छापा खबर


योगेश भट्टराई किन भए आलोचित?

योगेश भट्टराई किन भए आलोचित?

नेपालखबर
भदौ ३१, २०७६ मंगलबार ०:६,

डेढ महिनाअघि संस्कृति, पर्यटन नथा नागरिक उड्ययनमन्त्री बन्दै गर्दा योगेश भट्टराईलाई बधाई र शुभकामनाको ओइरो लागेको थियो ।

सामाजिक सञ्जाल र सञ्चार माध्यम उनका प्रशंसाले रंगिएका थिए । कतिले त प्रधानमन्त्री नियुक्तिभन्दा बढी प्रचार भएको टिप्पणी पनि गरे ।

सरकारले अपेक्षाकृत काम नगरिरहेका बेला झन्डै साढे चार महिनादेखि रिक्त मन्त्रालयमा दिवंगत रवीन्द्र अधिकारीको उत्तराधिकारीका रूपमा भट्टराई आएका थिए ।

संसद् र यसअघिका राजनीतिक मोर्चामा प्रभावकारी भूमिका निर्वाह गरेका युवा नेताको मन्त्रिमण्डलमा प्रवेश भएसँगै चर्चा चुलिएको थियो।

तर तिनै युवा नेता भट्टराईमाथि मन्त्री बनेको डेढ महिनामै आलोचनाका स्वर चर्किन थालेका खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

किन यस्तो अवस्था आयो ? यसका पछाडि उनले गरेका कही प्रतिनिधिमूलक काम जिम्मेवार छन् । उनले गरेको ‘पशुपतिको गंगा आरतीमा राष्ट्रिय गान’ बजाउने निर्णय निकै आलोचित छ ।

‘राष्ट्रियता जगेर्ना गर्ने नाममा आर्यघाटनजिक हुने आरतीमा राष्ट्रिय गान कति अनिवार्य हो ?’ नागरिकस्तरबाट प्रश्न उठेको छ । संस्कृतिकर्मीदेखि धार्मिक अभियन्ता मात्र होइन, उनकै पार्टी नेकपाका नेताले समेत यसको औचित्यमाथि प्रश्न गरिरहेका छन् ।

भट्टराई भने निर्णयबाट पछि हट्न चाहेका छैनन् । डेढ महिनाअघि उनीप्रति निकै अपेक्षा गर्नेहरू विस्तारै आलोचनातर्फ मोडिएका छन् ।

‘राष्ट्रिय गानसम्बन्धी निर्देशिकाअनुसारै मैले भनेको हुँ तर यो निर्णयपछि आएका प्रतिक्रियालाई मैले नजिकबाट नियालिरहेको छु,’ मन्त्री भट्टराईले कान्तिपुरसँग भने । यो विषयमा उनले थप टिप्पणी गरेनन् ।

राष्ट्रिय गान प्रकरणले आलोचना बढिरहेका बेला मन्त्री भट्टराईकै कारण शनिबार नेपालगन्जमा जहाज उडान ढिलाइ भएको घटना बाहिरियो ।

धनगढीबाट फर्किंदै गर्दा मन्त्री केही ढिलो भएका कारण केहीबेर जहाज रोकिएको थियो । यसलाई ज्ञानेन्द्र शाहीलगायत व्यक्तिले विमानभित्रै विरोध गरे । यो प्रकरणमा मन्त्री भट्टराई र एयरलाइन्स कम्पनीले स्पष्टीकरण दिइसकेका छन् ।

स्पष्टीकरणले ढिलाइको कारण खुट्याइसक्यो तर यो प्रकरणले केही प्रश्न भने पुनः जन्माइदिएको छ ।

मन्त्री भट्टराईले आइतबार बिहानै ट्वीटमार्फत ढिलाइ भएकोका क्षमा मागिसकेका थिए तर उनले क्षमा मागेको विषयभन्दा जहाज रोकेको विषयले सामाजिक सञ्जाल भाइरल भइसकेको थियो ।

‘पारस शाहलाई सात लाख हस्ताक्षर बुझाएर दुःख दिने व्यक्ति यही हो’ भन्दै विरोध गर्नेहरूले त्यहाँ बोलेको कुरा मन्त्री भट्टराईले ट्वीटमा उल्लेख गरेका थिए । त्यही कारण नेपालगन्ज घटनाप्रति मन्त्री भट्टराई बढी सशंकित भए ।

त्यसैले उनले साँझ स्वकीय सचिव प्रेम गुरागाईंको नाममा नेपालगन्ज घटना र त्यहाँ देखिएको प्रवृत्तिमाथि टिप्पणी गर्दै विज्ञप्ति जारी गराए । विज्ञप्तिमा प्रयुक्त भाषा पनि विवादमा परेको छ ।

नेपालगन्ज घटना र त्यसपछिका प्रतिक्रियालाई लक्ष्य गर्दै विज्ञप्तिमा ‘आफ्नो सिंहासन गुमेपछि विक्षिप्त बनेका प्रतिगामी ‘मण्डले प्रवृत्ति’ ले यो वा त्यो नाममा संविधानविरोधी हर्कत जारी राखेका छन्’ भन्ने उल्लेख छ । त्यस्तै यस्ता ‘मण्डले प्रवृत्ति’ को विरोध र धम्कीले रत्तिभर विचलित नहुने पनि बताइएको छ ।

उनको यो विज्ञप्तिपछि आलोचना गर्नेहरूलाई ‘मण्डले’ का रूपमा चित्रण गरेको भन्दै सामाजिक सञ्जालमा मन्त्रीप्रति थप प्रश्न आएका छन् ।

‘म आलोचना सबै सहन्छु, गलत काम हुँदा त्यसमा क्षमा पनि माग्छु तर जसरी पारस शाहको विषय जोडेर सात लाख हस्ताक्षरको कुरा त्यहाँ उठाइयो, त्यसबाट मैले कुरा बुझिहालें,’ मन्त्री भट्टराईले भने, ‘तिनको नियत के हो, के उद्देश्यका लागि काम गरिरहेका छन् भन्ने बुझेरै मैले प्रतिक्रिया दिएको हुँ ।’

नेपालगन्ज घटनामा माफी मागिसकेको सन्दर्भमा हस्ताक्षरको कुरा उठाइएपछि त्यहाँ केही गडबडी छ भन्ने आफूले महसुस गरेको उनको भनाइ छ ।

पछिल्लो समय प्रधानमन्त्री, सत्तारुढ दलका अध्यक्षलगायत नेताले संविधानविरोधी गतिविधि बढिरहेको र प्रतिगामीहरू सल्बलाइरहेको भन्दै प्रतिक्रिया दिइरहेका छन् । आलोचना गर्नेहरूप्रति सत्तारुढ दलका नेताको तिखो प्रतिक्रिया हुने गरेको छ । मन्त्री भट्टराईले पनि त्यही शैलीमा ‘मण्डले प्रवृत्ति’ को प्रसंग उठाएका छन् ।

यसले गर्दा सरकार नै अनुदारतातर्फ गइरहेको हो कि भन्ने शंका बढाएको छ।

मन्त्री भट्टराईले यसमा अशंका गर्नुपर्ने अवस्था नरहेको प्रस्ट्याए । ‘स्वच्छ आलोचना स्विकारिन्छ, स्वागत गरेर त्यसअनुसार आफ्नो कार्यशैली पनि ढालिन्छ, उदार ढंगले अघि बढिन्छ,’ उनले भने, ‘तर मण्डले प्रवृत्ति र गतिविधिबाट डराइँदैन, नियतवश आलोचना गर्नेहरूप्रति नरम हुनुपर्छ भन्ने छैन।’

मन्त्री भट्टराईले डेढ महिनाको अवधिमा आफ्ना केही कार्ययोजना पनि अघि सारेका छन् । समग्रमा पर्यटन र हवाई क्षेत्रमा सुधार ल्याउन उनले केही योजना ल्याएका छन् ।

हवाई उडानमा ७० कटेका वृद्धवृद्धालाई ५० प्रतिशत छुट दिने घोषणा गरे तर उनको घोषणालाई वायुसेवा सञ्चालकले नै विरोध गर्दै आएका छन् ।

भट्टराईबाट पनि अन्य मन्त्रीहरूकै शैलीमा भाषण आउने, पपुलिस्ट जस्ता लाग्ने कुरा सार्वजनिक हुँदा उनीप्रति आलोचना गर्नेलाई बल मिलिरहेको छ ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad