ad ad

विचार


अब चीनलाई ठेस लाग्दा संसार लड्दैन

अब चीनलाई ठेस लाग्दा संसार लड्दैन

चीनको सांघाईस्थित पुदोङ (रोयटर्स)


रुचिर शर्मा
मंसिर २५, २०७८ शनिबार २३:२, काठमाडौँ

चीनको अर्थतन्त्र आश्चर्यजनक ढंगले धीमा हुँदैछ। त्यसैले चेतावनीका स्वर सुनिँदैछन्। किनभने चीनको अर्थतन्त्र कमजोर भए विश्व अर्थतन्त्र पनि कमजोर हुने विश्वास गरिन्छ। तर, यस पटक विश्व अर्थतन्त्रमा चीनको प्रभाव पहिलेजस्तो नपर्न सक्छ।

भर्खरैसम्म धेरैजसो मुलुकको अर्थतन्त्र चीनकै लयमा अघि बढिरहेको थियो। तर, पछिल्ला वर्षहरुमा चीन र अन्य मुलुकको अर्थतन्त्रबीचको त्यो सम्बन्ध कमजोर भएको थियो। र, महामारीका समयमा त्यो सम्बन्ध पुरै टुट्न पुग्यो। २०१५ अघि चीन र अन्य मुलुकबीचको कुल गार्हस्थ उत्पादन वृद्धि सम्बन्ध निकै बलियो (०.९) थियो। २०१५ पछि त्यो ०.२ मा झरेको छ। 

यो वर्षको दोस्रो त्रैमासिकमा चीनको अर्थतन्त्र वृद्धिदर अन्य उदाउँदा अर्थतन्त्रहरुको भन्दा निकै कम रह्यो। यस्तो परिदृश्य गएको ३० वर्षमा पहिलो पटक भएको हो। जुन आगामी परिघटनाको संकेत पनि हुनसक्छ।

महामारी नियन्त्रणका लागि चीनले लकडाउन गरिरहेको छ। उच्च कर्पोरेट ऋण र आर्थिक रुपले महत्वपूर्ण क्षेत्रहरुमा चर्को दमन पनि गरिरहेको छ। यस्तो आक्रमकता यसअघिका सरकारहरुले अपनाएका थिएनन्। अन्य मुलुकको अर्थतन्त्र उही रफ्तारमा अघि बढिरहँदा चीनको गति किन धीमा भयो, व्याख्या गर्न लामो समय लाग्छ। तर, चीन र अन्य मुलुकको अर्थतन्त्र वृद्धिबीचको सम्बन्ध करिब पाँच वर्ष अघिदेखि कमजोर हुन थालेको हो। यसका केही कारण छन्।

पहिलो, नयाँ वित्तीय शीतयुद्ध। चीन अहिले आफूतिरै फर्किन थालेको छ। व्यापारमा आधारित आर्थिक वृद्धिको मोडेललाई बदलेर उसले घरेलु उपभोक्तामा आधारित बनाउँदै छ। २०१० अघि चीनको जीडीपीको ३५ प्रतिशत हिस्सा निर्यातले ओगटेको थियो। अहिले त्यो २० प्रतिशतभन्दा कम छ। २०१५ मा बेइजिङले ‘मेड इन चाइना २०२५’ अभियान सुरु गर्यो। यसको उदेश्य अझ बढी सामान किन्ने र स्वदेशमै प्रविधि विकास गरेर आत्मनिर्भर बन्ने थियो। 

यसको जवाफमा डोनाल्ड ट्रम्प नेतृत्वको अमेरिकाले चीनबाट आफ्नो अर्थतन्त्रलाई अलग्याउने प्रयास गर्यो। जो बाइडेन राष्ट्रपति बनेपछि पनि उनले सोही नीतिलाई निरन्तरता दिए। युरोपका थुप्रै मुलुकले त्यस्तै काम गरिरहेका छन्। महामारीको समयमा सो प्रयास अझ तीव्र भयो। यसको अर्थ ती मुलुकले चीनको वित्तीय प्रतिद्वन्द्वी मेक्सिको, भियतनाम र थाइल्यान्डसँग ज्यादा सामान किन्दै छन्।

महामारीअघि विश्वको जीडीपी वृद्धिको ३५ प्रतिशत हिस्सा चीनले ओगट्थ्यो। तर, अहिले त्यो हिस्सा घटेर २५ प्रतिशत हाराहारीमा आएको छ। पाँच वर्षअघि चीन अन्य उदाउँदा अर्थतन्त्रभन्दा झण्डै दोब्बर दरमा वृद्धि भइरहेको थियो। घट्दो जनसंख्या र विशाल ऋणको सामना गरिरहेको चीन आउँदा वर्षहरुमा पनि अन्य उदाउँदा अर्थतन्त्रभन्दा धीमा गतिमै वृद्धि हुने देखिन्छ।

यहीबेला विश्व अर्थतन्त्र वृद्धिलाई हाँक्ने चालकहरुले भने लय पक्रिँदैछन्। त्यस्ता प्रत्येक चालकशक्तिले अलगअलग मुलुकहरुको समूहलाई माथि उठाउँदै छ। डिजिटल क्रान्तिले सेमिकन्डक्टर र उच्च प्रविधियुक्त उत्पादनको माग बढाउँदैछ। जसले ताइवान, दक्षिण कोरियालगायत विकसित उदाउँदा बजारहरुबाट निर्यात बढाइरहेको छ। 

इन्डोनेसिया र भारतजस्ता ठूला तर कम विकसित अर्थतन्त्रहरुलाई भने मोबाइल इन्टरनेट प्रविधिले परिवर्तन गरिरहेको छ। यी स्थानमा गएको चार वर्षमै डिजिटल आम्दानी (जीडीपीको हिस्सामा) तीन गुणा बढेको छ। भारत त्यस्ता मुलुकमा पर्छ, जहाँ चीनसँगको व्यापार (जीडीपीको हिस्सामा) घटिरहेको छ। 

यो वृद्धिको मुख्य कारण अनलाइन सेवा हो, जुन सबै उदाउँदा बजारहरुमा तीव्र गतिमा एक पटक फैलिरहेको छ। विश्वभर सञ्चित आय वृद्धिको १० प्रतिशत हिस्सा मोबाइल प्रविधिले ओगटेको छ। र, उदाउँदा अर्थतन्त्रमा यो छिटो विस्तार भइरहेको छ। 

विश्व तापमान वृद्धिलाई नियन्त्रण गर्ने प्रयासका कारण कच्चा पदार्थको आपूर्ति सीमित हुँदैछ र ‘ग्रिन मेटल’ भनिने आलमुनियम र तामाको माग बढ्ने अनुमान गरिँदैछ। यी धातुको मूल्य बढ्दैछ। तिनको मुख्य निर्यातकर्ता पेरु र चिलीजस्ता मुलुकलाई ठूलो फाइदा हुँदैछ।

चीनबाट अन्य मुलुकले अर्थतन्त्र अलग्याउने प्रयास दीर्घकालीन हुनसक्छ। डिजिटल क्रान्ति, जलवायु परिवर्तनविरुद्धको लडाइँ र नयाँ शीतयुद्ध महामारीको प्रभावभन्दा लामो समय टिक्नेछन्। र, तिनले उदाउँदो विश्वमा वृद्धिको नयाँ युग सुरु गर्न सक्छन्। 

नयाँ सहस्राब्दीको सुरुवात उदाउँदा बजारहरुका लागि सुनौलो युग थियो। त्यसबेला थुप्रै मुलुक चीनलाई कच्चा पदार्थ आपूर्ति गरेर समृद्ध भए। त्यतिबेला चीन ‘विश्वको कारखाना’ का रुपमा उदाउँदै थियो। अहिले ती मुलुकहरुसँग धेरै वटा विकल्प छन्। 

चीनको प्रभाव कम भयो भन्नुको अर्थ उसको प्रभावै छैन भन्नु होइन। चीन अहिले पनि विश्वका सबैभन्दा धेरै मुलुकका सबैभन्दा ठूलो व्यापारिक साझेदार हो। र, ऊ विश्वको सबैभन्दा ठूलो सामान खरिदकर्ता पनि हो। उदाहरणका लागि, चीनले विशाल कर्पोरेट ऋण घटाउने कोसिस गर्यो भने त्यसले ठूलो मन्दी निम्त्याउँछ। त्यसको असर विश्वव्यापी हुनेछ र कोही पनि जोगिन सक्ने छैन। तर, तीभन्दा साना भूकम्पको असर अब त्यति ठूलो पर्ने छैन। सायद अब चीनलाई ठेस लाग्दा सारा संसार सँगै लड्ने छैन। 

(फाइनान्सियल टाइम्सबाट। रुचिर शर्मा मोर्गन स्टेन्ली इन्भेस्टमेन्ट म्यानेजमेन्टका प्रमुख विश्व रणनीतिकार हुन्। उनी द टेन रुल्स अफ सक्सेसफुल नेसन्स पुस्तकका लेखक पनि हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .