छापा खबर


काठमाडौंमा पक्राउ परेका अमेरिकी मोस्ट वान्टेडलाई लान विमान चार्टर

काठमाडौंमा पक्राउ परेका अमेरिकी मोस्ट वान्टेडलाई लान विमान चार्टर

नेपालखबर
असोज ३, २०७६ शुक्रबार ०:२९,

नेपालमा पक्राउ परेका मोस्ट वान्टेड यौन दुराचारी नाथन बेडफोर्ड माकोव्स्कीलाई लैजान अमेरिकी सरकारले विमान नै चार्टर गरेको छ।

बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको अमेरिकी जहाज बिहीबार बिहान नाथनलाई लिएर फिर्ता भएको छ।

चालक दलका सदस्यबाहेक यूएस मार्सल सर्भिसका तीन सुरक्षाकर्मी नेपाल आएका थिए। यो खबर आजको नयाँ पत्रिकामा नवराज मैनालीले लेखेका छन्।

अमेरिकी दूतावास स्रोतका अनुसार नाथनलाई लैजान करिब एक लाख डलर खर्च भएको छ। प्रेमिकाको नाबालिका छोरीमाथि यौन दुर्व्यवहार गरेर नाथन फरार भएका थिए।

नाथनलाई गत १८ भदौमा प्रहरीको विशेष ब्युरोले ठमेलबाट पक्राउ गरेको थियो । अध्यागमन विभागले १४ दिन थुनामा राखी उनलाई निष्कासनको निर्णय गरेको थियो । उनलाई नेपालस्थित अमेरिकी दूतावासको पहलमा नियमित उडानबाट अमेरिका लैजाने तयारी भएको थियो । 

नाथनलाई लैजान युएस मार्सल सर्भिसका तीन सुरक्षाकर्मी एक साताअघि काठमाडौं आइसकेका थिए । तर, २७ भदौमा कोरियन एयरको  जहाज चढिसकेपछि नाथनले आत्महत्या गर्ने धम्की दिए । त्यसपछि सुरक्षाको कारण देखाएर एयरलायन्सले उनलाई लैजान मानेन । त्यसपछि अमेरिकी सरकारले उनलाई लैजान फ्लाइटवर्कस् कम्पनीको भि/एन११जिडब्लू प्लेन चार्टर्ड गरेको हो।

बिहीबार नाथनलाई अध्यागमन विभागबाट खटिएका प्रहरीले विमानकै भर्‍याङमा पुर्‍याएर अमेरिकी मार्सल टोलीलाई बुझाएको थियो । उनलाई हत्कडी लगाएर जहाजभित्र बसाइयो । यसरी अपराधी बुझाउन नेपाल र अमेरिकाबीच सुपुर्दगी सन्धि छैन । तैपनि अन्तरदेशीय अपराध नियन्त्रणका लागि भन्दै एक–अर्का देशमा लुक्न गएका अपराधीलाई पक्राउ गरेर निष्कासनको प्रक्रियामार्फत सहकार्य हुने गरेको छ । नाथनलाई अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले रेड नोटिस जारी गरेकाले पक्राउ गरेर अध्यागमन कानुनअनुसार कारबाही गरी नेपाल आउन नपाउने गरी निष्कासन गरिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए। 

 के छ अभियोग? 
आफ्नै प्रेमिकाकी छोरीमाथि यौन दुराचार गरेको आरोप नाथनमाथि छ । अमेरिकी कानुनीअनुसार यस्तो अवराधमा ९९ वर्षसम्म कैद सजाय हुन सक्छ । सन् २०१४ देखि २०१५ सम्म उनले प्रेमिकाकी छोरीमाथि यौन अपराध गरेको उजुरी परेको थियो । प्रेमिकासँग सम्बन्ध टुटेपछि उनीविरुद्ध उजुरी परेको हो । उनीविरुद्ध अलास्का राज्यको प्रहरीले पक्राउ वारेन्ट जारी गरिसकेको छ । तर, आफूले त्यस्तो अपराध नगरेको नेपालका अध्यागमन अधिकारीसँग नाथनले बताएका छन् । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad