ad ad

छापा खबर


चितवन मेडिकल कलेजद्वारा विद्यार्थीसँग तोकिएभन्दा १२ लाख बढी असुली

चितवन मेडिकल कलेजद्वारा विद्यार्थीसँग तोकिएभन्दा १२ लाख बढी असुली

नेपालखबर
भदौ २६, २०७६ बिहिबार २:३३,

चितवन मेडिकल कलेजले तोकिएभन्दा १२ लाख बढी शुल्क असुली गरेको विद्यार्थीको गुनासो छ ।

अवैध ढंगले लिएको शुल्क फिर्ता गर्नुपर्ने, चिकित्सा शिक्षा ऐनमा भएको व्यवस्था कार्यान्वयन गर्नुपर्नेलगायतका माग राखी विद्यार्थीले १० दिनदेखि आन्दोलन गरिरहेका छन् ।

तर, यस्तो गम्भीर प्रश्न उठ्दा पनि छानबिन गर्नुको साटो राज्यले विद्यार्थीमाथि नै दमन गरिरहेको छ ।यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

बुधबार मात्रै आन्दोलनरत विद्यार्थीमाथि हस्तक्षेप गरी प्रहरीले १७ जनालाई पक्राउ गरेको छ । झडपका क्रममा केही विद्यार्थी घाइते भएका छन् । एप्रोन लगाएका विद्यार्थीले प्रहरीको हिरासत भरिएको छ ।

कलेजमा एमबिबिएस अध्ययनरत प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश पनि पक्राउ परेका छन् । राति अबेरसम्म उनीहरूलाई रिहा नगरिएको संघर्ष समितिका प्रवक्ता सुजन कडरियाले बताए ।

‘अवैध रूपमा उठाइएको शुल्क फिर्ता गर्नुपर्छ भनेर देशभर आन्दोलन छ, चितवन मेडिकल कलेजमा पनि अतिरिक्त शुल्क लिइएको छ । त्यस्तो शुल्क फिर्ता गर्नुपर्छ भन्दा सरकारले उल्टै हामीमाथि दमन गर्दै छ,’ उनले भने ।

सरकारले नै खटाएको टोलीको अध्ययनमा किस्ट मेडिकल कलेजले एमबिबिएस अध्ययन गर्ने विद्यार्थीबाट तोकिएकोभन्दा बढी शुल्क लिएको पुष्टि भएको थियो ।

बढी लिएको शुल्क फिर्ता गर्न र कलेज सञ्चालकलाई प्रचलित कानुनअनुसार कारबाही गर्न समितिले सिफारिस गरेको थियो । तर, अहिलेसम्म कुनै कारबाही भएको छैन ।

विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले दिएको निर्देशन गण्डकी मेडिकल कलेजले साढे ६ महिना बित्दा पनि कार्यान्वयन गरेको छैन ।

वीरगन्जस्थित नेसनल मेडिकल कलेजले पनि विद्यार्थीमाथि आर्थिक ज्यादती गरेको छ । सरकारले तोकेको शुल्कबाहेक विद्यार्थीको बसोवास, खाना, विश्वविद्यालय र काउन्सिललाई तिर्नुपर्ने शुल्कबाहेक कलेजले अन्य शीर्षकमा रकम उठाउन पाउँदैन ।

तर, नेसनल मेडिकल कलेजले त्यसबाहेक ‘प्रोमोसन’ शीर्षकमा एक लाख २५ हजार, इन्टरनेटमा १२ हजार ६ सय उठाएको छ । त्यतिले मात्रै नपुगेर उसले ‘अन्य’ शीर्षकमा समेत ४० हजार रुपैयाँ उठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .