ad ad

विचार


ओली शक्तिशाली अध्यक्ष त बने, सफल हुन अब कुन ‘कार्ड’ खेल्छन्?

ओली शक्तिशाली अध्यक्ष त बने, सफल हुन अब कुन ‘कार्ड’ खेल्छन्?

दोस्रो पटक एमालेको अध्यक्ष निर्वाचित भएपछि केपी ओली (तस्बिरः विक्रम राई)


सीताराम बराल
मंसिर १४, २०७८ मंगलबार १९:१७, काठमाडौँ

प्रधानमन्त्री बनिसकेका आफ्ना वरिष्ठ नेता माधव नेपाललाई हराउँदै असार २०७१ मा एमाले नेता केपी शर्मा ओली पहिलोपटक पार्टीको अध्यक्ष बने। महासचिवका रूपमा १५ वर्ष एमालेको नेतृत्व गरिसकेका नेपालजस्ता ‘हेभिवेट’ नेतालाई अध्यक्षमा हराउनु ओलीको चानचुने सफलता थिएन। 

तिनै ओली ७ वर्षपछि दसौं महाधिवेशनमार्फत पुनः एमाले अध्यक्षमा विजयी भएका छन्। अध्यक्षका अर्का प्रत्यासी निवर्तमान उपाध्यक्ष भीम रावललाई १ हजार ६ सय १७ मतान्तरले हराउँदै ओली पुनः  पार्टी अध्यक्ष बन्न सफल भएका हुन्। ओलीले १ हजार ८ सय ४० मत प्राप्त गर्दा रावलले २ सय २३ मत मात्र पाएका छन्। 

एमालेका १९ पदाधिकारीमा पनि ओली आफूसमर्थक नेताहरूलाई ल्याउन सफल भएका छन्। केन्द्रीय कमिटीको बनोट हेर्दा ४५ सदस्यीय स्थायी समिति र ९९ सदस्यीय पोलिटब्युरो पनि उनी अनुकूल हुने प्रस्ट छ। 

माधव नेपालजस्ता ‘हेभिवेट’ नेतालाई अध्यक्ष हराए पनि नवौँ महाधिवेशनबाट निर्वाचित एमालेका पदाधिकारी समूह र स्थायी समिति ओली अनुकूल थिएनन्। केन्द्रीय कमिटीमा ओली बहुमतमा रहे पनि माधव नेपाल र झलनाथ खनालजस्ता हेभिवेट नेताहरूको उपस्थितिका कारण ओलीले जे चाह्यो, केन्द्रीय कमिटीबाट त्यो हुबहु पारित गर्न सक्ने स्थिति थिएन।  

आफू अनुकूलका पदाधिकारी, केन्द्रीय कमिटीका साथै स्थायी समिति र पोलिटब्युरो निर्माणका कारण ओली नवौँ महाधिवेशनपछिका अध्यक्षभन्दा शक्तिशाली त देखिएका छन्, तर पहिलो कार्यकालमा जस्ता ठूला उपलब्धि दोस्रो कार्यकालमा हासिल हुनसक्ने स्थिति देखिन्न।  

पहिलो कार्यकाल : अद्वितीय सफलता  
झण्डै २० वर्ष एमालेभित्र ‘स्थायी प्रतिपक्ष’जस्तै बनेका ओलीले  २०७० को संविधान सभा निर्वाचनपछि एकपछि अर्काे गर्दै ‘पार्टीसत्ता’ प्राप्त गर्न थालेका हुन्। २०७० को संविधान सभा निर्वाचनलगत्तै एमाले पार्टी संसदीय दलको नेतामा अध्यक्ष झलनाथ खनाललाई हराएपछि उनी एमालेभित्र ‘प्रतिपक्ष’बाट पहिलोपटक ‘सत्तापक्ष’को स्थानमा उक्ले।  

त्यसलगत्तै २०७१ असारमा काठमाडौँमा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा उनी पार्टी अध्यक्षमा निर्वाचित भए। संसदीय दलको निर्वाचनमा उनले माधव नेपालको प्रस्तावमा उम्मेदवार बनेका खनाललाई हराएका थिए भने नवौँ महाधिवेशनमा नेपाललाई नै हराउने अवसर पाए। 

६ वर्ष (२०३९–४६) पार्टी महासचिवका रूपमा पार्टी हाँकेका खनाल र १५ वर्ष त्यही हैसियतमा एमालेलाई नेतृत्व दिएका नेपाललाई हराउनु ओलीको चानचुने सफलता थिएन। यसकारण पनि कि खनाल र नेपाल दुवैले त्यसअघि प्रधानमन्त्री बनेर राज्यसत्ताको बागडोर पनि सम्हालिसकेका नेता थिए। 

पहिले संसदीय दलको नेता र त्यसपछि पार्टी अध्यक्षमा निर्वाचित भएका कारण त्यसको एक वर्ष बित्दा नबित्दै ओलीलाई प्रधानमन्त्री बन्ने अवसरको ढोका खुल्यो। २०७२ असोजमा संविधान सभाबाट संविधान जारी भएपछि संसदमा रहेका माओवादी केन्द्र, राप्रपा, माले, जनमोर्चालगायतका दलहरूको सहयोगमा उनी पहिलोपटक प्रधानमन्त्री बने। 

त्यसअघि ‘माओवादीविरोधी’ छवि बनाएर ओली राष्ट्रिय राजनीतिमा उदाएका थिए, २०७२ मा प्रधानमन्त्री बनेपछि भारतीय नाकाबन्दीविरोधी ‘सेन्टिमेन्ट’को नेतृत्वका कारण राष्ट्रिय रूपमा उनको नेतृत्व अझ सबल रूपमा स्थापना हुन पुग्यो। भारतीय नाकाबन्दीविरुद्ध अडान लिएर ओली यो ‘सेन्टिमेन्ट क्याच’ गर्न सफल भए। 

यही कारण २०७४ मा भएको स्थानीय तह निर्वाचनमा एमाले सबैभन्दा बढी स्थानमा विजय हासिल गर्ने दल बन्यो। चीनसँगको पारवहन सन्धि, उत्तरतिरबाट चुच्चे रेल ल्याउने, घरघरमा ग्याँसका पाइप जोड्ने ‘उडन्ते’ नाराका कारण ओली थप लोकप्रिय हुँदै गए।  

केही समय प्रधानमन्त्री बनेपछि राजीनामा दिएर प्रचण्डलाई प्रधानमन्त्री बनाउने ‘जेन्टलमेन एग्रिमेन्ट’ पालना नगरेका कारण प्रधानमन्त्रीबाट हट्नु परे पनि २०७४ को आम निर्वाचनमा पुनः माओवादी केन्द्रलगायत वामपन्थी दलसँग गठबन्धन गर्न उनी सफल भए। 

२०७० देखि नै ओली राजनीतिको उत्कर्षमा थिए। २०७४ को निर्वाचनमा वामगठबन्धनले झण्डै दुईतिहाइ स्थानमा विजय हासिल गरेपछि ओली अझ उत्कर्षमा पुगे। २०७२ मा पहिलोपटक राष्ट्रपति बनेकी विद्या भण्डारीलाई पुनः राष्ट्रपतिमा दोहोर्याउन पनि उनी सफल भए। आफू पनि दोहोरिएर प्रधानमन्त्री बने।

७ प्रदेशमध्ये ४ प्रदेशका सरकार एमालेकै नेतृत्वमा बने। बाँकी दुईवटा प्रदेशको नेतृत्व माओवादी केन्द्रले लिए पनि तिनमा पनि एमाले नै ठूलो दलका रूपमा रह्यो। २०६४ यताका निर्वाचनमा यति ठूलो विजय कसैले प्राप्त गरेको थिएन। तर माओवादी केन्द्रसँग चुनावी गठबन्धन गरेर ओलीले एमालेलाई यति ठूलो सफलता दिलाए।  

२०७४ को आम निर्वाचनमा ओलीले वाम गठबन्धनलाई विजयी त बनाए नै। दुई भिन्दाभिन्दै धार नेतृत्व गरेर आएका एमाले र माओवादी केन्द्रजस्ता ठूला वामपन्थी दलबीच एकता गर्ने सौभाग्य पनि उनैलाई प्राप्त भयो। 

भारतीय नाकाबन्दीविरुद्ध लिएको अडान, चीनसँगको पारवहन सन्धि उनको प्रधानमन्त्रित्वकालका मुख्य राष्ट्रिय उपलब्धि हुन् भने पार्टी एकता र निर्वाचनमा झण्डै दुईतिहाइ स्थानमा विजय राजनीतिक उपलब्धि। 

तर आफैं सरकार र पार्टीको नेतृत्वमा छँदा ओलीले यी उपलब्धि जोगाउन सकेनन्। नेकपामा आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला ४ कात्तिक (२०७७) मा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलसँगको गोप्य वार्ता, पाठ्यक्रममा ‘चुच्चे नक्सा’ छाप्न लगाएको रोकका कारण उनको राष्ट्रवादी छबिसमेत धुलिसात हुन पुग्यो।

दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता गरेर नेकपा बनाउन सफल भए पनि ओलीले न त्यो एकता जोगाउन सके, न त संघीय (केन्द्रीय) सरकार र प्रदेश सरकारहरू नै। झण्डै दुईतिहाइका प्रधानमन्त्री ओली अहिले प्रतिपक्षी दलको नेतामा सीमित हुन पुगेका छन्। अहिलेको सत्तारुढ गठबन्धन आगामी निर्वाचनसम्म कायमै रहन सक्यो भने एमालेको स्थिति ०७४ को निर्वाचनमा नेपाली कांग्रेसकै जस्तो हुने पक्का छ। 

‘अध्यक्षको कार्यकालको सुरुवातमा ओलीले उल्लेख्य सफलता हासिल गरे पनि कार्यकालको अन्त्यताका ढल्नुनपर्ने एमालेका सरकारहरू ढले, नेकपा त एक रहेन नै, एमाले पनि विभाजनबाट जोगिन सकेन’, राजनीति शास्त्रका प्राध्यापक कृष्ण खनाल भन्छन्, ‘एमाले पंक्तिले ओलीको जतिसुकै महिमा गान गरे पनि ओलीको पहिलो कार्यकाल असफल रह्यो।’ 

दोस्रो कार्यकाल कसरी होलान् सफल 
निर्वाचनमा विजय हासिल गरेर राष्ट्रपति, प्रधानमन्त्री र सभामुखजस्ता मुख्य राजकीय पद आफ्नो पार्टीको पोल्टामा पार्न सक्नु नेताको सफलताको सूचक हो। नवौँ महाधिवेशनबाट पहिलोपटक एमाले अध्यक्ष बनेपछि नेकपा अध्यक्ष पनि बनेका ओलीको कार्यकालमा नेकपाले चार वर्षअघि यी तीनवटै महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेको थियो।

प्राध्यापक खनालले भनेजस्तै पहिलो कार्यकालको अन्त्यताका ओलीलाई असफलतै–असफलता हात परे पनि सुरुवाती समयमा ओली र एमालेलाई ठूलो सफलता मिलेको थियो। 

जानकारहरू अध्यक्षका रूपमा ओलीको दोस्रो कार्यकालमा त्यस्तो सफलता प्राप्त हुने अवस्था देख्दैनन्। उनीहरूका भनाइमा– परीक्षण (टेस्टेड) भइसकेका नेता नभएकाले पहिलोपटक पार्टी अध्यक्ष हुँदा केही सफलता हासिल गरे पनि यसबीच गरेका ठूल्ठूला गल्तीका कारण त्यस्ता सफलता हासिल हुने देखिँदैन।

‘ओली लामो समय एमालेभित्रै प्रतिपक्षमा थिए, एमालेभित्रको ‘ब्युरोक्रेसी’ उनका पक्षमा थिएन। तर त्यसलाई पनि चुनौती दिँदै अध्यक्षमा विजयको सफलता हासिल गरेका थिए’, राजनीतिक विश्लेषक झलक सुवेदी भन्छन्, ‘पहिलोपटक अध्यक्ष हुँदा अरूमाथि प्रश्न उठाउने स्थितिमा थिए, अहिले उनीमाथि नै प्रश्न उठ्ने स्थिति छ।’

ओलीले यसबीच गुमाएको सबैभन्दा ठूलो कुरा विश्वसनीयता हो। २०७४ को आम निर्वाचनमा आफैंले दिएका नारा कार्यान्वयन गर्न नसक्दा आम जनतामाझ उनको छवि ‘गफाडी नेता’को बनेको छ। 

२०७४ को निर्वाचनमा जस्तो आफूलाई राष्ट्रवादी देखाउने अवसर दोस्रो कार्यकालमा ओलीलाई प्राप्त छैन। ‘रअ’ प्रमुख गोयलसँगको शंकास्पद भेटघाट, पाठ्यपुस्तकमा चुच्चे नक्सा प्रकाशनमा लगाएको रोकका कारण उनको राष्ट्रवाद सन्देहमा परिसकेको छ। बाहिर भारतको विरोध गरे पनि सत्ताका लागि नयाँदिल्लीसँग मोलमोलाई गर्ने नेताको छबि उनले पनि बनाएका छन्। 

यही कुरा बुझेर होला– ओलीले ‘राम जन्मभूमि’ चितवनको माडीमा रहेको दाबी गर्दै ‘धार्मिक राष्ट्रवाद’लाई आगामी निर्वाचनको एजेन्डा बनाउने संकेत दिएका छन्। तर ‘धार्मिक राष्ट्रवाद’को नारा चितवनमा प्रचण्डलाई धेरथोर धक्का दिनबाहेक देशभर त्यति कामयाबी हुने देखिन्न।

नेपाल–खनालजस्ता नेतासँग भिडेर ओली पार्टीको नेतृत्व लिन सफल भएका हुन्। तर पहिलोपटक अध्यक्ष हुँदा ओलीले जुन–जुन राजनीतिक सफलता प्राप्त गरे, ती माओवादीसँगको गठबन्धनका कारण सम्भव भएका थिए। दुवैपटक प्रधानमन्त्री र पार्टी नेता भण्डारीलाई राष्ट्रपति बनाउन सफल हुनुको कारण माओवादी केन्द्रसँगको गठबन्धन नै थियो।  

तर ओलीको दोस्रो कार्यकालभर माओवादी केन्द्रसँग गठबन्धन हुने सम्भावना तत्कालका लागि देखिन्न। पहिले ओली र त्यसपछि आफू प्रधानमन्त्री बन्नेगरी प्रचण्डले दुई–दुईपटक ओली नेतृत्वको एमालेसँग गठबन्धन गरे पनि दुईपटक नै धोका पाइसकेका छन्। फेरि गठबन्धन गरेर तेस्रोपटक धोका खान प्रचण्ड तयार देखिँदैनन्।

नाम उल्लेख गर्न नचाहने एमालेनिकट एक बुद्धिजीवीका भनाइमा– प्रचण्डलाई दिएको धोका र नेपाल–खनाललाई पार्टी छाड्ने परिस्थिति सिर्जना गरेका कारण ओली यति धेरै ‘एक्सपोज’ भइसकेका छन् कि कमल थापा र महन्थ ठाकुरसँग मात्र गठबन्धन गर्नसक्ने स्थिति छ, अन्य कम्युनिस्ट दलहरू उनीसँग बिच्किसकेका छन्। 

२०७४ को निर्वाचनको जस्तो चीनबाट आउने चुच्चे रेल, प्रशान्त महासागरमा चल्ने चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डासहितको पानीजहाज, घर–घरमा ग्याँसका पाइपजस्ता आकर्षक नारा पनि ओलीसँग छैनन्। नारा त देलान् फेरि। तर साढे तीन वर्ष सरकारमा रहँदा ‘गफ बढी, काम शून्य’को छबि बनाएका कारण जनताले उनका कुरा पत्याएर २०७४ मा वाम गठबन्धनका पक्षमा आएजस्तो आगामी निर्वाचनमा एमालेका पक्षमा उभार आउन सक्ने स्थिति पनि छैन।

‘पहिलोपटक अध्यक्ष बन्दा ओलीलाई माधव नेपालजस्ता वरिष्ठ नेतालाई पराजित गरेको गौरव प्राप्त भएको थियो, तर दोस्रोपटक अध्यक्ष बन्ने क्रममा भीम रावललाई समेत निर्वाचनबाट वञ्चित गर्न खोजेको कलंक उहाँमाथि लागेको छ’, दसौं महाधिवेशनमा सहभागी एमालेका एक नेता भन्छन्, ‘उहाँले प्राप्त गर्ने सफलता भनेको प्रसशंकहरूबाट अझ बढी महिमा गान हो, त्यसबाहेक थप सफलता प्राप्त गर्ने सम्भावना देखिन्न।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .