ad ad

छापा खबर


नपत्याएको खोलामा बग्यो मनाङ, ९० वर्षका वृद्ध भन्छन्- यस्तो बाढी कहिल्यै आएको थिएन

नपत्याएको खोलामा बग्यो मनाङ, ९० वर्षका वृद्ध भन्छन्- यस्तो बाढी कहिल्यै आएको थिएन

नेपालखबर
असार ६, २०७८ आइतबार १:३३,

‘नपत्याउने खोलाले बगाउँछ’ भन्ने उखानै छ। हो, हिमालपारिको जिल्ला मनाङका बासिन्दाले मर्स्याङ्दी र आसपासका खहरेमा यस्तो बाढी आउला र घरबारै बगाउला भनेर कहिल्यै सोचेका थिएनन्।

सधैंजसो काठे र झोलुंगे पुलबाट वारपार गरिरहेका उनीहरूलाई खोलाले बगाउला भन्ने त पत्यारै थिएन। किनकि अहिलेसम्म यो आकारको बाढीको सामना कहिल्यै गर्नुपरेको थिएन। यो खबर आजको नागरिक दैनिकमा पोखराबाट सन्तोष पोखरेलले लेखेका छन्।

तर उखानले भनेझै यसपटक नपत्याउने खोलाले सिंगो बस्ती नै बगायो। संयोगवश बाढीले मानवीय क्षति नगरे पनि ठूलो आकारमा भौतिक नोक्सानी पुर्‍याएको छ। बाढीले तटीय क्षेत्रका धेरै बासिन्दाको उठीबास लगाइदिएको छ। भौतिक क्षति कति भयो भन्ने अहिलेसम्म यकिन छैन। बाढीको कहर अझै कम भइसकेको छैन।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले भन्छन्, ‘हिमाली जिल्लामा यस्तो भीषण बाढी आउला भन्ने हामीलाई पत्यारै थिएन। तर नसोचेको अवस्था आयो। बाढीले सिंगो जिल्लालाई नै थिलथिलो पारेको छ।’

उनका अनुसार मर्स्याङ्दी सहजै तर्न सकिने खोला हो। कतिपय ठाउँमा झोलुंगे त कतैकतै काठे पुलबाट वारपार गर्ने चलन थियो। तर अहिले भने बाढीले सबैतिर ध्वस्त बनाएको उनले बताए। ‘हामीले आजसम्म यो अवस्था भोग्नुपरेको थिएन, अग्रजले पनि यस्तो संकट बेहोर्नुपरेको थिएन,’ घलेले भने, ‘योपटक भने नपत्याएको खोलाले बगाएको छ। चामेमा मात्र ५ सयजना मान्छे घरविहीन भइसकेका छन्। खोला किनारका बस्तीबारे सोच्ने बेला भएको छ।’

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी प्रदेशमा सबैभन्दा कम पानी पर्ने जिल्ला मनाङ हो। तर योपटक मनाङले भारी वर्षासँगै निम्तिएको संकट र क्षतिको सामना गर्नुपरेको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको हावापानी शाखाका अनुसार यो वर्ष (२०२१) को मनसुनी वर्षाले अघिल्ला वर्षसम्मका सबै रेकर्डलाई उछिनेको छ।

 विभागका पोखरास्थित प्रमुख राजाराम ढकालले ‘यो वर्षको मनसुनी वर्षाले मनाङमा अघिल्ला सबै रेकर्डलाई उछिनेको बताए। ‘त्यसै भएर बढी क्षति भएको हो,’ ढकालले भने। ढकालका अनुसार यस वर्ष नेपालमा मनसुन भित्रिएको भोलिपल्ट जेठ २९ देखि असार २ सम्मको अवधिमा हुम्देमा मात्र १७५.८ मिलिमिटर वर्षा भएको थियो। असार १ मा ५४.६ मिलिमिटर र २ गते ८२.२ मिलिमिटर वर्षा भएको छ।

‘यसअघि कहिल्यै यति धेरै वर्षा भएको थिएन। यसपटक मनसुनी प्रभाव हिमाली भेगबाट देखियो,’ ढकालले भने। उनका अनुसार हिमाली भेगमा २४ घण्टामा ५० मिलिमिटिर भन्दा बढी वर्षा हुनुलाई अधिक मानिन्छ। अन्यत्रका लागि २४ घण्टामा ५० मिमिमिटर वर्षा हुनु सामान्य भए पनि हिमाली जिल्लामा भीषण मानिने उनले बताए।

‘वर्षभरिमा हुम्देमा २ सय ५० मिलिमिटर वर्षा हुनुपर्नेमा यसपटक पाँचदिनमै १ सय ७५ मिलिमिटर कटिसक्यो, यो हिमाली भेगका लागि चुनौतीको संकेत हो,’ ढकालले भने, ‘हिमाली जिल्लामा यति सारो क्षति होला भन्ने आँकलन नै थिएन।’

‘साँघुरो खोंच हुँदै मनाङमा खोलानाला बगेका छन्। सिरान क्षेत्रमा हिउँ थुप्रिएको र पानी पर्दा हिउँ पग्लिने र त्यसले खोलामा बहाव बढाउँदा आसपासका बस्तीमा क्षति पुगेको हो,’ उनले भने, ‘साँघुरो खोंचमा भेलबाढी पस्दा आसपासका क्षेत्रमा असर पारेको छ।’ हिमाली भेगमा कम पानी पर्ने हुँदा बाढीको त्रासबिना ढुक्कले बसेका स्थानीय योपटक पहिलोचोटि बाढीको चपेटामा परेको उनले बताए। ‘कम पानी पर्ने भएकाले तटीय क्षेत्रका बासिन्दा बाढीको आँकलन गर्ने अवस्थामा थिएनन्। तर अहिले बाढीले झुक्यायो,’ ढकालले भने, ‘अब हिमाली क्षेत्रमा पनि खतराको जोखिम बढेको छ।’

पृथ्वीको तापक्रम बर्सेनि ०.०६ डिग्री सेन्टिग्रेड वृद्धि भइरहँदा हिमशृंखला पग्लने क्रम पनि बढेकाले थोरै पानी पर्नासाथ हिमाली भेकमा बाढीपहिरोको जोखिम निम्तिने उनले बताए। मनाङमा मनसुन अवधिमा २ सय ३४ मिलिमिटर वर्षालाई औसत मानिन्छ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार अहिले मनाङवासीले प्राकृतिक प्रकोपको पहिलोपटक तितो अनुभव बटुलेका छन्। ‘मैले ९० वर्ष हाराहारीमा पुगेका वृद्धवृद्धासँग कुराकानी गर्दा यस्तो बाढीपहिरोको अनुभव अहिलेसम्म भएको रहेनछ। अहिले त बाढी प्रकोप बनेरै आयो,’ लामिछानेले भने, ‘यस्तो क्षतिको अनुमान स्थानीयवासीसँग त थिएन नै हामीले पनि अनुमान गरेका थिएनौं।’

उनका अनुसार मनाङका अधिकांश खोलानाला कुला आकारका खोल्साखोल्सी छन्। धेरैठाउँमा पैदल र कतैकतै काठेपुलबाटै वारपार गर्न सकिने अवस्था भए पनि अहिले अवस्था बदलिएको उनले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .