छापा खबर


स्कुल जान एकान्त जंगलमै बास बस्छन् यी किशोरी

स्कुल जान एकान्त जंगलमै बास बस्छन् यी किशोरी

नेपालखबर
भदौ २१, २०७६ शनिबार ३:४८,

रामेछापको खाँडादेवी-१, कोथबेका बालबालिका कक्षा ५ देखि माथि पढ्न सिन्धुलीको झांगाझोली पुग्नुपर्छ। बीचमा सुनकोसी नदी छ। झांगाझोली पुग्न नेपालथोकस्थित झोलुंगे पुल तर्नुपर्छ। मध्यपहाडी लोकमार्ग निर्माण क्रममा पुलसम्म जाने बाटो बन्द भएपछि कोथबेका १३ बालबालिका एक महिनासम्म जंगलमै बसेर विद्यालय धाए।

खाँडादेवी गाउँपालिका-१, कोथबेका १३ किशोरीको विद्यालय जाने बाटो बन्द भयो। एक मात्र बाटो अवरुद्ध भएपछि केही दिन उनीहरू ट्युबको सहायताले उर्लंदो सुनकोसी तरेर सिन्धुलीस्थित विद्यालय गए । हरेक दिन त्यसो गर्न सम्भव थिएन । उनीहरूले जंगलको छाप्रोमा बसेर स्कुल जाने निधो गरे । र, एक महिनासम्म सुनकोसीछेउको एकान्त जंगलको छाप्रोमा बसेर विद्यालय धाए।

कृष्णमाया र उनका १२ दौंतरी सिन्धुलीको गजुली दहस्थित खयरघारीभित्र बनाइएको उदांगो कटेरामा बसेका थिए । ‘स्कुल छाड्न मन मानेन, त्यसैले जंगलको छाप्रोमा बसेर पढ्यौं,’ कृष्णमायाले भनिन्, ‘खुला कटेराको माथिल्लो तलामा बस्दा राति मुटु काम्थ्यो ।’

उनीहरू सिन्धुलीको झाँगाझोली गुटबजारस्थित श्री माविमा अध्ययनरत छन्। यो खबर आजको कान्तिपुरमा टीकाप्रसाद भट्टले लेखेका छन्।

मध्यपहाडी लोकमार्गको पूर्वी खण्ड निर्माणका लागि डोजर लगाउने क्रममा बाटो अवरुद्ध भएपछि सुनकोसीपारिको विद्यालय छाड्नुपर्ने अवस्था आएकाले जंगलमा बसेको उनीहरूले बताए । बाटो भत्किनुअघि उनीहरू बेलघारीको झोलुंगे पुल तरेर झाँगाझोली पुग्थे । त्यो बाटो काट्न झन्डै एक घण्टा लाग्थ्यो ।

दिउँसो विद्यालयमा रमाए पनि रात परेपछि उनीहरू सधैं त्रासमा हुन्थे । भूतप्रेत र जंगली जनावरको डरले सताएको बेली माझीले बताइन् । ‘केही रात त निद्रै लागेन,’ उनले भनिन्, ‘केही दिनपछि बानी भयो तर बा–आमासँगै बसेजस्तो कहाँ हुन्थ्यो र रु केही पर्‍यो भने के गर्ने भन्ने कसैलाई मेलो थिएन । सबै उस्तैउस्ता थियौं ।’

उनले सकुशल घर फर्कन पाएकोमा खुसी लागेको बताइन् । उनीहरू बिहान र बेलुका खाना पकाएर खान्थे । स्कुल जाने बेला आफ्ना सबै सामान लुकाएर राख्थे । हरेक शुक्रबार सुनकोसीपारिको गाउँबाट अभिभावक आउँथे । उनीहरूले खानेकुरा ल्याइदिन्थे । तीमध्ये केहीले सुनकोसीको उर्लंदो भेलमा ट्युबको सहाराले कहिलेकाहीं छोरीहरूलाई घर पुर्‍याउँथे। ‘जंगली जनावर कराउँदा डराएर एकअर्कालाई अंगालो हाल्थ्यौं,’ कक्षा १० की सुशीला माझीले भनिन्, ‘सुरुका केही रात झिमिक्क गर्न सकेनौं।’

सुनकोसीपारि जंगलको छाप्रामा छोरीहरू बस्दा अभिभावक पनि कहिल्यै निदाउन सकेनन् । ‘केही भो कि भन्ने सधैं पिरलो, राति सुत्नेबेला फोन गरी हालखबर सोधेर सुत्ने गरेका थियौं,’ स्थानीय श्याम माझीले भने, ‘छोरीहरू आएपछि ढुक्क भएको छ, सबै यतैबाट आउजाउ गरिरहेका छन् ।’

कोथवेमा कक्षा ५ सम्म मात्र चलेको आधारभुत विद्यालय छ। त्यहाँको पढाइ सकिएपछि थप पढ्न झाँगाझोली पुग्नुपर्छ । विद्यालय टाढा भएकाले केही बालबालिकाले कक्षा ५ पछि पढाइ छाड्ने गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad