छापा खबर


सीको सुरक्षाः बलाधिकृत रथीकाे नेतृत्वमा तीन सिफ्टमा सुरक्षाकर्मी परिचालन

सीको सुरक्षाः बलाधिकृत रथीकाे नेतृत्वमा तीन सिफ्टमा सुरक्षाकर्मी परिचालन

नेपालखबर
असोज २६, २०७६ आइतबार १:०,

नेपाल भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी जिनपिङको सुरक्षा नेपाली सेनाका बलाधिकृत रथीको कमान्डमा भएको छ ।

प्रधानसेनापतिपछि दोस्रो वरीयतामा रहेका बलाधिकृत रथी शरद गिरीको नेतृत्वमा सुरक्षाकर्मी परिचालन गरिएको हो।

सीको भ्रमण अवधिभर सुरक्षाको नेतृत्व उनैले सम्हाल्ने खबर आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले लेखेका छन्।

दिनमा तीन सिफ्टमा सुरक्षाकर्मी परिचालन गरिएकोमा एक सिफ्टमा १५ हजार खटाइएको छ । प्रत्येक सिफ्टमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गुप्तचर संयुक्त रूपमा परिचालन भएका छन् ।

सेनाका अनुसार पहिलो घेरामा नेपाली सेना, दोस्रोमा नेपाल प्रहरी, तेस्रोमा सशस्त्र र चौथोमा राष्ट्रिय अनुसन्धान विभागका गुप्तचरलाई सादा पोसाकमा खटाइएको छ । चौथो घेरामा सेना, नेपाल प्रहरी र सशस्त्रका गुप्तचर पनि खटिएका छन् ।

विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि– २०७० अनुसार सुरक्षाकर्मी परिचालन गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले बताए ।

‘चिनियाँ राष्ट्रपतिको भ्रमण अवधिभरको सुरक्षा जिम्मा सेनाको हो । विशिष्ठ व्यक्ति सुरक्षा कार्यविधिअनुसार नै सुरक्षाको प्रबन्ध गरिएको छ । जसमा चारवटै सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ । १५ हजारभन्दा धेरै सुरक्षाकर्मी खटिएका छन् । सुरक्षा प्रबन्ध निक्कै चुस्त पारिएको छ,’ उनले भने ।

सेनाका अनुसार राष्ट्रपति सीको वासस्थान सोल्टी होटेल, भेटघाट स्थल र भ्रमण रुट क्षेत्रको सुरक्षा प्रबन्धलाई विशेष रूपमा कडा पारिएको छ । होटेल र भेटघाट स्थलको सुरक्षा जिम्मा सेनाले नै लिएको छ ।

रुट आसपासका सडक, ओभर हेड ब्रिज, अग्ला भवन, पुललगायतको सुरक्षा जिम्मा भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले लिएको छ । त्यसबाहेक भ्रमण अवधिभर भ्रमण रुटको सुरक्षाका लागि सेनाकै हेलिकोप्टरबाट गस्ती पनि गरिएको छ ।

‘भिभिआइपी सुरक्षा कार्यविधिअनुसार सुरक्षाको क्षेत्र बाँडफाँड भएको छ । सोहीअनुसार सुरक्षाकर्मी परिचालन भएको छ । विशेष सीको वासस्थान, इभेन्ट हुने ठाउँ र भ्रमणको रुटमा सुरक्षा व्यवस्था कडा पारिएको छ,’ सैनिक प्रवक्ता पाण्डेले भने ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad