस्थालाई विपत्मा रहेका समुदायबीच लोकप्रिय बनाउन हरसम्भव प्रयत्न गरे।

उनी त्यस्ता जापानी सम्राट हुन्, जसले पहिलो पटक सामान्य परिवारकी केटीसँग बिहे गरेर राजसंस्थालाई आमसमुदायसँग नजिक्याए। पत्नी मिचिकोसँग अकिहितोको पहिलो भेट टेनिस कोर्टमा भएको थियो।

त्यस्तै, अकिहितोले आफ्ना सन्तानलाई आफैँ हुर्काए र पढाए। त्यसअघि राजपरिवारका सन्तानलाई तलबी कामदार र ट्युटरले हुर्काउने–पढाउने गर्थे। परम्परा तोड्दै अकिहितोले आफ्ना तीन सन्तानलाई स्कुल जानेबेला आफ्नो टिफिनबक्स आफैँ प्याक गर्न, जुत्ताका तुना आफैं कस्न सिकाएको विषय अन्तर्राष्ट्रिय मिडियामा निकै चर्चा भयो।

राजसंस्थामा यी नितान्त नयाँ चलन थिए– अकिहितोले सुरु गरेका। यसरी उनले जापानी राजसंस्थालाई सदियौँदेखि विश्वास गरेजस्तै दैविक अवतारको रुपमा नभई मानवीयता र नयाँ सामाजिक यथार्थ, परिवेश र आधुनिकतासँग जोडेर त्यसको स्वीकार्यतालाई व्यापक बनाउँदै लगे। अकिहितोले गरेका यी सुधार परम्परावादीहरुलाई पटक्कै चित्तबुझेको थिएन। तीमध्ये कतिपय कानुन, संविधान र परम्पराविपरीत थिए। तर, सचेत अकिहितोले आफूले गर्न चाहेको परिवर्तन गरिछाडे। पुर्खाले गर्दै आएको भनेर उनले ती परम्परालाई बदले, समाज र राजपरिवारकै अरु सदस्यले के भन्छन् भनेर वास्ता गरेनन्। यो कुनै आन्दोलनको माग थिएन, न त परम्परा र कानुनअनुसार नै त्यसो गर्न मिल्थ्योे।

सन् १९८९ मा जापान अत्यन्त जटिल अवस्थामा रहेका बेला गद्दी आरोहण गरेका थिए अकिहितोले। उनी सम्राट बनेको दुईवर्षमै नागासाकीमा ज्वालामुखी विस्फोटबाट ४३ जनाको मृत्यु भयो, कैयौं प्रभावित भए। ‘अकिहितो दम्पत्तीले उनीहरुको राजकीय प्रचलनको अन्त्य गरे र नागासाकीमा ज्वालामुखी पीडितसामु घुँडा टेकेर उनीहरुसँग कुरा गरे’ बीबीसीले लेखेको छ। सान्त्वना दिने सम्राटको यो शैली प्राकृतिक विपत्तिमा परेका जापानी जनताका लागि कल्पनै नगरेको व्यवहार थियो। सन् २०११ मा आएको भूकम्प र सुनामीका बेला अकिहितो र मिचिको सामान्य पहिरनमै विपत्क्षेत्रमा पुगी टहरा, स्कुल भवनहरुमा शरण लिइरहेका नागरिकसमक्ष सान्त्वना बाँडे। उनीहरुसामु त्यसैगरी घुँडा टेकेर दिइएको ढाडसले अत्यन्त शान्त शैलीका जापानीलाई थप हौसला दियो। सम्राट–सम्राज्ञीले घुँडा टेकेर पीडितका कुरा सुनेका तस्वीर र दृश्य संसारभर फैलिए।

जापानी जनताबीच सहानुभूतिकर्ता (कन्सोलर) को रुपमा लिइने अकिहितोजत्तिकै जनप्रिय उनका पुत्र नारुहितो होलान् कि नहोलान्, अहिले नै भन्न सकिन्न। तर, हालै आएको तुफानबाट दर्जनौंको मृत्युपछि उनले गद्दीआरोहण समारोहको परेड केही साता सार्न लगाए। सो परेड आइतबार (नोभेम्बर १०) मा सम्पन्न भएको छ।

कैयौँ मुलुकमा राजसंस्था अन्त्य हुँदा जापान, बेलायतजस्ता केही मुलुकका राजसंस्था भने आफैंबाट सुधारका कदम चालेर ती संस्थालाई समय सान्दर्भिक र जनस्वीकार्य बनाउन निकै संघर्ष गरिरहेका छन्। 

त्यसो त नेपालकै इतिहासले पनि भन्छ, राजाहरु उदार र सरलरुपमा प्रस्तुत हुँदा जनताबीच लोकप्रिय भएका छन् भने अनुदार, निरंकुश र दमन गर्न खोज्दा जनताले पनि सोहीअनुसारको जवाफ दिएका छन्।

त्रिभुवन जनताको साथ लिएर शासनमा पुनस्र्थापित भए। जनता र राजनीतिक दलप्रति शक्तिको दम्भमा कठोर बनेका कारण महेन्द्रले राष्ट्रका लागि केही महत्वपूर्ण काम गर्दा पनि राजसंस्थालाई लोकप्रिय बनाउन सकेनन्। पछि वीरेन्द्र केही लचिलो बनेर राजसंस्थालाई केही हदसम्म जनस्वीकार्य बनाउने प्रयास गरे। ठीक विपरीत, ज्ञानेन्द्रले भने अधिकारको अत्यधिक प्रयोग गरेर आफू र राजसंस्थालाई आफ्नै पिताकै शैलीमा दैवीशक्तिको अवतारको रुपमा पुनस्र्थापित गर्न खोज्दा सदाका लागि राजसंस्था कै अन्त्य हुनगयो। आन्दोलनको दबाबमा गद्दीत्याग गर्नुप¥यो। यसले देखाउँछ– आधुनिक कालमा शक्ति, वैभव, शानसौकत र दमनबाट कुनै संस्था टिक्न सक्तैन। वंशपरम्पराबाट लोकतान्त्रिक व्यवस्थामा गएका हाम्रा संस्था र पदहरुलाई पनि लोकतान्त्रिक परिपाटी, पारदर्शिता, सरल जीवनशैली, मानवीयताले मात्र जनताबीच स्वीकार्य र लोकप्रिय बनाउनसक्छ।

नेपालबाट राजसंस्था त औपचारिक रुपमै विदा भइसकेको छ। तर, राजसंस्थालाई प्रतिस्थापन गरेका राष्ट्रप्रमुख तथा सरकारप्रमुखजस्ता संस्था सुरुदेखि नै पटकपटक विवादित बन्ने गरेका छन्। औपचारिक कार्यक्रममा जान तथा राजकीय भ्रमणका बेला उनीहरुले अवलम्बन गरेको शैली र त्यसबाट जनतालाई दिइने सास्तीका कारण ती संस्थाप्रति आमजनतामा वितृष्णा नै फैलिएको छ। जनताका प्रतिनिधिको रुपमा निर्वाचित राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री महाराज÷महारानीहरुको भन्दा भड्किलो शैलीमा प्रस्तुत हुनथालेपछि जनताले वाक्क मानेका हुन्।
***
सामान्यतः भन्ने गरिन्छ, नेताहरु सत्तामा पुगेपछि विलासी बने। के साँच्चिकै उनीहरु रातारात विलासी बनेका हुन् त? झट्ट हेर्दा नेताहरु पदमा पुगेपछि सम्पत्ति आर्जनमा केन्द्रित भएको र विलासी बनेको देखिन्छ। तर यथार्थ आमबुझाइभन्दा फरक छ। उनीहरुमा यो चरित्र सत्तामा पुग्नु पहिलेदेखि नै विकास भइरहेको पाइन्छ।

अधिकांश नेतामा आफूलाई विशिष्ट ठान्ने प्रवृत्ति तल्लो र स्थानीयतहदेखि नै हुर्किरहेको हुन्छ। कार्यकर्ता, नेताबाट फाइदा लिन चाहने निकटस्थहरु त्यो प्रवृत्तिलाई मलजल गरिरहेका हुन्छन्। उनीहरु मन्त्री, सांसदजस्तो सार्वजनिक ओहोदामा पुगेपछि मात्र त्यस्तो प्रविृत्ति खुलासा हुन्छ र धेरैको ध्यान तानिन्छ। अनि मात्र सुरु हुन्छ चर्चा र निन्दा।

कांग्रेस, एमाले, माओवादी, मधेसवादी वा अन्य सबै दलका सानाठूला नेताले वास्तवमा आआफ्नै हैसियत र गच्छेअनुसारको हैकम लागू गरेकै हुन्छन्। नेताहरुको देवत्वकरण भएपछि विकृति मौलायो। 

नेताहरुको देवत्वकरण गर्ने प्रतिस्पर्धा माओवादी द्वन्द्वको पछिल्लो कालखण्ड र शान्तिप्रक्रियाका सुरुका वर्षहरुमा गरिएको माओवादी अध्यक्ष पुष्पकमल दाहालको देवत्वकरण धेरैको स्मरणमा ताजै छ। हजारौं माओवादी लडाकु र अन्य कार्यकर्ताका लागि उनी भगवानसरह थिए।

पार्टी कमिटी र अधिवेशनबाट उनकै नाममा ‘प्रचण्डपथ’ नामक सिद्धान्त पारित गरियो। उनका तस्बिर छापिएका पोस्टरले सहर–गाउँ ढाकिए। गतवर्ष, ठीक त्यसैगरी प्रधानमन्त्री केपी ओलीको तस्बिरले सहर ढाकेको थियो।

माओवादी कार्यकर्ता र लडाकुले दाहाललाई भगवान नै ठान्ने गरेको र सोहीअनुसार व्यवहार गरेका कैयौँ दृष्टान्त पाइन्छन्।

प्रचन्डलाई पहिलोपटक नजिकबाट देख्न पाउँदा जीवनकै सबैभन्दा ठूलो सपना पूरा भएको क्षण सम्झँदै पूर्वमाओवादी लडाकु तथा सांस्कृतिक टोलीका अगुवा मालबहादुर बुढामगर (महेश आरोही) ले आफ्नो ‘जनयुद्धको नाउँमा’ नामक संस्मरण संग्रहमा अनुभूति लेखेका छन्।

‘टाउकोदेखि खुट्टासम्म एकटक हेरिरहेँ। हेर्दै रहरलाग्दा। कस्तो लाग्यो मलाई, भनूँ? अहिलेसम्म मैले नभेटेको भगवान भेटेजस्तो। महामन्त्रीलाई नभेटेरै कतै मरिन्छ कि भन्ने ठूलो चिन्ता थियो। लडाइँ न हो। के भरोसा? कल्पना गरेको थिएँ। बल्ल आज मनको धोको पूरा भयो। यो मन खुसीले चङ्गा झैँ माथिमाथि उड्यो।’

२०६८ सालमा प्रकाशित सो पुस्तकमा महेश लेख्छन्, ‘स्वर कस्तो होला? भाषण कस्तो गर्लान्? कल्पनाको आकाशमा उडिरहेँ। ... जब स्टेजमा गएर भाषण गर्न थाले तब हाम्रो मन यसरी तानियो कि भनेर साध्य नै छैन। सासै फेर्न नि बिर्सेजस्तो। पूरै शून्यता। आँखा कान सबै अध्यक्षकै अनुहारमा। प्रत्येक शब्दलाई टपटप टिपेर हृदयभित्र सजाएँ। उनीजस्तो नेता नेपाल र नेपालीले पाउनु गौरवको कुरा हो। गौरव प्रकट गरेँ।

माओवादी मूलधारको राजनीतिमा आयो। चुनाव जित्यो र २०६५ सालमा दाहाल प्रधानमन्त्री बने। केही वर्षभित्रै परिस्थितिमा आमूल परिवर्तन आयो। तर, उनले सोचेभन्दा ठीक उल्टो।

‘विडम्बना! २०५७÷५८ तिरका मेरा महामन्त्री, अध्यक्ष र २०६७/२०६८ को मेरो अध्यक्षलाई निकै फरक पाएँ’, उनी लेख्छन्। ‘उनीप्रति फूल्दै गएका सद्भाव ओइलाउँदै गएको प्रतीत हुन्छ।’

कुनै बेला भगवानजत्तिकै आदर्श व्यक्ति मानिएका दाहालको चरित्र, सत्तामा पुगेपछि पञ्चायतकालदेखिका नेताहरुसँग मेल खाँदा महेश आरोहीजस्तै कैयौँ लडाकु र अन्य कार्यकर्ताहरुको दिमाग तिरमिराउँछ। पञ्चायत र बहुदलकालका पटके प्रधानमन्त्री सूर्यबहादुर थापा जीवनको अन्त्यसम्म सक्रिय राजनीतिमा त रहे नै, त्यसअघि उनले आफ्ना छोरा सुनील थापालाई सांसद, मन्त्री र पार्टीको नेतृत्वमा स्थापित गराइछाडे। पञ्चायतदेखि गणतन्त्रसम्म थापाकै चीरप्रतिद्वन्द्वी लोकेन्द्रबहादुर चन्दले पनि छोरा जयन्तलाई सांसद, मन्त्री र पार्टी नेतृत्वमा स्थापित गराइसकेका छन्। माधव नेपाललाई प्रधानमन्त्री बनाएपछि, गिरिजाप्रसाद कोइरालाले एक्ली सन्तान सुजातालाई परराष्ट्रसहित उपप्रधानमन्त्री बनाएर उनलाई स्थापित गर्न अन्तिम जोड लगाए। कांग्रेस सभापति देउवाको पछिल्लो चाहना हो– समानुपातिक सांसद् भइसकेकी पत्नी आरजु राणालाई कैलाली वा डडेलधुराबाट प्रत्यक्ष निर्वाचित गराउनु। त्यसैगरी पूर्वएमाले, माओवादीका विभिन्न तहका नेताका श्रीमती र आफन्तहरुको संसद्मा बाक्लो उपस्थितिले पनि त्यही प्रवृत्तिको उजागर गर्छ।

आफ्नो राजनीतिको उत्तराद्र्धमा पारिवारिक उत्तराधिकारीहरुलाई जसरी पनि सांसद, मन्त्री, मेयरलगायतका पदमार्फत् राजनीतिमा स्थापित गर्न मरिहत्ते गर्ने थापा, चन्द, कोइराला र दाहाललगायत गणतन्त्रवादी नेता, सबैको शैली ठ्याक्कै मिल्छ।

यो स्थिति एउटा खास नेता वा एउटा कुनै खास दलका नेताहरुमा सीमित छैन। सबै दलमा समान चरित्र देखिने दुर्भाग्यपूर्ण परिस्थिति छ। त्यस्ता विषयमा नेताहरुबीच समानतामात्र नभई सहकार्य र आपसी सहयोग पनि गजबको देखिन्छ।

एकातर्फ दलका शीर्षनेतालाई ठेकेदारहरुबाट खर्च चलाउनु छ भने तीनका लाखौँ कार्यकर्तालाई ती शीर्षनेताप्रति देवता सरह व्यवहार गर्नु छ। कतिले यथार्थ बुझेर पनि सम्मान गरेको अभिनय गरेका छन् भने हजारौं कार्यकर्ताका लागि ती शीर्षनेता साँच्चिकै आदर्श हुन्, अझैपनि।

स्रोतको केन्द्रीकरण
नेपालका धेरैजसो दलका संगठन मुलुकका अन्य निकायभन्दा निकै शक्तिशाली देखिन्छन् र तिनका केही विशेषता फरक भएपनि मूलभूत चरित्र धेरै मिल्छन्।

अनुशासन कायम गर्न र संगठन सञ्चालनमा निकै प्रभावकारी मानिने जनवादी केन्द्रीयताको नीति नेपालका कम्युनिस्ट पार्टीहरुले अवलम्बन गर्छन्। यो नीति निकै कडाइका साथ अरुले भन्दा अझ सशक्तरुपमा लागू गरेर एउटा विशाल संगठन परिचालन गरेको दल हो पूर्व–एमाले। अनुशासन कायम गर्न र संगठन परिचालनमा सो नीति निकै प्रभावकारी मानिन्छ। त्यसबाहेक, पार्टी संगठनको शक्ति, आर्थिक आर्जन र राजनीतिक अधिकारको केन्द्रीकरण गर्न र त्यसको केन्द्रीकृत प्रयोग गर्ने वैधानिक उपाय पनि बन्दै आएको छ यो नीति। व्यक्ति कमिटीमातहत र तल्लो कमिटी माथिल्लो कमिटीमातहत रहने र सोको आदेशबमोजिम चल्नुपर्ने यस नीतिको मन्त्र कार्यकर्तालाई घोकाइन्छ। त्यो मन्त्र नमान्ने कारबाहीको भागिदार बन्छ। यसै नीतिअनुसार पार्टी नेतृत्वले देशभर र प्रवासमा समेत रहेका संगठनको तल्लो तह र सबै निकायदेखि स्रोतहरुलाई सोहोर्छन्, केन्द्रमा थुपार्छन् र त्यसको ठूलो अनुपात केन्द्रीय तहले उपभोग गर्छ।

यसको रस र स्वाद चुसेका, महत्व बुझेका र शक्तिको प्रयोग गरेका कतिपय नेताले पार्टी संगठन हाँक्ने वा सरकारी जिम्मेवारीमध्ये एक भूमिका रोज्ने विकल्प छान्नुपर्दा कतिपय अवस्थामा सांगठनिक पद रोजेका दृष्टान्तहरु पनि छन्।

कांग्रेस र अन्य दलको परिपाटी र संरचना पनि करिब यस्तै हो।

सबै दलका तलदेखि माथिसम्मका पदाधिकारी र कार्यकर्ताबीचको सम्बन्ध मिहीन ढंगबाट केलाउने हो भने यो विभेदकारी देखिन्छ। एकथरी विशिष्ट र अरु सदस्य तल्लोस्तरको भनी प्रष्टै छुट्टिने।

स्थानीयस्तरदेखि नै पार्टी कमिटीका निश्चित पदमा आसीनले विशेष सुविधा उपभोग गरिरहेकै हुन्छन्। झन्डै समानान्तर सरकारकै रुपमा चल्ने यस्ता सांगठनिक संरचनाबाट निकै ठूलो संख्यामा राजनीतिक तथा गैरराजनीतिक व्यक्तिहरु सहजै लाभान्वित भइरहेका हुन्छन्।

तिनै व्यक्ति पछि गएर सांसद, मन्त्री र अन्य पदाधिकारी बन्ने हुन्। विकृतिको बीऊ त्यहीँदेखि रोपिएको हुन्छ। त्यसैले स्थानीय कार्यकर्ता र विद्यार्थी राजनीतिको सुरुवाती चरणदेखि नै शुद्धीकरण नहुँदा पदमा पुगेपछि गर्ने आचरण पनि त्यही नै हो। कार्यकर्ता र नेताका रुपमा सरल जीवन बिताउनेहरु, पदमा पुग्दा पनि स्वच्छ रहने गरेको पाइन्छ।

पारिवारिक राजनीति
शान्ति प्रक्रिया, संविधान निर्माण, पार्टीको संगठन निर्माणदेखि राष्ट्रिय राजनीतिमा जति योगदान भएपनि, कांग्रेस कार्यकर्ताले बीपीपुत्र शशांक कोइरालालाई जति साथ दिन्छन्, त्यति शेखर कोइरालालाई दिएको पाइँदैन। उनको योगदानका आधारमा गिरिजाप्रसाद कोइरालाले शेखरलाई विश्वास गरे तर कांग्रेस कार्यकर्ताले कृष्णप्रसाद कोइरालाकै अर्का नातिभन्दा बीपीपुत्रलाई नै बढी खोज्ने गरेका छन्।

शशांक र शेखरबीच त यो भिन्नता हुन्छ भने गगन थापा, गुरु घिमिरे, प्रदीप पौडेल, धनराज गुरुङलाई कांग्रेसी मतदाताले पदाधिकारीको रुपमा पत्याउन अझै गाह्रै पर्ने देखिन्छ।

कैयौँ निष्ठावान् कांग्रेस कार्यकर्ताका लागि कोइराला निवास अझैपनि पवित्र तीर्थस्थल हो। तर सोही निवासको जग्गाको ठूलै अंश कोइराला सन्तानले जग्गादलाललाई बेचिसके।

‘इतिहासको अवमूल्यन’ शीर्षकमा ३२ जेठको नागरिक दैनिकमा सीमा आभासले कांग्रेसी कार्यकर्तामात्र नभई कुनैपनि प्रजातन्त्रप्रेमीले पवित्रधामको रुपमा लिने विराटनगरको ऐतिहासिक कोइरालानिवास र सो क्षेत्र प्लटिङ गरी कसरी व्यापारीकरण भएको छ भन्नेबारे मार्मिक लेख लेखेकी छन्।

एकातर्फ कांग्रेस कार्यकर्ता बीपी हिँडेको मार्गबाट सुन्दरीजलदेखि विराटनगर यात्रा गरी कोइराला निवास पुगेर त्यहाँको धर्तीमा ढोग्छन् अर्कोतर्फ बीपीकै सन्तान त्यसलाई विशुद्ध आर्थिक प्रयोजनका लागि बिक्री गरी व्यापारिक प्रयोजनमा आउँछ। कार्यकर्ताको आदर्श र नेताहरुको यथार्थबीचका यस्ता विरोधाभाषले राजनीतिलाई कतिपय अवस्थामा कुरुप बनाउँदै लगेको छ। कार्यकर्ताले नेतालाई जसरी देवत्वकरण गरेका छन्, उनीहरुले बनाइदिएको त्यो व्यक्तित्व÷छवि धान्न स्वयं नेताहरु सकिरहेका छैनन्।

‘ठूला दुःखले आर्जेका पार्टी’
वंश परम्परा र सामन्ती व्यवस्थाको प्रतीकको रुपमा रहेको राजसंस्थाविरुद्ध लामो संघर्ष गरेका नेताहरु आफ्नै कार्यकर्ता र आमजनताप्रति निकै हुकुमी र सामन्ती शैली अपनाउँछन्।

अहिलेका प्राय ठूला पार्टीका शीर्ष र कैयौँ केन्द्रीय नेताहरुमध्ये अधिकांश ४० वर्षभन्दा बढी समयदेखि केन्द्रीय तहका नेताका रुपमा निरन्तर दलीय नेतृत्वमा छन्। तीमध्ये केही त आफ्ना पार्टीका संस्थापक नेता नै हुन्। उनैले त्यो पार्टी गठन गरे। सिद्धान्त तय गरे। उतिबेलै पदाधिकारी बने र अविच्छिन्न त्यो दलको महत्वपूर्ण नेताका रुपमा आजपर्यन्त रहिरहेकै छन्। सत्तामा हुँदा होस् वा प्रतिपक्ष। सरकारमा वा सडकमा हुँदा होस्। उनीहरु निरन्तर अग्लो स्थानमा बनाइएको मञ्चमा गलाभरि मालासहित उभिएर, तल चौर वा हलमा रहेका सयौँ सर्वसाधारण, कार्यकर्तालाई निरन्तर भाषण गरिरहेकै छन्। कैयौँ अवस्थामा दलहरु निकै चुनौतिपूर्ण अवस्थामा पुगेका छन्। नेताहरुले निकै संघर्ष पनि गर्नुपरेको छ तर त्यस्तो अवस्थामा पनि उनीहरु र कार्यकर्ता तथा सर्वसाधारणबीच विशिष्ट र सामान्यकै सम्बन्ध रह्यो। दूरी कायमै रह्यो। कहिले पनि उनीहरु सर्वसाधारणजस्तै बनेर घुलमिल भएनन्। एकातर्फ जनतासँग दूरी कायम राखे भने दलको केन्द्रीय भूमिकामा पनि नियन्त्रण छाडेनन्।

संकटकै अवस्थामा पनि उनीहरुले राजालाई चुनौती दिए। अन्य प्रतिस्पर्धी शक्तिलाई चुनौती दिइरहे र आफूहरुलाई दरबार वा अन्य संस्थापनको समानान्तर शक्तिको नेताको रुपमा प्रस्तुत गरे।

उनीहरुलाई आफ्नो जीवनभर संघर्ष गरेर स्थापित गरेको दल आफ्नै मौजाजस्तै लाग्छ र त्यसमाथिको नियन्त्रण गुमाउनु पर्दा असह्य पीडा हुन्छ। कसैले उनीहरुमाथि प्रश्न उठाउँदा पाच्य हुँदैन। प्रधानमन्त्री केपी ओलीको ‘हामीले १४ वर्ष कालकोठरीमा बिताउँदा अहिले ट्याउँट्याउँ गर्नेहरु कहाँ थिए?’ जस्ता भनाई यसैकारण आउने गरेको हो। त्यस्तै गतवर्ष प्रचण्ड र सीता दाहालको विवाहको स्वर्ण वर्षगाँठ मनाउँदा पुत्री रेणु दाहालको ‘सानातिना चुनौती मात्र सामना गरेर यहाँसम्म आइपुगेको होइन यो परिवार’ भन्ने अभिव्यक्तिको अन्तर्य अब त हामीले अलिकति मस्ती गर्ने हक पनि राख्छौँ भन्न खोजिएको हो।

ती पुराना नेता र अहिलेका युवा वा दोस्रो–तेस्रो तहका नेताहरुको बीचमा समेत तुलनात्मकरुपमा सोचाइ र चरित्रमा कहिलेकाहीँ केही भिन्नता देखिन्छ। किनभने, पुराना नेताहरुले त्यो दल स्थापना गरे। सोझै संस्थापक पदाधिकारी बने र निरन्तर केन्द्रीय नेतृत्वमा रहे भने त्यसपछिका नेताहरुको विकास फरक तरिकाबाट भयो। उनीहरु स्कुल–क्याम्पसका प्रारम्भिक कमिटी, स्थानीय समिति, जिल्ला, क्षेत्रीय हुँदै कुनै न कुनै प्रकारका चुनाव वा प्रतिस्पर्धामार्फत् केन्द्रीय नेतृत्वसम्म पुगे। त्यसैले पहिलो पुस्ता र अहिलेको शीर्ष तहमा रहेका अधिकांश नेता लोकतन्त्रप्रति सिद्धान्ततः बढी कटिबद्ध देखिन्छन् तर विधि–प्रक्रियाप्रति मिचाहा व्यवहार र शैलीमा सामन्ती देखिन्छन् किनभने त्यो पार्टीमा अरुको भन्दा आफ्नो अधिकार बढी भएको उनीहरु ठान्छन्।

शेरबहादुर देउवा, माधव नेपाल, केपी ओली, पुष्पकमल दाहाल, झलनाथ खनाल, रामचन्द्र पौडेल, वामदेव गौतम दशकौँदेखि निरन्तर आफ्नो पार्टीको नेतृत्व तहमा रहे। संघर्ष पनि गरिरहे तर केन्द्रीय नेतृत्वबाट कहिल्यै तल झरेनन्। पार्टी पनि छाडेनन्। उनीहरुले आफूलाई राजाहरुसँगै संघर्ष गरेको र आफूलाई तिनकै प्रतिस्पर्धी ठाने।

दोस्रो तह वा त्यसपछिको पुस्ता तुलनात्मकरुपमा लोकतान्त्रिक विधि प्रक्रियाप्रति पनि बढी संवेदनशील, सहकर्मीप्रति केही विनम्र देखिन्छन् किनभने उनीहरु सबै क्रमिक र लोकतान्त्रिक चरणबाट आएका हुन्छन्।

महेन्द्रभन्दा बीपी बढी राजनेता हुन् भन्ने र सो धारणासँग सहमत नहुने इतर विचारको व्यक्तिसँग बहस गरेर दिनै बिताइदिने कैयौँ कांग्रेसी कार्यकर्ता पाउन सकिन्छ। बीपीभन्दा कम चमत्कारी होइनन् मदन भन्डारी भनेर एमाले कार्यकर्ता घन्टौँ बहस् गर्छन्। माओवादी कार्यकर्ताले भन्ने गर्थे– भन्डारी सुधारवादी नेता हुन् र तीभन्दा कैयौँ गुना क्रान्तिकारी नेता हुन् हाम्रा प्रचन्ड। पार्टी भित्रैको प्रतिस्पर्धा पनि उत्तिकै रोचक पाइन्छ। गिरिजाप्रसाद कोइरालाभन्दा कम स्थापित प्रजातान्त्रिक नेता होइनन् सुदूरपश्चिमबाट उदाएका देउवा भन्नु देउवानिकट नेताको दायित्व थियो कुनैबेला। केपी ओली नेपालको इतिहासकै महान् राष्ट्रवादी नेताको रुपमा प्रस्तुत गर्नु ओलीगुटका कार्यकर्ताको पछिल्लो कार्यभार हो।

अर्को पार्टी वा गुटको भन्दा आफ्नो नेतालाई ठूलो माला लगाइदिने, ठूलो जुलुसले स्वागत गर्ने प्रतिस्पर्धा, पिर्के सलामी जस्ता गतिविधि यस्तै प्रवृत्तिका ‘बाइप्रडक्ट’ मात्र हुन्। यस्तै गतिविधिले नेता देउता भए भने कार्यकर्ता र जनता सधैँ रैती नै रहे।
***
जापानी राजसंस्थाको सन्दर्भ लिएर गणतान्त्रिक व्यवस्थामा रुपान्तरित भइसकेको नेपालमा पनि पुनः राजसंस्थाको सान्दर्भिकता देखाउन खोजिएको होइन। तर, राजसंस्था हटाएका नेपाली जनताले राष्ट्रपतिको संस्थालाई पनि फेरि दरबारिया शैलीमै स्थापित गर्न खोजे स्वीकार्लान् त?

राजमार्गका नाम परिवर्तन गरी लोकमार्ग राख्न रुचाउने अहिलेका नेताहरुले राष्ट्रपति, प्रधानमन्त्रीका औपचारिक आवतजावत, चाडबाडका बेला भने पहिलेका राजारानीका राजकीय सवारी र टीकाबक्स जस्ता शासकलाई विशिष्ट देखाउने दरबारिया परिपाटी ठ्याक्कै नक्कल गरेका छन्। सवारीका बेला सर्वसाधारणले पाउने सास्ती र चाडबाडका बेला देखाउने शैलीले राष्ट्रपतिको संस्थालाई बारम्बार विवादमा ल्याइरहेको छ। जनताको आक्रोश यतिसम्म चुलियो कि, राष्ट्रप्रमुखको सवारीका बेला ट्राफिक प्रहरीले आक्रोशित भीडलाई सम्हाल्न समेत सकेनन्। जुन निकै खतरनाक संकेत हो।

अकिहितोले स्वेच्छाले राजगद्दी त्याग गरेर मार्गप्रशस्त गरेपछि उनका पुत्रको गद्दीआरोहण समारोहमा सहभागी भएर नेपालकी राष्ट्रपति फर्केकी छन्। यो दृष्टान्तबाट मुलुकको सर्वोच्च संस्थालाई जनतासामु शक्ति र शानको प्रदर्शन गरेर होइन, शालीनता र हार्दिकता प्रस्तुत गरेर सो संस्थाप्रति जनआस्था अझ बढाउन र लोकप्रिय बनाउन सकिन्छ भन्ने शिक्षा नेपालका सम्बन्धित निकाय, अधिकारी सबैले बुझ्नु जरुरी छ।

अकिहितोबाट सिक्ने अर्को शिक्षा हो– कुनै गतिविधि, अभ्यास समयानुकूल छैनन् भने तिनलाई परम्परा, कानुनी व्यवस्थाको बहाना वा प्रशासनिक निकायलाई देखाएर निरन्तरता दिनु र परिवर्तन नगर्नु उपलब्ध विशेष सुविधामा रमाउने प्रवृत्ति मात्र हो। वास्तविक नेता त्यो हो, जसले असान्दर्भिक कुरालाई कुनै परम्परा वा संवैधानिक व्यवस्था नै भएपनि समाजभन्दा एक कदम अघि बढेर त्यस्ता परिपाटीको अन्त्य गर्ने पहलकदमी लिन्छ र आफैँबाट सुरु गर्छ। 

(थिरलाल भुसाल नेपालखबर कार्यकारी सम्पादक हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad