२५ माघ २०७५ मा नेपालगन्ज फुल्टेक्राका लक्ष्मी कुम्हारले १६ वर्षीया छोरी सपनाको बिहे तय गरे। निम्तो कार्ड छपाएर १०० वटा त बाँडे।
बिहे आउन सात दिन बाँकी थियो । बालविवाहको हल्ला चल्यो । प्रहरीले बिहे रोक्यो । सीमावर्ती भारतीय गाउँ गंगापुरमा सुटुक्कै साइकलमा छोरी लगेर बिहे गरिदिए र भोलिपल्ट छोरीसँगै घर फर्के।
उनले भने, ‘लगनकै दिन बिहे गर्न पाएर म धन्य भएँ । बूढीले छोरीज्वाइँलाई आशीर्वाद दिन नपाएको गुनासो गर्छे । गौनापछि छोरी आफ्नो घर जान्छे।’
फुल्टेक्राकै १६ वर्षीया अञ्जु ८ कक्षामा फेल भएर घरमै बसिरहेकी थिइन् । परिवारले गत ३ जेठमा भारतीय नागरिकसँग घरबाटै धुमधाम बिहे गराइदिए।
‘डेढ सय त बराती आएका थिए’, उनकी काकी सुष्मा मौर्यले भनिन्, ‘भोज खान पुलिस पनि आएका थिए, तर कसैले उमेर सोधेनन् । बिहे भयो ।’ दुई वर्षपछि गौना गरेर अञ्जुलाई घर पठाउने तयारी छ।
डुडुवा गाउँपालिका हल्वलडोलीकी १६ वर्षीया विपनाको भारतको बाबागन्जमा बिहे भयो । बिहेमा आमा मीनासहित आफन्त सरिक भए । विपनाका बाबाको पाँच वर्षअघि मृत्यु भएको थियो । चार वर्षको भाइ छ।
सम्पत्तिका नाममा दुई कठ्ठा जग्गा । विपनालाई बिहे गर्न नेपालको कानुनले छेकबार लगायो । बिहेकी साक्षी उनकी दिदी (फुपूकी छोरी) रेखा खटिकले बिहेको रहस्य खोलिन्, ‘मजदुरी गरेर परिवारको खर्च चल्थ्यो । छोरीलाई पाल्न नसक्ने भएपछि बिहे गर्नुपर्यो ।’
बाँकेको डुडुवा गाउँपालिका–३ बनकट्टीमा १८ वर्षकी एक मुस्लिम किशोरीको बिहे भएको खबर तीन महिनापछि गाउँभरि फैलियो । न जन्ती आए, न गाउँघरलाई निम्तो बाँडियो । अभिभावकले गुपचुप भारतीय केटासँग बिहे गरिदिए।
नेपालमा २० वर्षमुनिको बिहेमा प्रतिबन्धपछि भारतीय ज्वाइँ खोज्ने क्रम बढेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा नेपालगञ्जबाट शंकरप्रसाद खनालले लेखेका छन्।
सपना, अञ्जु, विपना र सरिता प्रतिनिधि पात्र हुन् । बाँकेमा भारतसँग ‘रोटी बेटीको सम्बन्ध’ शताब्दीऔंदेखिको हो तर मुलुकी अपराध (संहिता) ऐन, २०७४ मा ‘बीस वर्ष नपुगी विवाह गर्न वा गराउन नहुने’ व्यवस्थाले अभिभावककै संलग्नतामा बालविवाह भारतमा गर्र्ने ‘गलत चलन’ छ । कानुन छलेर छोरी भारतीयलाई जिम्मा लगाए पुग्ने रीति बस्न थालेको छ।
अधिवक्ता विश्वजित तिवारीका अनुसार २० वर्ष नपुगेर भएको विवाह स्वतः बदर हुन्छ । कसुर प्रमाणित भए बिहे गर्ने र गराउनेलार्ई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिबाना हुनसक्छ । तिवारी भन्छन्, ‘विपन्न मधेसी समुदायले कानुन छल्न भारतीय ज्वाइँ खोजेर उतै लगेर बिहे गर्ने जुक्ति निकालेका हुन्।’
जिल्लामा वर्षमा कति बालविवाह हुन्छन् भन्ने तथ्यांक छैन । जिल्ला प्रहरी कार्यालयले जिल्लामा चार वर्ष अवधिमा ९ वटा मुद्दा मात्र दायर गरेको छ । तर बालविवाह धेरै भइरहेको ‘गुपचुप’ कार्यले दर्शाउँछ।
बाल क्लब सञ्जालको पहलमा गत आवमा ३५ वटा बालविवाह रोकेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर ओली बताउँछन् । सबैभन्दा बढी १० वटा नेपालगन्ज उपमहानगरपालिकाकै थिए।
Shares

प्रतिक्रिया