यसपाली दसैँको बीचमै उत्तरी छिमेकबाट महत्वपूर्ण पाहुना आउँदैछन्। उनलाई विदा गरेपछि फेरि राष्ट्रपति विद्या भण्डारी लगालग दुई देशको भ्रमणमा निस्कने कुराको पनि टुंगो लागेको खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।
चिनियाँ राष्ट्रपति सि जिनफिङ दसैँ समाप्तिको अघिल्लो दिन अर्थात असोज २५ गते नेपाल अवतरण हुने पक्का भएको छ। दसैँ सकिने अर्थात् कोजाग्रत पूर्णिमाकै दिन काठमाडौँबाट दिल्ली या बेइजिङका लागि उनको बिदाइ हुनेछ।
सि अक्टोबर १२ तारिख, शनिबारको रात काठमाडौँमा रहनेछन्। २५ गते सिसँगै बोइङ ७४७ को ८०० सिरिजका दुई जहाजमा २४ जनाको टोली काठमाडौँ ओर्लिने छ।
सि सवार जहाज ओर्लिएको आधा घण्टापछि अर्को बोइङ काठमाडौँ एयरपोर्टमा ओर्लने तय भएको छ। १० दिनपछि राष्ट्रपति बोकेर आउने एउटा जहाज डेमोस्ट्रेसन उडानका लागि भने आजै काठमाडौँ ओर्लने छ। सि आउनु दुई दिनअघि कार्गो फ्लाइट हुनेछ, बोइङ ७४७ को ४०० सिरिजको जहाजबाट।
त्यसले ड्रोन, फ्रिक्वेन्सी जामर, चारवटा बुलेटप्रुफ गाडी र सुरक्षा निम्ति आवश्यक हातहतियार ल्याउने छ।
चिनियाँ जहाज पार्किङका लागि ६७८ र ७८९ पार्किङ वे छुट्याइएको छ।
ठूल्ठुला पखेटा हुने चीनका ती दुई जहाज राख्ने ठाउँमा नेपाल र बाहिरका चारवटा एयरबस र बोइङ अटाउँछन्।
वोइङ ७४७–४०० सिरिजको जहाजले ल्याउने ड्रोनले हवाई सुरक्षा निरीक्षण र उचाइबाट हुने हमलाको प्रतिकार गर्छ।
फ्रिक्वेन्सी जामरले मोबाइलसहितका विभिन्न डिभाइसहरुलाई निष्क्रिय पार्छ। अत्याधुनिक हतियार पनि आउँदैछ, उतैबाट। त्यसरी ल्याइएका सामान राष्ट्रपति फर्किएको भोलीपल्ट फिर्ता जानेछन्। सिको भ्रमण अबधिभर २४ सै घन्टा विमानस्थल खुला रहने छ।
एयसलायन्सहरुलाई राति धेरै उडान गर्न र दिउँसोको समयमा रनवे जाम नगर्न नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ।
Shares

प्रतिक्रिया