ad ad

छापा खबर


प्रधानमन्त्री ओलीमा उच्च मनोवल, चिकित्सक भन्छन्-अझै डेढ दशक सक्रिय राजनीति गर्न गाह्रो छैन

प्रधानमन्त्री ओलीमा उच्च मनोवल, चिकित्सक भन्छन्-अझै डेढ दशक सक्रिय राजनीति गर्न गाह्रो छैन

नेपालखबर
भदौ ९, २०७६ सोमबार १:२६,

उपचारार्थ सिंगापुर उड्नुअघि प्रधानमन्त्रीले अन्यथा सोच्नेलाई चेतावनी दिएका थिए, ‘म अझै १५ वर्ष मैदानमै हुनेछु। मरिगए हुन्थ्यो भन्ने चाहनेहरू अर्को चुनाव सामना गर्न तयार हुनुहोस्।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुरमा ‘प्लाज्मा फेरेसिस’ उपचार सुरु गरिएको छ। मिर्गौला रोग विशेषज्ञका अनुसार प्लाज्मा फेरेसिस सफल भए कम्तीमा १० वर्ष मिर्गौलाको कार्यक्षमता लम्ब्याउन सकिन्छ।

प्रधानमन्त्रीका अन्य अंग स्वस्थ रहनुका साथै उच्च मनोबल भएका कारण उपचार जटिल नहुन सक्ने उनीहरूको आकलन छ। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा दिनेश गौतमले लेखेका छन्।

‘प्रधानमन्त्रीज्यू प्लाज्मा फेरेसिसबाट ठीक हुनुभए एक–डेढ दशक राजनीतिक मैदानमा क्रियाशील रहन गाह्रो हुन्न’, वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.ऋषिकुमार काफ्लेले भने, ‘फेरेसिस सफल भएन भने डायलासिस वा पुनः प्रत्यारोपणमा जानुपर्ने हुन्छ। यो अपनाउँदा पनि कम्तीमा एक दशक सक्रिय हुन बाधा पुग्दैन।’

प्रधानमन्त्री ओलीको शरीरमा बढेको मिर्गौलासम्बन्धी ‘एन्टिबडी’ नष्ट गर्न यो स्वास्थ्योपचार सुरु गरिएको हो। प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा. दिलीप शर्माका अनुसार शुक्रबार र आइतबार दुईपटक फेरेसिस गरिएको छ।

उनको स्वास्थ्य परीक्षण अवस्थाबारे जानकारी गराउँदै आइतबार बिहान प्रमुख सल्लाहकार विष्णु रिमालले ट्विट गरेका छन्, ‘प्रधानमन्त्रीज्यूको उपचारको क्रममा प्लाज्मा फेरेसिस प्रकृया गत शुक्रबारबाट नेसनल युनिभर्सिटी हस्पिटल सिंगापुरमा सुरु गरिएको छ। निजी चिकित्सक प्रा.डा.दिव्यासिंह शाहका अनुसार यो उपचार प्रकृया अरू केही पटक गरिनेछ। उहाँको स्वास्थ्य स्थिति अहिले सामान्य अवस्थामा छ।’

यो सन्देशलगत्तै देश–विदेशका नेपालीले प्लाज्मा फेरेसिस के हो भनेर ‘सर्च’ गरेका थिए। पहुँच हुनेले चिकित्सकसँग सोधीखोजी गरेका थिए।

मिर्गौला प्रत्यारोपण गरेका व्यक्तिको शरीरमा एन्टिबडी बढेको अवस्थामा संक्रमण हुने सम्भावना भएकाले त्यसका लागि अपनाइने उपचार पद्धति नै प्लाज्मा फेरेसिस हो।

‘रगतमा कोष र प्लाज्मा हुन्छन्। प्लाज्मा झोलयुक्त पदार्थ हो। यसमा एन्टिबडी हुन्छ। रगतमा भएको एन्टिबडी झिकेर अर्को ताजा प्लाज्मा राख्ने कार्य नै प्लाज्मा फेरेसिस हो’, डा। काफ्लेले भने, प्लाज्मा एक्सचेन्ज गरेपछि एन्टिबडीको मात्रा घटछ।’

एन्टिबडीले मिर्गौलालाई अप्ठ्यारो पार्ने वा बिगार्ने भएकाले एन्टिबडी झिक्नेबित्तिकै मिर्गौलाले सक्रिय रूपमा काम गर्न थालिहाल्छ। अंग प्रत्यारोपण केन्द्र भक्तपुरकी वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.कल्पना श्रेष्ठका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलालाई समस्या पार्ने गरी बढेको एन्टिबडी निकालेर फाल्ने उपचार विधि नै प्लाज्मा फेरेसिस हो।

एन्टिबडी बढ्दै गए प्रत्यारोपण गरिएको मिर्गौला खराब हुँदै जान्छ।

यो उपचारमा एन्टिबडी मात्राअनुसार उपचार समय लाग्छ। एन्टिबडी नष्ट गर्ने परिमाणका आधारमा हरेक पटक एकदेखि दुई घण्टासम्म मेसिन उपयोग गरिन्छ। कम्तीमा पाँच सेसनमा यसले सफल हुने÷नहुने परिणाम दिन्छ। एन्टिबडी धेरै भएको खण्डमा १०–१२ पटकसम्म गर्नुपर्ने हुन सक्ने डा. श्रेष्ठले बताइन्।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. काफ्लेले निको हुने सम्भावना बढी देखेर त्यहाँका चिकित्सकले प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस अपनाएको हुन सक्ने बताए।

उनका अनुसार प्रत्यारोपण गरेको मिर्गौलालाई शरीरले अर्कैको रूपमा चिन्न थालेपछि एन्टिबडी बनाउँछ। फेरेसिसबाट स्वस्थ जीवन बिताइरहेका धेरै व्यक्ति छन्।

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो। सिंगापुरस्थित उक्त अस्पतालमा यसअघि साउन १८ देखि २७ गतेसम्म उनको उपचार गरिएको थियो। उनी देश फर्किएर थप उपचार आवश्यक ठहरिएपछि पुनः सिंगापुर गएका हुन्। यसबीच उनले ठूला राजनीतिक निर्णय पार लगाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .